२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

तीजको बदलिँदो स्वरूप

तीजलाई रमाइलो गर्ने तथा नाचगान गर्ने अवसरमा मात्र सीमित गर्नु हुँदैन । महिलामाथि सामाजिक, सांस्कृतिक र आर्थिक रूपमा दशकौंदेखि हुँदै आएका दमन र शोषणविरुद्ध आवाज उठाउने र सचेत पुरुष वर्गको पनि समर्थन जुटाउने अवसरका रूपमा सदुपयोग गर्नुपर्छ ।
डीला संग्रौला

तीज भन्नेबित्तिकै हामीले चेलीहरू माइती आउने, भेटघाट तथा रमाइलो गर्ने अवसर र पर्वका रूपमा बुझ्दै आएका छौं । परापूर्वकालमा हिमालयपुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी व्रत बसेको प्रसंगबाट तीज सुरुआत भएको मानिन्छ ।

तीजको बदलिँदो स्वरूप

विगतमा माइती टाढा हुने र सानैमा विवाह गर्ने प्रचलन भएकाले तीजको महत्त्व धेरै थियो । अहिले महिला आफैं सक्षम बन्दै गएका छन् भने रमाइलो गर्न र मनको बह पोख्न तीज नै कुर्नुपर्ने बाध्यता छैन ।

तीजले महत्त्व पाउनुमा केही कारण छन् । पहिलो कुरा यसको धार्मिक महत्त्व नै हो । महादेव र हिमालयपुत्रीको प्रसंग जोडिने हुनाले यसैलाई आधार मानेर हिन्दुहरूले तीज पर्व मनाउने परम्परा छ । आफ्नो परिवारका लागि व्रत, उपासनामार्फत दीर्घायुको कामना गर्ने विषयलाई धार्मिक प्रसंगसँग जोड्न सकिन्छ । व्रत बस्नु स्वास्थ्यका लागि फाइदाजनक छ । तीज सांस्कृतिक परम्परा पनि हो । विगतमा महिलाले पीडा पोख्ने माध्यमका रूपमा यसलाई लिन्थे । अहिले संस्कृति, परम्परालाई जोगाइराख्न भेटघाट हुने गरिन्छ । हाम्रो पहिचान जोगाउने माध्यम भएकाले तीजको सांस्कृतिक महत्त्व छ ।

विगतमा तीजका बेला चेलीबेटी माइत आउने, दर खानेजस्ता कुरा प्रधान थियो । अहिले सहरबजारमा एक महिना अगाडिबाटै पार्टी प्यालेस बुक गर्ने, तडकभडक गरेर दर खाने भनेर आलोचना हुने गर्छ । विगतमा सानैमा विवाह हुन्थ्यो अनि माइतीसँग हतपती भेटघाट नहुने अवस्था थियो । मीठोमसिनो खान नपाउने स्थितिसमेत हुन्थ्यो । अहिलेको जस्तो कुराकानी गर्नलाई सञ्चारका माध्यम पनि थिएनन् । त्यसैले तीजको बेग्लै महत्त्व हुन्थ्यो । सञ्चारका माध्यमले माइत र घर निकै नजिक भइसकेको छ । दिनहुँ बाबाआमा, दाजुभाइ, दिदीबहिनी घण्टौंसम्म भिडियो कलमार्फतै खबर आदानप्रदान गर्ने जमाना आइसकेको छ । विगतमा सासू–बुहारीबीच झगडाका प्रसंग पनि खुबै आउँथे । अहिले कतिपय सासू आमाकै रूपमा प्रस्तुत भएको देखिन्छ । महिला आफैं पनि सक्षम हुँदै गएका छन् ।

तीज दुःख–वेदना सुनाउनेभन्दा पनि भेटघाट, रमाइलो र शुभकामना आदानप्रदान गर्ने पर्व बन्न थालेको छ । तीजको माध्यमबाट महिला अधिकार र सशक्तीकरणका कुरा गर्ने चलन सुरु भइसकेको छ । सहर–बजारमा साँघुरो ठाउँमा बस्नेहरूले पार्टी प्यालेसमा गएर दर खानु, अलि लामो समय लगाएर तीज मनाउनुलाई अन्यथा भन्नु हुँदैन । तर धेरै तडकभडक नगरेर मितव्ययिता अपनाउनु राम्रो हुन्छ । पहिलाका तीजका गीतहरू निकै मार्मिक हुन्थे । ती महिलाका दुःख–पीडामै सीमित थिए । अहिलेका तीज गीतहरू रमाइलो गर्ने खालका पनि छन्, महिला सशक्तीकरणका कुरामा केन्द्रित पनि छन् । मनोरञ्जनका नयाँ–नयाँ प्रविधिहरू आएका बेला त्यसको प्रभाव तीजका गीतसंगीतमा पर्नु स्वाभाविकै हो । हामीले सांस्कृतिक पक्षलाई भने बिर्सनु हुँदैन ।

