२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२६

अदालतको आदेश र एमालेको पार्टी एकता

यदि ओली नेतृत्व ‘प्रतिगामी’, भइसकेको, ‘संविधानका सबै प्रगतिशील उपलब्धि सिद्ध्याउन लागिपरेको’ र उसले ‘समाजवादी सिद्धान्त, राजनीति र नैतिकता नै छोडिसकेको’ माधव समूहको आरोप सही हो भने त्यस्तो राजनीतिक शक्तिसित एकता फेरि कसरी सही र जायज हुन्छ ?
श्याम श्रेष्ठ

फुट्ने नेता, जोड्ने कार्यकर्ता 
समानान्तर पार्टीसमेत गठन गर्दै फुटको संघारमा पुगेर आआफ्नो बाटो हिँडिसकेका नेकपा एमालेका दुई चिरा दोस्रो तहका नेताहरूको क्रियाशीलतामा दसबुँदे सहमतिसहित फेरि जोडिन लागेको खबरले, मनसुनले चिस्याएको अहिलेको वातावरणलाई एक्कासि तताइदिएको छ ।

अदालतको आदेश र एमालेको पार्टी एकता

त्यसमाथि, यही बेला प्रतिनिधिसभा पुनःस्थापना र देउवा नेतृत्वको सरकार तुरुन्त गठन गर्नू भन्ने सर्वोच्च न्यायालयको फैसलाले एमाले एकताको भविष्यलाई रोचक र संकटग्रस्त दुवै बनाएको छ ।

नेपालको राजनीतिक इतिहासमा भएको एउटा उदेकलाग्दो घटना के हो भने, एमालेको यो सम्भावित एकताको जग सर्वोच्च न्यायालयका दुइटा फैसलाले खनिदिएका हुन् । एउटा, नेकपा पार्टी विभाजित भएर पुरानै एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिनु । अर्को, ओलीले गठन गरेको महाधिवेशन आयोजक समितिलाई अवैध ठहर गर्नु । त्यही जगमा टेकेर दोस्रो तहका केही नेताले पार्टी एकताको यो साझा चौतारी निर्माण गर्न खोजेका हुन् ।

उसै पनि एमालेमा पहिलेदेखि नै नेताभन्दा कार्यकर्ता काफी भिन्न देखिन्थे । नेता पटक–पटक पार्टी फुटाउन खोज्थे, कार्यकर्ता त्यसलाई जोड्ने काम गर्थे । नेता वैचारिक–सैद्धान्तिक लिकबाट पार्टीलाई पूरै बाहिर लैजाने काम गर्थे, कार्यकर्ता बाहिर जान थालेको रेलको डिब्बालाई फेरि लिकमा ल्याउने काम गर्थे । समाजको तल्लो, गरिखाने वर्गका जनतासित नेताहरूको सम्बन्धविच्छेद भइसकेको थियो; उनीहरूको आफ्नो वर्ग नै परिवर्तन भइसकेको थियो । तर कैयन् कार्यकर्ता अझै भुइँतहका जनतासित अभिन्न रूपले जोडिएका थिए । नवौं महाधिवेशनमै लगभग फुटिसकेको एमालेलाई कार्यकर्ताहरूले नै बलपूर्वक जोडेका थिए । एमाले, साँच्चै भन्ने हो भने, देशको सबैभन्दा ठूलो कार्यकर्ताप्रधान संसद्वादी पार्टी थियो । क्रान्तिकारीपन र कम्युनिस्ट चरित्र धेरै हदसम्म समाप्त भइसकेको भए पनि यो अझै सांगठनिक आधार सबैभन्दा ज्यादा विस्तारित र बलियो भएको दल थियो ।

