कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाँझोपनका कारण र उपचार

एक अनुसन्धानअनुसार नेपालमा ५–७ प्रतिशत जोडीमा बाँझोपन देखिने गरेको छ, जसबारे परिवार–समाजमा कमै छलफल हुन्छ ।

‘विवाह गरेको तीन वर्षसम्म बच्चा नबस्दा मेरो आमा बन्ने सपना पूरा नहुने पो हो कि भनेर पीर परिरहन्थ्यो । त्यसमाथि आफन्तको घोचासोलाले विक्षिप्त हुन्थेँ । मैले स्नातकोत्तरसम्म पढेको थिएँ र राम्रो जागिर पनि थियो तर खुसी हुन यी मात्र काफी नहुँदा रहेछन् ।’ चिनजानकी मायाले हामीलाई केहीअघि यस्तो भनेकी थिइन् ।

बाँझोपनका कारण र उपचार

डाक्टरको परामर्शपछि टेस्टट्युब बेबीको सहायताले कोख भर्न सफल भएकी माया अचेल भन्छिन्, ‘पेटमा बच्चा चलेको नि मज्जाले थाहा पाउन थालेकी छु ।’ तपाईंहरूले पनि यस्ता भनाइ टोलछिमेकमा प्रशस्तै सुन्नुभएको होला ।

बाँझोपन महिलाका कारण मात्र नभएर पुरुषका कारण पनि हुन्छ । यसबारे परिवार–समाजमा कमै छलफल हुन्छ । नियमित असुरक्षित यौनसम्पर्कको १२ महिनापछि पनि गर्भधारण हुन नसक्नु बाँझोपन हो । विश्वव्यापी बाँझोपन दर निरन्तर वृद्धि भइरहेको छ । संसारमा प्रजनन उमेरका लगभग १८ करोडभन्दा धेरै व्यक्ति बाँझोपनका साथ बाँचिरहेका छन् । विकासशील देशहरूमा औसत ६.९ देखि ९.३ प्रतिशत व्यक्तिहरूमा बाँझोपन हुने देखिएको छ । एक अनुसन्धानअनुसार नेपालमा ५–७ प्रतिशत जोडीमा बाँझोपन देखिने गरेको छ । ८५ प्रतिशत जोडीमा बाँझोपनका कारण थाहा पाउन सकिन्छ भने १५ प्रतिशत जोडीमा कारण बिनै बाँझोपन हुने गर्छ । थाहा पाउन सकिने बाँझोपनका केही कारण यहाँ समेटिएका छन् ।

ओभुलेसनमा समस्या : अण्डाशयबाट एक परिपक्व अण्डा निस्कनु ओभुलेसन हो, सामान्यतया यो मासिक महिनावारी सुरुआत हुनुभन्दा १४ दिनअघि हुन्छ । शारीरिक सम्पर्क ओभुलेसन हुने ५ दिनअघि अथवा ओभुलेसनको दिनमा भयो भने बच्चा बस्ने सम्भावना बढ्छ तर कतिपय महिलामा ओभुलेसन नै हुँदैन, जसलाई एनोभुलेसन भनिन्छ र यसले बाँझोपन निम्त्याउन सक्छ । यदि महिनावारी नियमित नभएमा, महिनावारी २१ दिनभन्दा छोटो वा ३५ दिनभन्दा बेसीमा भएमा, गर्भाशयबाट धेरै रक्तस्राव भएमा अथवा महिनावारी नै नभएमा ओभुलेसनमा समस्या छ भन्ने बुझ्नुपर्छ ।

फेलोपियन ट्युबमा समस्या : यस ट्युबमा अवरोध भएमा वा दागका कारण ट्युबले अण्डाशयबाट निस्किएको अण्डा समात्न नसके बाँझोपन हुन सक्छ । यौन संक्रमणको इतिहासले पनि ट्युबमा समस्या आइपर्ने जोखिम बढाउँछ । साथै विगतमा पेटको शल्यक्रिया गरेको वा पेटभित्र संक्रमण भए पेटभित्र दाग बनेर ट्युब खुम्चिन सक्छ र यसले बाँझोपन गराउन सक्छ ।

