बाँझोपनका कारण र उपचार
‘विवाह गरेको तीन वर्षसम्म बच्चा नबस्दा मेरो आमा बन्ने सपना पूरा नहुने पो हो कि भनेर पीर परिरहन्थ्यो । त्यसमाथि आफन्तको घोचासोलाले विक्षिप्त हुन्थेँ । मैले स्नातकोत्तरसम्म पढेको थिएँ र राम्रो जागिर पनि थियो तर खुसी हुन यी मात्र काफी नहुँदा रहेछन् ।’ चिनजानकी मायाले हामीलाई केहीअघि यस्तो भनेकी थिइन् ।
डाक्टरको परामर्शपछि टेस्टट्युब बेबीको सहायताले कोख भर्न सफल भएकी माया अचेल भन्छिन्, ‘पेटमा बच्चा चलेको नि मज्जाले थाहा पाउन थालेकी छु ।’ तपाईंहरूले पनि यस्ता भनाइ टोलछिमेकमा प्रशस्तै सुन्नुभएको होला ।
बाँझोपन महिलाका कारण मात्र नभएर पुरुषका कारण पनि हुन्छ । यसबारे परिवार–समाजमा कमै छलफल हुन्छ । नियमित असुरक्षित यौनसम्पर्कको १२ महिनापछि पनि गर्भधारण हुन नसक्नु बाँझोपन हो । विश्वव्यापी बाँझोपन दर निरन्तर वृद्धि भइरहेको छ । संसारमा प्रजनन उमेरका लगभग १८ करोडभन्दा धेरै व्यक्ति बाँझोपनका साथ बाँचिरहेका छन् । विकासशील देशहरूमा औसत ६.९ देखि ९.३ प्रतिशत व्यक्तिहरूमा बाँझोपन हुने देखिएको छ । एक अनुसन्धानअनुसार नेपालमा ५–७ प्रतिशत जोडीमा बाँझोपन देखिने गरेको छ । ८५ प्रतिशत जोडीमा बाँझोपनका कारण थाहा पाउन सकिन्छ भने १५ प्रतिशत जोडीमा कारण बिनै बाँझोपन हुने गर्छ । थाहा पाउन सकिने बाँझोपनका केही कारण यहाँ समेटिएका छन् ।
ओभुलेसनमा समस्या : अण्डाशयबाट एक परिपक्व अण्डा निस्कनु ओभुलेसन हो, सामान्यतया यो मासिक महिनावारी सुरुआत हुनुभन्दा १४ दिनअघि हुन्छ । शारीरिक सम्पर्क ओभुलेसन हुने ५ दिनअघि अथवा ओभुलेसनको दिनमा भयो भने बच्चा बस्ने सम्भावना बढ्छ तर कतिपय महिलामा ओभुलेसन नै हुँदैन, जसलाई एनोभुलेसन भनिन्छ र यसले बाँझोपन निम्त्याउन सक्छ । यदि महिनावारी नियमित नभएमा, महिनावारी २१ दिनभन्दा छोटो वा ३५ दिनभन्दा बेसीमा भएमा, गर्भाशयबाट धेरै रक्तस्राव भएमा अथवा महिनावारी नै नभएमा ओभुलेसनमा समस्या छ भन्ने बुझ्नुपर्छ ।
फेलोपियन ट्युबमा समस्या : यस ट्युबमा अवरोध भएमा वा दागका कारण ट्युबले अण्डाशयबाट निस्किएको अण्डा समात्न नसके बाँझोपन हुन सक्छ । यौन संक्रमणको इतिहासले पनि ट्युबमा समस्या आइपर्ने जोखिम बढाउँछ । साथै विगतमा पेटको शल्यक्रिया गरेको वा पेटभित्र संक्रमण भए पेटभित्र दाग बनेर ट्युब खुम्चिन सक्छ र यसले बाँझोपन गराउन सक्छ ।
