कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोना–खोप ढुक्कले लगाऔं

शरीरमा रोगविरुद्ध लड्ने क्षमता विकास हुँदा केही साइड इफेक्ट देखिनु स्वाभाविक हो ।त्यस्ता लक्षणहरू अरू रोगविरुद्ध लगाइने खोपमा पनि देखिन्छन् ।
दिनेश न्यौपाने

विश्वमा करिब ११ करोड व्यक्तिहरू कोरोना भाइरसले संक्रमित भइसकेका छन् र २५ लाखभन्दा बढीले ज्यान गुमाइसकेका छन् । नेपालमा पनि २ लाख ७४ हजार संक्रमित भइसकेको र तीमध्ये करिब २ हजार ७ सय जनाले ज्यान गुमाएको तथ्यांक छ ।

कोरोना–खोप ढुक्कले लगाऔं

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले काठमाडौं उपत्यकाभित्रका स्वास्थ्यकर्मीहरूमा गरिएको अनुसन्धानमा करिब ४५ प्रतिशत पहिले नै संक्रमित भइसकेको तथ्यांक सार्वजनिक गरेको छ । स्वास्थ्यकर्मीहरू आफ्नो स्वास्थ्यबारे बढी जानकार हुने भएकाले जनमानसमा संक्रमति हुनेहरूको संख्या योभन्दा ठूलो हुन सक्ने अनुमान गर्न सकिन्छ । सायद यसैले पनि, हाम्रो आकलन अनुसार, नेपालमा पछिल्लोपटक भएका सभा–जुलुसहरूका कारण कोरोनाका संक्रमितहरू ह्वात्तै नबढेको हुन सक्छ । साथै पछिल्लोपटक परीक्षणमा आएको सुस्तताले पनि संक्रमितहरूको यकिन तथ्यांक पत्ता नलागेको हुन सक्छ । संक्रमितहरूको ठूलो संख्या परीक्षणमार्फत पत्ता लगाउन नसकेकाले मृतकको संख्या पनि धेरै हदसम्म छुटेको हुन सक्ने यथार्थलाई पनि नकार्न सकिन्न । जे–जस्तो अवस्थामा भए पनि कोरोना भाइरस मानवजगत्का लागि ठूलो समस्या हो । अहिलेसम्म औषधि पत्ता नलागे पनि खोपको आविष्कारले सारा विश्व उत्साहित बनेको छ ।

नेपालले पनि धेरैले अनुमान गरेभन्दा छिटो भारत सरकारको सहयोगमा खोप प्राप्त गरेको छ भने, चीन सरकारले पनि कोरोना खोप सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । विकसित देशहरू आफ्ना नागरिकका लागि मात्र खोपको जोहो गर्न लागिपरेकामा विश्वव्यापी रूपमा चर्को आलोचना जारी छ । फलस्वरूप कोभ्याक्सले केही गति लिएको छ । अफ्रिकी मुलुक घाना कोभ्याक्समार्फत खोप पाउने पहिलो राष्ट्र बनेको छ । नेपालले पनि छिटै कोभ्याक्समार्फत खोप पाउने अनुमान गर्न सकिन्छ ।

यसका साथै नेपाल सरकार आफैंले पनि खोप खरिद प्रक्रिया अगाडि बढाएको छ । यही प्रगति निरन्तर राखिराख्यो भने नेपालले ठूलै संख्यामा खोपको मात्रा भित्र्याउने देखिन्छ । तर खोपको जोहोले मात्र पुग्दैन, यससम्बन्धी व्याप्त भ्रमहरू चिर्नु एकदमै जरुरी छ । कोरोनाले एक वर्षभन्दा बढी सारा विश्वलाई असर गरिरहँदा पनि हाम्रो समाज कोरोना भाइरससम्बन्धी असत्य, कपोलकल्पित र मनगढन्ते कुराहरूले आक्रान्त छ । यसको प्रभाव खोपमा पनि परेको जस्तो देखिन्छ । पहिलो चरणमा परेका स्वास्थ्यकर्मी र शिक्षित भनिने वर्ग नै खोप लगाउन हिचकिचाउनु ठूलो चिन्ता र चासोको विषय हो । यही दिशातिर गइराख्यौं भने यसले कतै अरू राष्ट्रिय खोप कार्यक्रममा पनि दूरगामी असर त पार्दैन ? कतै हामीले अहिलेसम्म प्राप्त गरेका जनस्वास्थ्यका उपलब्धिहरू त गुम्दै जाने होइनन् ? नेपालका सन्दर्भमा राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत अहिलेसम्म खोपको कभरेज धेरै राम्रो छ । नेपालमा ८० प्रतिशतभन्दा धेरै पाँच वर्षमुनिका बच्चाले राष्ट्रिय कार्यक्रममा भएका सबै खोप पाउने गरेका छन् ।