एन्डोमेट्रिओसिस : एन्डोमेट्रियम एक तन्तु हो जसले गर्भाशयको भित्री भागलाई रेखा दिन्छ र एन्डोमेट्रियोसिस एक समस्या हो, जसमा यी तन्तुहरू गर्भाशयको गृहबाट बाहिर गएर हुर्कन्छ र तल्लो पेटका अन्य अंगहरू जस्तै अण्डाशय, ट्युब वा आन्द्रामा गएर बस्छ । यसरी बाहिर गएर बसेको एन्डोमेट्रियमको तन्तु प्रत्येक महिनावारीमा टुक्रिन्छ, रगत त्यही फस्न थाल्छ जसले वरिपरिका अंगहरूमा दाग सृजना हुन्छ र ती अंगहरू एकअर्कामा टाँसिन्छन् । यसले प्रजननमा क्षमतालाई असर गर्छ ।

अण्डाको मात्रा घट्नु : महिलामा उमेर बढ्दै जाँदा प्रजनन दर घट्छ किनकि उनीहरूको शरीरबाट अण्डा पनि घट्दै जान्छ । अरू कारणहरू जस्तै अंडाशयको शल्यक्रिया, किमोथेरापी र अण्डाशयको संक्रमणले पनि अण्डाको उत्पादनमा असर गर्छ । परिवारको कुनै महिला सदस्यमा समयभन्दा आगाडि महिनावारी रोकिएको इतिहास छ भने, सो महिलामा पनि छिट्टै महिनवारी रोकिन सक्छ र प्रजनन क्षमता पनि रोकिन्छ ।

पाठेघरको समस्या : जन्मजात पाठेघरको समस्या, पाठेघरमा मासु पलाएको अथवा पहिला गरेको शल्यक्रियाको दाग छ भने गर्भपतन र समयभन्दा अगावै बच्चा जन्मने समस्या देखिने गर्छ ।

पुरुषकारक बाँझोपन : ३०–४० प्रतिशत जोडीमा यो करणले बाँझोपन हुने गर्छ । सामान्यतया वीर्यको स्तर कम हुनु, कम शुक्राणु बन्नु वा जन्मजात पुरुषको भित्री अंगमा समस्या हुनु पुरुषकारक बाँझोपनका कारण हुन् ।

हर्मोनको समस्या : कुनै कारण मस्तिष्कबाट निस्किने हर्मोन (हाइपोथल्यामसबाट जीएनआरएच र पिट्युटरीबाट एफएसएच/एलएच) को मात्रा कम भएमा पनि बाँझोपन हुन्छ । यी हर्मोनहरू अण्डाशयबाट अण्डा र शुक्रकीटबाट शुक्राणु निकाल्न चाहिन्छन् । उदाहरणका लागि, मस्तिष्कबाट निस्किने प्रोल्यक्टिन हर्मोनको मात्रा कुनै कारण बढी भएमा वा यसको उत्पादन हुने ठाउँमा मासु पलाएमा जीएनआरएच को मात्रा घट्छ, जसले बाँझोपन गराउँछ । यसबाहेक थाइरोइड ग्रन्थिसम्बन्धी रोगले पनि बाँझोपन गराउँछ ।

महिलाको उमेरले पनि प्रजननमा फरक पार्छ । ३० वर्षपछि महिलाहरूमा प्रजनन दर घट्छ किनभने अण्डाको मात्रा घट्दै जान्छ र यसको गुणस्तरमा पनि कम हुँदै जान्छ, जसले जन्मजात विकृति/गर्भपातको जोखिम बढ्छ । ३७ वर्षपछि त प्रजनन दरमा अधिक कमी हुन्छ ।