एन्डोमेट्रिओसिस : एन्डोमेट्रियम एक तन्तु हो जसले गर्भाशयको भित्री भागलाई रेखा दिन्छ र एन्डोमेट्रियोसिस एक समस्या हो, जसमा यी तन्तुहरू गर्भाशयको गृहबाट बाहिर गएर हुर्कन्छ र तल्लो पेटका अन्य अंगहरू जस्तै अण्डाशय, ट्युब वा आन्द्रामा गएर बस्छ । यसरी बाहिर गएर बसेको एन्डोमेट्रियमको तन्तु प्रत्येक महिनावारीमा टुक्रिन्छ, रगत त्यही फस्न थाल्छ जसले वरिपरिका अंगहरूमा दाग सृजना हुन्छ र ती अंगहरू एकअर्कामा टाँसिन्छन् । यसले प्रजननमा क्षमतालाई असर गर्छ ।
अण्डाको मात्रा घट्नु : महिलामा उमेर बढ्दै जाँदा प्रजनन दर घट्छ किनकि उनीहरूको शरीरबाट अण्डा पनि घट्दै जान्छ । अरू कारणहरू जस्तै अंडाशयको शल्यक्रिया, किमोथेरापी र अण्डाशयको संक्रमणले पनि अण्डाको उत्पादनमा असर गर्छ । परिवारको कुनै महिला सदस्यमा समयभन्दा आगाडि महिनावारी रोकिएको इतिहास छ भने, सो महिलामा पनि छिट्टै महिनवारी रोकिन सक्छ र प्रजनन क्षमता पनि रोकिन्छ ।
पाठेघरको समस्या : जन्मजात पाठेघरको समस्या, पाठेघरमा मासु पलाएको अथवा पहिला गरेको शल्यक्रियाको दाग छ भने गर्भपतन र समयभन्दा अगावै बच्चा जन्मने समस्या देखिने गर्छ ।
पुरुषकारक बाँझोपन : ३०–४० प्रतिशत जोडीमा यो करणले बाँझोपन हुने गर्छ । सामान्यतया वीर्यको स्तर कम हुनु, कम शुक्राणु बन्नु वा जन्मजात पुरुषको भित्री अंगमा समस्या हुनु पुरुषकारक बाँझोपनका कारण हुन् ।
हर्मोनको समस्या : कुनै कारण मस्तिष्कबाट निस्किने हर्मोन (हाइपोथल्यामसबाट जीएनआरएच र पिट्युटरीबाट एफएसएच/एलएच) को मात्रा कम भएमा पनि बाँझोपन हुन्छ । यी हर्मोनहरू अण्डाशयबाट अण्डा र शुक्रकीटबाट शुक्राणु निकाल्न चाहिन्छन् । उदाहरणका लागि, मस्तिष्कबाट निस्किने प्रोल्यक्टिन हर्मोनको मात्रा कुनै कारण बढी भएमा वा यसको उत्पादन हुने ठाउँमा मासु पलाएमा जीएनआरएच को मात्रा घट्छ, जसले बाँझोपन गराउँछ । यसबाहेक थाइरोइड ग्रन्थिसम्बन्धी रोगले पनि बाँझोपन गराउँछ ।
महिलाको उमेरले पनि प्रजननमा फरक पार्छ । ३० वर्षपछि महिलाहरूमा प्रजनन दर घट्छ किनभने अण्डाको मात्रा घट्दै जान्छ र यसको गुणस्तरमा पनि कम हुँदै जान्छ, जसले जन्मजात विकृति/गर्भपातको जोखिम बढ्छ । ३७ वर्षपछि त प्रजनन दरमा अधिक कमी हुन्छ ।
प्रजनन दर बढाउन जोडीहरूले जीवनशैली केही परिवर्तन गर्नुपर्छ, जस्तो कम कीटनाशक भएका फलफूल र तरकारीहरूको सेवन बढाउने, तौल बढी भए घटाउने, नियमित व्यायाम गर्ने, चुरोट र रक्सी नखाने आदि । यसले प्रजनन क्षमता बढाउन धेरै फाइदा गर्छ । बच्चा जन्माउने निर्णय गरेपछि फोलिक एसिड सेवन सुरु गर्ने र नियमित आहारमा अत्यधिक पौष्टिक खानेकुराहरू खानुपर्छ । गर्भाशयबाट निस्कने चिप्लो पदार्थको निगरानी गरेमा आफ्नो अण्डा निस्कने समयको जानकारी महिलाले लिन सक्छन् र त्यस समयतिर यौन सम्बन्ध राख्नाले गर्भ बस्ने सम्भावना बढाउन सकिन्छ ।
