कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

अमेरिकामा दसैंको टीका किन नेपालमा भन्दा पहिले ?

तिथिहरूको सुरुवात र अन्त्य पृथ्वीका सबै भागमा चन्द्रमाको कलाअनुसार एकै पटक हुन्छ । तर दिन र रात वा बार र गते भने सूर्यअनुसार फरक हुने गर्छ ।

नेपाल र नेपालबाहिर, विशेषतः पश्चिमी गोलार्द्धमा नेपाली सनातन पर्वहरू छुट्टाछुट्टै बार र गते पर्न पनि सक्छन् । कुनै तिथि नेपालमा एक दिनपछि पर्न सक्छ भने अमेरिकामा एक दिनपहिले । यस्तो किन र कसरी हुन्छ ? यो लेखमा विक्रम सम्वत् २०८० (सन् २०२३) को बडा दसैंलाई केन्द्रमा राखेर नेपाल र अमेरिकाको दशमीको तिथि वा साइतबारे चर्चा गर्ने प्रयास गरिएको छ ।

अमेरिकामा दसैंको टीका किन नेपालमा भन्दा पहिले ?

हाम्रा सनातन चाडपर्वहरू चन्द्रमासअनुसारको तिथिमा मनाइन्छन् । ज्योतिषशास्त्रका आधारमा ज्योतिषीहरूले वर्षौंपछि भविष्यमा आउने पृथ्वीका विभिन्न स्थान र ती देशमा लाग्ने चन्द्र ग्रहण र सूर्य ग्रहणलगायत अन्य तिथि पनि पहिले नै यकिन गरेर पात्रो बनाउँछन् ।

समयको अन्तर वा देशान्तर फरक पर्ने हुनाले कुनै पनि तिथि पूर्वी र पश्चिमी गोलार्द्धमा फरक पर्न सक्छ । यही वर्षको विजया दशमी अमेरिकामा २३ अक्टोबर सोमबार पर्छ भने नेपालमा त्यसको भोलिपल्ट अक्टोबर २४ मंगलबार (७ कात्तिक) मा । यो तिथि अमेरिकामा भन्दा नेपालमा एक दिन ढिलो वा पछिल्लो बार किन पर्‍यो त ? यो सजिलो गरी बुझ्न चन्द्रमाको गति र तिथिको तथ्य अध्ययन गर्नुपर्दछ ।

दिन र रात वा गते र बार २४ घण्टाका मात्र हुन्छन् । सबै तिथि २४ घण्टाका हुदैनन् । तिथिहरू साधारणतः २१ घण्टादेखि २७ घण्टासम्मका हुन्छन् । तिथिहरू रात वा दिनको कुनै बेला पनि सुरु हुन सक्छन् । गते वा बार सुरु हुने समय सूर्योदय र सूर्यास्तसँग सम्बन्धित छ ।

बडादसैंलगायतका परम्परागत चाडपर्व कुन दिन मनाउने भनेर तिथिका आधारमा साइत हेर्ने चलन छ । ज्योतिषशास्त्रअनुसार तिथि चन्द्रमाको गतिका आधारमा गणना हुन्छ । तर तिथिभित्र पर्ने साइतको निर्धारण भने सूर्योदयसँग सम्बन्धित छ । यो काम ज्योतिष विज्ञानले गर्छ ।

तिथिहरूको सुरुवात र अन्त्य पृथ्वीका सबै भागमा चन्द्रमाको कलाअनुसार एकै पटक हुन्छ । तर दिन र रात वा बार र गते भने सूर्यअनुसार फरक हुने गर्छ । यो दिन र रात एक प्रकारको पृथ्वीको आफ्नै छाया मात्र हो । समयको मानकको गणना गर्न ग्रिनविच रेखामा आधारित समय मानव जीवनको व्यावहारिक पक्षलाई सहयोग गर्न वा दिन र रातलाई छुट्याउन कल्पना गरिएको रेखा मात्र हो ।

विजया दशमीको टीकाको साइत सूर्योदयपछिको उत्तम समयलाई घडी, पला आदिको गणनाका आधारमा जुराइन्छ । कुनै दिन अपराह्न (मध्याह्नको १२ बजे) पछि तिथि सुरु भएको अवस्थामा भने अर्को दिनको सूर्योदयपछिको समयभित्र साइत निकालिन्छ । सबै तिथिको समयावधिले दुवै गोलार्द्धको सूर्योदयलाई छुने भएकाले पश्चिममा अघिल्लो दिन वा पूर्वमा पछिल्लो दिन पर्न सक्छ । यस्तो सधैं पनि हुन्न तर भइरहने प्रक्रिया पनि हो ।