प्रजनन दर बढाउन जोडीहरूले जीवनशैली केही परिवर्तन गर्नुपर्छ, जस्तो कम कीटनाशक भएका फलफूल र तरकारीहरूको सेवन बढाउने, तौल बढी भए घटाउने, नियमित व्यायाम गर्ने, चुरोट र रक्सी नखाने आदि । यसले प्रजनन क्षमता बढाउन धेरै फाइदा गर्छ । बच्चा जन्माउने निर्णय गरेपछि फोलिक एसिड सेवन सुरु गर्ने र नियमित आहारमा अत्यधिक पौष्टिक खानेकुराहरू खानुपर्छ । गर्भाशयबाट निस्कने चिप्लो पदार्थको निगरानी गरेमा आफ्नो अण्डा निस्कने समयको जानकारी महिलाले लिन सक्छन् र त्यस समयतिर यौन सम्बन्ध राख्नाले गर्भ बस्ने सम्भावना बढाउन सकिन्छ ।

बाँझोपन भयो भनेर कसरी थाहा पाउने र डाक्टरकोमा कहिले जाने जिज्ञासा धेरैको हुन्छ । सामान्यतया ३५ वर्षभन्दा कम उमेरका महिलामा गर्भवती हुन कोसिस गरेको एक वर्षसम्म पनि गर्भ नबसेमा डाक्टरको परामर्श लिँदा उचित हुन्छ । त्यस्तै ३५ देखि ४० वर्षका महिलाले भने कोसिस गरेको ६ महिनामा पनि गर्भ नबसे र ४० वर्ष कटेकाले भने तुरुन्त परामर्श लिँदा राम्रो हुन्छ । महिनावारी हुँदा धेरै पेट दुख्ने; महिनावारी अनियमित हुने; विगतमा प्रजनन अंग (गर्भाशय, ट्युब, अण्डाशय) को संक्रमण भएका, एन्डोमेट्रिओसिस भएका, श्रीमान्को शुक्राणु गणना कम भएका र पटक–पटक गर्भपतन भएका महिलाले भने जतिसक्दो छिटो उपचारका लागि डाक्टरसँग सल्लाह लिनुपर्छ ।

बाँझोपन भएका जोडी सहयोगका लागि स्त्रीरोग विशेषज्ञकोमा जान सक्छन् । विशेषज्ञले विस्तृत रूपमा समस्याबारे सोधपुछ गरेपछि कुन शारीरिक परीक्षण गर्ने भन्ने निर्णय गर्छन् । आवश्यक परे थप परीक्षण र उपचारका लागि जोडीलाई बाँझोपनको उपचार गर्ने स्वास्थ्य केन्द्रमा सिफारिस पनि गर्छन् । बाँझोपनका लागि गरिने केही परीक्षण यस प्रकारका छन् :

रक्त परीक्षण : यसअन्तर्गत पूर्ण रगत गणना, थाइरोइड प्रोफाइल, प्रोल्याक्टिन, एफएसएच/एलएच, एस्ट्राडियोल, प्रोजेस्टेरोन, टेस्टोस्टेरोनलगायत पर्छन् । यौनजन्य रोगको परीक्षण पनि यसैमा पर्छ ।

इमेजिङ परीक्षण : यसमा गर्भाशयको अल्ट्रासाउन्ड पर्छ । साथै गर्भाशय वा फेलोपियन ट्युबहरूमा कुनै रोकावट छ कि भनेर हेर्न गर्भाशयमा रंगीन डाई हाली परीक्षण गरिन्छ । डाक्टरहरूले दुरबिनले भुडीमा सानो प्वाल बनाएर भित्री अंगमा केही खराबी छ कि भनी पनि हेर्छन् ।

वीर्य विश्लेषण : यो जाँचले पुरुषको शुक्राणुको गुणस्तर र मात्राको मूल्यांकन गर्ने गरिन्छ । यदि शुक्राणुको गणना निकै कम छ भने, हर्मोनको स्तर जाँच्नुपर्छ । कहिलेकाहीँ कुनै विकारका लागि वंशाणुगत विश्लेषण पनि आवश्यक पर्न सक्छ ।

ओभुलेसन किट्स : किट्समा दिइएको निर्देशनअनुसार घरमै यसको प्रयोग गर्न सकिन्छ । गर्भाशयबाट निस्केको चिप्लो पदार्थको जाँच र शरीरको तापक्रमबाट ओभुलेसन कहिले हुन्छ भन्ने थाहा पाउन सकिन्छ । यसले दिने जानकारी र महिनवारीको चक्रबारे डाक्टरलाई बताए समस्या पत्ता लगाउन सजिलो हुन्छ । बाँझोपनका उपचारका विभिन्न विकल्प छन् । त्यसमध्ये केहीको चर्चा यहाँ गरिएको छ ।