बाँझोपन भयो भनेर कसरी थाहा पाउने र डाक्टरकोमा कहिले जाने जिज्ञासा धेरैको हुन्छ । सामान्यतया ३५ वर्षभन्दा कम उमेरका महिलामा गर्भवती हुन कोसिस गरेको एक वर्षसम्म पनि गर्भ नबसेमा डाक्टरको परामर्श लिँदा उचित हुन्छ । त्यस्तै ३५ देखि ४० वर्षका महिलाले भने कोसिस गरेको ६ महिनामा पनि गर्भ नबसे र ४० वर्ष कटेकाले भने तुरुन्त परामर्श लिँदा राम्रो हुन्छ । महिनावारी हुँदा धेरै पेट दुख्ने; महिनावारी अनियमित हुने; विगतमा प्रजनन अंग (गर्भाशय, ट्युब, अण्डाशय) को संक्रमण भएका, एन्डोमेट्रिओसिस भएका, श्रीमान्को शुक्राणु गणना कम भएका र पटक–पटक गर्भपतन भएका महिलाले भने जतिसक्दो छिटो उपचारका लागि डाक्टरसँग सल्लाह लिनुपर्छ ।
बाँझोपन भएका जोडी सहयोगका लागि स्त्रीरोग विशेषज्ञकोमा जान सक्छन् । विशेषज्ञले विस्तृत रूपमा समस्याबारे सोधपुछ गरेपछि कुन शारीरिक परीक्षण गर्ने भन्ने निर्णय गर्छन् । आवश्यक परे थप परीक्षण र उपचारका लागि जोडीलाई बाँझोपनको उपचार गर्ने स्वास्थ्य केन्द्रमा सिफारिस पनि गर्छन् । बाँझोपनका लागि गरिने केही परीक्षण यस प्रकारका छन् :
रक्त परीक्षण : यसअन्तर्गत पूर्ण रगत गणना, थाइरोइड प्रोफाइल, प्रोल्याक्टिन, एफएसएच/एलएच, एस्ट्राडियोल, प्रोजेस्टेरोन, टेस्टोस्टेरोनलगायत पर्छन् । यौनजन्य रोगको परीक्षण पनि यसैमा पर्छ ।
इमेजिङ परीक्षण : यसमा गर्भाशयको अल्ट्रासाउन्ड पर्छ । साथै गर्भाशय वा फेलोपियन ट्युबहरूमा कुनै रोकावट छ कि भनेर हेर्न गर्भाशयमा रंगीन डाई हाली परीक्षण गरिन्छ । डाक्टरहरूले दुरबिनले भुडीमा सानो प्वाल बनाएर भित्री अंगमा केही खराबी छ कि भनी पनि हेर्छन् ।
वीर्य विश्लेषण : यो जाँचले पुरुषको शुक्राणुको गुणस्तर र मात्राको मूल्यांकन गर्ने गरिन्छ । यदि शुक्राणुको गणना निकै कम छ भने, हर्मोनको स्तर जाँच्नुपर्छ । कहिलेकाहीँ कुनै विकारका लागि वंशाणुगत विश्लेषण पनि आवश्यक पर्न सक्छ ।
ओभुलेसन किट्स : किट्समा दिइएको निर्देशनअनुसार घरमै यसको प्रयोग गर्न सकिन्छ । गर्भाशयबाट निस्केको चिप्लो पदार्थको जाँच र शरीरको तापक्रमबाट ओभुलेसन कहिले हुन्छ भन्ने थाहा पाउन सकिन्छ । यसले दिने जानकारी र महिनवारीको चक्रबारे डाक्टरलाई बताए समस्या पत्ता लगाउन सजिलो हुन्छ । बाँझोपनका उपचारका विभिन्न विकल्प छन् । त्यसमध्ये केहीको चर्चा यहाँ गरिएको छ ।
