कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लाइन खुलेको रात

सीमा क्षेत्रका दुवैतर्फका समाजमा पढाइभन्दा पनि द्रुत आर्थिक उपार्जनको संस्कृति विकास भएको छ । सानै उमेरदेखि सजिलै पैसा कमाउन थालेपछि लेखपढतर्फ वा मिहिनेत गर्नतर्फ रुचि मर्न थाल्छ । अवैध आर्जनले ठीक–बेठीकबीचको नैतिक सीमारेखा धमिल्याइदिन्छ ।

मधेस घुम्दै गत डिसेम्बरमा हामी राजमार्गछेउ र अलि भित्रका गाउँहरूमा त गयौं नै, नेपाल–भारत सीमा क्षेत्रमा पनि घुम्यौं, बास बस्यौं । हुन त आफैं मोरङ र सप्तरीका भएकाले हामीले मोरङको आमगाछी–सिकटी क्षेत्र, जोगबनी नाका र सप्तरीका कोशी ब्यारेज, भीमनगर, हनुमाननगर, कुनौली क्षेत्रबारे सानैदेखि देखे, सुने, बुझेका थियौं तैपनि यताका वर्षमा सीमा क्षेत्रमा के भइरहेको छ भनी हेर्ने, सुन्ने, बुझ्ने मन थियो ।

लाइन खुलेको रात

झापा, मोरङ र सुनसरीमा केही दिन बिताएर जब सप्तरी पस्यौं, हामीले भाडामा लिएको गाडी फेर्नुपर्‍यो । कोशीपूर्वका जिल्लाहरूमा सीमा क्षेत्रसम्मै ठीकठाक स्तरको पक्की बाटो थियो । सस्तो भाडादर भएको सानो खाले कारले पनि काम चलेको थियो । तर, कोशीपश्चिम त्यस्तो अवस्था थिएन । जताततै बाटो भत्केको थियो । त्यसैले ठूला पांग्रा भएको स्कर्पियो गाडी लिएर हामीले आफ्नो यात्रालाई निरन्तरता दिएका थियौं ।

हामी सप्तरीको सीमा क्षेत्रको पुरानो ऐतिहासिक बजार हनुमाननगर गयौं । प्रधानमन्त्री केपी ओलीले कोशीमा चलाउने भनेको पानीजहाजको अन्तिम बिसौनी हनुमाननगरमै हुने चर्चा छ । हनुमाननगरको कोशी घाट नेपाल–भारत सीमा क्षेत्रनजिक छ । हामी त्यहाँका बस्ती घुम्यौं । गरिबीको मार त्यहाँका अनुहार, झोपडी, लुगाफाटामा प्रस्ट देखिन्थ्यो । खण्डहर बनिसकेको हनुमाननगरमा केही समय बिताएर हामी सप्तरीका चर्चित गाउँहरू कोइलाडी र तिलाठी गयौं । फर्किंदा हामी कुनौली भन्सारबाट बन्दै गरेको सडक प्रयोग गरेर पुनः भारदह हुँदै गोइठी फर्कियौं । सप्तरीको सीमा क्षेत्रमा चरम गरिबी, परम्परागत समाज र बन्दै गरेका सडक संरचनाहरू जताततै खनिएको देख्यौं । सबै किसिमले शाब्दिक रूपमै सीमान्त हुनु यसैलाई भन्छन् भन्ने लाग्यो ।

सिरहा जिल्लामा राजमार्ग छेउको धनगढी (नैनपुर) मा एक रात बसेपछि हामी दिउँसो सीमा क्षेत्रतर्फ लाग्यौं । सिरहाको सीमा क्षेत्रमा हुलाकी सडकको पुनर्निर्माण बडो जोडतोडका साथ भइरहेको थियो । हुलाकी सडक बनेपछि सीमा क्षेत्रको मधेस बिउँझेला–जिम्देला–जाग्ला जस्तो लाग्यो । सीमा क्षेत्रको कुनै गाउँमा रात काट्ने इच्छा भयो । धनुषाको ठाढी गाउँका एक परिचित फेला परे । फोन गरेपछि बस्ने व्यवस्था हुने आश्वासन मिल्यो । सिरहा बजारबाट धनुषाको ठाढी पश्चिमतिर फर्किंदा नाक सोझै पर्छ । बढीमा आधा घण्टा लाग्ला मोटरमा, बीचमा कमला नदी नहुनु हो भने । कमला नदीमा पुल नरहेकाले सीधै नेपालैनेपाल जान सकेनौं । हामीसँग दुइटा विकल्प थिए । कि सिरहा बजारबाट फेरि पूर्वपश्चिम राजमार्गको चोहर्बा पुगेर कमला पुल पार गर्ने र फेरि त्यति नै दूरी दक्षिणतर्फको कच्ची सडकको यात्रा गरेपछि ठाढी पुग्ने, कि त माडर खटौका भन्सारबाट भारतको जयनगर गएर कमला पुल पार गर्ने अनि थोरै उत्तरतर्फ आएपछि सीमा क्षेत्रको महिनाथपुर बजारबाट ठाढी पुग्ने ।