परन्तु पछिल्ला चार वर्षमा, खास गरी केपी ओली पार्टीअध्यक्ष भएयता, एमालेमा यो कार्यकर्ताप्रधानता मासिँदै गइरहेको थियो । नेकपा नामको दल बनेपछि त त्यो दलमा न त एमालेको कार्यकर्ताप्रधान सांगठनिक चरित्र बाँकी थियो, न माओवादीको लडाकुप्रधान जुझारु चरित्र । त्यो पार्टी शीर्ष नेताको एकलौटी मौजा र बिर्तामा रूपान्तरित भएको थियो जसमा कार्यकर्ता र मध्यम स्तरका नेताहरूसमेत औधी निरीह र लाचार छायाजस्ता भएका थिए । व्यक्ति ओली नै राज्य र पार्टीको पर्याय बन्दै गइरहेको स्थिति थियो । कम्युनिस्ट पार्टी कुनै मुगल सम्राट्को अधिराज्यजस्तो बन्न पुगेको थियो, जसमा शीर्ष नेताको बोल्नका लागि मुख मात्र थियो, सुन्नका लागि कान थिएन । अन्य नेता–कार्यकर्तासित आदेश पालना गर्ने हातखुट्टा मात्र थिए, तर आफ्नो आलोचनात्मक मत जाहेर गर्ने मुख र मुटु थिएन । नेकपालाई पथविचलित हुनबाट तथा फुट्नबाट रोक्न नसकिएको एउटा मुख्य कारण यही थियो ।

अहिले एमाले पार्टी फेरि खडा भएपछि कार्यकर्ताहरू र दोस्रो तहका नेताहरू होस फिरेजस्ता भएका छन् । उनीहरूले फेरि आफ्नो दबाब र प्रभाव प्रदर्शित गर्न थालेका छन् । युवा नेता र कार्यकर्ता कुनै पनि दलमा शक्तिशाली र क्रियाशील हुन थाल्नु आफैंमा स्वागतयोग्य कुरा हो । नेताहरूमाथि उनीहरू हावी हुन थाल्नु अझ राम्रो कुरो हो । बारम्बार परीक्षित र तर असफलसिद्ध भएका बूढा नेताहरूको सम्मानजनक बिदाइको प्रबन्ध गर्न सक्ने हदसम्म उनीहरू शक्तिशाली र प्रभावशाली भएर निस्किए भने त्यो देश र दल दुवैका लागि ठूलो राहतको विषय बन्ने थियो ।

आरोप र एकताको विरोधाभास

परन्तु शासनसत्ताको पछिल्लो अवधिमा एमालेको वर्तमान नेतृत्वको, खास गरी अध्यक्ष ओलीको चरित्र भने पहिलेभन्दा तात्त्विक रूपले भिन्न भएको माधव समूहका नेता–कार्यकर्ताको ठहर रहेको जगजाहेर छ । सार्वजनिक भएका उनीहरूकै शब्दमा, ओलीको नेतृत्व ‘प्रतिगामी’ भएको छ । ऊ ‘समाजवादउन्मुखता, लोकतान्त्रिक गणतन्त्र, संघीयता, समावेशीता, धर्मनिरपेक्षताजस्ता संविधानका सबै प्रगतिशील उपलब्धि सिद्ध्याउन लागिपरेको’ छ । उसले ‘समाजवादी सिद्धान्त, राजनीति र नैतिकता नै छोडिसकेको’ मात्र होइन, ‘आफ्नो वर्गचरित्र नै बदलेर दलाल पुँजीवादी बनाइसकेको’ उनीहरूको ठहर छ । सारमा उनीहरूले केपी ओली अब व्यक्ति नभएर प्रवृत्ति भइसकेको समेत निष्कर्ष निकालेका छन् ।

