कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कस्तो फ्रक, कत्रो कपाल

ज्यास्मिन ओझा

हालसालै फेसबुकमा फ्रक लगाएको आफ्नो फोटो पोस्ट गरेकी थिएँ । मलाई नजिकबाट चिन्ने एक जना दाइले फोनै गरेर भन्नुभो, ‘नारीवादी भएर पनि यस्तो लुगा ?’ मलाई नारीवादीको रूपमा नचिनेको भए उहाँले त्यसलाई स्वाभाविक रूपमा लिनुहुन्थ्यो होला ।

कस्तो फ्रक, कत्रो कपाल

त्यस्तै केही दिनअघि मेरो लामो कपाल सुमसुम्याउँदै एक जना दिदीले भन्नुभो, ‘तिमीले कपाल किन नकाटेको ?’ ‘किन र दिदी, सुहाएको छैन ?’ उहाँको भाव बुझे पनि मैले अनजान बन्दै जिज्ञासा राखेँ । ‘होइन, नारीवादीजस्तो देखिएन क्या,’ उहाँले जवाफ दिनुभयो । म फिस्स हाँसें । तर्क–वितर्क गर्ने जाँगर चलेन ।

माथिका प्रसंगमा मलाई गरिएका प्रश्नहरू प्रतिनिधिमूलक मात्रै हुन् । धेरैले यस्तै तरिकाले सोच्छन् । नारीवादी भन्नेबित्तिकै पहिल्यै एउटा बनिबनाउ चित्र धेरैको मनमस्तिष्कमा बन्छ– लामो कपाल पाल्दैनन्, परम्परागत पहिरन लगाउँदैनन्, आदि । झ्वाट्ट हेर्दा बंगलादेशकी लेखिका तसलिमा नसरिनजस्तै नदेखिए केको नारीवादी भन्ने आमबुझाइ छ । पहिरनमा मात्र होइन, व्यवहारमा पनि नारीवादीसँग एक खालको अपेक्षा गरिन्छ । महिलासँग जोडिएका हरेक मुद्दामा नारीवादीले विषयको चुरोमै नगई महिलाको पक्ष लिएर बोलिहाल्नुपर्छ, भन्ठानिन्छ । अलिकति ढिला गर्‍यो भने प्रश्न आइहाल्छ, ‘खोइ तिमीले बोलेको ?’

नारीवादीप्रतिको यस्तो चित्र बदल्न पहिले ‘नारीवाद’ लाई वस्तुपरक ढंगले बुझ्नु र मनन गर्नुपर्छ । नारीवाद यस्तो विचार हो, जसले पुरुष र महिलाबीच लैंगिक समानताको दृढ वकालत गर्छ । समाजका संरचनाहरूमा पुरुष बराबर महिलाको हैसियत स्थापित हुनुपर्ने मान्यता राख्छ । महिला भएकै कारण घरभित्र र घरबाहिर कुनै पनि प्रकारको विभेदपूर्ण व्यवहार गरिनु हुँदैन भन्ने अवधारणा राख्छ । यिनै विचारलाई स्थापित गराउनका लागि गरिने राजनीतिक, सामाजिक तथा सांस्कृतिक अभियान नै नारीवादी आन्दोलन हो ।

नारीवादी को हुन् र को होइनन् भन्नेमा पनि भ्रम चिर्न आवश्यक छ । नारीवादी हुनका लागि सडकमा उभिएर नारा लगाउनैपर्ने, सञ्चारमाध्यममा अन्तरर्वार्ता दिनैपर्ने, अखबारमा लेख छाप्नैपर्ने पनि हुँदैन । आ–आफ्नो पेसा र कर्ममा सीमित रहेकाहरू, जो लैंगिक समानताको पक्षमा उभिन्छन्, तिनीहरू पनि नारीवादी हुन् । अनि नारीवादी महिला मात्रै हुँदैनन्, पुरुषहरू पनि हुन्छन् । नारीवादी अभियानमा पुरुषहरू मिसिए भने त्यो अझै बलियो हुन्छ ।

नारीवाद बोलीमा मात्र होइन, व्यवहारमा पनि झल्किनुपर्छ । हामीले धेरै नारीवादी देखेका छौं, जो भाषणमा महिलाका पक्षमा चर्को वकालत गर्छन् र घरमा श्रीमान्को अन्डरवेयर पनि आफैं धोइदिन्छन् । त्यस्ता विद्वान् पुरुष पनि देखेका छौं, जो अखबारमा महिला अधिकारबारे लामा लेख लेख्छन्, अनि रक्सीले मातेर आफ्नी जीवनसंगिनीलाई कुटपिट गर्छन् ।

पुरातन समाजमा महिला भएर बाँच्नै कठिन थियो । महिलाहरू पुरुषका दाससरह थिए । नेपालजस्तो पिछडिएको समाजमा मात्रै होइन, पश्चिमा जगत्को इतिहास पल्टायौं भने पनि त्यहाँ महिलालाई अनेक बन्धनमा राखिएको पाइन्छ । महिलालाई सम्पत्तिको अधिकार थिएन । उनीहरूले पढ्न पाउँदैनथे । सार्वजनिक जीवन बाँच्न असम्भवजस्तै थियो । १९ औं शताब्दीको अन्त्यसम्म फ्रान्सजस्तो देशमा पनि महिलाहरू बाहिर निस्किँदा टाउको ढाक्नुपर्थ्यो । जर्मनीमा श्रीमान्ले आफ्नी श्रीमती बेच्न सक्ने कानुन थियो । २० औं शताब्दीको सुरुआतसम्म युरोप र अमेरिकाका धेरै भागमा महिलालाई मतदानको हक थिएन । उनीहरूले कुनै व्यवसाय गर्दा अनिवार्य रूपमा पुरुष प्रतिनिधि राख्नुपर्थ्यो ।