हामीले दोस्रो विकल्प रोज्यौं । नेपालको सार्वजनिक वृत्तमा गत दुई दशकयता ‘सीमान्त’ शब्द संवादको केन्द्रमा रहेकाले पनि हामीलाई सीमा क्षेत्रका दुवैतर्फका समाज हेर्न मन थियो । सजिलै वारपार गर्न सकिने सिमानाबाट यसो भारत भ्रमण पनि हुने । सोहीअनुरूप हामी सिरहा बजारबाट दक्षिणतर्फ लाग्यौं । नेपाल–भारत सीमामा सशस्त्र प्रहरीको चेकिङ थियो । त्यो खटौका भन्सार रहेछ । सशस्त्रको बर्दीकी, आदिवासी जनजाति देखिने, यस्तै बीस–पच्चीस वर्षकी महिला प्रहरीले आदेशिलो–रोबिलो बोलीमा कहाँ जाने, किन जाने, कहाँबाट आएको, अरू कोही छ आदि कुरा सोधिन् । हामीले धनुषाको महिनाथपुरबाट ठाढी गाउँ जाने भन्यौं । ‘गाडीमा के–के सामान छ ?’ अमेरिकाबाट रिसर्च गर्न आएको, सिरक, ब्ल्यांकेट र अन्य लगेजहरू छन् भनेपछि जान दिइन् ।

सिरहाको धनगढी बजारबाट हिँडेपछि र माडरबाट भारत छिरुन्जेल सिरहा जिल्लामा जति बेर हामी घुम्यौं, अधिकांश मानिस मधेसी देखिएका थिए तर सीमाको चेकपोस्टमा सबै प्रहरी पहाडे मात्र । हामीले कुरा गर्‍यौं– सायद यसैलाई आन्तरिक औपनिवेशीकरण भन्दा होलान् ।

कुनै बेला सिरहाको खटौका भन्सारको ठेकेदार कृष्णप्रसाद कोइराला थिए । बीपी कोइरालाको बाल्यकालबारे लेखिएका लेख र पुस्तकमा खटौका भन्सारको चर्चा पढ्न पाइन्छ । बीपीको बाल्यकालको केही समय त्यहीँ बितेको थियो । कृष्णप्रसाद कोइरालाले पहाडबाट बेसार बेच्न आएका गरिबहरूका लुगा पोको पारेर त्यही खटौका भन्सारबाटै राणा प्रधानमन्त्री चन्द्रशमशेरलाई पठाएका थिए । त्यसबापत कोइराला परिवारले सम्पत्ति जफत र प्रवासको पीडा भोग्नुपरेको थियो । हामी यस्तै गन्थन–मन्थन गर्दै भारत पस्यौं ।

भारततर्फको बेतौनहा पोस्टमा भारतीय प्रहरीहरूको चेकिङ थियो । त्यहाँबाट बेला बाँधको बाटो हुँदै कमला पुल पार गर्‍यौं । हामी जयनगर बजारमा प्रवेश नगरीकनै ओसराही चोक पुग्यौं । त्यहाँ जताततै चनाको सातु बिक्री भइरहेको थियो, हामीले पनि एक पाकेट किन्यौं । दशगजाको ढिस्को छेवैछेउ कच्ची बाटो थियो । कुनै ठाउँमा अति साँघुरो तर ढलान गरेको बाटो थियो त कुनै ठाउँमा धूले खाल्डाखुल्डी । हाम्रो स्कर्पियो झल्ट्याङझुल्टुङ गर्दै अगाडि बढ्यो । गाडीचालक चौधरीजीले हामी किन यस्तो बाटोबाट गाउँगाउँ गइराखेका छौं भन्ने भेउ पाएका थिएनन् । झमक्क साँझ पर्नै लागेकाले बोर्डरपारि अलिअलि भय पनि लागिरहेको थियो । बोर्डरमा हामीलाई सतर्क भएर जान पनि भनिएको थियो ।

