कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

इजरायलको साथमा उभिने कि नउभिने ?

खनान गोडेर

खनान गोडेर — इजरायलले विस्तारै आफ्नो क्षेत्रमा पुनःनियन्त्रण कायम गर्दै जाँदा र अतिवादीहरूले भरिएका सीमा क्षेत्र खाली गर्दै जाँदा, हमासले गरेको नरसंहारको हद उजागर भएको छ । 

इजरायलको साथमा उभिने कि नउभिने ?

आजसम्म, हामीले १,४०० भन्दा बढी मानिसको हत्या भएको गनेका छौं, जसमा नवजात शिशु, बालबालिका, महिला र वृद्धहरू समेत छन् । यो संख्यामा ‘लर्न एन्ड अर्न’ प्रोग्राममा सहभागी १० नेपाली विद्यार्थी र अन्य ४० भन्दा बढी देशका नागरिक पनि परेका छन् । एकै परिवारका सारा सदस्य आफ्नै घरमा मारिएका छन् । शिशु र बालबालिकालाई उनीहरूका आमाबाबुसँगै गोली हानेर मारिएको थियो । एउटा संगीत उत्सवमा लगभग २६० युवायुवतीको हत्या गरियो र तीमध्ये अधिकांशलाई गोली हानिएको थियो । ३,८०० भन्दा बढी मानिस घाइते भएका छन्, तीमध्ये धेरै अझै पनि जीवन र मृत्युबीच झुन्डिरहेका छन् । २०० जनालाई अपहरण गरी गाजामा लगिएको छ, र उनीहरूको भाग्य अहिलेसम्म पनि अज्ञातै छ । यसबाहेक, हमासले इजरायली नागरिकविरुद्ध ६,००० भन्दा बढी रकेट प्रहार गरेका छन् ।

इजरायलको दक्षिणी भागमा हमासले गरेको यो आक्रमण निर्दोष नागरिकमाथिको सुनियोजित सामूहिक हत्या थियो । इजरायली जनतामाथि रकेट प्रहार गर्नु निर्दोष नागरिकलाई आतंकित पार्ने र मार्ने अर्को प्रयास हो ।

मिथकहरू हटाउने र वास्तविकतामा आउने समय हो यो ।

पहिलो, मिथक अस्तित्वहीन सन्तुलन कायम राख्ने निरर्थक प्रयासमा मूलधारका धेरै सञ्चारमाध्यमले बनाएको अपवित्र समीकरण हो, जसमा द्वन्द्वलाई ‘दुवै पक्षको हिंसा’ भनेर भ्रामक रूपमा वर्णन गरिएको छ ।

इजरायलले शान्ति र सहअस्तित्व चाहेका बेला हमासलगायत प्यालेस्टाइनी आतिवादी संगठनहरू मृत्यु र विनाश रोज्छन् । द्वन्द्वको दौरान इजरायलले नागरिकलाई हुने क्षति कम गर्न ठूलो प्रयास गरेको छ, तर लडाकु प्यालेस्टाइनीहरूले निर्दोष नागरिकलाई उनीहरूको प्राथमिक उद्देश्यका रूपमा लक्षित गरेका छन् । हमासले दोहोरो युद्ध अपराध गरेको छ— गाजापट्टीका बासिन्दालाई मानव ढालका रूपमा प्रयोग गर्दै इजरायली नागरिकलाई लक्षित गरेको छ ।

यसको तुलना गर्न सकिँदैन । निर्दोष नागरिकमाथि आक्रमण गर्ने र यस्ता आक्रमणबाट आफूलाई जोगाउनेहरूबीच कुनै समानता छैन ।

इजरायली रकेटहरू नागरिक सुरक्षाका लागि प्रयोग गरिन्छन् भने प्यालेस्टाइनी नागरिक उनीहरूको रकेटको रक्षा गर्न प्रयोग गरिन्छन् ।

दोस्रो मिथक, जसलाई धेरैले दोहोर्‍याउँछन् कि बलप्रयोग अप्रभावी वा स्वाभाविक रूपमा अनैतिक छ । यो गलत हो ।

कहिलेकाहीँ बलप्रयोग आवश्यकता, दायित्व र कार्यको एक मात्र नैतिक मार्ग हुन्छ । हमास, जसले बच्चाहरूको हत्या र निर्दोष मानिसलाई उनीहरूकै ओछ्यानमा मार्छ, को दुष्टताको गहिराइको सामना गर्दै उनीहरूको लक्ष्य पूरा गर्नबाट रोक्नु र कुनै पनि उपलब्ध माध्यमद्वारा यस्ता अत्याचारहरू रोक्नु प्रत्येक राज्य वा निकायको दायित्व हुन जान्छ ।

इजरायलका सन्दर्भमा आत्मरक्षामा बलप्रयोग गर्ने अधिकारमाथि प्रश्न उठ्नु अस्वीकार्य छ । संसारका अन्य राष्ट्रजस्तै इजरायललाई पनि आफ्ना नागरिकको सुरक्षा गर्ने र आफ्ना नागरिकको रक्षाका लागि आवश्यक सबै कदम चाल्ने दायित्व र अधिकार छ ।

जब मिडियाकर्मी र अरूले इजरायलको आत्मरक्षाको अधिकारमाथि प्रश्न उठाउँछन्, तब इजरायलका जनता सोध्छन्— जसरी संसारको कुनै पनि राष्ट्रलाई आफ्ना जनताको रक्षा गर्ने अधिकार छ, यो अधिकारलाई मान्यता दिन कति इजरायली मारिनुपर्छ ?