नेपाली समाजमा हाम्रा आमा–हजुरआमाहरूका कथाव्यथा पनि कम्ती कहालीलाग्दा थिएनन् । आमाहरूले छोरा नपाएसम्म बर्सेनि सुत्केरी हुनुपर्ने बाध्यता थियो । एउटी आमाले छोरा जन्माउँदा र छोरी जन्माउँदा श्रीमान् र परिवारले उनीप्रति गर्ने व्यवहारमा ठूलो अन्तराल हुन्थ्यो । एउटा पुरुषले एकभन्दा बढी श्रीमती राख्नुलाई उसको ‘मर्दानगी’ मानिन्थ्यो ।

आजको समाज त्योभन्दा फरक छ । र, महिलामाथि हुने विभेदका प्रकृतिहरू पनि फरक छन् । हाम्रा आमा–हजुरआमाहरूले जस्तो प्रताडना हाम्रो पुस्ताले भोग्नुपरेको छैन । तर, यसको अर्थ विभेद समाप्त भयो भन्ने होइन । आजका महिलाले भोग्नुपरिरहेका विभेदहरू पहिलेको भन्दा भिन्न भए पनि उत्तिकै ज्वलन्त छन् । आज पनि महिलामाथि पुरुष दमन कायमै छ, यसको प्रकृति मात्र फेरिएको हो ।

संविधान र कानुनले महिलालाई ३३ प्रतिशत आरक्षण दिएको छ, तर व्यवहारमा त्यो परिपूर्ति भएको छैन । कार्यालयमा काम गर्ने महिलाहरूले कार्यस्थलमा प्रत्यक्ष वा परोक्ष विभिन्न यौनजन्य दुर्व्यवहारको सामना गर्नुपरिरहेको छ । अहिले पनि आफ्ना छोरीहरू बेलुकी आठ बजेसम्म घर फर्केनन् भने आमाबुबा आत्तिन्छन् । बाहिर धेरै हिँडडुल गर्ने, पुरुषहरूसँग धेरै संगत गर्ने छोरी मान्छेलाई अहिले पनि समाजले गलत दृष्टिकोणले हेर्छ । छोरीमान्छेको पहिरनका आधारमा उसको ‘चरित्र’ को जाँच गरिन्छ । सम्बन्धविच्छेद भयो भने, अधिकांश घटनामा महिलालाई दोष दिइन्छ– चाहे पुरुषबाट जतिसुकै अपराध किन नहोस् ।

आममहिला मात्र होइन, राम्रै स्थितिमा भएका र समाजमा आफ्नो हैसियत बनाएका महिलाहरूले पनि विभिन्न प्रताडना भोग्नुपरेको हामीले देखेका छौं । पछिल्लो समय सामाजिक सञ्जालमा यस्ता सार्वजनिक पहिचान बनाएका महिलाहरूको अत्यधिक मानमर्दन हुने गरेको छ । जस्तो, महिला अभिनेताहरूको हरेकजसो अभिव्यक्ति र क्रियाकलापमा अत्यधिक नकारात्मक र अश्लील कमेन्टहरू आइरहेका हुन्छन् । कुनै महिलाले आफू यौन उत्पीडनमा परेको घटना बाहिर ल्याइन् भने उनीमाथि नै लाञ्छनाको वर्षा हुन्छ– उनकै चरित्रमाथि शंका गरिन्छ ।

यस्ता लैंगिक विभेदहरूको लामै सूची बन्छ । यस्ता विषयलाई कानुनले मात्रै सम्बोधन गर्न सक्दैन । कानुनले त महिलालाई कतै विभेद गरेको छैन — बरु धेरै ठाउँमा अग्राधिकार दिएको छ– तर, व्यावहारिक रूपमा भोग्नुपरेका विभेदहरूलाई जनचेतनाकै बलमा निर्मूल गर्ने हो, जुन रातारात सम्भव छैन । यसर्थ नारीवादको औचित्य र आवश्यकता हिजो जति थियो आज पनि त्यति नै छ । टोल–टोलमा, घर–घरमा नारीवादको प्रसार गर्नु जरुरी छ ।

आज सहरकै महिलाहरू पनि आफूले भोगेको उत्पीडनलाई बाहिर ल्याउन डराउँछन्, घर बिग्रिने चिन्ता हुन्छ उनीहरूलाई । यसले गर्दा पीडा सहेर बाँच्न बाध्य छन् । उनीहरूलाई परामर्श गर्नेदेखि कानुनी लडाइँ लड्नका लागि हौसला दिनेसम्मको भूमिकामा महिलावादीहरू खरो उत्रिनुपर्छ । यस्तो भूमिकामा नारीवादीहरू कति अब्बल छन्, त्यसका आधारमा उनीहरूको परख हुनुपर्ने हो । उनीहरूको कामका आधारमा धारणा बनाइनुपर्ने हो । तर यहाँ त फ्रक कति बित्ताको लगाएको छ, ‘कपाल कत्रो छ’ जस्ता फोकटका कुराहरूमा मात्रै मानिसको ध्यान जान्छ ।

प्रकाशित : श्रावण ३२, २०७८ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?