सूर्य उपासनाको पर्व- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सूर्य उपासनाको पर्व

पहाडी भूभागमा पनि मनाउन थालिएको छठ पर्व राष्ट्रिय एकताको सेतु बनिरहेको छ । 
रामनारायण देव

छठ पर्वको उत्पत्ति कुन कालमा भयो भन्ने कुनै ऐतिहासिक प्रमाण उपलब्ध छैन । शास्त्राचारअन्तर्गत प्रत्यक्ष देवता सूर्यको पूजा र उपासना वैदिक कालदेखि नै आइरहेकाले लोकाचारअन्तर्गत यस पर्वलाई महोत्सवका रूपमा मनाइने चलन बसेको मान्न सकिन्छ ।


यो षष्ठी तिथिमा पर्छ, जुन अपभ्रंश भई ‘छ’ भएको हो । सूर्यसँग षष्ठी तिथिको सम्बन्धको चर्चा ब्रह्मवैवर्त पुराणमा पाइन्छ, जसअनुसार प्रकृतिदेवीले आफूलाई पाँच भागमा विभाजित गरिन् ! दुर्गा, राधा, लक्ष्मी, सरस्वती र सावित्रीमा ।

मार्कण्डेय पुराणमा भनिएको छ— ‘स्त्रियः समस्ताः सकला जगत्सु ।’ प्रकृतिदेवीको एउटा प्रधान अंशलाई देव सेना भनिएको छ जसलाई श्रेष्ठ मातृका मानिएको छ, जसलाई समस्त शिशुको रक्षिका देवी ठानिन्छ । प्रकृतिको छैटौं अंश भएका कारण षष्ठी भनिएको छ । शिशु–रक्षिका भएकाले यी देवीको विशेष रूपमा पूजा गरिन्छ । यो बच्चा जन्मेको छैटौं दिन वा शुक्लपक्षको षष्ठी तिथिमा पर्छ । मिथिलामा यी देवीको नाम ब्रह्मवैवर्त पुराणको प्रकृति खण्डमा कात्यायनी भनिएको छ ।

षष्ठी देवीको पूजा कुन समयमा सुरु भयो र सूर्य षष्ठी नामक पर्व कसरी प्रख्यात भयो भन्ने विषय विचारणीय छ । भविष्य पुराण र ब्रह्मवैवर्त पुराणमा यी देवीको पूजाबारे चर्चा गरिएको छ । मैथिली महाकवि विद्यापतिकृत वर्षकृतमा प्रतिहार षष्ठीका रूपमा षष्ठीको चर्चा गरिएको छ । यस प्रकार छठ पर्वलाई छठी माता, सूर्य षष्ठी र प्रतिहार षष्ठी पनि भनिन्छ । यी सबै नाममा षष्ठी तिथिको उल्लेख भए पनि षष्ठी तिथि मुख्य नभई षष्ठीपछि सप्तमी अर्थात् षष्ठीयुक्त सप्तमी तिथि प्रधान छ । यसलाई प्रतिहार षष्ठी पनि भनिन्छ । षष्ठीका दिन साँझमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ भने भोलिपल्ट सप्तमीका दिन उदाउँदो सूर्यलाई ।

***

सूर्य शब्दको अर्थ सर्वप्रेरक हो । वैदिक ग्रन्थहरूमा ‘तमः आसित्’ भनिएको पाइन्छ । अर्थात्, सृष्टिको उत्पत्ति हुनुअघि सर्वत्र अन्धकार थियो । हिरण्यको गर्भबाट एउटा दिव्य तेज गोलाकार रूपमा प्रकट भयो । दिगन्तव्यापी त्यो तेजका कारण सम्पूर्ण दिशाको अन्धकार नष्ट भयो ।

