साझा भाग्यको निर्माणमा हातेमालो

होउ यान्छी

यो वर्ष जनवादी गणतन्त्र चीनले संयुक्त राष्ट्र संघमा न्यायसंगत सदस्यता पुनर्प्राप्त गरेको ५० औं वार्षिकोत्सव हो । २५ अक्टोबर १९७१ मा छब्बीसौं महासभाले निर्णय नम्बर २७५८ लाई अत्यधिक बहुमतद्वारा पारित गरी राष्ट्र संघमा चीनको अधिकार पुनर्बहाली गरेको थियो । सदस्यता पुनर्प्राप्तिको ५० औं वार्षिकोत्सव कार्यक्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङले भन्नुभएजस्तै, त्यो विश्वको एउटा ठूलो घटना थियो, संयुक्त राष्ट्र संघका लागि पनि ठूलो घटना थियो ।

साझा भाग्यको निर्माणमा हातेमालो

त्यो विश्वभरका शान्तिप्रिय एवं सत्यवादी देशहरूको संयुक्त प्रयासको परिणाम थियो । विश्व जनसंख्याको एकचौथाइ रहेका चिनियाँ जनता राष्ट्र संघको रंगमञ्चमा पुनः प्रवेश गरेको यस घटनाले चीन र सम्पूर्ण विश्वका लागि ठूलो महत्त्व राख्छ ।

राष्ट्र संघीय सदस्यता प्राप्तियता चीनले आफ्नो शान्तिपूर्ण विकास गर्ने र मानवजातिलाई समृद्ध बनाउने प्रयास गर्दै आइरहेको छ । ५० वर्षदेखि चीनले सुरक्षा परिषद्को स्थायी सदस्य देशको कर्तव्य र जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्दै आएको छ; बहुदलको सशक्त प्रचारप्रसार गर्ने तथा त्यसलाई व्यवहारमा उतार्ने काम एवं विकासशील देशहरूको समुचित अधिकार र हितको रक्षा गर्दै आएको छ । ‘शान्तिपूर्ण सहअस्तित्वको पञ्चशीलको सिद्धान्त’, ‘तीन विश्वको विभाजन’ देखि ‘शान्ति र विकास वर्तमान विश्वका दुई मूल विषय हुन्’ सम्मको प्रत्येक ऐतिहासिक मोडमा विकास र विश्वशान्तिलाई स्थायित्व दिन चीनले चिनियाँ ज्ञान र मोडलमार्फत योगदान पुर्‍याएको छ ।

सयौं वर्षमा हुने परिवर्तन र विश्वव्यापी महामारी देखा परिरहेको समयमा ‘यो विश्वमा के भयो, हामीले अहिले के गर्नुपर्छ ?’ भन्ने युगीन प्रश्नको उत्तर अत्यावश्यक भएको छ । सम्पूर्ण मानवजातिको विकास र प्रगतिको युगको अग्रपंक्तिमा उभिएर चिनियाँ राष्ट्रपति सी चिनफिङले मानवजातिको साझा भाग्यको समष्टि निर्माण गर्ने जुन प्रस्तावना राख्नुभएको छ, त्यही नै उक्त युगीन प्रश्नको स्पष्ट चिनियाँ उत्तर र मोडल हो ।

मानवजातिको साझा भाग्यको समष्टि निर्माणको अर्थ खुला एवं समावेशी विश्वको निर्माण हो । यो अवधारणाले विभिन्न सामाजिक प्रणाली र आर्थिक विकासको स्तरको भिन्नताबाट माथि उठी, दुईमध्ये एकको जित अर्कोको हार हुने ‘जिरो सम गेम’ र भूराजनीतिको पुरानो विचारधारालाई त्यागी शान्ति, विकास, समानता, सत्य, प्रजातन्त्र, स्वतन्त्रता आदि मानवजातिका साझा मूल्यमान्यतालाई अघि सारेको छ । राष्ट्र संघले धेरै निर्णय तथा अन्तर्राष्ट्रिय बहुपक्षीय संयन्त्रका घोषणापत्रहरूमा यस अवधारणालाई उल्लेख गरेको छ, जसबाट यो अन्तर्राष्ट्रिय रूपमा प्रभावशाली, सशक्त एवं रचनात्मक छ भन्ने प्रमाणित हुन्छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले सम्बोधनमा भन्नुभएजस्तै, मानवजातिको साझा भाग्यको समष्टिको निर्माणलाई अघि बढाउनु एउटा सामाजिक प्रणालीले अर्को सामाजिक प्रणालीलाई वा एउटा सभ्यताले अर्को सभ्यतालाई प्रतिस्थापन गर्नु होइन, बरु त्यो असमान सामाजिक प्रणाली, असमान विचारधारा, असमान ऐतिहासिक संस्कृति, असमान आर्थिक विकास भएका देशहरूले अन्तर्राष्ट्रिय मामिलामा सुविधाको साझा उपभोग, अधिकारको साझा प्रयोग, जिम्मेवारीको साझा वहन गरी सुन्दर विश्वको संयुक्त निर्माणका लागि गर्न सक्ने सबैभन्दा ठूलो प्रयास हो ।

