बेवास्तामा सिमसार- विचार - कान्तिपुर समाचार

बेवास्तामा सिमसार

अस्मिता श्रेष्ठ

पछिल्लो समय राजधानीमा राजनीतिपछि सबैभन्दा चर्चाको विषय रानीपोखरी बनेको छ । यसको पुनर्निर्माणलाई काठमाडौं महानगर, पुनर्निर्माण प्राधिकरण र नेपाल सरकारकै सफलतासँग जोडियो । यसबाटै प्रस्ट छ, पानी र पोखरीको महत्त्व वातावरणका लागि मात्र नभएर समाजमा पनि उत्तिकै छ ।

दिनहुँ लाखौंले देख्ने, काठमाडौंको बीचमा अवस्थित रानीपोखरीको संरक्षण गर्न हम्मेहम्मे पर्ने देशमा राजधानीबाहिरका ‘रानीपोखरी’ हरूको अर्थात् सिमसार र दलदलहरूको अवस्था कस्तो होला ? हाम्रा सिमसारहरू बस्ती विस्तार र विकास–निर्माणका नाममा मिचिएका छन् । सिमसार क्षेत्रमा सिमेन्टका संरचना निर्माण गर्ने मानौं होडबाजी चलेको छ ।

केही दशकअघिसम्म कमल फुल्ने काठमाडौंको कमलपोखरी मानव अतिक्रमणले साँघुरिएको छ । त्यसमाथि काठमाडौं महानगर पुनर्निर्माणका क्रममा पोखरीको पानी सुकाई सिमेन्टको कमल–फूल बनाउन लागेको छ । ऐतिहासिक पहिचान नै नासिने गरी भइरहेको पुनर्निर्माणबाट सुरुआती चरणमा स्थानीयवासी पनि खुसी भएजस्तो देखियो । यसले जनस्तरमा सिमसारको महत्त्वसम्बन्धी चेतना नभएको झल्काउँछ । केही अभियन्ताले आवाज उठाएपछि भने स्थानीयवासीले कमलपोखरीको महत्त्व बुझेका छन् र बचाउन लागिपरेका छन् ।

सिमसार संरक्षणमा जनचेतना जगाउन सन् १९७१ मा रामसार महासन्धि गरिएको सम्झनामा हरेक वर्ष फेब्रुअरी २ मा विश्व सिमसार दिवस मनाउने गरिन्छ । नेपाल भने सन् १९८८ मा मात्र रामसार सन्धिको पक्षराष्ट्र बनेको हो । त्यसयता हरेक वर्ष ‘जनचेतनामूलक’ कार्यक्रम गरी विश्व सिमसार दिवस मनाउँदै आइएको छ । यस पालि ‘सिमसार र पानी’ नाराका साथ उक्त दिवस मनाइयो । तर, सहरकै छेउमा अवस्थित टौ दहमा मानव अतिक्रमणका कारण परिरहेको असरबारे भने सरोकारवालाहरू मौन नै रहे । जबकि टौ दहमा बढ्दो मानवनिर्मित संरचनाका कारण जाडोयामका आगन्तुक चराहरूको संख्या घट्दै गइरहेको छ ।

कमलपोखरी र टौ दह प्रतिनिधि उदाहरण मात्र हुन् । जनस्तरमा सिमसारको महत्त्व र संरक्षणसम्बन्धी चेतना नभएको मौका छोपी सिमसार पुनर्निर्माणको ठेक्का लिएकाहरू कसरी त्यहाँ सिमेन्टको संरचना बनाएर पैसा कमाउने भन्ने धुनमा छन् । त्यस्ता संरचनाका कारण सिमसारमा पानी पुनर्भरण हुन पाउँदैन, जसको प्रत्यक्ष असर त्यहाँ आश्रित जीवजन्तुमा पर्छ । सिमसारहरू लाखौं घुमन्ते चरा, माछा, उभयचर, कीटपतंग तथा बोटबिरुवाका लागि निकै महत्त्वपूर्ण बासस्थान हुन् । विश्वका ४० प्रतिशत प्रजाति सिमसारमा बस्छन् र प्रजनन गर्छन् । सिमसार घटेसँगै तिनमा आश्रित जीवजन्तु पनि लोप हुँदै छन्, जसको असर पारिस्थितिक प्रणालीमा परिरहेको छ र यसले वातावरणीय असन्तुलन पनि निम्त्याइरहेको छ ।

