कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७२

डेटा डिक्टेटरसिपको खतरा

अब डेटाका मालिकहरूमा राजनीतिक शक्ति जानेछ । चुनावमा कसलाई केभन्दा भोट आउँछ, कसलाई कसरी भड्काउने, कस्लाई कसरी खुइलाउने भन्ने रणनीति डेटाका आधारमा बन्नेछन् ।
वाईपी आचार्य

हिजोको समाजमा आर्थिक, मानवीय, सामाजिक, ज्ञान र सांस्कृतिक पुँजी फरक–फरक स्थानमा थिए, यी अलगअलग शक्ति थिए । कसैसँग पैसाको पुँजी थियो— लगानी गरी उत्पादन गर्थे, रोजगारी दिन्थे । आर्थिक शक्तिको उपयोग गरी राजनीतिक प्रभाव बढाउँथे । कसैसँग मानवीय पुँजी थियो— ज्ञान, सीप र दक्षताबाट अर्थोपार्जन गर्थे, राजनीतिक पहुँच बढाउँथे, अवसर लिन्थे । कसैसँग सामाजिक पुँजी थियो— भनसुनको हतियार प्रयोग गर्थे, छरितो काम गराउँथे, समाजमा चिनिन्थे, राजनीतिक शक्तिसँग सम्बन्ध विस्तार गरेर अवसर लिन सक्थे । कसैसँग ज्ञानको शक्ति थियो ।

डेटा डिक्टेटरसिपको खतरा

भारतीय अर्थशास्त्री एवं दर्शनशास्त्री अमर्त्य सेनले भनेजस्तो ज्ञानलाई आर्थिक पुँजीमा रूपान्तरण गर्न सक्थे । ज्ञानको हतियारबाट अर्थोपार्जन र सामाजिक अवसरमा भूमिका खेल्थे । कसैसँग सांस्कृतिक पुँजी थियो । नयाँ पुस्तामा प्रतिष्ठाको हस्तान्तरण गरेर वा पुनः उत्पादन गरेर शक्तिको उपयोग गर्थे । यसरी सबैतिर शक्ति वितरित थियो । तर प्रविधिको विकाससँगै यी सबै शक्ति ठूला डेटा सेन्टरमा केन्द्रीकृत हुँदै छ ।

अब सूचनालाई माल बनाएर बेच्ने भएपछि, आर्थिक पुँजीको आधार डेटा हुने भयो । मानिसको ज्ञान, सीप, स्मरण, रणनीति सबै रोबर्ट र एआईले विस्थापन गर्ने सम्भावना रह्यो । सूचनाको संरक्षण र स्मरण गर्ने काम सबै डेटा सेन्टरले गर्ने भयो । यसो हुँदा मानवीय पुँजीको शक्ति डेटा सेन्टरले छिन्छ । सूचना र सम्पर्क सामाजिक पुँजी थिए ।

अब हरेक प्रकारका सूचना एकत्रित हुने भए । ती सूचनाका बीचमा सञ्जालीकरण हुने भयो । यसो हुँदा व्यक्तिले सामाजिक पुँजी उपयोग गर्नै पाउने भएन । यो शक्ति पनि डेटा सेन्टरले खिच्ने भयो र अहिले ज्ञानको मूलकेन्द्र नै यही भएका छन् । जस्तो— कोरोनाको प्रकृति, फैलावट उपचारजस्ता विषयमा ज्ञान पाउन डाक्टरलाई कुरिरहनु परेन, गुगलले नै बताउने भयो । ज्ञानको शक्तिलाई आर्थिक पुँजी वा सामाजिक मर्यादामा बदल्नेहरूको तागत डेटा सेन्टरले खोस्यो । संस्कृति समाजमा होइन भर्चुवल रूपमा डेटामा संगृहीत हुन थाल्यो । संस्कृतिको पुनरुत्पादकीय शक्ति व्यक्तिमा नभएर डेटा सेन्टरमा जाने भयो । यसरी सबै शक्ति र पुँजी केन्द्रीकृत गरेपछि डेटा सेन्टरमा सुपरपावर हुने भएकाले तानाशाह जन्मिनु स्वाभाविक नै हुन्छ ।

सरकारले के गर्दै छ, डेटामा रहन्छ । कुनै संस्था कसरी चल्दै छ डेटालाई थाहा हुन्छ । व्यक्तिका विवरण– शारीरिक, मानसिक, संवेगात्मक पक्षका सूचनाहरूको रेकर्ड पनि यही बस्छ । जैविक प्रविधिको माध्यमबाट व्यक्तिका शरीर रचना र क्रियासँग सम्बन्धित सूचनाहरू, स्वास्थ्य अवस्थाका सूचनाहरू केन्द्रीकृत हुने भए । बायोइन्जिनियरिङ, मस्तिष्कको इन्जिनिएरिङबाट व्यक्तिका आन्तरिक सूचनाहरू सबै प्रविधिसँग जोडिने भए । र, सबै प्रकारका सूचना डेटा सेन्टरमा जाने भए ।

