१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०७

नेपाली कफीको फैलिँदो स्वाद

विश्व बजारले हामीसँग कफी माग गरिरहेको छ । विदेशीहरूले अनौपचारिक भेटघाटमा भन्ने गर्छन्— कफीमा ‘प्रेस्टिज’ र ‘प्रोपर्टी’ छ । कफीको ‘सिड’ देखि ‘कप’ सम्मको समग्र व्यवसायमा अब ज्ञान, विवेक र प्रविधि भएका युवाहरू आउनुपर्छ ।
दीपक खनाल

विश्वभरि नै कफीलाई सम्मानित नरम पेय पदार्थका रूपमा लिइन्छ । अध्ययनहरूका अनुसार, कफीमा पाइने क्याफिनले मानिसमा उत्तेजना र स्फूर्ति ल्याउँछ; शारीरिक–मानसिक थकान मेट्ने, आलस्य कम गराउने र काम गर्ने जाँगर बढाउने गर्छ । हामीले सेवन गर्ने कफी बिरुवाबाट पाइने फल हो, जुन निश्चित वर्षको वृद्धि विकासपछि आवश्यक प्रशोधन प्रक्रिया पूरा गरी हाम्रो कपसम्म आइपुग्छ ।

नेपाली कफीको फैलिँदो स्वाद

नेपालमा कफीरोपणको सुरुवात विक्रम संवत् १९९५ सालमा गुल्मीको आँपचौरमा भएको हो । बर्माबाट बीउ ल्याई कफी रोप्ने श्रेय इतिहासले सन्त हीरा गिरीलाई दिएको छ । प्रारम्भमा भूक्षय रोक्न रोप्ने गरिएको कफी धेरै वर्षसम्म गुल्मीवरपरका केही जिल्लामा सीमित रहँदै ‘अननोटिस्ड’ र ‘अनएक्सप्लोर्ड’ बिरुवाका रूपमा रह्यो । जब कफीले सेवनयोग्य फलको चिनारी पायो, जब यसका आर्थिक, वातावरण्ाीय र स्वास्थ्यकेन्द्रित उपादेयताहरू सतहमा आउन थाले, किसानहरूको उत्साहपूर्वक करेसाबारीमा रोप्न थाले । ८३ वर्षको इतिहास बोकेको नेपाली कफी आज गुल्मी हुँदै पूर्व–पश्चिमका ४० भन्दा बढी पहाडी जिल्लाहरूमा किसानहरूका लागि अपेक्षापूर्ण र सम्भावनायुक्त नगदेबालीका रूपमा चिनिएको छ । अझ २२–२३ जिल्लामा त कफीरोपणले व्यावसायिक रूप नै ग्रहण गर्दै छ ।

अपवादबाहेक नेपालमा रोपिएको कफी अराबिका जातको मात्र छ । अन्तर्राष्ट्रिय कफी संगठनको अध्ययनअनुसार, ७० भन्दा बढी मुलुकले कफी खेती गर्छन् र कुल उत्पादनको ७० प्रतिशत अराबिका कफी नै उत्पादन हुन्छ । नेपालको भूगोल र हावापानीमा अराबिका कफी समुद्र सतहबाट ८०० देखि १६०० मिटरको उचाइसम्म रोप्नु उपयुक्त मानिन्छ ।

सम्भावना र वर्तमानको चित्र : अलिक ठूलो ‘ग्याप’

राष्ट्रिय चिया तथा कफी विकास बोर्डको पछिल्लो तथ्यांक हेर्दा, अहिले देशभरि ३०५२ हेक्टरमा कफी रोप्ने गरिन्छ । आर्थिक वर्ष २०७१–७२ मा २३८१ हेक्टरमा कफी रोपिएको थियो भने, २०७२–७३ मा २६१८ हेक्टरमा रोप्न थालियो । २०७५–७६ सम्म अति नगण्य वृद्धि हुँदै २०७६–७७ मा कफीरोपण क्षेत्र पुनः घटेको देखिन्छ । २०७७–७८ मा ३०५२ हेक्टरमा कफीरोपण हुनुलाई कफी व्यवसायमा फर्केको उत्साहका रूपमा लिन सकिन्छ ।