जुन वर्ष नेपालमा अपराह्नपछि दशमी सुरु हुन्छ, त्यो वर्ष अमेरिकामा सूर्योदयपछिको साइतमा टीका लगाउनु ज्योतिषशास्त्रसम्मत हुन्छ । र, त्यो वर्षको दसैं अमेरिकामा नेपालमा भन्दा अघिल्लो बार पर्छ । यो वर्ष भएको ठ्याक्कै यस्तै हो ।

नेपालमा अपराह्नमा सुरु भएको तिथिको साइत जुराइएको अर्को दिन अमेरिकामा सूर्योदयको समयसम्म सो तिथि नरहन वा सूर्योदयको समयअगावै सकिन सक्छ । यो वर्षको विजया दशमीको सुरुवात नेपालमा काठमाडौंको समयअनुसार कात्तिक ६ गते सोमबार (अक्टोबर २३) दिउँसो ३ः११ बजे सुरु हुन्छ । तर यो

अपराह्नको समय भएकाले ज्योतिषशास्त्रअनुसार दसैंको टीका वा अन्य शुभकार्यको साइत नजुर्ने भएकाले नेपालमा भोलिपल्टको सूर्योदयको समयको साइत निकालिएको हो । नेपालमा सोमबार बिहान सूर्योदयको समयमा अघिल्लो दिन सुरु भएको नवमी तिथिको अंश बाँकी भएकाले त्यो दिनभर नै नवमी मानिन्छ । तर अमेरिकाको वासिङ्टन डीसी वा न्युयोर्क (अमेरिकी पूर्वी समय) मा अक्टोबर २३ सोमबार बिहान ४ः२६ बजे नै दशमी तिथि सुरु हुन्छ । नेपालमा त्यो समय भनेको बिहान नवमी सुरु भएको बेलुकी वा अपराह्नपछिको दशमी सुरुको समय हो । त्यसैले भोलिपल्ट सूर्योदयपछि बाँकी हुने दशमीको अंशलाई आधार मानेर शुभकार्य गरिने हुँदा मंगलबार बाँकी रहने दशमीभित्र साइत निकालेर नेपालमा दशमीको टीकाको साइत जुरेको नेपाल पचाङ्ग निर्णायक समितिले निर्धारण गरेको छ । नेपालमा टीकाको साइत भएको १० घण्टापछि वा अर्को दिन टीका लगाउने भनेर अमेरिकामा कुरेर बस्दा नेपालामा मात्र होइन, अमेरिकामा पनि दशमी तिथि र साइत दुवै सकिइसकेका हुन्छन् ।

जुन वर्ष नेपालमा बिहानै दशमी सुरु हुन्छ र रातिसम्म वा भोलिपल्ट बिहानसम्म जान्छ, त्यो वर्ष भने अमेरिकामा पनि त्यही बार र त्यही दिन सूर्योदयको समयमा दशमी तिथि पर्न जान्छ । यस्तो अवस्था हुँदा नेपालमा मनाएपछि अमेरिकामा मनाएको जस्तो देखिएको हो ।

यो वर्षको दशमी २१ घण्टा ३१ मिनेटको छ । अमेरिकामा सोमबार २३ अक्टोबर सकिएपछि २४ अक्टोबर सुरु हुँदाको मंगलबार रातको २ः०४ मिनेटमा र नेपालमा भने मंगलबार दिउँसो १२ः४९ मा दुवैतिर दशमी एकै समयमा सकिन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार यो वर्षको विजया दशमीको टीकाको साइत अमेरिका (न्युयोर्क) मा सोमबार बिहान १०ः४७ बजे र नेपालमा भने मंगलबार बिहान ११ः०२ बजे छ ।

अमेरिकामा यो वर्ष सोमबार सूर्योदयभन्दा पहिलेदेखि सूर्यास्तपछिसम्म दशमी तिथि छ । नेपालमा भने यही दशमी तिथि सूर्योदयको समयमा मंगलबार बिहान ६ः०९ देखि अपराह्न १२ः४९ सम्म करिब ६ घण्टा छ । अमेरिकामा मंगलबार राति २ः०४ बजे दशमी सकिन्छ र एकादशी सुरु हुन्छ । अमेरिकामा मंगलबार दशमी नरहेको नेपाल पञ्चाङ्ग निर्णायक समिति र अन्तर्राष्ट्रिय पञ्चाङ्ग समितिले सार्वजनिक गरेका पात्राहरूमा पनि उल्लेख छ ।