साम्व पुराणअनुसार, सूर्य तेजको प्रकाश र अग्निका उष्माको परस्पर संयोगबाट सूर्य रश्मिको उत्पत्ति हुन्छ । सूर्यका हजारौं रश्मि छन् । यिनैलाई वैज्ञानिकहरूले सात रंग (रातो, हरियो, नीलो, पहेंलो, सुन्तला, आकाशे र खैरो) मा बाँडेका छन् । यी रंगहरूको आ–आफ्ना विशेषता छन् । स्वामी माधवानन्दका अनुसार, सूर्यको प्रथम किरण आसुरी सम्पत्तिमूलक, आध्यात्मिक उन्नतिको प्रेरक हो । भौगोलिक स्थितिका कारण सूर्यका सातौं किरणले गंगा र यमुनाको मध्यभागमा अत्यधिक समयसम्म उष्णता प्रदान गर्ने भएकाले नै यिनलाई अन्तर्वेदी भनिएको हो । यस भू–खण्डलाई अति पवित्र र धार्मिक मानिन्छ । यस भूभागमा आध्यात्मिक धार्मिक अनुष्ठान र पूजाहरू बढी हुने गर्छन् । षष्ठी (छठी) छठ पर्वको उद्गमस्थल पनि यस क्षेत्रलाई मानिन्छ । त्वचा (छाला) सम्बन्धी रोगको उपचार सातै रंगबाट हुन्छ । तसर्थ आधुनिक चिकित्सामा पनि सूर्यस्नानको महत्त्व बढ्दै गएको छ ।

प्राचीनकालमा ऋषिहरूले नग्न आँखाबाट सूर्यको दर्शन गरेर त्यसको आध्यात्मिक स्वरूपको मात्र वर्णन गरे । यसको प्रमुख कारण वैज्ञानिक उपकरणको अभाव थियो । सूर्यसम्बन्धी वैज्ञानिक अध्ययन पहिलोपटक इसापूर्व ७४७ मा बेबिलोन निवासीले गरे । सूर्यलाई वैदिक देवताहरूमा सर्वश्रेष्ठ स्थान प्राप्त छ । तसर्थ हिन्दु चिन्तनधारामा सूर्य उपासना गरेर मात्र शुभकार्यको अधिकारी हुन्छन् भनिएको छ । प्राचीनकालदेखि नै मानव मस्तिष्कलाई सूर्यले जति प्रभावित गरेको छ, त्यति कुनै प्रकृतिका तत्त्वले गरेको छैन । विश्वका सबै धर्मस्थलमा प्रकाशलाई ईश्वरको प्रतीक मानिन्छ । त्यस्तै सूर्य पूजाको चलन विभिन्न देशमा पाइन्छ । मेसोपोटामियाको सभ्यतामा सूर्यलाई समस भनेर पूजा गर्ने चलन छ । युनानी तथा सिन्धुघाटीको सभ्यता तथा जापानको तेरिकयो सम्प्रदायमा सूर्यपूजा प्रचलित थियो ।

***

कात्तिक शुक्ल र चैत्र शुक्ल षष्ठी र सप्तमी तिथि अर्थात् वर्षमा दुईपटक मनाइने छठ पर्वको सुरुवात चतुर्थी तिथिदेखि नै हुन्छ । यस दिन सात्त्विक भोजन गर्ने गरिन्छ । पञ्चमीका दिन षष्ठी मातालाई अर्वा, अन्न, दूध, घ्यू, तुलसी, फलफूल चढाउने गरिन्छ, जसलाई प्रसादका रूपमा ग्रहण गरिन्छ ।

यस दिन राति जल पिउनसमेत निषेध गरिएको छ । षष्ठी तिथिका दिनलाई सन्ध्या अर्घ्य भनिन्छ । बिहानदेखि नै सामान्यतः महिलाहरू भोग सामग्री (जस्तो— ठकुआ, पडुकिया, सेल, मिष्ठान्न) सहित ताल, पोखरी वा नदीको घाटमा जान्छन् । अघिल्लो दिनदेखि नै घाट लिपपोत गरी सजाइन्छ । व्रतालु जलमा प्रवेश गरी अस्ताउँदो सूर्यलाई डालोमा सामग्री राखी अर्पण गर्छन् । राति त्यही घाटमा जाग्राम बसी भोलिपल्ट पूजासामग्री घाटमा फिँजाएर राखिन्छ र सूर्योदयपछि जलमा प्रवेश गरी पुनः अर्घ्य दिइन्छ ।

आन दिन उगलौ भोट भिनसखा

आई किए भेल एते छेर ?

