कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फलफूल र तरकारी पनि जरुरी

मुटु तथा अन्य दीर्घकालीन रोगहरूको रोगथामका लागि हरेक दिन कम्तीमा ४०० ग्राम फलफूल तथा तरकारी खानुपर्छ भन्ने विश्व स्वास्थ्य संगठनको मान्यता छ । तर सबै मानिसले यसरी खाने गरेको पाइँदैन ।
साजमा नेपाली

हरेक मानिसको आफूलाई मन पर्ने फलफूल तथा तरकारी हुन्छ, सो खान पाएमा खुसी हुने गर्छन् । फलफूल तथा तरकारीलाई तिनको आकार र रङले आकर्षक बनाउँछ । त्यस्तै तरकारीको हकमा पकाउने शैली र मसलाको प्रयोगले स्वादिलो बनाउँछ । स्वाद र आकर्षणभन्दा सबल पक्ष हो— यिनमा पाइने पोष्टिक तत्त्व । विभिन्न प्रकारका भिटामिन, खनिज पदार्थ, रेसा इत्यादि यहीबाट पाइन्छ, जसले रोगसँग लड्ने क्षमता बढाउँछ । 

फलफूल र तरकारी पनि जरुरी

स्वास्थ्यमा लाभ

हरियो सागपात तथा तरकारीको सेवनले आँखालाई स्वस्थ्य राख्न मदत गर्छ भन्ने जानकारी नभएको मानिस बिरलै होलान् । बालबालिकादेखि वृद्धवृद्धा सबैलाई यसबारे थाहा छ । यस्ता ज्ञान स्वस्थ शरीरका लागि आवश्यक पर्छ । फलफूल तथा तरकारी सेवनले मोटोपन घटाउन, उच्च रक्तचाप कम गर्न र कोलेस्ट्रोलको मात्रा घटाउन मदत गर्छ । मुटु तथा अन्य दीर्घकालीन रोगहरूको रोगथामका लागि हरेक दिन कम्तीमा ४०० ग्राम फलफूल तथा तरकारी खानुपर्छ भन्ने विश्व स्वास्थ्य संगठनको मान्यता छ । तर सबै मानिसले यसरी खाने गरेको पाइँदैन । यसो हुनुका कारण फलफूल तथा तरकारी महँगो हुने, तरकारी थोरै खाने चलन वा बिरामी पर्दा मात्र फलफूल खानेजस्ता सोच हुन सक्छ । हरेक दिन तरकारी तथा फलफूल सेवन गरे मुटुजन्य रोगहरूबाट बच्न मदत गर्छ । फलफूल तथा तरकारीमा चिल्लो पदार्थ एकदम न्यून मात्रामा पाइन्छ । विभिन्न प्रकारका भिटामिन तथा खनिज पदार्थहरू भने प्रचुर मात्रामा हुन्छ । यसको उपभोगले न्यून तथा उच्च दुवै प्रकारका कुपोषणका समस्या कम गर्छ । यी तथ्यांक र जानकारीहरूलाई मध्यनजर राख्दै, समुदायमा फलफूल तथा तरकारी सेवनमा जोड लगाउनुपर्छ ।

फलफूल तथा तरकारीको फाइदाबारे जनचेतना फैलाउन संयुक्त राष्ट्र संघले सन् २०२१ लाई फलफूल तथा तरकारी अन्तर्राष्ट्रिय वर्षको रूपमा घोषणा गरेको छ । सन्तुलित भोजनका लागि यो अभियान आवश्यक ठानिएको हो । फलफूल तथा तरकारी खानाले मानिसको शरीर स्वस्थ हुन्छ । पोषण तथा स्वास्थ्य अवस्थामा सुधार ल्याउनमा यसको योगदान रहेको विषय, ध्यानाकर्षण गराउनु सन् २०२१ फलफूल तथा तरकारी अन्तर्राष्ट्रिय वर्षको मुख्य ध्येय हो ।