देउदहा, सिमरारी, छतौनीको बरगाछी नजिकबाट सोध्दासोध्दै हामी महिनाथपुर पुग्यौं । महिनाथपुर नेपालतर्फको बजार होला भन्ने लागेको थियो तर होइन रहेछ । पूरै बजार भारततर्फ रहेछ । बजार पार गरेपछि रेलवे स्टेसन आउँछ जुन नेपालतर्फ पर्दो रहेछ । जयनगर–जनकपुर रेलवे लाइन । नेपालतर्फ पनि महिनाथपुर नै भनिन्छ । सानो चोक छ । त्यहाँ रोकिएर हामीले चिया खायौं । फेरि सशस्त्र प्रहरीहरूको दर्शन भयो, सबै अनुहार पहाडे नै । सामान चेक गराई भत्केको रेललाइन पार गरेर गाडी रोक्यौं ।

दशगजा छेउमै ससानो इँटाभट्टा जस्तोमा गोबर गुइँठाको चाङ लगाइएको थियो । सम्पर्कसूत्र आइसकेपछि हामी बाटोछेउको उनको घरमा पुग्यौं । घर ओसिलो र साँघुरो थियो । लगत्तै गाउँका केही भद्र पुरुष (झा, मिश्र, गोइत, दास थरका) आगन्तुक देखेर आइपुगे । एक छिन कुराकानी गर्‍यौं । तीमध्ये एक जना पहाडमा शिक्षक भई सेवानिवृत्त भएका रहेछन् । सदियौंदेखि गोत्र–मूलकै घनचक्करमा अल्झेर पहिचान बनाउन बाध्य भएका तिनले थर थाहा पाउनेबित्तिकै गोत्र अनि मूल सोधिहाले । बढी जान्ने भएर गोत्रको उच्चारण सच्याए र मूलको उत्तर सन्तोषजनक नभेटेपछि जुरुक्क उठेर हिँडे । हामीले त्यस साँघुरो ठाउँमा रात काट्न गाह्रो पर्ला कि भनेपछि सम्पर्कसूत्रले आफ्ना काकाकहाँ बस्ने व्यवस्था मिलाए । काकाको सिमेन्टको घर निर्माणाधीन हुँदाहुँदै पनि बस्नयोग्य थियो । साँझ हातमुख धोएपछि गाउँका केही अगुवाहरूसँग कुराकानी गर्‍यौं ।

घुर संवाद : खाना खाइसकेपछि हामी मुसलमान बस्तीमा घुर खोज्न थाल्यौं । एक छिन हिँडेपछि एक ठाउँमा एक वृद्ध र केही बच्चा घुर ताप्दै गरेको भेटिए । हामी खुसी भयौं र कुराकानी सुरु गर्‍यौं । त्यहाँ बसेकाहरू एउटै घरका हजुरबुबा, बुबा र नाति थिए । हजुरबुबाको नाम बसुवा शाह (फकिर), छोराको नाम आरिफ शाह रहेछ । त्यस परिवारको पेसाचाहिँ स्थानीय बजारमा कुखुराको मासु बेच्ने रहेछ । फकिर त वृद्ध थिए, छोराको उमेर तीस–पैंतीस वर्ष हुँदो हो । नाति बाह्र–तेह्र वर्षका थिए । तर नातिचाहिँ पढ्न नमान्ने भन्ने परिवारको गुनासो थियो । फकिरले भने, ‘स्कुल जाँदैन । पासपोर्ट बनाइदेऊ, विदेश जान्छु भन्छ । अबको दुई–चार वर्षमा पासपोर्ट बनाएर विदेश पठाइदिने हो ।’

