कोभिडकालमा संक्रमण नियन्त्रण नर्स- विचार - कान्तिपुर समाचार

कोभिडकालमा संक्रमण नियन्त्रण नर्स

संक्रामक एजेन्टको पहिचान र रोकथाममा इन्फेक्सन कन्ट्रोल नर्सको मुख्य भूमिका रहन्छ । कोभिड महामारी रोकथाम तथा नियन्त्रणमा अन्य पूर्वाधारका साथसाथै त्यस्तो जनशक्ति बढाउनु पनि अत्यावश्यक छ ।
ज्वाला ढकाल

स्वास्थ्य संस्थामा विभिन्न किसिमका बिरामीहरू मात्र नभई तिनका आफन्त पनि आउँछन् । त्यस्ता बिरामीहरू संक्रमित र असंक्रमित गरी दुईखाले हुन्छन् । संक्रमित बिरामीले कुनै पनि रोग अर्को व्यक्तिलाई विभिन्न माध्यमबाट सार्न सक्छन् । यस्ता रोगमा टीबी, झाडापखाला, भाइरल निमोनिया, टाइफाइड, कोभिड आदि पर्छन् । उच्च रक्तचाप, डायबिटिज, क्यान्सरलगायत भने बिरामी वा व्यक्तिबाट अन्यमा सर्दैनन् ।

संक्रमण रोकथाम तथा नियन्त्रण गुणस्तरीय स्वास्थ्य सेवाको अभिन्न अंग हो । स्वास्थ्य संस्थामा धेरै किसिमका कीटाणु हुने भएकाले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि उचित तरिकाहरू अपनाइएन भने यो एक व्यक्ति वा बिरामीबाट अर्कोमा सर्न सक्छ । संक्रमण नियन्त्रण स्वास्थ्य सुरक्षाको महत्त्वपूर्ण पाटो हो, जुन सम्पूर्ण बिरामी तथा स्वास्थ्यकर्मीहरूको हितका लागि अति आवश्यक छ । अनि यस विषयमा स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सबै स्वास्थ्य संस्थाको ध्यान पुग्नु जरुरी छ । पहिले यसबारे खासै ध्यान नपुर्‍याइए पनि अहिले अति संक्रमित रोगहरू बढ्दै गएकाले यसको महत्त्व महसुस गरिएको छ । धेरैजसो स्वास्थ्य संस्थामा संक्रमण रोकथाम तथा नियन्त्रणका लागि छुट्टै विभागको व्यवस्था गरिएको पनि छ, जसले संक्रमितहरूबाट अरूलाई रोग नसरोस् भनेर ठोस कदम चाल्ने गर्छ ।

संक्रमण रोकथामको इतिहास हेर्दा, जबजब संक्रामक रोगहरू महामारीका रूपमा देखिन थाले तबतब सम्बन्धित निकायबाट सम्भावित संक्रमण र जोखिमबाट जोगिन संक्रमितहरूलाई छुट्टै राखेर उपचार गर्ने अभ्यासहरू भएका छन् । पश्चिमा सभ्यतामा कुष्ठरोगीहरूलाई छुट्टै ठाउँमा राख्ने गरेको इतिहास भेटिन्छ । नेपालमा पनि राणाकालमा संक्रमितहरूलाई बस्तीभन्दा अलि बेग्लै ठाउँमा राख्ने गरेको पाइन्छ ।

इग्नाज सेमिमलुइस (जसलाई ‘संक्रमण नियन्त्रणको पिता’ पनि भनिन्छ) ले ‘प्युपेरल सेप्सिस’ संक्रमणका माध्यमको व्याख्या गर्दै स्वास्थ्य सेवाप्रदायकहरूबाट पनि संक्रमण वा रोग सर्न सक्छ भन्ने पत्ता लगाए । उनले स्वास्थ्यकर्मीहरूका लागि हातको सफाइको महत्त्वबारे पनि धेरै तथ्य बाहिर ल्याएका थिए । पहिलो इन्फेक्सन कन्ट्रोल नर्स भनेर चिनिने फ्लोरेन्स नाइटिंगेलले बिरामीको अवस्थामा सुधार आउनुमा अस्पतालको वातावरणको पनि प्रभाव रहन्छ भन्ने विषयलाई उठाएकी थिइन् ।