खोप जनस्वास्थ्यका कार्यक्रमहरूमध्येको एउटा प्रभावकारी र कम लागतमा उच्च प्रतिफल दिने कार्यक्रम हो । खोप कार्यक्रममार्फत कमजोर स्वास्थ्य प्रणाली भएका देशहरूले पनि ठूलो प्रगति हासिल गरेका छन् । बिफरको उन्मूलन र पोलियो उन्मूलनको संघारमा पुग्नु खोप कार्यक्रमकै देन हो । खोपको अनुसन्धान त्यति सजिलो हुँदैन । यसमा विभिन्न वैज्ञानिक चरण पार गरेर मात्र मानिसमा परीक्षण गरिन्छ । मानिसमा परीक्षण गर्नुअघि यो कति सुरक्षित र प्रभावकारी छ भनेर विभिन्न आयाममा विश्लेषण र अनुसन्धान गरिन्छ । अनुसन्धानमा सफलता पाएपछि अमेरिका, युरोप लगायतका सम्बन्धित नियमन निकायहरूले अनुमति दिनुपर्छ । त्यसरी अनुमति पाउने प्रयामा धेरै चरण पार गर्नुपर्छ । लगाउन सुरु भएपछि पनि यसले केकस्तो प्रभाव र असर गर्छ भनेर धेरै वैज्ञानिकले निरन्तर अध्ययन र अनुसन्धान गरिरहेका हुन्छन् ।

खोपको विकास हाम्रो स्वास्थ्यका लागि गरिन्छ र बजारमा आउनुअघि खोप सुरक्षित बनाउनका लागि हदैसम्मको प्रयास गरिन्छ । शरीरमा रोगविरुद्ध लड्ने क्षमता विकास हुँदाखेरि केही साइड इफेक्ट देखिनु स्वाभाविक हो । त्यस्ता लक्षणहरू अरू रोगविरुद्ध लगाउने खोपमा पनि देखिन्छन् । तर ती असरहरू रोग लाग्दा देखिने असरहरू — जसमा मृत्यु पनि हुन सक्छ — भन्दा धेरै गुणा कम हुन्छन् । कतिपय अवस्थामा खोपले भन्दा अरू कारणले असर देखिए पनि खोपले नै भनेर भ्रम पर्न सक्छ । त्यो केवल संयोग मात्रै हुन सक्छ । अहिलेसम्म कोरोनाको खोपकै कारण कसैको मृत्यु भएको र खोप कार्यक्रम नै स्थगित गर्नुपर्ने अवस्था आएको छैन ।

त्यस्तो सम्भावना भएका खोपहरूले अनुमति पनि पाउँदैनन् । कथङ्कदाचित् त्यस्तो अवस्था आयो भने खोप लगाउने कार्यक्रम तत्काल बन्द गरिन्छ । त्यसैले आधुनिक विज्ञानलाई विश्वास गरौं, दिनरात नभनी हाम्रा लागि खोप बनाउन खट्ने वैज्ञानिकहरूप्रति कृतज्ञ बनौं । ढुक्कले कोरोना भाइरसविरुद्धको खोप लगाऔं र अरूलाई पनि लगाउन उत्प्रेरित गरौं । कोरोनाको खोपसँगै व्यक्तिगत सुरक्षाका मापदण्ड पनि पालना गरौं र कोरोना भाइरसलाई जतिसक्दो छिटो परास्त गरौं ।

(न्यौपाने जोन हप्किन्स विश्वविद्यालयमा जनस्वास्थ्यविद्का रूपमा कार्यरत छन् ।)

प्रकाशित : फाल्गुन २१, २०७७ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?