ओभेरियन इन्डक्सन र स्टिमुलेसन : यस विधिमा अण्डाहरूको उत्पादन बढाउन औषधि दिइन्छ, जसले मस्तिष्कमा हर्मोनहरू छोड्ने अंगहरूलाई उत्प्रेरित गर्छ । फलस्वरूप अण्डाशयबाट अण्डा निस्कन्छ । इन्डक्सन ओभुलेसन नै नहुने महिलामा गरिन्छ भने स्टिमुलेसनचाहिँ ओभुलेसन हुने महिलामा धेरैवटा परिपक्व अण्डाहरू बनाउन प्रयोग गरिन्छ । यी विधिमा क्लोमिफेन साइट्रेट, लेट्रोजोल, मेनोट्रोपिन र पल्सटाइल थेरापी वा यी औषधिहरूको संयोजन प्रयोग गरिन्छ । अण्डाशय बढी उत्तेजित भएर जटिलताको जोखिम हुने भएका कारण एफएसएच र एलएच प्रयोग गर्दा डाक्टरको निगरानीमा रहनु जरुरी हुन्छ ।

इन्ट्रायुटेराइन इन्सेमिनेसन : यो भनेको कृत्रिम विधिबाट गर्भाशयमा शुक्राणु राख्नु हो । इन्ट्रायुटेराइन इन्सेमिनेसन र ओभेरियन स्टिमुलेसनको संयोजन कारण नखुलेका बाँझोपनमा प्रयोग गरिन्छ ।

इन्भिट्रो फर्टिलाइजेसन : यस विधिमा अण्डाशयको उत्तेजनाबाट अण्डा उत्पादन गरी सो अण्डालाई अल्ट्रासाउन्डको निगरानीमा महिलाको शरीरबाट निकालिन्छ । अन्ततः कृत्रिम विधिबाट शरीरबाहिर अण्डा र शुक्राणुलाई एउटा ल्याबको भाँडोमा मिसाइन्छ, त्यसपछि भ्रूण फेरि गर्भाशयमा अल्ट्रासाउन्डको सहायताले रोपिन्छ । इन्ट्रा साइटोप्लास्मिक इन्सेमिनेसन भन्ने कृत्रिम विधिमा भने शुक्राणुलाई सीधै अण्डामा रोपिन्छ ।

अन्य आधुनिक विधि : महिला र पुरुष दुवैको अण्डा र शुक्राणु काम नलाग्ने भएमा (जस्तै वंशाणुगत रोगहरूमा) तेस्रो व्यक्तिबाट प्रजनन र गर्भाशय प्रत्यारोपण विकल्प हुन सक्छ । यस्तो अवस्थामा दाताबाट अण्डा वा शुक्राणुको प्रयोग गरिन्छ । जिउँदो दाताबाट गर्भाशय प्रत्यारोपणको पहिलो क्लिनिकल परीक्षणको परिणामस्वरूप सन् २०१४ मा स्विडेनमा ३२ हप्ताको बच्चा जन्मिएको थियो । त्यसपछि सन् २०१७ मा ब्राजिलमा ३६ हप्तामा मृतक दाताबाट गर्भाशय प्रत्यारोपण गरेर पहिलो पटक बच्चा जन्मिएको थियो । नेपालमा भने गर्भाशय प्रत्यारोपणबाट बच्चा जन्माउने विधि थालिएको छैन ।

अन्त्यमा, कुन उपचार प्रयोग गर्ने भनेर योजना बनाउँदा उमेरलाई पनि ध्यानमा राख्नुपर्छ । बाँझोपनको उपचारका लागि डाक्टरहरूको परामर्श, परीक्षणका साथै स्वस्थ जीवनशैली पनि अँगाल्नु आवश्यक पर्छ ।

(लेखकद्वय चिकित्सक हुन् ।)

प्रकाशित : श्रावण १८, २०७८ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?