आज विकसित मुलुकहरूमा संक्रमण रोकथाम तथा नियन्त्रणका लागि थुप्रै प्रयास भइरहेका छन् । त्यहाँ स्वास्थ्य बजेटको केही भाग संक्रमण नियन्त्रणका लागि छुट्याइन्छ । हाम्रो देशमा भने संक्रमण नियन्त्रणलाई गम्भीर रूपमा अझै लिइएको छैन । यद्यपि, संक्रमण रोकथामका लागि सामान्य तालिमहरू भने नभएका होइनन् । कोभिड महामारीमा संक्रमण रोकथाम र नियन्त्रणको मुख्य भूमिका रहेको देखिएपछि यसबारे सर्वत्र चासो भने हुन थालेको छ । सामान्यतया सबै अस्पतालमा इन्फेक्सन कन्ट्रोल कमिटीको स्थापना हुन थालेको छ । १०० शय्या क्षमताको प्रत्येक अस्पतालका लागि एक इन्फेक्सन कन्ट्रोल नर्स अनिवार्य चाहिन्छ भन्ने अवधारणा नेपाल सरकारले ल्याएको छ । तर, यसले सबै ठाउँमा महत्त्व पाइसकेको भने छैन । कोभिड महामारीले इन्फेक्सन कन्ट्रोल नर्सको महत्त्वबारे धेरै कुरा सिकाएको भने छ ।

कतिपय ठूला अस्पतालहरूमा इन्फेक्सन कन्ट्रोलका क्रियाकलापहरू सुरु भैसकेका छन् । सरकारले पनि तालिम दिएर केही जनशक्ति तयार पारेको छ । यी काम हुनुभन्दा अगाडि नेपाल क्रिटिकल केयर डेभलपमेन्ट फाउन्डेसनले पनि केही नर्सिङ जनशक्ति इन्फेक्सन कन्ट्रोलका लागि तयार पारेको थियो, जसले कोभिड संक्रमण रोकथामका लागि विशेष योगदान दिने अवसर पनि पायो ।

के हो इन्फेक्सन कन्ट्रोल ?

संक्रमण नियन्त्रण तथा रोकथामको अवधारणले स्वास्थ्य संस्थाजस्तो संवेदनशील स्थानमा संक्रमणको प्रसारलाई रोक्न मद्दत गर्छ । बिरामी तथा स्वास्थ्यकर्मीहरूलाई संक्रमणका कारण हुने हानिबाट बचाउनका लागि डिजाइन गरिएको वैज्ञानिक दृष्टिकोण र अभ्यास नै संक्रमण रोकथाम तथा नियन्त्रण हो । यो त्यस्ता अभ्यास र प्रक्रियाहरूमा केन्द्रित छ, जुन प्रमाणमा आधारित हुन्छन् र तिनै अभ्यासको उचित प्रयोगले सूक्ष्म जीव वा कीटाणु प्रसारणको जोखिमलाई रोक्न वा कम गर्न मद्दत गर्छ । अस्पतालमा हुने संक्रमणको जोखिम कम गर्न यसको आवश्यकता पर्छ ।

के हो इन्फेक्सन कन्ट्रोल नर्स ?