यस परिप्रेक्ष्यमा माधव समूहका नेता–कार्यकर्ताहरूले आम जनतासामु धेरै पटक प्रस्तुत गरेको निष्कर्ष र अहिलेको यो एकता प्रयासमा भने कुनै तालमेल देखिँदैन । प्रश्न उठ्छ, यदि ओली नेतृत्व ‘प्रतिगामी’, भइसकेको, ‘संविधानका सबै प्रगतिशील उपलब्धि सिद्ध्याउन लागिपरेको’ र उसले ‘समाजवादी सिद्धान्त, राजनीति र नैतिकता नै छोडिसकेको’ कुरा सही हो भने त्यस्तो राजनीतिक शक्तिसित पार्टी एकता फेरि कसरी सही र जायज हुन्छ ? उसले आफ्नो ‘वर्गचरित्र नै बदलेर दलाल पुँजीवादी बनाइसकेको’ भन्ने माधव समूहको निष्कर्ष र आरोप सही हो भने दलाल पुँजीवादी शक्तिसित समाजवादी वामपन्थी शक्तिको पार्टी एकता कसरी उचित र जायज हुन्छ ? अनि यो पार्टी एकता सही छ भने हिजो सार्वजनिक रूपमा लगाइएको त्यो आरोप कसरी सही हुन्छ ? यी दुई कुरा एकैसाथ सही र उचित त हुनै सक्दैनन् ! कि त आरोप अनुचित छ वा एकता बेठीक छ ।

हरेकलाई आफ्नो पार्टी र त्यसको एकता प्यारो हुन्छ । त्यसैले एमालेका नेता–कार्यकर्तालाई पनि आफ्नो दलको एकता प्यारो हुनु अनौठो होइन । परन्तु पार्टी एकताबद्ध हुनु जति आवश्यक छ, त्यो एकता जायज र सही हुनु पनि त्यत्तिकै जरुरी हुन्छ । अहिले एकताका लागि पहल गरेका युवा नेताहरूले के हेक्का राख्नु आवश्यक छ भने, पार्टी एकता राम्रो त हो तर यो निरपेक्ष रूपमा हरेक परिस्थितिमा राम्रो भनेर बुझिनु त्रुटिपूर्ण हुनेछ । उनीहरूले विचार गर्नु जरुरी छ— एकता राम्रो हो भन्दैमा कुहिएको आलु र सद्दे आलु एउटै बोरामा लामो समय मिसिइरहनु राम्रो कि अविलम्ब छुट्टिनु राम्रो ?

यस्तो प्रतीत हुन्छ, अहिले एकताका लागि जोडबल गर्ने सबैले हिजो आफैंले आम जनतासामु ओली पक्षको चरित्रबारे बोलेका कुराहरूमा अडिग रहनुमा भन्दाÙ विचार, सिद्धान्त, पार्टी र देशको भविष्यलाई भन्दा मुख्यतया चुनावको परिणाम र सत्तास्वार्थलाई प्राथमिकता दिए । अब हुने चुनाव र तात्कालिक सत्ताका लागि एमाले एकताबद्ध हुनुको विकल्प छैन भन्ने विचारकै आधारमा पार्टी एकताका लागि दोस्रो तहका नेताहरूले असीमित ऊर्जा खर्च गरे । परन्तु सत्ता र चुनावी स्वार्थलाई मात्र मुख्य आधार बनाउने हो भने त अहिले एमाले एकताका लागि दस जना युवा नेताको जे–जति ऊर्जा खर्च भएको छ, त्यति नै ऊर्जा खर्च गर्ने हो भने के एमाले र माओवादीको एकता वा सत्ता गठबन्धन नै सम्भव हुँदैनथ्यो र ? के त्यसले चाहिँ एमाले एक्लैको एकताले भन्दा ज्यादा चुनावी जित र तुरुन्तै सत्तामा टिकाउ ढंगको पहुँच सुनिश्चित गर्दैनथ्यो र ?

होला त एमालेको टिकाउ एकता ?