दोस्रो घुर संवाद त्यही टोलका अताबुल नामका व्यक्तिको घरअगाडि गरेका थियौं । त्यहाँ स्थानीय इँटाभट्टाका सञ्चालक सिठु यादव पनि थिए । एक जनाले भने, ‘म कांग्रेसको मानिस हुँ तर मधेस आन्दोलनमा खुबै सक्रिय थिएँ । दिनदिनै जुलुस, नारा लगाउन जनकपुर जान्थें । तर, यी मधेसिया नेताहरू पनि त्यस्तै भए, जस्तो कांग्रेस–कम्युनिस्टहरू थिए । सबै भ्रष्टाचारमा लिप्त छन् ।’

ठाढी गाउँमा मुसलमान, यादव, साह र ब्राह्मणको बस्ती छ । मुसलमान बस्तीमा नयाँनयाँ पक्की घर बनेको प्रस्ट देखिन्थ्यो । त्यो बस्ती देखेपछि लाग्छ, मधेसमा रेमिट्यान्सको पैसाको सबैभन्दा पहिलो काम घर बनाउने रहेछ । जताततै नयाँनयाँ घर बन्दै गरेका । दूरदराजको देहातमा पनि हार्डवेयरका पसल प्रशस्तै खुलेका थिए ।

रेमिट्यान्सको आगमन भएपछि गाउँमा युवाहरूको पढाइमा भन्दा पनि पासपोर्ट बनाउनमा रुचि बढी भएको छ । ठाढीको मुसलमान बस्तीमा दुइटा मदरसा छन् । एउटामा हामी पस्यौं । झन्डै सय बालिकाहरू पढ्दै थिए । मधेसमा युवतीहरू विदेश जाने चलन छैन । शिक्षामा अलि ध्यान दिइयो भने बालिकाहरूको शिक्षामा नयाँ फड्को देखिन सक्छ । गाउँका घुर संवादहरू सकेर आएपछि केही स्थानीय र शिक्षकसँग कुराकानी भयो । ती सबै हिन्दु थिए । दुई जना यादव र एक जना साह । कुराकानीको सिलसिलामा उनीहरूले भने, ‘यहाँ मुसलमानको बाहुल्य छ तर वडाको निर्वाचनमा धेरै राजनीति खेलेर हिन्दुलाई जितायौं । एउटा मात्रै मुसलमान उठेको भए उनीहरू नै जित्ने थिए । हामीले पोलिटिक्स खेलेर दुई जना मुसलमानलाई उठाइदियौं, यता हिन्दु एक जना मात्र । बल्ल हाम्रो हिन्दुले चुनाव जित्यो ।’

हामी राति बडो कष्टका साथ सुत्यौं । बीस दिनको पूरै यात्रामा त्यही एउटा रात थियो जहाँ हामीलाई एउटै ओछ्यानमा साँघुरिएर सुत्नुपर्‍यो । शौचालय नजिकै थियो तर पानी टाढाबाट बोकेर ल्याउनुपर्ने । त्यसमा फेरि रातभरि अनौठो आवाज आइरह्यो । जसोतसो रात काट्यौं । मूलबाटोबाट अलग त्यस साँघुरो गल्लीमा पनि त्यो अनौठो आवाज मोटरसाइकल आवतजावतको रहेछ । हामीले लख काट्यौं– रातभरिमा कम्तीमा एक हजार पटक मोटरसाइकल हामी सुतेको घरको अगाडिबाट ओहोरदोहोर गरेको हुनुपर्छ । रातभरि गुडुडुडु–गुडुडुडु गरेको गर्‍यै । राति शौचालय जानुपर्दा देख्यौं– गुड्दै गरेका मोटरसाइकलमा अटी–नअटी सामानको चाङ ।

बिहानै हामीले स्थानीयसँग सोध्यौं, ‘रातभरि किन त्यत्रा विधि मोटरसाइकल हिँडेका ? कहाँ हिँडेका ती युवक ? के बोकेर ?’ तिनले भने, ‘भारतको सीमावर्ती सहर जयनगर, महिनाथपुरबाट तस्करी हुँदै थियो । हिजो राति लाइन खुलेको रात थियो ।’ भोलिपल्ट बिहान हामी नजिकैको गाउँ झिझातर्फ लाग्यौं । फाँटमा पुगेपछि देख्यौं– बाटाबाटामा झोपडी आकारका रक्सीभट्टी खुलेका रहेछन् । यो रेमिट्यान्सको कमाल हुनुपर्छ भन्दै कुरा पनि गर्‍यौं । झिझा पासवानहरूको गाउँ हो । सुरुकै घरमा एक शिक्षकले करिब बीस बालबालिकालाई ट्युसन पढाउँदै थिए ।