हाइलाइट गर्नुपर्ने तेस्रो मिथक इजरायल र अतिवादी प्यालेस्टाइनबीचको द्वन्द्वको सारलाई छुने विषय हो । यसलाई हटाउनुपर्ने झूट के हो भने, यो द्वन्द्व केवल भूमि, पानी वा अन्य भौतिक सम्पत्तिलाई लिएर भएको हो । इजरायलले यो वा त्यो मात्र गरे त्यहाँ शान्ति हुन्छ भन्नु सबैभन्दा अस्पष्ट भनाइ हो । दक्षिणी इजरायलमा आक्रमणले प्यालेस्टाइनी शिविरका अन्य अतिवादीजस्तै हमासको पनि सम्झौता वा सहअस्तित्वमा कुनै किसिमको चासो छैन भन्ने तथ्यलाई देखाउँछ । तिनीहरू इजरायललाई मेटाउन चाहन्छन् र कुनै पनि रूपमा मान्यता दिन इन्कार गर्छन् ।

यो अस्तित्वको लडाइँ हो, जसमा इजरायलको अस्तित्व खतरामा छ । इजरायलले शान्तिपूर्ण सहअस्तित्व हासिल गर्ने प्रयासमा निकै लामो यात्रा तय गरिसकेको छ । इजरायलले प्यालेस्टाइनी अथोरिटीलाई मान्यता दियो र प्यालेस्टाइनीका लागि भनेर भूमि छोड्यो । इजरायलले सम्पूर्ण गाजापट्टी खाली गरेको थियो, साथै त्यस क्षेत्रका सबै यहुदी बस्तीहरू पनि हटाइए । तापनि, इजरायलले शान्ति पाएन । बरु इजरायलले खाली गरेका भूमि आतंकवादी प्रशिक्षण शिविर र आक्रमणका लागि लन्चिङ प्याडमा परिणत भए । सहअस्तित्वभन्दा द्वन्द्व रोज्न बहुसंख्यक प्यालेस्टाइनी र अतिवादीलाई उनीहरूका बीचबाट बाहिर निकाल्ने हो भने मात्र शान्ति प्राप्त हुन्छ भन्ने बोध बढ्दो छ ।

यो समय इजरायललाई कसरी मद्दत गर्न सकिन्छ भनेर सोध्नेहरू धेरै छन् । यस्ता समर्थनका प्रस्तावहरू देखेर इजरायलीको हृदय न्यानो हुन्छ र समर्थकहरूको निकै प्रशंसा गर्छ ।

थुप्रैले दिने भावनात्मक र भौतिक समर्थनबाहेक नैतिक समर्थन पनि कम महत्त्वपूर्ण छैन । निर्वाचित पदाधिकारीहरूका सार्वजनिक वक्तव्यहरू; सेनागग, चर्च, स्तूप तथा मन्दिरहरूमा ऐक्यबद्धता जनाउने सभाहरू एवं सार्वजनिक भवनहरूमा बालिने नीला–सेता (इजरायली झन्डाका रङ) बत्ती सबै आश्वस्त गर्ने कार्यहरूका उत्कृष्ट उदाहरण हुन् ।

सामाजिक सञ्जालको आजको दुनियाँमा सबैको आवाज सुनिन्छ र जोकोही पनि सद्भावनाको दूत बन्न सक्छ । यदि तपाईं इजरायललाई समर्थन गर्न चाहनुहुन्छ भने सत्य फैलाउनुहोस् र मिथकहरू हटाउन हामीलाई मद्दत गर्नुहोस् ।

नेपाल सरकार र हजारौं नेपाली नागरिकले इजरायललाई गरेको सहयोगको इजरायल उच्च कदर गर्छ । हमासको आक्रमणको भर्त्सना गर्दै यस कठिन घडीमा इजरायलको साथमा उभिनु आवश्यक रहेको औंल्याउँदै, सन् १९६० मा बीपी कोइरालाले नेपाल र इजरायलबीच कूटनीतिक सम्बन्ध स्थापना गर्न गरेको ऐतिहासिक निर्णयको स्मरण गर्नु हाम्रा लागि अपरिहार्य भएको छ ।

गोडेर नेपालका लागि इजरायली राजदूत हुन् ।

प्रकाशित : कार्तिक ३, २०८० ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×