त्यति मात्र होइन, अहिले हुन लागेको एमाले एकता र यथार्थ परिस्थितिबीच अरू पनि ठूलठूला अन्तरविरोध छन् । पहिलो ठूलो विरोधाभास के देखिन्छ भने, युवा नेताहरूको सत्तागत भविष्यका लागि एमालेको एकता नभई भएको छैन तर अध्यक्ष ओली वा माधवकुमार नेपालका लागि सत्ताको मैदानमा भोग्न बाँकी केहीे छैन । त्यसैले एकताका लागि जुन जोडबल दोस्रो तहका नेताहरूमा देखिन्छ, त्यस्तो न त केपी ओलीमा देखिन्छ न माधवकुमार नेपालमा ।

एमाले फुट्दा भुइँतहको बलियो जनाधार पनि फुट्ने हुनाले, अनि त्यो फुट्दा निकट भविष्यमा चुनाव जित्ने सबै सम्भावना चकनाचुर हुने हुनाले युवा नेताहरू एकताका लागि दिनरात नभनी मरिमेटिरहेका छन् । तर दुवै नेताको, विशेषतः ओलीको बोली र भावभंगीमा अहिले पनि दिगो एकताका लागि अत्यावश्यक मनोविज्ञान छचल्किरहेको देखिँदैन । उनी पार्टी र सरकारमा पुनः आफ्नो एकछत्र हालीमुहाली तथा अदालतबाट किटानीका साथ पुनःस्थापनाको फैसला आए पनि घुमाउरो बाटोबाट एकचोटि फेरि प्रधानमन्त्री पदको निरन्तरताका लागि मात्र अहिलेको एकताको तानाबाना बुनिरहेका छन् । माधवकुमार नेपाल भने माओवादीसित एकीकरण हुनुअघिको पार्टीको स्थिति, सम्मानजनक एकता, हाराहारीको व्यवहार अनि जिम्मेवारी र पदको समतामूलक वितरण खोजिरहेका छन् जुन अध्यक्ष ओलीलाई पटक्कै स्वीकार्य भएको देखिँदैन । यसरी यी दुईको एकतापछाडिको ध्येय नै नितान्त अलग देखिन्छ । पूर्वपश्चिम फर्केका यी ध्येय हेर्दा, एकता भइहालेमा एकता भएको क्षणबाटै यी दुईबीच पुनः ठूलो घम्साघम्सी सुरु हुने अनुमान लाउन गाह्रो छैन ।

यो एकताको दीर्घायुका लागि सबैभन्दा ठूलो चुनौती हो— प्रधानमन्त्री ओली विगतमा सहमति र सम्झौताप्रति इमानदार भएको कुनै ट्र्याक रेकर्ड नहुनु । उनका लागि सहमति गर्ने भनेकै तोड्नका लागि हो । अदालतले प्रधानमन्त्री बनाइदिएका शेरबहादुर देउवालाई फेरि जुनसुकै उपायबाट भए पनि तल ओरालेर सरकारमा फेरि जान ओली जुनसुकै मूल्य पनि चुकाउन तयार देखिन्छन् । के त्यसका लागि निसर्त भर्‍याङ हुन माधव समूह तयार होला त ? यसैमा यो एकताको भविष्य केही मात्रामा निर्भर हुनेछ ।

एमाले पार्टी यो पटक वैचारिक र भावनात्मक रूपमा समेत फाटेको छ । अरुणा लामाको चर्चित गीत ‘पोहोर साल खुसी फाट्दा जतन गरी मनले टालें’ मा झैं फाटेको संगठन पनि सिउने काम हुन सक्ला, कुर्सी बाँडफाँटको सहमति पनि टाल्ने काम हुन सक्ला, तर दुई थरी नेतृत्वका बीचमा फाटेको मन टाल्न अति कठिन पर्ने देखिन्छ । यो यसकारणले पनि कि, यी दुईथरीका बीचमा आपसमा विश्वासको कुनै पुँजी बाँकी रहेको देखिँदैन । दुईबीच अहंकार र व्यक्तित्वको टक्कर पनि सामान्य छैन । तर यी दुई नेतालाई बाइपास गरेर जाने संगठनको स्थिति पनि तात्कालिक रूपमा देखिँदैन । प्रधानमन्त्री पदबाट तल ओर्लेपछि ओली केही नरम र विनम्र हुन्छन् कि हुन्नन्, त्यो हेर्नै बाँकी छ ।