बाट भोटिगेल अन्हरा पुरुष, नयन देत ऐत देर

बाट भेटिल गेल कोठीया, काया दैत एते देर

यसरी व्रतालु महिलाहरूले मैथिली भाषामा मीठो गीत गाएर सूर्य भगवान्को आराधना गर्छिन् । छठ पर्वमा महिलाको सहभागिता बढी हुन्छ । व्रत बस्नेदेखि पूजा सामग्रीहरू तयार गर्नसम्ममा महिलाकै योगदान हुन्छ । छठ पर्व सामाजिक एकता र सद्भावले ओतप्रोत भएको हुन्छ । समाजका समस्त जातिले मनाउने पर्व हो । एउटै जलाशयमा एउटै घाटमा सबै जाति र समुदायले मनाउनु सामाजिक सौहार्दको प्रतीक हो । पहिले–पहिले मिथिलाञ्चलमा मात्र मनाइने यो पर्व प्रायः देशभरि, काठमाडौं उपत्यकादेखि पहाडी भू–भागमा पनि मनाउन लागिएको छ । छठ पर्व राष्ट्रिय एकताको सेतु बनिरहेको छ ।

प्रकाशित : कार्तिक २४, २०७८ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्

खोप भण्डारणमा लम्बिँदो समस्या

सम्पादकीय

विश्वले कोभिड–१९ व्याधिविरुद्ध खोप लगाउन थालेको एक वर्ष हुन लाग्यो, नेपालमै पनि ९ महिना बितिसक्यो । भनिरहनु परोइन, यो महामारीविरुद्ध जुध्न खोप कति महत्त्वपूर्ण छ; स्वास्थ्य सावधानीका अतिरिक्त अहिलेसम्म सबैभन्दा भरपर्दो उपाय नै यही ठहरिएको छ ।

विश्वव्याधि फैलिएयता नै सबैको आशा र भरोसा अडिएको यति महत्त्वपूर्ण खोपको भण्डारण कक्ष निर्माणमा भने नेपालमा अहिलेसम्म कुनै प्रगति नहुनु विडम्बनापूर्ण छ । डेढ वर्षअघि नै ठेक्का लागेको भण्डारण केन्द्रको जगसमेत अझै नखनिनु व्यवस्थापन कौशल शून्यताको दुःखद नमुना मात्र होइन, शासकीय संयन्त्रहरूको गैरजिम्मेवारीको पराकाष्ठा पनि हो ।

भण्डारण केन्द्र निर्माणमा ढिलाइ भएकै कारण गत बुधबार चीनबाट आएको १६ लाखमध्येको भेरोसेल खोप राजधानीको टेकुस्थित स्वास्थ्य सेवा विभाग परिसरमा रेफ्रिजेरेटरसहित गाडीमा छ । छिट्टै ३० लाख डोज ल्याउने तयारी भए पनि उपयुक्त भण्डारण कक्ष नहुँदा खोप राख्नै समस्या छ । केन्द्रीय भण्डारण कक्ष नै टहरामा छ जसमा कोभिडबाहेक गर्भवती महिला र शिशुलाई दिनुपर्ने— बीसीजी, डीपीटी, हेपाटाइटिस ‘बी’, पोलियो, दादुरा, रुबेला, जेई, टिटानस, टीडी खोप नै कोचाकोच गर्नुपर्ने अवस्था छ । राजधानीबाहिर निर्माण भएका भण्डारण कक्षमा पनि ‘कोल्ड चेन’ जडान भएका छैनन् ।

सरकारले वैशाखसम्ममा २ करोड ५१ लाख ३९ हजार डोज कोभिड खोप ल्याउने लक्ष्य राखेको छ । तर खोप राख्ने ठाउँ नभएकैले खोप अभियान प्रभावित हुने देखिन्छ, जुन दुर्भाग्यपूर्ण छ । यसको असर नियमित खोपमा पनि परिरहेको छ । विश्व स्वास्थ्य संगठनले प्राकृतिक विपत्तिलगायत व्यवस्थापन कमजोरीका कारण समयमा खोप ल्याउन नसकिने भन्दै ६ देखि ११ महिनासम्मका लागि मौज्दात राख्नुपर्ने मापदण्ड तोकेको छ । तर, विभागले मुस्किलले ३ महिनाका लागि मात्र खोप राख्दै आएको छ ।