अमेरिकावासी नेपालीले ज्योतिषशास्त्रअनुसारको वा नेपाल पञ्चाङ्ग निर्णायक समितिले सार्वजनकि गरेको तिथि र साइत यकिन नगरेर सामान्यतः नेपालमाभन्दा अमेरिकाको समय १०–११ घण्टा ढिलो छ भन्ने कुरालाई मात्र ख्याल गरेको देखिन्छ । पहिले नेपालमा काठमाडौंमा राजपरिवारका लागि जुराइएको साइतपछि मात्र सर्वसाधारणले टीका–जमरा लगाउन सुरु गरिन्थ्यो र अहिले पनि त्यहीअनुसार टीकाको साइत सार्वजनिक गरिन्छ । तर नेपालभित्र भए पनि नेपाल पञ्चाङ्ग समितिको पात्रोका आधारमा हेर्दा इलाम र दार्चुलाको टीकाको साइतको समय फरक पर्छ । नेपालबाहिर अमेरिका, क्यानाडा, अस्ट्रेलिया आदिमा बस्ने नेपाली समुदायमा विजया दशमी र टीकाको साइतबारे स्पष्ट दृष्टिकोण र एकरूपता छैन । तर नेपाली समुदायका केही परिवार, भारतीय हिन्दु समाज र भुटानी नेपालीहरूले भने ज्योतिषशास्त्रको मान्यता तथा यहाँ उल्लेख गरिएअनुसारकै तिथि र साइतमा पर्वहरू मनाउने गरेका छन् ।

हाम्रा सामाजिक पर्वहरूलाई धार्मिक मात्र होइन, संसारकै पुरानो सनातन सभ्यता मान्ने हो भने तिनलाई ज्योतिषशास्त्रसम्मत नै मनाउनुपर्छ । विश्वभरि हिन्दुहरूले जुन शास्त्रलाई मानक मानेका छन्, हामीले पनि त्यसैलाई मान्नुपर्छ । तसर्थ यो दसैं हामीले अमेरिकासम्म ल्याउने र संसारमा पनि विस्तार गर्ने हो भने त्यसको विज्ञान र ज्योतिषशास्त्रको मानक अपनाउनुपर्छ । सनातन हिन्दु धर्म परम्परामा मात्र होइन, अन्य धर्ममा पनि पूर्व र पश्चिम गोलार्द्धमा कुन दिन कुन चाडपर्व मनाउने भनेर विवादहरू छन् ।

आगामी बुद्धपूर्णिमा काठमाडौं र न्युयोर्कमा एउटै गते र बार मे २३ तारिख बिहीबार पर्दै छ । न्युयोर्कमा मे २२ को बिहान ०५ः११ मा हुने सूर्योदयपछि बिहान ०७ः३५ मा पूर्णिमा तिथि सुरु भएकाले भोलिपल्टको सूर्योदय लागेपछि नै मान्यता दिनुपर्ने हुँदा न्युयोर्कमा पूर्णिमा बिहीबार परेको हो । काठमाडौंमा बुधबार बेलुकी पूर्णिमा लागे पनि भोलिपल्ट बिहीबार सूर्योदयभन्दा पछि रहने पूर्णिमालाई मानिन्छ ।

यसरी, ज्योतिषशास्त्रको सिद्धान्तले गणना गरेको तथ्यलाई आधार मानेर हेर्दा कुनै तिथिहरू नेपाल र अमेरिकामा एकै बार र एकै गते पर्छन् भने कुनै पर्दैनन् । यदि फरक बार पर्‍यो भने पहिला अमेरिकामा र एउटै बारमा पर्‍यो भने अमेरिकामा १० घण्टा पछि परेजस्तो लाग्छ । त्यसैले संसारभर आफू बसोबास गरेको देशको स्थानीय समय मिलाएर स्थानीय तिथि, लगन र साइत निकालिन्छ ।

बुद्धपूर्णिमाबाहेक कृष्णअष्टमी, रामनवमी, शिव त्रयोदशी आदि पनि तिथिकै आधारमा मनाइन्छन् ।

प्रकाशित : कार्तिक ३, २०८० ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×