व्यक्तिले गुगलमा कुन साइट बढी हेर्छ, कुन चीज मन पराउँछ, के देख्दा खुसी हुन्छ वा दुःखी, के देख्दा डराउँछ वा उत्तेजित हुन्छ, त्यसले उसको मनोविज्ञानको रेकर्ड हुन्छ । सामाजिक सञ्जालमा कस्ता फोटो हाल्छ, कस्ता स्टाटस राख्छ, कस्ता कमेन्ट गर्छ भन्नेले उसको विचारधाराको निर्धारण गर्छ । स्टाटस र कमेन्ट व्यक्तित्व झल्काउने ऐना हुन् । को कस्तो छ भन्ने जान्न उसको फेसबुकको इतिहास खोजे पुग्छ । को कति सनकी, भाट, सन्तुलित, तार्किक, भरोसायोग्य, हल्का, दयालु, निष्ठुरी, स्वार्थी, भावुक आदि जान्न उसको फेसबुक हेरे पुग्छ ।

त्यस्तै हरेक ठाउँमा व्यक्ति सीसीटीभीको निगरानीमा रहने भयो । हरेक गतिविधि रेकर्ड हुने भए र डेटा सेन्टरमा रहने भए । आफ्नाबारे अब आफैंलाई भन्दा बढी डेटा अल्गोरिदमलाई थाहा हुने भएपछि कसरी बन्न सक्छ व्यक्ति आफ्नो मालिक ? यसरी व्यक्तिसमेत डेटाको दास हुने भएपछि डेटा तानाशाह हुने नै भयो ।

हिजो आर्थिक शक्ति मात्रै आफ्नो हातमा लिएको पुँजीवाद अब सूचनाका साथ सबै प्रकारका शक्ति आफ्नो हातमा लिई डेटा पुँजीवादमा प्रवेश गर्दै छ । अब डेटाका मालिकहरूमा राजनीतिक शक्ति जानेछ । उनीहरू आफूअनुकूलका नीति निर्माणका लागि उद्यत रहनेछन् । चुनावमा कसलाई केभन्दा भोट आउँछ, कसलाई कसरी भड्काउने, कस्लाई कसरी खुइलाउने भन्ने रणनीति डेटाका आधारमा बन्नेछन् । टिकट कसले पाउने अल्गोरिदमले भन्ने छ । किनकि उसले क्यालकुलेसन गर्नेछ । हार जितको सम्भावना देखाउनेछ । जित्नका लागि के गर्ने त्यो पनि सुझाव दिनेछ । जसरी पुँजीवादी समाजमा पुँजीपति वर्गको, दलाल पुँजीवादमा दलालहरूको राजनीतिमा हालीमुहाली र नियन्त्रण थियो त्यसै गरी डेटा पुँजीवादमा डेटा पुँजीपतिहरूको नियन्त्रणमा राजनीति रहनेछ ।

आधुनिकीकरण र वैज्ञानिक युगको प्रारम्भ हुनुभन्दा पहिले शक्तिको मूल स्रोत भगवान्लाई मानिथ्यो । त्यति बेला सत्यलाई प्रमाणित गर्ने विधि र साधनको विकास भएको थिएन । प्राकृतिक घटनाहरू भइरहन्थे । कसैको प्रयत्नबिना पनि प्रकृति चलिरहन्थ्यो । अचम्मलाग्दा घटनाहरू कसरी हुन्छन् भन्ने तथ्यलाई प्रमाणित गर्ने सामर्थ्य नभएपछि कुनै अदृश्य शक्तिले यो चलाएको होला भनी अनुमान गर्न थालियो । त्यही अदृश्य शक्तिलाई भगवान् मानियो । कसैले कुन रूपमा भगवान् माने कसैले कुन तर नदेखिने शक्तिलाई माने । समाजका टाठाबाठाहरूले अनुमानका आधारमा केही ग्रन्थ लेखे, कथा बनाए । भगवान्‌लाई देख्न सकिँदैन तर भगवान्‌ले सबैलाई देख्छन् भनियो । भगवान्‌ले धर्म गर्नेलाई पुरस्कार दिन्छन् र अधर्म गर्नेलाई दण्ड भनियो । भगवान्‌लाई सबैले प्रत्यक्ष भेट्न सक्दैन तर समाजका केही टाठाबाठा व्यक्तिहरू भगवान्‌का एजेन्ट हुन् भनियो ।

