कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोभिडकालमा संक्रमण नियन्त्रण नर्स

संक्रामक एजेन्टको पहिचान र रोकथाममा इन्फेक्सन कन्ट्रोल नर्सको मुख्य भूमिका रहन्छ । कोभिड महामारी रोकथाम तथा नियन्त्रणमा अन्य पूर्वाधारका साथसाथै त्यस्तो जनशक्ति बढाउनु पनि अत्यावश्यक छ ।
ज्वाला ढकाल

स्वास्थ्य संस्थामा विभिन्न किसिमका बिरामीहरू मात्र नभई तिनका आफन्त पनि आउँछन् । त्यस्ता बिरामीहरू संक्रमित र असंक्रमित गरी दुईखाले हुन्छन् । संक्रमित बिरामीले कुनै पनि रोग अर्को व्यक्तिलाई विभिन्न माध्यमबाट सार्न सक्छन् । यस्ता रोगमा टीबी, झाडापखाला, भाइरल निमोनिया, टाइफाइड, कोभिड आदि पर्छन् । उच्च रक्तचाप, डायबिटिज, क्यान्सरलगायत भने बिरामी वा व्यक्तिबाट अन्यमा सर्दैनन् ।

कोभिडकालमा संक्रमण नियन्त्रण नर्स

संक्रमण रोकथाम तथा नियन्त्रण गुणस्तरीय स्वास्थ्य सेवाको अभिन्न अंग हो । स्वास्थ्य संस्थामा धेरै किसिमका कीटाणु हुने भएकाले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि उचित तरिकाहरू अपनाइएन भने यो एक व्यक्ति वा बिरामीबाट अर्कोमा सर्न सक्छ । संक्रमण नियन्त्रण स्वास्थ्य सुरक्षाको महत्त्वपूर्ण पाटो हो, जुन सम्पूर्ण बिरामी तथा स्वास्थ्यकर्मीहरूको हितका लागि अति आवश्यक छ । अनि यस विषयमा स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सबै स्वास्थ्य संस्थाको ध्यान पुग्नु जरुरी छ । पहिले यसबारे खासै ध्यान नपुर्‍याइए पनि अहिले अति संक्रमित रोगहरू बढ्दै गएकाले यसको महत्त्व महसुस गरिएको छ । धेरैजसो स्वास्थ्य संस्थामा संक्रमण रोकथाम तथा नियन्त्रणका लागि छुट्टै विभागको व्यवस्था गरिएको पनि छ, जसले संक्रमितहरूबाट अरूलाई रोग नसरोस् भनेर ठोस कदम चाल्ने गर्छ ।

संक्रमण रोकथामको इतिहास हेर्दा, जबजब संक्रामक रोगहरू महामारीका रूपमा देखिन थाले तबतब सम्बन्धित निकायबाट सम्भावित संक्रमण र जोखिमबाट जोगिन संक्रमितहरूलाई छुट्टै राखेर उपचार गर्ने अभ्यासहरू भएका छन् । पश्चिमा सभ्यतामा कुष्ठरोगीहरूलाई छुट्टै ठाउँमा राख्ने गरेको इतिहास भेटिन्छ । नेपालमा पनि राणाकालमा संक्रमितहरूलाई बस्तीभन्दा अलि बेग्लै ठाउँमा राख्ने गरेको पाइन्छ ।

इग्नाज सेमिमलुइस (जसलाई ‘संक्रमण नियन्त्रणको पिता’ पनि भनिन्छ) ले ‘प्युपेरल सेप्सिस’ संक्रमणका माध्यमको व्याख्या गर्दै स्वास्थ्य सेवाप्रदायकहरूबाट पनि संक्रमण वा रोग सर्न सक्छ भन्ने पत्ता लगाए । उनले स्वास्थ्यकर्मीहरूका लागि हातको सफाइको महत्त्वबारे पनि धेरै तथ्य बाहिर ल्याएका थिए । पहिलो इन्फेक्सन कन्ट्रोल नर्स भनेर चिनिने फ्लोरेन्स नाइटिंगेलले बिरामीको अवस्थामा सुधार आउनुमा अस्पतालको वातावरणको पनि प्रभाव रहन्छ भन्ने विषयलाई उठाएकी थिइन् ।