विज्ञहरूले मुलुकमा अत्याधुनिक खोप भण्डारण कक्षको आवश्यकता औंल्याएको आज होइन । विश्वभर कोभिड–१९ खोप परीक्षण भइरहँदा फरक–फरक तापक्रमका खोपका निम्ति नेपालमा यस्तो कक्षको आवश्यकता झनै टड्कारो देखिएको थियो । तर त्यसअघि नै अर्थात् २०७६ कात्तिकमै सरकारले राजधानीमा केन्द्रीयस्तरको अत्याधुनिक र सातै प्रदेशमा खोप भण्डार केन्द्र बनाउन थालेको प्रक्रियासमेत अझै अघि बढ्न नसक्नु अचम्मलाग्दो छ । दुई वर्षमा सक्ने गरी ८ करोड ४० लाख रुपैयाँ बजेटमा भण्डारण केन्द्र बनाउन २०७६ फागुनमा कौशल बस्नेत र कुँवर जेभीले ठेक्का पाए पनि डेढ वर्ष बितिसक्दा जगसमेत नखनिनु सम्बन्धित ठेकेदार र सरकारी निकायको चरम हेलचेक्य्राइँ हो ।

खोप भण्डार कक्ष मुलुकको स्वास्थ्य क्षेत्रको प्राथमिक आवश्यकताको विषय हो । शिशु, गर्भवती र अरू बिरामीका लागि आवश्यक पर्ने नियमित खोपहरू नै झन्डै २ करोड डोज आउँछन्, तिनकै लागि समेत गतिलो कक्ष आवश्यक छ । नियमित रूपमै गर्नुपर्ने यस कार्यका लागि महामारीले अझ झकझकाएको छ, तापनि सम्बन्धित संयन्त्रहरू अझै नब्युँझनु सरकारी ढिलासुस्तीको परिचायक मात्र होइन, उत्तरदायित्वहीनताको सूचक पनि हो । समय, परिस्थिति र आवश्यकताअनुसार कामको प्राथमिकता निर्धारण गरी तिनलाई फत्ते गर्ने दायित्वबोध सम्बन्धित अधिकारीहरूमा हुनैपर्छ । जुनसुकै सरकार आए पनि नफेरिने यस्तो प्रवृत्ति उदेकलाग्दो छ, जसको उपचार खोजिनुपर्छ ।

यति संवेदनशील कार्यमा जसका तर्फबाट ढिलाइ भएको भए पनि त्यो स्वीकार्य हुन सक्दैन । ठेकेदारहरू सर्तबमोजिम समयमै काम सक्न बाध्य छन्, सरकारी संयन्त्रले तिनलाई बाध्य तुल्याउनुपर्छ । र, दोष ठेकेदारलाई मात्र दिएर सरकार उम्कन पाउँदैन, ठेकेदारलाई उत्तरदायी बनाउने र अन्यथा अरू विकल्प प्रयोग गरेर भए पनि यथासमय जरुरी काम गर्ने/गराउने दायित्व सरकारको हो ।

काबुबाहिरको परिस्थितिबाहेक निर्माण प्रक्रियाका क्रममा उत्पन्न प्राविधिक कठिनाइ समस्या सल्टाउन महिनौं लाग्ने हुँदैन । जग खन्दा कालो माटो, बालुवा मिसिएको माटो र पानी भेटिएका कारण डिजाइन परिवर्तन गर्नुपर्दा केन्द्रीय भण्डारण कक्ष निर्माण कार्यमा यति धेरै ढिलाइ हुन सक्दैन । कर्मचारीले फाइल स्वीकृत नगरेकाले ढिलाइ भइरहेको ठेकेदारको तर्क छ, त्यसैले यसमा स्वास्थ्य सेवा विभाग संवेदनशील बन्नुपर्छ, उसले अविलम्ब यथोचित निर्णय लिन सक्नुपर्छ । प्रभावकारी खोप अभियान सञ्चालनका निम्ति आधारशिलासरहको भण्डारण निर्माणमा अब थप ढिलाइ हुनु हुन्न ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक दीपेन्द्ररमण सिंहले आफू भर्खरै आएको भन्दै यसबारे अनभिज्ञता जनाएका छन् । हुन पनि, यस अवधिमा विभागमा तीन जना महानिर्देशक परिवर्तन भएका छन्, यसबाट सरकारको काम गर्ने शैली अवश्य झल्किन्छ । तैपनि के हेक्का राख्नुपर्छ भने, संस्थागत स्मृति बलियो बनाउने हो भने नेतृत्व परिवर्तनले मात्रै ठूलो कुनै आयोजनाको समयावधि निकै धकेलिने हुँदैन । त्यसैले अब बिनाकुनै बहानाबाजी केन्द्रमा समयमै भण्डार कक्ष निर्माण गरिनुपर्छ र प्रदेशका केन्द्रहरूलाई सञ्चालनयोग्य बनाइनुपर्छ ।

प्रकाशित : कार्तिक २४, २०७८ ०७:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×