यिनीहरूले सर्वसाधारण र भगवान्बीच पुलको काम गर्छन्, समाजमा अनुशासन कायम गराउन भगवान्ले अधिकार हस्तान्तरण गरेका हुन्छन् भनियो । यस्ता व्यक्तिहरू सत्ताप्रमुख मूलतः राजा, महाराजा भए । धार्मिक ग्रन्थ वा उनीहरूका बोली नै कानुनका रूपमा रहे । दैवी शक्तिको भ्रमको बलमा उनीहरू तानाशाही बने । यसरी कुनै बेला सम्पूर्ण शक्ति भगवान्मा थियो र त्यही शक्तिको खोल ओढेर सीमित व्यक्तिले निरंकुश शासन चलाए ।

आधुनिक युगमा खोज अनुसन्धान हुन थालेपछि वैज्ञानिक सिद्धान्तहरू जन्मिए । अनुसन्धानका पद्धति जन्मिए । अधिकांश कुरा परीक्षण गर्न सकिने भयो । भगवान् भएको प्रमाणहरू पाउन सकिएन । शिक्षा विस्तार भएसँगै मानिस सचेत बन्दै गए । आफूप्रति भएको शोषणविरुद्ध आवाज उठाउन थाले । अधिकार खोज्न थालियो । जनता बिस्तारै बलिया हुँदै गए । राज्यसत्ता भगवान्का एजेन्टले होइन जनताले चलाउनुपर्छ भन्ने मत बढेर गयो । जनताको राज्यमा धर्मशास्त्र वा शासकका बोली कानुन नभएर जनताले आफैं बनाएका नियमले राज्य चल्नुपर्छ भनियो ।

यसरी प्रजातन्त्रको विकास भएको थियो । प्रजातन्त्रमा जनतालाई सर्वेसर्वा मानियो । जनताले चुनेका व्यक्तिले राज्य चलाउने भए । यससँगै समाजवादी र उदारवादीजस्ता कथाहरूले देशलाई चलाउन थाले । मानवनिर्मित दर्शन र विचारमा विश्वास गर्न थालियो । यसरी पहिलेको दैवीय शक्ति राजनीतिक रूपमा जनतामा रूपान्तरित भयो । यहाँ शक्तिका केन्द्र जनता भए । जनता जनार्दन भए । शक्ति छरिएको हुनाले तुलनात्मक रूपमा जनताको शक्तिको काल अलि बढी लोकतान्त्रिक भयो ।

प्रविधिको विकाससँगै जनतामा रहेको शक्ति अब डेटा सेन्टरमा जाँदै छ । जनताको रुचि, संवेग, अनुभूति, आवश्यकता बुझ्ने शक्ति मानिसमा भन्दा अल्गोरिदममा बढी भइरहेको छ । मनिसका आर्थिक, सामाजिक, सांस्कृति, मनोवैज्ञानिक शक्ति डेटा सेन्टरले खोस्दै छ । मानिसले नजानेको कुरा डेटा सेन्टरलाई सोध्नुपरिरहेको छ । उसले जवाफ दिन्छ । यसले सूचनाका आधारमा भविष्यको समेत अनुमान गर्छ । जसरी पहिले भगवान्ले सबैलाई देख्छन् भनिन्थ्यो, त्यसरी नै अब गुगल वा यस्तै सफ्टवेयर सेन्टरले सबैलाई देख्न सक्छ, सबैलाई बुझ्न सक्छ । सबै सूचना एकै ठाउँमा भएपछि जे खोजे पनि त्यहीँ पाइने भयो । सबै भारी डेटा सेन्टरले बोकेपछि मानिसले सूचना बोक्ने कष्ट गर्ने भएन । यसो हुँदा मानिसले आफ्नो

शक्ति गुमाउँदै जाने र डेटा सेन्टरले शक्ति बढाउँदै जान थाल्यो । सबै चीज डेटामा भर पर्नुपरिरहेको छ । यसो हुँदा डेटा सेन्टरहरू एक्काइसौं शताब्दीका भगवान् भइरहेका छन् । यी सेन्टर निकै थोरै मानिसको नियन्त्रणमा छ । यी सीमित व्यक्तिहरूले डेटाको शक्तिलाई देखाएर तानाशाही बन्ने सम्भावना हुन्छ जसरी दैवी शक्तिलाई देखाएर सीमित राजा–महाराजा तानाशाह बनेका थिए ।

आचार्य त्रिविका उपप्राध्यापक हुन् ।

प्रकाशित : पुस १३, २०७८ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?