हामी गाउँमा पस्यौं । एकाबिहानै बोर्डिङ स्कुलको ठूलो बस आएको रहेछ । राम्राराम्रा लुगा लगाएका, ब्याग बोकेका बच्चाहरू बस चढेर इङ्लिस माध्यमको ‘बोर्डिङ’ स्कुल जाँदै थिए । अर्को स्कुलको भ्यान पनि आएको रहेछ । गाउँमा बाटो ढलान गरिएको थियो । मानिसहरू हृष्टपुष्ट देखिन्थे । झिझाको इतिहास डरलाग्दो सुनेका थियौं तर वर्तमान बिलकुल फरक देखियो । बच्चाहरू पढ्न जाने, युवाहरू विदेश गएर फर्केका ।

केही पुराना मानिसहरूसँग कुराकानी गरीवरी फर्केर फेरि ठाढीमा आई खाना खायौं र यदुकहातर्फ लाग्यौं । हिँड्नुअगाडि एउटा पानपसल देखेर पान खान रोकियौं । बाटामा अनौठो दृश्य देख्यौं । बाटो दुवैतर्फ ढलान भएको तर बीचको करिब सय मिटर बिनाढलानको । हामीलाई अनौठो लाग्यो । सोध्यौं, ‘यस्तो किन ?’ पानपसलेले भने, ‘निर्वाचनमा जितेको वडाध्यक्षलाई भोट नदिएका मानिसहरूको घरअगाडिको बाटो हो, त्यसैले नबनेको ।’ ग्रामीण समाजमा भोट, निर्माणको काम, द्वन्द्व कसरी एकअर्कासँग गाँसिएका रहेछन् भन्ने सोचेर हामी अचम्मित भयौं ।

लाइन खुलेको रात : मधेसका शास्त्रीय अध्येता फ्रेडरिक गेजका अनुसार (१९७५), नेपाल–भारत सीमा क्षेत्रलाई मूलतः चार थरी समस्याले गाँजेका छन्– अस्पष्ट सीमारेखा, आपराधिक गतिविधि, तस्करी र अप्रवासन । काठमाडौंका मिडियामा अस्पष्ट सीमारेखाबारे अनेक विवादको कभरेज भइरहन्छ । प्रायः भारतले सीमा मिचेको शीर्षकको समाचार छापिन्छ । खुला सिमानाका कारण दुवैतर्फका सीमाञ्चलमा अपराध हुनु पुरानो समस्या हो । दुवै देशका अपराधीहरू एक देशमा गएर अपराध गर्ने र अर्को देशमा आएर लुक्ने गर्छन् । सम्भवतः यही कारण सीमाक्षेत्र एक प्रकारले अपराधको क्रीडास्थल मानिन्छ । यस विषयमा दुवै देशका सुरक्षा निकायबीच बेलाबेलामा तनाव र सहकार्य दुवै हुने गर्छ ।

आप्रवासन पनि समस्या हो । भारत ठूलो देश भएका कारण नेपालतर्फबाट गएका मानिसहरू त्यहाँ सजिलै अटाउँदा रहेछन् तर भारतबाट थोरै मात्रै नेपाल पसे भने यहाँको जनसांख्यिक बनोटमा उथलपुथल आउन सक्छ । त्यसकारण यो पनि काठमाडौंका मिडियामा व्यापक चर्चाको विषय बन्दै आएको छ । त्यसरी नै सीमा क्षेत्रमा हुने तस्करी पनि एउटा अनौठो समस्या छ । माथि नै भनियो, ठाढीमा हामी बसेको घरअगाडिबाट राति हजारौंपटक मोटरसाइकल कुदेका थिए, जुन लाइन खुलेको रात थियो । नेपालमा खाद्यान्न लगायतका सामग्रीहरू भारतबाट आउने गर्छन् । त्यस क्षेत्रका जानकारहरूका अनुसार, भारतबाट औपचारिक आयात जति हुन्छ, त्यसभन्दा बढी तस्करी हुन्छ । सीमा क्षेत्रका सहरबजारबाट तस्करी गर्ने पनि अनेक तरिका हुँदा रहेछन् । सीमा क्षेत्रका व्यापारीहरूले नै सबै लाइन मिलाउँछन् ।