ओभेरियन इन्डक्सन र स्टिमुलेसन : यस विधिमा अण्डाहरूको उत्पादन बढाउन औषधि दिइन्छ, जसले मस्तिष्कमा हर्मोनहरू छोड्ने अंगहरूलाई उत्प्रेरित गर्छ । फलस्वरूप अण्डाशयबाट अण्डा निस्कन्छ । इन्डक्सन ओभुलेसन नै नहुने महिलामा गरिन्छ भने स्टिमुलेसनचाहिँ ओभुलेसन हुने महिलामा धेरैवटा परिपक्व अण्डाहरू बनाउन प्रयोग गरिन्छ । यी विधिमा क्लोमिफेन साइट्रेट, लेट्रोजोल, मेनोट्रोपिन र पल्सटाइल थेरापी वा यी औषधिहरूको संयोजन प्रयोग गरिन्छ । अण्डाशय बढी उत्तेजित भएर जटिलताको जोखिम हुने भएका कारण एफएसएच र एलएच प्रयोग गर्दा डाक्टरको निगरानीमा रहनु जरुरी हुन्छ ।
इन्ट्रायुटेराइन इन्सेमिनेसन : यो भनेको कृत्रिम विधिबाट गर्भाशयमा शुक्राणु राख्नु हो । इन्ट्रायुटेराइन इन्सेमिनेसन र ओभेरियन स्टिमुलेसनको संयोजन कारण नखुलेका बाँझोपनमा प्रयोग गरिन्छ ।
इन्भिट्रो फर्टिलाइजेसन : यस विधिमा अण्डाशयको उत्तेजनाबाट अण्डा उत्पादन गरी सो अण्डालाई अल्ट्रासाउन्डको निगरानीमा महिलाको शरीरबाट निकालिन्छ । अन्ततः कृत्रिम विधिबाट शरीरबाहिर अण्डा र शुक्राणुलाई एउटा ल्याबको भाँडोमा मिसाइन्छ, त्यसपछि भ्रूण फेरि गर्भाशयमा अल्ट्रासाउन्डको सहायताले रोपिन्छ । इन्ट्रा साइटोप्लास्मिक इन्सेमिनेसन भन्ने कृत्रिम विधिमा भने शुक्राणुलाई सीधै अण्डामा रोपिन्छ ।
अन्य आधुनिक विधि : महिला र पुरुष दुवैको अण्डा र शुक्राणु काम नलाग्ने भएमा (जस्तै वंशाणुगत रोगहरूमा) तेस्रो व्यक्तिबाट प्रजनन र गर्भाशय प्रत्यारोपण विकल्प हुन सक्छ । यस्तो अवस्थामा दाताबाट अण्डा वा शुक्राणुको प्रयोग गरिन्छ । जिउँदो दाताबाट गर्भाशय प्रत्यारोपणको पहिलो क्लिनिकल परीक्षणको परिणामस्वरूप सन् २०१४ मा स्विडेनमा ३२ हप्ताको बच्चा जन्मिएको थियो । त्यसपछि सन् २०१७ मा ब्राजिलमा ३६ हप्तामा मृतक दाताबाट गर्भाशय प्रत्यारोपण गरेर पहिलो पटक बच्चा जन्मिएको थियो । नेपालमा भने गर्भाशय प्रत्यारोपणबाट बच्चा जन्माउने विधि थालिएको छैन ।
अन्त्यमा, कुन उपचार प्रयोग गर्ने भनेर योजना बनाउँदा उमेरलाई पनि ध्यानमा राख्नुपर्छ । बाँझोपनको उपचारका लागि डाक्टरहरूको परामर्श, परीक्षणका साथै स्वस्थ जीवनशैली पनि अँगाल्नु आवश्यक पर्छ ।
(लेखकद्वय चिकित्सक हुन् ।)
प्रकाशित : श्रावण १८, २०७८ ०८:१९