कफीरोपणको वर्तमान अवस्था देशमा उपलब्ध सम्भाव्य क्षेत्रफलसँग कति मेल खान्छ भन्ने सन्दर्भ पनि महत्त्वपूर्ण हुन्छ । समुद्र सतहबाट जमिनको उचाइ, ढल्काइको डिग्री, तापक्रम, वर्षा, भौगोलिक मोहडा तथा सम्बन्धित भूमिको प्रयोगको अवस्थाजस्ता मुख्यमुख्य सूचकहरूको स्वीकारयोग्य मापदण्डका आधारमा बोर्डले सन् २०१८ मा सम्भावित क्षेत्रफलको प्रारम्भिक प्रक्षेपणसहितको प्रतिवेदन दिएको छ । त्यसअनुसार लगभग १२ लाख हेक्टर जमिन कुनै न कुनै रूपले कफी रोप्नका लागि उपयुक्त छ । अध्ययनअनुसार, त्यसमध्ये लगभग ७ लाख ३५ हजार हेक्टर सामान्य रूपले उपयुक्त, ४ लाख हेक्टर उपयुक्त र ६१ हजार हेक्टर अति उपयुक्त वर्गमा पर्छ । हामीले खेती गरिरहेको ३ हजार हेक्टरभन्दा केही बढी जमिन र उच्च सम्भावनायुक्त ६१ हजार हेक्टरबीच तुलना गर्दा कफी व्यवसायप्रतिको हाम्रो कमजोर गति प्रस्ट हुन्छ ।

रोपण क्षेत्र विस्तार र उत्पादन अन्तरसम्बन्धित हुन्छन् । तथ्यांक जसरी प्रस्तुत भए/गरिए पनि हाम्रो वार्षिक कफी उत्पादन यथार्थमा खासै बढेको देखिँदैन । आर्थिक वर्ष २०७६–७७ मा ग्रिन बिन ३१४.५ मे. टन उत्पादन भएकामा पछिल्लो अवस्थामा मुस्किलले २५–३० मे. टन बढेको देखिन्छ । यो स्वाभाविक वृद्धिमा हामीले सन्तोष मान्नु हँदैन ।

विश्वबजारले हामीसँग कफी माग गरिरहेको छ । परराष्ट्र मन्त्रालयको केही महिनाअघिको एउटा कार्यक्रममा विदेशस्थित नेपाली कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधिहरूले नेपाली कफीको माग त्यता उच्च रहेको बताउनुले हामीले उत्पादन गरेको कफीको महत्त्व प्रस्ट्याउँछ । नेपालमा उत्पादन भएको सबै कफीको अर्गानिक प्रमाणीकरण भइसकेको नभए पनि ‘बाई डिफल्ट’ अर्गानिक हो भन्ने विश्वास र मान्यता छ । गुणस्तरका दृष्टिले पनि ‘क्यू ग्रेडिङ’ गर्दा नेपालका किसानहरूले उत्पादन र प्रशोधन गरेको कफी ‘स्पेसियालिटी’ मापदण्डभित्र पर्न सफल भएकै छ । त्यसो त आयात–निर्यातको मात्रा र मूल्यलाई नै आधार मान्ने हो भने पनि नेपाली कफीको गुणस्तरलाई विदेशी व्यवसायीहरूले विश्वास गरेको पाइन्छ । आर्थिक वर्ष २०७७–७८ मा नेपालले लगभग ९.५ करोड रुपैयाँ बराबरको ७२.५ मे. टन. कफी निर्यात गर्दा हामीले बेचेको कफीको सरदर प्रतिकिलो मूल्य १३ सय रुपैयाँ हुन आउँछ, जबकि विदेशबाट लगभग १०.५ करोड रुपैयाँ बराबरको १९८ मे. टन कफी आएको छ, जुन सरदर प्रतिकिलो ५०० रुपैयाँ पर्न जान्छ । हुन त यस सम्बन्धमा हामीले बेचेको र किनेको कफीको गुणस्तर र शुद्धताजस्ता विविध पक्षको विश्लेषण नगरी निष्कर्षमा पुग्न सकिँदैन । जे भए पनि नेपालको अर्गानिक अराबिका कफी विश्वका कफीपारखी र व्यवसायीहरूका आँखामा परिसकेको छ ।

अब के गर्ने ?