भारततर्फको प्रादेशिक प्रहरी सामेल हुन्छ । जस्तो– गण्डक पश्चिमको सीमा क्षेत्रमा उत्तरप्रदेश प्रहरी हुन्छ भने पर्सापूर्वको सीमा क्षेत्रमा बिहार प्रहरी । त्यसका साथै सन् २००१ देखि भारतले सीमा सुरक्षा बल पनि तैनाथ गरेको छ । हरेक तीन–चार किलोमिटरको दूरीमा सीमा सुरक्षा बलको पोस्ट राखिएको छ । मधेसमा माओवादी जनयुद्धको प्रभाव विस्तार भएपछि भारतले सीमा क्षेत्रमा सीमा सुरक्षा बल तैनाथ गरेको थियो । सन् २००७ को जनवरीमा मधेसमा ठूलो आन्दोलन भएपछि नेपाल सरकारले पनि त्यही वर्षको मार्चदेखि सशस्त्र प्रहरी बललाई सीमा सुरक्षाको जिम्मा दिने निर्णय गरेको थियो । नेपालतर्फ करिब सात–आठ किलोमिटरको दूरीमा सशस्त्र प्रहरीको पोस्ट राखिएको छ । त्यसका अलावा नेपाल प्रहरीले पनि आफ्नो काम गरिआएको छ ।

लाइन खुल्नुको अर्थ हो– सीमा क्षेत्रमा दुवै देशका सुरक्षाकर्मीहरूको सहमतिमा तस्करी हुनु । हामी बसेको रात भारतको महिनाथपुर र नेपालको ठाढी क्षेत्रमा लाइन मिलेको रहेछ । भारतको जयनगर वा महिनाथपुरबाट ओसारिएको सामान नेपालतर्फको लक्षित स्थानसम्म पुर्‍याउन मोटरसाइकल प्रयोग हुँदो रहेछ । पुर्‍याउने मान्छेलाई भरिया, बिलेकिया वा क्यारियर भन्दा रहेछन् । सीमाक्षेत्रको समस्याबारे गरिएका अनेकौं अध्ययनमा तस्करीको समाजशास्त्र र व्याकरणबारे वर्णन पाइन्छ । सीमा क्षेत्रमा सानै उमेरदेखि मानिसहरू ओसारपसारमा संलग्न हुँदा रहेछन् । सुरुसुरुमा दिनको समय दुई–चार किलो सामग्री ओसारपसारबाट कारोबार सुरु गरिन्छ । बानी बसेपछि त्यस्ता मानिसमध्ये धेरैको पेसा नै त्यही भइदिन्छ । दिउँसोको समयमा प्रशस्तै महिलाहरू यस्ता काममा लागेका हुन्छन् । एक अध्ययनअनुसार, पश्चिम तराईको सीमावर्ती भारतीय प्रान्त उत्तरप्रदेशको बहराइच कारागारमा सयौं महिलाहरू जेल जीवन बिताइरहेका छन् । बिहारका जेलहरूमा पनि त्यति नै नेपाली महिला र पुरुषहरू थुनिएका हुन सक्छन् ।

सीमा क्षेत्रमा हुने तस्करी प्रहरी प्रशासनका लागि पैसा कमाउने ‘एटीएम’ सरहको कारोबार बनेको छ । हामीले आफ्नो भ्रमणका क्रममा पत्ता लगाउँदा तस्करहरूले सामान पुर्‍याउने अन्तिम स्थान र सीमा क्षेत्रका बीचमा पर्ने सबै प्रहरी पोस्टलाई मिलाएका हुने रहेछन् । सीमा क्षेत्रको प्रशासन र सुरक्षा निकाय नमिली लाइन मिल्नै सक्दैन । यो धेरै पुरानो कुरा हो । नयाँ प्रशासक वा सुरक्षा प्रमुखहरू सरुवा भएर आउँदा आफ्नो प्रभाव देखाउन सुरुसुरुमा यसमा केही कडाइ गरिन्छ । यदाकदा तस्करीका सामग्रीहरू पक्राउ गरिन्छ । कहिलेकाहीँ देखाउनकै लागि पनि यस्तो हुने गर्छ । कुरा मिलेपछि सब थोक सामान्य हुँदो रहेछ ।