सरकारी प्रतिवेदनहरूका अनुसार, बाली विस्तारका कारण नेपालमा सिमसार ५.४१ प्रतिशतले घटेका छन् । र, यिनको गुणस्तर पनि कम भइरहेको छ, जुन मानव तथा जीवजन्तुको अस्तित्वकै लागि खतराको संकेत हो । कतिपय सिमसार पुरानो अवस्थामा फर्काउनै नमिल्ने गरी नाश भैसके भने कतिपय स्थानीयवासीको जागरुकताका कारण पुनःस्थापना भएका पनि छन् । रानीपोखरी, भक्तपुरको भाजुपोखरी र ललितपुरको न्हू पोखरी त्यस्ता केही उदाहरण हुन् ।

सिमसारको दिगो विकास र संरक्षण कसरी गर्ने र के फाइदा छ भन्ने बुझ्न बोलिभिया, ब्राजिल र पाराग्वेमा पर्ने प्यान्तनललाई हेरे पुग्छ । विश्वकै सबैभन्दा ठूलो प्यान्तनल सिमसारमा करोडौं मानिस तथा जीवजन्तु आश्रित छन् । त्यहाँ ‘केइमन’ गोही र ‘ज्यागुअर’ (चितुवाजस्तै) को बाक्लो उपस्थिति छ । यो सिमसार विश्वकै सबैभन्दा ठूलो सुगा ‘ह्यसिन्थ मक’ को बासस्थान पनि हो । यिनै जीवजन्तु अवलोकनका लागि वार्षिक करिब १० करोड पर्यटक त्यहाँ पुग्छन् ।

सिमसारहरूले पानी भण्डारण गरेर पानीबाट फोहोर र रसायन छुट्याइदिन्छन् । सिमसार पर्यावरणीय हिसाबले मात्र हैन सामाजिक, धार्मिक तथा पर्यटकीय दृष्टिकोणले समेत महत्त्वपूर्ण हुन्छन् । जलीय कृषिले सबभन्दा छिटो र धेरै खाद्यान्न उत्पादन गर्ने भएकाले बढ्दो जनसंख्याको माग पूर्ति गर्नसमेत सिमसारको अहम् भूमिका हुन्छ । खोला र तालतलैयामा पौडी खेल्न, डुंगा चढ्न र चरा अवलोकन गर्न सकिन्छ । यसबाट पर्यटन उद्योग फस्टाउँछ । सिमसारहरू विश्वका १ अर्बभन्दा बढी मानिसको आयआर्जनका भरपर्दा माध्यम बनेका छन् ।

जीविकोपार्जनमा सिमसारको महत्त्व कति हुन्छ भन्ने बुझ्न कोशीकै उदाहरण काफी छ । कोशीटप्पु वन्यजन्तु आरक्षमा १२७ प्रजातिका माछा र ५२६ प्रजातिका चरा पाइन्छन् । सप्तकोशीछेउछाउ बसोबास गर्ने अधिकांश मानिसको गुजारा खोलाको माछा बेचेर हुने गर्छ । चराको स्वर्ग मानिने कोशीटप्पुमा साइबेरिया, पाकिस्तान, श्रीलंकाका साथै दक्षिणपूर्व एसियाली देशहरूबाट चराहरू मात्र आउँदैनन्, ती चरा हेर्न विश्वभरबाट पर्यटक पनि आइपुग्छन् ।

नेपालले रामसार महासन्धिमा आबद्ध हुँदै सिमसार संरक्षणका लागि प्रतिबद्धता जनाए पनि जति काम हुनुपर्ने हो, त्यति भएको छैन । सरकारले पानी र सिमसारका विकास योजनाहरू र स्रोत व्यवस्थापनमा ध्यान दिनुपर्छ । स्थानीयवासीसँग समन्वय गरी सिमसार संरक्षणका लागि स्पष्ट नीतिनियम बनाउनु जरुरी छ । सिमसारको वैज्ञानिक अनुसन्धान पनि अपेक्षित मात्रामा हुन सकेको छैन । सिमसारबारे समयोचित अध्ययन हुन सके मात्र संरक्षणका तौरतरिका निर्क्योल गर्न सकिन्छ । जंगलभन्दा दुई गुणा बढी कार्बन भण्डार गर्न सक्ने यस्ता दलदल क्षेत्रहरूको संरक्षण नगरे हामीले जलवायु परिवर्तनका गम्भीर असरहरू खेप्दै जानुपर्ने निश्चित छ । सिमसारहरूको संरक्षण हुन सके मात्र प्रकृति र मानिस दुवैको भलो हुन सक्छ ।