इन्फेक्सन कन्ट्रोलसँग सम्बन्धित सबै पक्षमा विज्ञका रूपमा कार्य गर्न सक्ने शैक्षिक योग्यता र व्यावहारिक तालिमप्राप्त नर्सलाई इन्फेक्सन कन्ट्रोल (आईपी) नर्स भनिन्छ । अस्पताल इन्फेक्सन कन्ट्रोल टोलीमा पूर्णकालीन रूपमा काम गर्न र दैनिक क्रियाकलापहरूको नियमित सञ्चालनका लागि यस्ता नर्सहरूको व्यवस्था गरिएको हुन्छ । आईपी नर्सलाई संक्रमण रोकथाम तथा नियन्त्रण नर्स पनि भनिन्छ । अस्पतालमा धेरैथरी जीवाणु हुन्छन्, त्यस्ता संक्रामक एजेन्टको पहिचान गरी त्यसलाई रोक्न आईपी नर्सको मुख्य भूमिका रहन्छ । उनीहरूको जिम्मेवारी संक्रामक रोगहरूबाट अस्पतालका स्वास्थ्यकर्मी, सेवाग्रही र अन्य बिरामीलाई संक्रमण न्यूनीकरण गर्न सचेत गराउँदै आवश्यक कदम चाल्नु हो । संक्रामक रोगबाट बच्न र बचाउन विभिन्न योजना बनाई कार्यान्वयन गराउनुका साथै स्वास्थ्यकर्मी, सेवाग्राही वा बिरामीहरूको सुरक्षा सुनिश्चित गर्ने अभ्यासहरू प्रभावकारी ढंगले गराउनका लागि आवश्यक तालिम र शिक्षा दिनुपर्ने हुन्छ । सँगसँगै संक्रमणका जोखिमयुक्त अभ्यास र प्रक्रियाहरू पत्ता लगाउन अनुसन्धान तथा अनुगमन गर्नुपर्छ ।

अस्पतालमा जम्मा हुने फोहोरमा धेरै संक्रमण गर्न सक्ने जीवहरू हुन्छन्, जसको उचित व्यवस्थापनमा आईपी नर्सले सघाउँछन् । शैक्षिक कार्यक्रममा भाग लिएर नियमित रूपमा स्वास्थ्यकर्मीहरूलाई तालिम दिने तथा नयाँ कुराको जानकारी पनि दिने गर्छन् ।स्वास्थ्य संस्था एक बहुआयामिक समूह हो । कुनै पनि व्यक्तिको एकल प्रयासले अस्पताल चल्दैन, सबै पक्षको उत्तिकै योगदानको आवश्यकता पर्छ । यसमा उच्च जोखिम पत्ता लगाउने र जोखिमयुक्त अभ्यासलाई हटाउनेमा आईपी नर्सको भूमिका रहन्छ । यस्तै योजना विकास, मापदण्ड तथा कार्ययोजना लागू गर्न सबै विभागीय प्रमुख मात्र नभई सम्पूर्ण कर्मचारीको उत्तिकै भूमिका रहन्छ ।

कोभिडको पहिलो लहर सुरु भएसँगै यसको रोकथाम, नियन्त्रण तथा व्यवस्थापनमा संक्रमण रोकथाम तथा नियन्त्रणको मुख्य भूमिका रह्यो । यस क्रममा विभिन्न चुनौतीको सामना गर्दै आफूलाई प्रमाणित गर्ने अवसर हामीले प्राप्त गर्‍यौं । कोभिड एक त नौलो महामारीका रूपमा भुसको आगोझैं फैलिरहेको थियो/छ, त्यसमा पनि यसको सर्ने माध्यम र उपचार पद्धतिका बारेमा राम्रोसँग तथ्यहरू बाहिर नआइसकेकाले स्वास्थ्यकर्मी लगायत सम्पूर्ण जनमानसमा डर उत्पन्न हुनु स्वाभाविक थियो । स्वास्थ्यकर्मीहरूलाई त्यो डर हटाएर कोभिड संक्रमितहरूको उपचार सहज बनाउनु चुनौतीपूर्ण थियो । हाम्रो देशका धेरैजसो अस्पतालमा स्तरीय आइसोलेसन सेन्टरहरू थिएनन् । जस्तो बनावट छ, त्यस्तै स्थितिमा आइसोलेसन बनाएर उपचार गर्नुपर्ने वातावरण थियो । सामान्य बनावटको अस्पतालमा संक्रामक रोगका बिरामीहरूलाई उपचार गरी संक्रमण फैलनबाट रोक्नु चुनौतीका रूपमा रह्यो । अस्पतालको बनावटले मात्र होइन, सुरुका दिनमा ढिला गरी आउने पीसीआर रिपोर्टले पनि होल्डिङ क्षेत्रमा बिरामीहरूको चाप बढ्ने क्रमसँगै त्रास पनि बढाएको थियो । तुलनात्मक रूपमा हेर्दा, दोस्रो लहरमा भन्दा पहिलो लहरमा स्वास्थ्य सामग्रीहरूको पनि धेरै अभाव थियो । अभावमै पनि व्यवस्थापन गर्नु हाम्रा लागि ठूलो चुनौती थियो ।