आज विकसित मुलुकहरूमा संक्रमण रोकथाम तथा नियन्त्रणका लागि थुप्रै प्रयास भइरहेका छन् । त्यहाँ स्वास्थ्य बजेटको केही भाग संक्रमण नियन्त्रणका लागि छुट्याइन्छ । हाम्रो देशमा भने संक्रमण नियन्त्रणलाई गम्भीर रूपमा अझै लिइएको छैन । यद्यपि, संक्रमण रोकथामका लागि सामान्य तालिमहरू भने नभएका होइनन् । कोभिड महामारीमा संक्रमण रोकथाम र नियन्त्रणको मुख्य भूमिका रहेको देखिएपछि यसबारे सर्वत्र चासो भने हुन थालेको छ । सामान्यतया सबै अस्पतालमा इन्फेक्सन कन्ट्रोल कमिटीको स्थापना हुन थालेको छ । १०० शय्या क्षमताको प्रत्येक अस्पतालका लागि एक इन्फेक्सन कन्ट्रोल नर्स अनिवार्य चाहिन्छ भन्ने अवधारणा नेपाल सरकारले ल्याएको छ । तर, यसले सबै ठाउँमा महत्त्व पाइसकेको भने छैन । कोभिड महामारीले इन्फेक्सन कन्ट्रोल नर्सको महत्त्वबारे धेरै कुरा सिकाएको भने छ ।

कतिपय ठूला अस्पतालहरूमा इन्फेक्सन कन्ट्रोलका क्रियाकलापहरू सुरु भैसकेका छन् । सरकारले पनि तालिम दिएर केही जनशक्ति तयार पारेको छ । यी काम हुनुभन्दा अगाडि नेपाल क्रिटिकल केयर डेभलपमेन्ट फाउन्डेसनले पनि केही नर्सिङ जनशक्ति इन्फेक्सन कन्ट्रोलका लागि तयार पारेको थियो, जसले कोभिड संक्रमण रोकथामका लागि विशेष योगदान दिने अवसर पनि पायो ।

के हो इन्फेक्सन कन्ट्रोल ?

संक्रमण नियन्त्रण तथा रोकथामको अवधारणले स्वास्थ्य संस्थाजस्तो संवेदनशील स्थानमा संक्रमणको प्रसारलाई रोक्न मद्दत गर्छ । बिरामी तथा स्वास्थ्यकर्मीहरूलाई संक्रमणका कारण हुने हानिबाट बचाउनका लागि डिजाइन गरिएको वैज्ञानिक दृष्टिकोण र अभ्यास नै संक्रमण रोकथाम तथा नियन्त्रण हो । यो त्यस्ता अभ्यास र प्रक्रियाहरूमा केन्द्रित छ, जुन प्रमाणमा आधारित हुन्छन् र तिनै अभ्यासको उचित प्रयोगले सूक्ष्म जीव वा कीटाणु प्रसारणको जोखिमलाई रोक्न वा कम गर्न मद्दत गर्छ । अस्पतालमा हुने संक्रमणको जोखिम कम गर्न यसको आवश्यकता पर्छ ।

के हो इन्फेक्सन कन्ट्रोल नर्स ?

इन्फेक्सन कन्ट्रोलसँग सम्बन्धित सबै पक्षमा विज्ञका रूपमा कार्य गर्न सक्ने शैक्षिक योग्यता र व्यावहारिक तालिमप्राप्त नर्सलाई इन्फेक्सन कन्ट्रोल (आईपी) नर्स भनिन्छ । अस्पताल इन्फेक्सन कन्ट्रोल टोलीमा पूर्णकालीन रूपमा काम गर्न र दैनिक क्रियाकलापहरूको नियमित सञ्चालनका लागि यस्ता नर्सहरूको व्यवस्था गरिएको हुन्छ । आईपी नर्सलाई संक्रमण रोकथाम तथा नियन्त्रण नर्स पनि भनिन्छ । अस्पतालमा धेरैथरी जीवाणु हुन्छन्, त्यस्ता संक्रामक एजेन्टको पहिचान गरी त्यसलाई रोक्न आईपी नर्सको मुख्य भूमिका रहन्छ । उनीहरूको जिम्मेवारी संक्रामक रोगहरूबाट अस्पतालका स्वास्थ्यकर्मी, सेवाग्रही र अन्य बिरामीलाई संक्रमण न्यूनीकरण गर्न सचेत गराउँदै आवश्यक कदम चाल्नु हो । संक्रामक रोगबाट बच्न र बचाउन विभिन्न योजना बनाई कार्यान्वयन गराउनुका साथै स्वास्थ्यकर्मी, सेवाग्राही वा बिरामीहरूको सुरक्षा सुनिश्चित गर्ने अभ्यासहरू प्रभावकारी ढंगले गराउनका लागि आवश्यक तालिम र शिक्षा दिनुपर्ने हुन्छ । सँगसँगै संक्रमणका जोखिमयुक्त अभ्यास र प्रक्रियाहरू पत्ता लगाउन अनुसन्धान तथा अनुगमन गर्नुपर्छ ।