सामानहरूको तस्करी भारतबाट मात्रै हुने होइन, नेपालबाट पनि त्यत्तिकै हुन्छ । यो पनि पुरानै समस्या हो । अन्य देशबाट सहुलियत दरमा नेपालले पाउने सामग्रीहरूको तस्करी भारततर्फ हुँदो रहेछ । गेजका अनुसार, सन् १९५० र ६० को दशकताका रुस, चीन, युरोपबाट प्राप्त हुने सिमेन्ट, चिनी, कपडा, कलम, साइकलको व्यापक मात्रामा भारततर्फ तस्करी हुन्थ्यो । जंगल फँडानी भएका बेला काठबाहेक सनपाट, धान र वस्तुभाउ पनि नेपालबाट भारततर्फ तस्करी हुने गरेको कुरा दुवै देशका संसद्मा समेत चर्चा हुने गर्थ्यो । अचेल चुरेको ढुंगा–गिट्टी र तेस्रो मुलुकबाट आयातित सुपारी, केराउ/मटर आदि भारततर्फ तस्करी हुने गर्छन् ।

तस्करीका बेला मोटरसाइकल, सामान र मान्छेसमेत पक्राउ परे भने तिनलाई छुटाउने गज्जबको तरिका रहेछ । सामानलाई मिलेमतोमा भन्सार कार्यालयले लिलामी गर्छ । त्यस्तो कार्यमा प्रायः भारतीय नम्बर प्लेटका मोटरसाइकलहरूको प्रयोग भएको हुन्छ । पक्राउ परेपछि भन्सार कार्यालयले त्यस्ता मोटरसाइकलहरू थोकमा लिलाम गर्छ । तर मान्छेको सवालमा चाखलाग्दो बन्दोबस्त हुन्छ । प्रायः मान्छे समातिए पनि पैसा खाएर भगाइन्छ र तस्कर भागेको देखाइन्छ । समातिएको मान्छेलाई यदाकदा जेल पनि पठाइन्छ, तर प्रायः सामान र मोटरसाइकल बराबरको मूल्यांकन गरेर धरौटी बुझायो भने मान्छे छुटिहाल्छ ।

शिक्षाका कुरा : सीमा क्षेत्रका दुवैतर्फका समाजमा पढाइभन्दा पनि द्रुत आर्थिक उपार्जनको लत/संस्कृति विकास भएको देखिन्छ । दुवैतर्फका सीमान्त राज्यद्वारा उपेक्षित त छँदै छन्, केन्द्रीकृत राष्ट्रका लागि सुरक्षा तैनाथीबाहेक । बालबालिकाहरू सानै उमेरदेखि सरसामानको ओसारपसारमा संलग्न हुन्छन् । थोरबहुत पैसा हात पर्न थाल्छ । परिवारमा गरिबी रहेकै हुन्छ । थोरै पनि आम्दानी अभिभावकका लागि लोभलाग्दो हुन्छ । तिनै बालबालिका युवा अवस्थामा पुग्दासम्म जोखिम मोल्ने खालका भइसक्छन् । सानै उमेरदेखि सजिलै पैसा कमाउन थालेपछि बालबालिकामा स्कुले लेखपढतर्फ वा मिहिनेत गर्नतर्फ रुचि मर्न थाल्छ । अवैध आर्जनले ठीक–बेठीकबीचको नैतिक सीमारेखा धमिल्याइदिन्छ । अलिक महँगा सामानहरू (लागूपदार्थ) पनि तस्करी गर्न थाल्छन् । मोटरसाइकल प्रयोग गर्छन् । कतिपयले आफ्नै कारोबार गर्छन् त कतिपयले व्यापारीहरूका लागि भरियाको काम गर्छन् । यसरी सीमा क्षेत्रमा शिक्षाभन्दा पनि तस्करी र अपराधको जालो फैलिरहेको हुन्छ र सन्तति–दर–सन्तति भ्रष्टीकृत भएर आपराधिक वृत्तितर्फ ढल्किन्छन्, दिगो र दूरगामी उपलब्धिका लागि परिश्रम गर्नुको सट्टा ।

(मिश्र अमेरिकास्थित लुइस विश्वविद्यालयमा अंग्रेजीका विभाग प्रमुख हुन् भने साह नेपाल मधेस फाउन्डेसनमा आबद्ध छन् ।)

प्रकाशित : कार्तिक २३, २०७७ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?