डर र स्वास्थ्य सामग्री व्यवस्थापन मात्र नभएर स्वास्थ्यकर्मीहरूलाई शैक्षिक ज्ञान तथा व्यावहारिक तालिम पनि सँगसँगै लैजानुपर्ने र एक पटकको तालिमले मात्र नपुग्ने हुँदा निकै अप्ठेरो भएको थियो । मुख्य कुरा त इन्फेक्सन कन्ट्रोलमा कतिपय कुरा व्यक्तिगत सोच र व्यवहारमा परिवर्तन गरेर मात्रै ल्याउन सकिन्छ, जुन सबैभन्दा ठूलो समस्या हो । किनभने मान्छे परिवर्तन हुन खोज्दैनन् । इन्फेक्सन कन्ट्रोलका लागि व्यवहारमा परिवर्तन आउनु जरुरी हुन्छ । त्यसै गरी अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी, सरसफाइकर्मीहरूलाई संक्रमणको जोखिमबाट बचाउने र संक्रमित स्वास्थ्यकर्मीहरूसँग कन्ट्याक्टमा आएका कर्मचारीहरूको व्यवस्थापन गर्ने र स्वास्थ्यकर्मी अपुग भएमा के गर्ने भन्नेजस्ता विषय चुनौतीका रूपमा थिए । त्यसलाई छिचोल्दै हामीले कोभिडको पहिलो र दोस्रो लहरको सामना गर्‍यौं । अबको आवश्यकता कोभिड रोकथाम तथा नियन्त्रणका लागि अन्य पूर्वाधारका साथसाथै आईपी नर्सहरूको संख्या बढाउनु पनि हो ।

(ढकाल निजामती कर्मचारी अस्पतालमा इन्फेक्सन कन्ट्रोल नर्सका रूपमा कार्यरत छिन् ।)

प्रकाशित : असार २७, २०७८ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्

स्वास्थ्यकर्मीले कहिलेसम्म कुटाइ खाने ?

'हामी स्वास्थ्यकर्मी सीमित स्रोतसाधनमा र अति नै न्यून सेवा सुविधा लिएर नागरिकको जीवन रक्षाका लागि अग्रपंक्तिमा होमिइरहेका छौं। यस्तो परिस्थितिमा के हामीमाथि आक्रमण हुनु पाच्य हो?'
ज्वाला ढकाल

कोरोनाको वितण्डाले देश थला परेको छ । एकातिर प्रशस्त मात्रामा प्राणवायु नपाएर कतिपय मानिसहरू जीवनसँग हार्दै मृत्युवरण गरेका छन् । केही भने तिनैका मृत्यलाई पर धकेल्न आफ्नो भोकप्यास, घर परिवार सबै बिर्सेर रातदिन नभनी निरन्तर खटिरहेका छन् । ती स्वास्थ्यकर्मी हुन्।

नेपालगन्जको भेरी अस्पतालमा शुक्रबार प्रदर्शन गर्दै स्वास्थ्यकर्मी । तस्बिर : रूपा गहतराज/कान्तिपुर