प्रकाशित : माघ २७, २०७७ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्

हिमपातले मनाङमा यातायात ठप्प

आश गुरुङ

मनाङ — मनाङ घुम्न आएका काठमाडौंका नरबहादुर अस्तानी मगर हिमपातले सवारीसाधन नचलेपछि सोमबार सबेरै हुम्डेबाट पैदल हिँडे । हुम्डेबाटै दीप गुरुङ र राजु गुरुङलगायत पनि तल्लो मनाङको नासोंका लागि सबेरै पैदल हिँड्न बाध्य भए ।

अन्नपूर्ण पदमार्ग हुँदै सब्जेखोलाबाट माथिल्लो मनाङतर्फ जाँदै आन्तरिक पर्यटक । तस्बिर : आश/कान्तिपुर

‘हिउँ हटाएर बाटो खुलाएको भए हुम्डेबाट गाडीमा बेंसीसहर हुँदै काठमाडौं जान हुन्थ्यो । नखुलेपछि हिँड्नुको विकल्प भएन,’ मगरले भने । मनाङ घुम्न आएका अनुप गुरुङले गाडी नचल्दा हिउँ पन्छाउँदै हिँड्नुपरेको बताए ।

शुक्रबार र शनिबार मनाङमा भारी हिमपात भयो । आइतबारयता घाम लागे पनि हिउँ पग्लिसकेको छैन । त्यसैले गाडी नचलेको हो । गाडी बन्द भएपछि चामेबाट मनाङ गाउँसम्म भारी बोकेर हिँड्नुपरेको गोरखाका सुकबहादुर गुरुङले बताए । हिमपातले बाटो अवरुद्ध हुँदा भारी बोकेर हिड्नुपरेको उनले सुनाए ।

धेरै ठाउँ सडकमा हिउँ जमेपछि लमजुङको बेंसीसहरदेखि तल्लो मनाङको नासों–९ दानक्युसम्ममात्रै जिप चलेको छ । दानक्युबाट सदरमुकाम चामे साथै माथिल्लो क्षेत्रमा सवारी आवागमन ठप्प छ । माथिल्लो मनाङ, हुम्डे र खाङसारलगायत क्षेत्रबाट मानिसहरू हिउँका थुप्रा छिचोल्दै हिँडेको देखिएका छन् । दानक्युमा पनि जिप नपाइने समस्याले बेंसीसहर, काठमाडौं र पोखरा जान हिँडेका यात्रु तथा पर्यटकले सास्ती खेप्नुपरेको छ । चामेको बजार क्षेत्रमा सेना, सशस्त्र र नेपाल प्रहरीले सडकको हिउँ हटाएका छन् ।

प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले सदरमुकामबाहेक अन्य ठाउँको हिउँ हटाउन नसकेको बताए । ‘हिउँ हटाउने सन्दर्भमा स्थानीय तहका प्रमुखहरूसँग कुरा भइरहेको छ,’ उनले भने, ‘काम गर्न सकिएको छैन ।’ चामे बाहेकका क्षेत्रमा हिउँ फाल्न डोजर प्रयोग गर्ने, सेना–प्रहरी परिचालन गर्ने, ट्र्याक्टरले हिउँ कुल्चिन लगाउनेलगायत विकल्पमा काम भने सुरु भएको छैन ।

मनाङ ङिस्याङ गाउँपालिका अध्यक्ष कान्छा घले सडक हिउँले अवरुद्ध पारेपछि घरबाट कार्यालय रहेको हुम्डेसम्म पुग्न नसकेको बताउँछन् । ‘अफिस जान सकिएन । कर्मचारीसँग फोनमा कुरा भइरहेको छ,’ उनले भने, ‘फेरि २/३ दिनपछि हिउँ पर्ने सम्भावना देखिएको छ । अहिले हटाए फेरि हिउँ थुप्रिन्छ । बरु घाम लाग्यो भने बिस्तारै बिलाउँछ ।’

प्रकाशित : माघ २७, २०७७ ०८:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×