मानवजातिको साझा भाग्यको समष्टिको निर्माण गर्नु भनेको साझा समृद्ध विश्वको निर्माण गर्नु हो । ‘एउटा फूल फुल्नु वसन्त होइन, सयौं फूल फुल्दा बल्ल वसन्त आएको अनुभव हुन्छ ।’ चीनले आफ्नो विकासलाई विश्वको विकाससँग जोड्दै गएको छ, अहिलेसम्म चीनले १६६ देश र अन्तर्राष्ट्रिय संघसंस्थालाई करिब ४ खर्ब य्वीयानको विकास अनुदान दिइसकेको छ र ६ लाखभन्दा बढी प्राविधिक विशेषज्ञहरूलाई सहयोगका लागि विदेश पठाइसकेको छ । चीनसँग बीआरआई सहकार्य सम्झौतापत्रमा हस्ताक्षर गर्ने देशहरू १४० पुगेका छन्, यी सहकर्मी देशहरूसँगको चीनको व्यापार ९२ खर्ब अमेरिकी डलर नाघेको छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले यही सेप्टेम्बरमा राष्ट्र संघको छयहत्तरौं महासभाको अनलाइन भिडियो बैठकमा ‘विश्वव्यापी विकास अवधारणा’ प्रस्तुत गर्दै अन्तर्राष्ट्रिय समुदायलाई दिगो विकासको ‘२०३० एजेन्डा’ लाई द्रुत गतिमा कार्यान्वयन गर्न एवं अझ सशक्त, हरित, स्वस्थ, विश्वव्यापी विकासलाई व्यवहारमा उतार्न जोड दिँदै हरेक देशको विकास र अन्तर्राष्ट्रिय विकास सहकार्यको योजना पनि प्रस्तुत गर्नुभयो ।

मानवजातिको साझा भाग्यको समष्टिको निर्माणको अर्थ आपत्विपत्मा एकसाथ रहने विश्वको निर्माण गर्नु हो । कोभिड–१९ महामारीले हामीलाई अझ स्पष्ट रूपमा बुझाएको छ— मानवजाति सुखदुःखमा साथ रहने साझा भाग्यको एक समष्टि हो, मानवीय संकट समाधान गर्ने सही मार्ग आपसी मेलमिलाप र सहकार्य नै हुन् । चीनले मानवजातिको साझा भाग्यको समष्टिको अवधारणालाई मनन गरी अन्य देशहरूसँग महामारी रोकथामका अनुभवहरू आदान–प्रदान गर्‍यो; भाइरसको उद्गमसम्बन्धी वैज्ञानिक अनुसन्धान सहकार्यलाई निरन्तरता दिइरहेको छ; १५० देश र १३ अन्तर्राष्ट्रिय संघसंस्थालाई महामारी नियन्त्रणका सामग्रीहरू अनुदान सहयोग गरेको छ; १०० भन्दा बढी देश र अन्तर्राष्ट्रिय संघसंस्थालाई १ अर्ब ६० करोडभन्दा बढी खोपको अनुदान दिएको छ, जुन विश्वमै बढी हो ।

चीनले खोपसम्बन्धी अन्तर्राष्ट्रिय सहकार्य थालेर कुनै राजनीतिक उद्देश्य पूर्ति गर्न खोजेको छैन, कुनै आर्थिक फाइदाको सोच राखेको छैन र कहिले पनि कुनै राजनीतिक सर्त राखेको छैन । खोप विश्वव्यापी रूपमा एउटा सार्वजनिक उत्पादन बनोस्, सही अर्थमा विश्वका जनताको खोप बनोस्, यही नै हाम्रो एक मात्र लक्ष्य हो ।

मानवजातिको साझा भाग्यको समष्टिको निर्माण गर्नु भनेको पक्षपातरहित, न्यायपूर्ण, सत्यवादी विश्वको निर्माण गर्नु हो । चीनले सदैव बहुलवादलाई व्यवहारमा उतार्न, राष्ट्र संघको बडापत्रमा उल्लिखित उद्देश्य र सिद्धान्त पालना गर्न, अन्तर्राष्ट्रिय मामिलाहरूमा राष्ट्र संघको मूलभूत भूमिका कायम गरिरहन, केन्द्र सरकारस्तरीय प्रायः सम्पूर्ण अन्तर्राष्ट्रिय संघसंस्थाको सदस्य बनी ६०० भन्दा बढी अन्तर्राष्ट्रिय सन्धि–सम्झौतापत्रहरूमा हस्ताक्षर गरी इमानदारीपूर्वक आफ्नो अन्तर्राष्ट्रिय जिम्मेवारी पूरा गर्दै आइरहेको छ ।