अस्पतालमा जम्मा हुने फोहोरमा धेरै संक्रमण गर्न सक्ने जीवहरू हुन्छन्, जसको उचित व्यवस्थापनमा आईपी नर्सले सघाउँछन् । शैक्षिक कार्यक्रममा भाग लिएर नियमित रूपमा स्वास्थ्यकर्मीहरूलाई तालिम दिने तथा नयाँ कुराको जानकारी पनि दिने गर्छन् ।स्वास्थ्य संस्था एक बहुआयामिक समूह हो । कुनै पनि व्यक्तिको एकल प्रयासले अस्पताल चल्दैन, सबै पक्षको उत्तिकै योगदानको आवश्यकता पर्छ । यसमा उच्च जोखिम पत्ता लगाउने र जोखिमयुक्त अभ्यासलाई हटाउनेमा आईपी नर्सको भूमिका रहन्छ । यस्तै योजना विकास, मापदण्ड तथा कार्ययोजना लागू गर्न सबै विभागीय प्रमुख मात्र नभई सम्पूर्ण कर्मचारीको उत्तिकै भूमिका रहन्छ ।

कोभिडको पहिलो लहर सुरु भएसँगै यसको रोकथाम, नियन्त्रण तथा व्यवस्थापनमा संक्रमण रोकथाम तथा नियन्त्रणको मुख्य भूमिका रह्यो । यस क्रममा विभिन्न चुनौतीको सामना गर्दै आफूलाई प्रमाणित गर्ने अवसर हामीले प्राप्त गर्‍यौं । कोभिड एक त नौलो महामारीका रूपमा भुसको आगोझैं फैलिरहेको थियो/छ, त्यसमा पनि यसको सर्ने माध्यम र उपचार पद्धतिका बारेमा राम्रोसँग तथ्यहरू बाहिर नआइसकेकाले स्वास्थ्यकर्मी लगायत सम्पूर्ण जनमानसमा डर उत्पन्न हुनु स्वाभाविक थियो । स्वास्थ्यकर्मीहरूलाई त्यो डर हटाएर कोभिड संक्रमितहरूको उपचार सहज बनाउनु चुनौतीपूर्ण थियो । हाम्रो देशका धेरैजसो अस्पतालमा स्तरीय आइसोलेसन सेन्टरहरू थिएनन् । जस्तो बनावट छ, त्यस्तै स्थितिमा आइसोलेसन बनाएर उपचार गर्नुपर्ने वातावरण थियो । सामान्य बनावटको अस्पतालमा संक्रामक रोगका बिरामीहरूलाई उपचार गरी संक्रमण फैलनबाट रोक्नु चुनौतीका रूपमा रह्यो । अस्पतालको बनावटले मात्र होइन, सुरुका दिनमा ढिला गरी आउने पीसीआर रिपोर्टले पनि होल्डिङ क्षेत्रमा बिरामीहरूको चाप बढ्ने क्रमसँगै त्रास पनि बढाएको थियो । तुलनात्मक रूपमा हेर्दा, दोस्रो लहरमा भन्दा पहिलो लहरमा स्वास्थ्य सामग्रीहरूको पनि धेरै अभाव थियो । अभावमै पनि व्यवस्थापन गर्नु हाम्रा लागि ठूलो चुनौती थियो ।

डर र स्वास्थ्य सामग्री व्यवस्थापन मात्र नभएर स्वास्थ्यकर्मीहरूलाई शैक्षिक ज्ञान तथा व्यावहारिक तालिम पनि सँगसँगै लैजानुपर्ने र एक पटकको तालिमले मात्र नपुग्ने हुँदा निकै अप्ठेरो भएको थियो । मुख्य कुरा त इन्फेक्सन कन्ट्रोलमा कतिपय कुरा व्यक्तिगत सोच र व्यवहारमा परिवर्तन गरेर मात्रै ल्याउन सकिन्छ, जुन सबैभन्दा ठूलो समस्या हो । किनभने मान्छे परिवर्तन हुन खोज्दैनन् । इन्फेक्सन कन्ट्रोलका लागि व्यवहारमा परिवर्तन आउनु जरुरी हुन्छ । त्यसै गरी अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी, सरसफाइकर्मीहरूलाई संक्रमणको जोखिमबाट बचाउने र संक्रमित स्वास्थ्यकर्मीहरूसँग कन्ट्याक्टमा आएका कर्मचारीहरूको व्यवस्थापन गर्ने र स्वास्थ्यकर्मी अपुग भएमा के गर्ने भन्नेजस्ता विषय चुनौतीका रूपमा थिए । त्यसलाई छिचोल्दै हामीले कोभिडको पहिलो र दोस्रो लहरको सामना गर्‍यौं । अबको आवश्यकता कोभिड रोकथाम तथा नियन्त्रणका लागि अन्य पूर्वाधारका साथसाथै आईपी नर्सहरूको संख्या बढाउनु पनि हो ।

(ढकाल निजामती कर्मचारी अस्पतालमा इन्फेक्सन कन्ट्रोल नर्सका रूपमा कार्यरत छिन् ।)

प्रकाशित : असार २७, २०७८ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?