पछिल्ला दिनहरूमा कफीको स्थानीय खपत बढिरहेको छ । नेपालमा पनि कफीपारखीहरू बढिरहेका छन् । चियाजस्तै कफी पनि ‘कल्चर’ बन्दै छ । अन्तर्राष्ट्रिय माग बढिरहेकै छ । तर हामीसँग कफी छैन । हामीसँग कफी हुनलाई कफी रोप्नुपर्छ, उत्पादन बढाउनुपर्छ । सम्भावना भएको जमिनको सदुपयोग गर्दै निम्न प्रयासहरू थालनी गर्न ढिला भइसकेको छ—

कफीबारे जानकारी र प्रचारप्रसार : अझैसम्म नेपालका धेरै किसानले कफीसम्बन्धी सामान्य जानकारीसम्म पाउन चाहेका छैनन् र सकेका पनि छैनन् । ‘कप’ को कफी पिउने धेरैले कफीको बोट देखेका छैनन् । उपयुक्त बाँझो जमिनको स्वामित्व भएका हजारौं किसान कफीजस्तो नगदेबालीको जानकारी नहुँदा हजारौं हेक्टर वर्षौंदेखि उपयोगविहीन बनाएर बसेका छन् । सूचना प्रविधिको गति र पहुँच यति बलियो हुँदा पनि कफीरोपण र व्यवसाय विस्तारमा हाम्रो वेग किन सुस्त ? पालिकैपिच्छे एफएम रेडियो, सामाजिक सञ्जाल, मोफसलका छापा अखबार, सानाठूला सहरकेन्द्रित प्रसारण माध्यम, टेलिभिजन, प्रदेश कार्यालयहरूलाई आधार बनाई सूचना प्रवाह गर्ने सञ्चारजगत् र काठमाडौंकेन्द्रित उच्च प्रविधियुक्त मिडियाहरूसँग सहकार्य गरी कफी क्षेत्र विस्तारबारे किसानहरूसम्म सूचना र जानकारी पुर्‍याउने प्रबन्ध गर्न ढिला भएन र ? कफीबारे यस्तो जानकारी ‘आधारभूत’ र ‘प्राविधिक’ गरी दुई आयाममा दिनु राम्रो हुन्छ ।

स्थानीय, प्रदेश र संघ सरकारबीच सार्थक सहकार्य : नेपाल सरकारले संघीय स्वरूपको संरचनामा राखेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले सिद्धान्ततः नीति, योजना तथा कार्यक्रम बनाउने हो । प्राविधिक सहयोग र परामर्श पनि बोर्डकै कार्यक्षेत्रमा पर्छ । तर नीतिगत कार्य गर्ने बोर्डसँग बजेटको सीमितता छ । तसर्थ बोर्ड एक्लैले कफी क्षेत्र विस्तारमा देखिने खालको सार्थक काम गर्न अप्ठ्यारै छ । बोर्डले देशभरिका सम्पूर्ण पालिकामा कफीरोपण हुन सक्ने र हुन नसक्ने स्थानहरूको क्षेत्रफलसहित प्रारम्भिक नै भए पनि एउटा अध्ययन गरेको छ । यसैलाई आधार मानेर हरेक सम्भावना भएका स्थानीय र प्रदेश सरकारले वार्षिक कार्यक्रमहरूमा कफीरोपणलाई समावेश गरी बजेट र प्राविधिक तयारी थाल्नुपर्छ । कफीरोपणलाई सरकारी नीति, योजना र कार्यक्रमहरूसँग एकाकार गर्दै लैजाँदा यस क्षेत्रका प्राविधिक जनशक्तिहरूको नियमित परिचालन, थप जनशक्ति व्यवस्थापन र प्राविधिक परामर्शले पनि गतिशीलता र जीवन्तता पाउन सक्छ ।