सम्भवत: आज देशभरका सम्पूर्ण स्वास्थ्यकर्मीहरु कोरोनाविरुद्धको युद्धमा एक सिपाही बनेर डुब्नै लागेको एक युगलाई बचाउन होमिएका छन् ।आज देशको अवस्था निकै दर्दनाक छ। यस्तो विषम परिस्थिति छ कि कैयौं कोरोना संक्रमित नागरिकले अस्किजनकै अभावमा ज्यान गुमाउपर्ने स्थिति आएको छ । कतिपय संक्रमितले अस्पताल जानका लागि एम्बुलेन्स खोज्दाखोज्दै र कतिपयले अस्पतालमा बेड पाउने आशामा चर्को शुल्क तिरेर एम्बुलेन्समा घुम्दाघुम्दै ज्यान गुमाउनु परेको छ ।

यस्तो जटिल परिस्थितिमा स्वास्थ्य संस्था जस्तो संवेदनशील ठाउँमा कार्यरत स्वास्थ्यकर्मीहरु माथि जाइलाग्ने कहाँको सभ्यता हो? के स्वास्थ्यकर्मी मान्छे मार्नका लागि अस्पतालमा बसिरहेछन्? यस्तो विषम परिस्थितिमा हामीले पाउने प्रतिक्रिया यही हो? उसो भए बचाउने को छ यहाँ?

हरेक दिन थोरैमा पनि १२/१२ घन्टा, त्यो पनि यस्तो गर्मीयाममा बाक्लो, पोल्ने, खलखली पसिना आउने पीपीई लगाएर मास्कले अनुहारमा घाउ नै हुँदा, भोक र प्यासले प्याकप्याक परेर कतिपय अवस्थामा डाइपर नै लगाएर स्वास्थ्यकर्मीहरु रहरले काम गरिरहेका त पक्कै होइनन् ।

वर्षौंवर्षको लगानी, तपस्या, श्रम के हामीले अर्कोको तितो वचन सुन्न वा लात खानैका लागि गरेका हौं त? यस्ता अप्रिय व्यवहार त्यो किन दोहोरिरहेका छन् ? कहिले हामी स्वास्थ्यकर्मी अस्पताल परिसरमै आक्रमण र दुर्व्यवहारको शिकार हुनुपर्ने, कहिले भाडा तिरेर बसेको घरबाट लखेटिनुपर्ने, कहिले क्वारेन्टाइन स्थलबाट धपाइने तर फेरि तिनै घाइते, थकित दुर्व्यवहारबाट पीडित स्वास्थ्यकर्मीसँगै हाम्रो उच्च अपेक्षा रहने ।

एकातर्फ आज राष्ट्र कोरोनाको कहरले आक्रान्त भइरहेको छ र अर्कोतर्फ यी जीवन जोगाउन तत्पर स्वास्थ्यकर्मीप्रति भइरहेको तुच्छ व्यवहारले देशको शीर निहुरिएको छ । अन्य क्षेत्रमा सेवा दिने जागिरेहरु यो लकडाउनको बेला घरमै बसेर राज्यको सेवा सुविधा लिइरहेछन् । जनताको सेवा गर्न जनताबाटै चुनिएका व्यक्ति यस्तो परिस्थितिलाई ख्याल नै नगरी कुर्सीको दौडमा लागिरहेका छन् ।

हामी स्वास्थ्यकर्मीहरु सीमित स्रोतसाधनमा र अति नै न्यून सेवा सुविधा लिएर नागरिकहरुको जीवन रक्षाका लागि कोरोना महामारीको अग्रपंक्तिमा होमिइरहेका छौं। यस्तो परिस्थितिमा के हामीमाथि आक्रमण हुनु पाच्य हो? न्याय कहाँ छ? हामी माथि उठ्ने हातहरु कहिले रोकिन्छन् ? हाम्रो सुरक्षा कहाँ छ? यस्को जिम्मा कसले लिने?
-ढकाल निजामती कर्मचारी अस्पतालमा इन्फेक्सन कन्ट्रोल नर्सको रुपमा कार्यरत छिन् ।

प्रकाशित : जेष्ठ १७, २०७८ १४:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×