चीनले शान्तिपूर्ण राजनीतिक उपायहरूद्वारा विवाद समाधान गर्ने, अरू देशको आन्तरिक मामिलामा हस्तक्षेपको सशक्त विरोध गर्ने, प्रभुत्ववादको विरोध गर्ने, बडापत्रको ‘स्पिरिट’ अनुरूप जल्दाबल्दा समस्याहरूको समाधान गर्ने उपायहरू अनुसन्धान गर्ने गर्दै आइरहेको छ । राष्ट्र संघको बडापत्र र विश्व मानवअधिकार घोषणापत्रको स्पिरिटलाई मनन गरी चीनले आफ्नो मानवअधिकारको प्रगति तथा अन्तर्राष्ट्रिय मानवअधिकारको विकासकार्यमा महत्त्वपूर्ण योगदान पुर्‍याएको छ ।

‘दुई ए : अल्बानिया र अल्जेरियाको प्रस्ताव’ का संयुक्त प्रस्तावक देशहरूमध्ये एक नेपालले राष्ट्र संघमा चीनको न्यायसंगत सदस्यता पुनर्प्राप्तिका लागि पुर्‍याएको योगदानलाई चिनियाँ जनताले बिर्सिनेछैनन् । सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको राजकीय भ्रमण गर्नुहुँदा चीन र नेपालबीच विकास र समृद्धिका लागि पुस्तौंपुस्ताको मैत्रीपूर्ण रणनीतिक सहकार्य सहकर्मीको सम्बन्ध स्थापना गरिएको थियो । द्विपक्षीय सम्बन्ध विस्तारका विभिन्न पक्षमा मतैक्य भएको मात्र होइन, राष्ट्र संघ आदि बहुपक्षीय संयन्त्रअन्तर्गत सहकार्य बढाई सम्पूर्ण विकासशील देशहरूको साझा हितको रक्षा गर्न पनि दुवै देश सहमत भएका थिए ।

चीन र नेपालबीच बीआरआई खाकाअन्तर्गत विभिन्न क्षेत्रमा ठोस सहकार्य भइरहेका छन् । चीन–नेपाल हिमालय वारिपारिको बहुआयामिक कनेक्टिभिटी सञ्जालको प्रारम्भिक खाका तयार भएको छ≤ मानवअधिकार, जलवायु परिवर्तन, कोभिड–१९ भाइरसको उद्गम आदि विषयहरूमा एक देशले अर्कोलाई समर्थन गर्दै आएका छन् । विशेष गरी कोभिड–१९ महामारी चल्न थालेपछि दुई देशले एकआपसको रेखदेख र सहयोग गरी चीन–नेपाल साझा भाग्यको समष्टिको गहन अर्थलाई उजागर गरेका छन् ।

‘विभिन्न असमान स्वादको सम्मिश्रणबाट स्वादिष्ट व्यञ्जन तयार हुन्छ ।’ विश्वका देशहरू ठूला पनि छन्, साना पनि छन्; तिनीहरूमा प्रचलित राजनीतिक–सामाजिक प्रणालीहरू पनि भिन्न छन्, तर सबैको शान्ति र विकासप्रतिको चाहना भने एकसमान छ ।

चिनियाँ राष्ट्रपति सी चीनफिङले सम्बोधनमा औंल्याउनुभए जस्तै, चीन आफ्नै शान्तिपूर्ण विकासको बाटामा अघि बढिरहनेछ, र सदैव विश्वशान्तिको निर्माता बनिरहनेछ; चीन सुधार र खुलापनको बाटामा अघि बढिरहनेछ, र सदैव विश्वको आर्थिक विकासमा योगदान पुर्‍याइरहनेछ; चीन बहुलवादको बाटामा अघि बढिरहनेछ र सदैव अन्तर्राष्ट्रिय सुव्यवस्थाको रक्षा गरिरहनेछ । नेपाल लगायतका सम्पूर्ण विकासशील देशहरूसँग हामी हातमा हात मिलाई विश्वको दिगो शान्तिपूर्ण विकासका लागि मानवजातिको भविष्यको सुन्दर समाजको सृजना गर्न अनवरत संघर्ष गर्न चाहन्छौं ।

होउ जनगणतन्त्र चीनकी नेपालस्थित राजदूत हुन् ।

प्रकाशित : कार्तिक १६, २०७८ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?