तीजलाई महिला सशक्तीकरणसँग जोड्नुपर्छ । अहिले संवैधानिक रूपबाटै महिलाका अधिकारहरू सुरक्षित त गरिएका छन् तर ती पर्याप्त छैनन् । संविधानले महिला अधिकारलाई मौलिक हकका रूपमा राखेको छ । संविधानको धारा ३८ ले राज्यको हरेक निकायमा महिलाको समानुपातिक, समावेशी प्रतिनिधित्वको व्यवस्था गरेको छ तर यो व्यवस्था कार्यान्वयन हुन सकेको छैन । अधिकांश दिदीबहिनी अनौपचारिक क्षेत्रमा काम गर्नुहुन्छ । औपचारिकभन्दा पनि अनौपचारिक क्षेत्रमा काम गर्ने महिलाका समस्या धेरै छन् । अनौपचारिक क्षेत्रमा काम गर्ने महिलाको श्रमको मूल्य नै छैन । विश्व श्रम संगठनले गरेको एक अध्ययन अनुसार नेपाली महिलाले घरमा गर्ने काम पुरुषको तुलनामा झन्डै ६ गुना बढी छ । यस्तै नेपाली महिलाले ज्याला नलिएर घरभित्र र घरबाहिर गर्ने श्रमको आर्थिक मूल्य मुलुकको कुल गार्हस्थ्य उत्पादनको झन्डै ४२ प्रतिशत बराबर छ । तर त्यसबापत न महिलाले कुनै आर्थिक प्रोत्साहन पाउँछन् न त समाजले त्यसलाई महत्त्व नै दिन्छ ।

महिलाले जति काम गरे पनि श्रमको उचित मूल्य नपाउने र शोषण–दमन भइरहने अवस्था छ । औपचारिक रूपमा काम गर्ने महिलाले पनि विभेद सामना गर्दै आएका छन् । अहिले राजनीतिक रूपमा हामी संघीय लोकतान्त्रिक गणतन्त्रमा छौं । नेपाली समाजमा छोरा र छोरी बराबरी भन्ने अवधारण सुरु भइसकेको छ । विगतमा जस्तो छोरा नै चाहिन्छ भन्ने मान्यता पनि क्रमशः हट्दै गएको छ । कतिपय अभिभावक त एउटा मात्रै छोरी हुँदा पनि ढुक्कसँग बसेका छन् । छोरीले नै बाबुआमाको किरिया गर्न थालेका छन् । यो भनेको सामाजिक रूपान्तरणको एउटा संकेत हो । यसलाई समाजको चेतनाको स्तर बढेको रूपमा पनि लिन सकिन्छ । अहिले छोरीलाई उच्च शिक्षा दिनुपर्छ भन्ने सोचाइ बढेको छ ।

समस्या नभएका भने होइनन् । अहिले पनि महिला बोक्सीको आरोपमा प्रताडित हुने, छाउपडी, दाइजो प्रथा, बलात्कार तथा घरेलु हिंसाका कारण मारिने घटना पनि भइरहेका छन् । यस्ता कूरीति एवं अपराध हटाउन राज्य दृढसंकल्पका साथ लाग्नुपर्छ । महिलालाई साँच्चै अगाडि बढाउने हो, राज्यको नीति निर्माण तहमा पुर्‍याउने हो भने यथास्थितिमा परिवर्तन आवश्यक छ । अहिले पनि निर्वाचनमा महिलाको उम्मेदवारी सुनिश्चित नहुँदा समानुपातिकमा सीमित हुनुपर्ने अवस्था छ । स्थानीय तहमा महिलालाई उपप्रमुखमा सीमित गरिएको देखिन्छ । त्यसैले अहिलेको अवस्थामा सकारात्मक विभेदको नीति अनुसार महिलाका लागि आरक्षण क्षेत्र छुट्याएर नीति निर्माण तहमा महिलाको उपस्थिति हुने वातावरण तयार गर्नुपर्छ ।

महिलालाई शिक्षासँगै सीप अहिलेको प्रमुख आवश्यकता हो । सीप सिकेपछि उद्यम गर्न सहुलियत ऋण सरकारले उपलब्ध गराउनुपर्छ, बजार खोज्न पनि सहयोग गर्नुपर्छ । यसमा खासगरी स्थानीय सरकारको भूमिका हुनुपर्छ । छात्राहरूलाई सूचना प्रविधि लगायत क्षेत्रमा समेत अगाडि बढ्न प्रेरणा दिनुपर्छ । महिलालाई आत्मनिर्भर बनाउन सरकारले सबलीकरण र सशक्तीकरणका कार्यक्रम ल्याउनुपर्छ । महिला र पुरुषबीच समानताको भावना आउँदा तथा दुवैको शक्ति र बुद्धि लगाउँदा मात्र मुलुक समुन्नत र समृद्धिशाली बन्न सक्छ । त्यसैले तीजले महिला हिंसा अन्त्य, आर्थिक सबलीकरण, छोरा र छोरी दुवै बराबरी, समान अवसर, समान दायित्व, राज्यको हरेक तहमा ५० प्रतिशत प्रतिनिधित्व हुनुपर्नेजस्ता सन्देश बोक्नैपर्छ । तीज महिलाका लागि जागरण, चेतना, ऊर्जा, साहस, अठोट र नयाँ गन्तव्य खोजीको माध्यम बन्नैपर्छ । तीजलाई धार्मिक र सांस्कृतिक पक्षसँग मात्र गाँस्नु हुँदैन । यसलाई रमाइलो गर्ने तथा नाचगान गर्ने अवसरमा मात्र सीमित गर्नु हुँदैन । महिलामाथि सामाजिक, सांस्कृतिक र आर्थिक रूपमा दशकौंदेखि हुँदै आएका दमन र शोषणविरुद्ध आवाज उठाउने र समाजका सचेत पुरुष वर्गको पनि समर्थन जुटाउने अवसरका रूपमा यो पर्वलाई सदुपयोग गर्नुपर्छ ।

प्रतिनिधिसभाकी पूर्वसदस्य संग्रौला नेपाली कांग्रेस केन्द्रीय सदस्य हुन् ।

प्रकाशित : आश्विन १, २०८० ०७:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारी ठग्नेलाई कारबाहीको दबाब दिन प्रमुख विपक्षी दल कांग्रेसले गरेको सडक आन्दोलन घोषणालाई कसरी लिनुभएको छ ?