महिलाको भूमिका

नेपाललगायत दक्षिण एसियाली तथा अफ्रिकी मुलुकहरूमा फलफूल तथा तरकारी खेतीपातीदेखि पकाउने, पस्किने काममा महिला मुख्य भूमिकामा देखिन्छन् । तर खानपिन तथा पहुँचमा भने महिला र बालबालिका निकै पछाडि छन् । जसले गर्दा उनीहरूमा कुपोषण देखा पर्ने गरेको छ । खानपिन समयमा नहुनु, घरका पुरुष सदस्यले उनीहरूको खानपिनमा हेरचाह नगर्नु, महिलालाई समान व्यवहार नहुनुजस्ता कारण यसो भएको हो । त्यसैले स्वयम् महिला अनि परिवारका पुरुष सदस्यले पनि यो बुझ्नु जरुरी छ । बुझाइको सँगसँगै उनीहरूको साथ, सहयोग र हौसला पनि आवश्यक छ ।

मौसमी प्रभाव

मौसमी फलफूल तथा तरकारीहरूमा विषादीको प्रयोग हुँदैन वा कम मात्रामा मात्र हुने गर्छ, जुन स्वास्थ्यका लागि फाइदाजनक छ । मौसमी फलफूल तथा तरकारी मीठो पनि हुने गर्छ । फलफूल तथा काँचै खान सकिने तरकारीहरूलाई भने राम्ररी पानीले पखालेर मात्र खाने गर्नुपर्छ । त्यस्तै अन्य अन्नको दाँजोमा फलफूल तथा तरकारी छिटै कुहिने भएकाले यसलाई छिटै खानु वा सुरक्षित भण्डारण गर्नुपर्छ । बेलैमा विचार नपुर्‍याए कतिपय फलफूल तथा तरकारीहरू कुहिएर फालिने अवस्थामा पुग्छन् ।

नचिनिएका फलफूल तथा तरकारी

कतिपय खान सकिने फलफूल तथा तरकारीहरूलाई खानपानमा प्रयोग गरेको पाइँदैन । कुनै फलफूल तथा तरकारी यहाँ खाए पनि अन्य देशमा त्यसलाई नखाने चलन पनि हुन्छ । जमिनमा आफैं उम्रिने तर खाने चलन नभएको फलफूल तथा तरकारीमा राम्रो पोष्टिक तत्त्व पाइन सक्छ । उदाहरणका लागि लट्टे, सिस्नुको साग इत्यादि । यसरी पहिचान नभएका फलफूल तथा तरकारीमा पाइने पौष्टिक तत्त्वको अनुसन्धान तथा पहिचान आवश्यक छ ।

व्यावसायिक खेती

फलफूल तथा तरकारीको अर्को विशेषता यसको खेती हो । कतिपय अवस्थामा यसको खेती सहजै गर्न सकिन्छ । अझ तरकारीलाई त थोरै जमिनमा पनि उमार्न सकिन्छ । अन्य खाद्यजस्तै धेरै जमिन नचाहिने भएकाले प्रायः घर वरपर तरकारी लगाइने गरिएको छ । साना किसानहरूले पनि यसको खेती सहजै गर्न सक्छन् । आम्दानी पनि राम्रै हुने भएकाले किसानहरूलाई तरकारी खेतीमा प्रोत्साहन गर्नुपर्छ । यो जीविकोपार्जनको माध्यम बन्न सक्छ । किसानले आर्थिक अवस्था सुधार्न सक्छन् । दुःखलाग्दो पक्ष त, नेपाल कृषिप्रधान देश हुँदाहुँदै पनि फलफूल तथा तरकारीहरूको खेतीमा आत्मनिर्भर बन्न सकेको छैन । वर्षौं अर्बौं रकम बराबरको फलफूल तथा तरकारीहरू नेपाल भित्रिने गर्छ । त्यसैकारण, साना किसानलाई प्राथमिकतामा राख्नुपर्छ र व्यावसायिक खेतीका लागि चाहिने पूर्वाधारमा जोड दिनुपर्छ ।


प्रकाशित : आश्विन २७, २०७८ १०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?