व्यावसायिक कफीरोपण, चक्लाबन्दी र किसान सामूहिकीकरण : अबको १० वर्ष कफीको व्यावसायिक रोपण अभियान सञ्चालन गर्नुपर्छ । कम्तीमा वर्षको २ हजार हेक्टर क्षेत्रफलमा मात्र पनि कफी विस्तार गर्न र जमिनको उत्पादकत्व सुधारसम्बन्धी कार्य पनि सँगसँगै लैजान सके हामी उत्पादनको एउटा सन्तोषजनक तह पाउन सक्छौं । व्यावसायिक कफीरोपणकै प्रयासस्वरूप बोर्डले गत दुई आर्थिक वर्षदेखि चक्लाबन्दी कफीरोपण कार्यक्रम सुरु गरेको छ । कम्तीमा ५० रोपनी जमिनमा कफीरोपण गर्नका लागि आह्वान गर्दै सुरु गरिएको यो कार्यक्रममा बोर्डको सानै भए पनि आर्थिक सहयोग र प्राविधिक संरक्षण रहँदै आएको छ । चक्लाबन्दी कफीरोपण कार्यक्रमले व्यक्तिगत, सहकारी तथा सामूहिक कफी खेतीलाई प्रवर्द्धन गर्ने उद्देश्य भए पनि साना किसानहरूका लागि छुट्टै प्रकृतिको

‘किसान सामूहिकीकरण’ अवधारणाका साथ कफी क्षेत्र विस्तारमा उनीहरूको भूमिकालाई सबल बनाउनु जरुरी छ । लामो इतिहास भएको कफी व्यवसायलाई बचाएर यहाँसम्म ल्याउने उनै साना किसानहरूलाई समूह–समूह बनाएर राज्यले ‘स्पेसल इन्सेन्टिभ सब्सिडी’ मार्फत कफी क्षेत्रको व्यवसायीकरण गर्नु उपयुक्त हुन्छ । त्यस्तै, देशका उच्च व्यापारिक घरानाहरूलाई कफी व्यवसायमा आउने वातावरण बनाई ‘इस्टेट फार्मिङ’ सुरु गर्दा कफी क्षेत्रले परिपक्व व्यावसायिकता पाउँछ ।

युवा पुस्तासँग अपिल : विदेशमा कफी व्यवसायमा युवा र पढेलेखेको पुस्ता लागेको छ । विदेशीहरूले अनौपचारिक भेटघाटमा भन्ने गर्छन्— कफीमा ‘प्रेस्टिज’ र ‘प्रोपर्टी’ छ । नेपालका सन्दर्भमा कफीले ‘इमर्जिङ इन्डस्ट्री’ को स्वरूप देखाउन थालेको छ । अब हामीले आफ्नो ८३ वर्षको इतिहास र तीतामीठा अनुभवहरूबाट सिक्दै कफीको ‘सिड’ देखि ‘कप’ सम्मको समग्र व्यवसायमा ज्ञान, विवेक र प्रविधि भएका युवाहरूको उल्लेख्य प्रवेशका लागि हार्दिक अपिल गर्नैपर्छ । हाम्रा पुर्खाहरूले आर्जन गरेको जमिनमा बुबा पुस्ताहरूले सकारात्मक ट्रायल त गरेकै हुन् तर युवाहरूको काँधमा भने अब साँच्चिकै कफी व्यवसायी बनेर स्थापित हुने अवसर आएको छ ।

अतः सम्भावनाको बृहत् धरातलमा उभिएको नेपालको कफी क्षेत्र प्रवर्द्धन गर्न अब हाम्रो गति बढ्नै पर्छ । तब मात्र कफीले विश्वलाई दिइरहेको रोजगारी, निर्यात व्यापार, मुद्रा आर्जन र पर्यावरण संरक्षणजस्ता महत्त्वपूर्ण उपलब्धिहरू नेपालले पनि पाउन सक्छ ।

खनाल राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निर्देशक हुन् ।

प्रकाशित : मंसिर १, २०७८ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?