थप, यस पटक ओली समूह र माधव समूहबीच गहिरो वैचारिक फाटोसमेत भएको छ, जसलाई टाल्न सबैभन्दा गाह्रो पर्ने देखिन्छ । पार्टी एकताका दौरान त्यसो गर्नु गम्भीर भूल थियो भनेर आत्मालोचना गरिएको पनि देखिँदैन । देश र जनताको जीवनमा दीर्घकालीन रूपमा असर गर्ने वैचारिक विषयले वर्तमान एकता प्रक्रियामा प्राथमिकता नै पाएको छैन । यसको तात्पर्य के हो भने, पार्टी एकतापछि पनि यो क्रम भंग हुनेछैन । तर यसलाई खुरुखुरु आँखा चिम्लेर अनुमोदन गर्न माधव समूहलाई कदापि सहज हुनेछैन । यही वैचारिक फाटोले पार्टी एकतामा तुरुन्तै ग्रहण लगाइदिने सम्भावना प्रबल छ ।

त्यसैले अहिलेको पार्टी एकता दुई समूहबीच सत्ता बाँडचुँडमा मात्र सीमित हुने र त्यो गणितीय एकता मात्र हुने सम्भावना ज्यादा छ । दोस्रो तहका नेताहरू आपसमा मिल्ने तर उपल्लो तहका नेताहरूबीच सिँगौरी भने चलिरहने सम्भावना पनि त्यत्तिकै प्रबल छ । त्यस्तो एकताको आयु लामो हुने सम्भावना हुँदैन । वैचारिक–सैद्धान्तिक र मुलुकको रूपान्तरणको एजेन्डामा छलफलै नगरी नेकपाको एकतामा जुन महाभूल भएको थियो, त्यही भूल यसमा पनि त्युँका त्युँ दोहोर्‍याउन थालिएको देखिन्छ । जब कार्य उही हुन्छ, प्रतिकार्य वा परिणाम मात्रै त्यसभन्दा भिन्न कसरी हुन सक्छ र ? अतः यो एकताको नियति पनि त्यही हुनेवाला छ जुन डबल नेकपाको भयो ।

सापेक्ष रूपमा पार्टी एकता हुनु राम्रो हो तर त्यो विचार, सिद्धान्त, नैतिक–सांस्कृतिक–भावनात्मक मूल्यसहितको जैविक एकता हुनुपर्छ अनि मात्र टिकाउ हुन्छ भन्नेमा सन्देह छैन । गणितीय पार्टी एकता गणित मिलुन्जेल मात्र टिक्छ । जब गणितमा किचलो हुन थाल्छ, त्यो त्यही बेला टुट्न थालिहाल्छ ।

सम्भावित एकताले नेपाली राजनीतिको वर्तमान भूगोलमा केही परिवर्तन भने तत्काल ल्याउनेछ । माधव–झलनाथ समूहमाथि पाँच दलको गठबन्धनबाट अलग्गिन चाँडै चर्को दबाब सुरु हुनेछ । त्यो दबाब सफल भएमा कांग्रेस सभापति देउवाको सरकार चाँडै ढल्ने वा देश पुनः चुनावतिर जाने सम्भावना सन्निकट हुनेछ । राजनीतिमा अहिले असम्भव देखिएको कुरा पनि सम्भव हुन बेर लाग्दैन । सत्तागत आवश्यकताको सिद्धान्तमा आधारित भएर हालको एमाले एकता माओवादीसितको गठबन्धन वा पुनः एकतातिर फेरि मोडिन सक्ने झिनो सम्भावनालाई पनि बेवास्ता गर्न मिल्दैन । देशको राजनीति यो दिशातिर मोडिएमा नेपालको राजनीतिको वर्तमान भूगोल फेरि एक पटक निकै फरक हुन जानेछ ।

[email protected]

प्रकाशित : असार २९, २०७८ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?