कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मुसहर मन्थन

मुसहरमाथि जारी आर्थिक, सामाजिक र राजनीतिक विभेदको कारक स्थानीय मधेसी समाज हो भने राजनीतिक अधिकार, भूमिहीनता र नागरिकतालगायत समस्याको कारक राज्यका नीतिनियम र नियत हुन् ।

हालै मधेसमा मलर सदाको भोकले, राजु सदाको क्वारेन्टिनमा सामान्य औषधिबिना र शम्भु सदाको प्रहरी हिरासतमा सामान्य मृत्यु नभई महादलित भएकाले जानीजानी वा परिस्थितिजन्य हत्या भएको हो । यी घटनाले मधेसमा हामीलाई मुसहर महादलित समुदायबारे सोच्न बाध्य बनाएका छन् ।

मुसहर मन्थन

हाम्रा अगाडि केही प्रश्न टड्कारा छन्— यदि यी महादलितको सट्टा तथाकथित मध्यम वा उच्च जातका व्यक्ति भएका भए के यिनको मृत्यु हुने थियो ? हुने थिएन भने पहिचानसहितको राज्य पाइसकेको मधेसबारे कसरी एउटा राम्रो भविष्यको आशा गर्ने ? मधेसमा मुसहरलगायत दलित समुदायमा के–कस्तो परिवर्तन भइराखेको छ, जसले भविष्यप्रति हामीलाई आशावान् बनाउँछ, यस्ता विषम घटनाहरू हुँदाहुँदै पनि ?

गत डिसेम्बर (२०१९) मा हामी दुवैले पूर्व झापादेखि पश्चिम कैलालीसम्म भ्रमण गर्दा मधेसी समाजमा विविध परिवर्तन भइरहेको महसुस गरेका थियौं । समाजमा वर्गीय, जातीय, लैंगिक सबै प्रकारका सम्बन्धहरू फेरिन खोजेको हामीले देखेका थियौं । आजको मधेस बीस वर्ष पुरानो मधेस छैन । नयाँ पुस्ताका कतिपय किशोरी गाउँगाउँमा समेत बेधडक साइकलमा एक्लै आवतजावत गरिरहेका छन् र स्कुलमा छात्राहरूको नेतृत्व गर्दै वकिल बन्ने महत्त्वाकांक्षा पालिरहेका छन् । त्यहाँ लैंगिक सम्बन्ध फेरिँदै छ । ग्रामीण भेग होस् वा सहरी, उच्च जातका बालिका हुन् वा दलित समुदायका, शिक्षा आर्जनमा आतुर देखिन्छन् । यातायात र सञ्चारमाध्यमको विकाससँगै महिलाको आवतजावत फेरिएको छ । यात्रा लामो भए पनि विभिन्न आन्तरिक र बाह्य कारणहरूले गर्दा त्यहाँ लैंगिक, जातीय र वर्गीय सम्बन्ध पनि फेरिँदै छ ।

तर समष्टिगत रूपमा हेर्दा परिवर्तनको लहरसँगै विभेदका घटना पनि भइरहेका छन् । लकडाउनको प्रारम्भमै सप्तरीको कञ्चनरूप नगरपालिकाको पथरी टोलमा मलर सदाको मृत्यु भयो । स्थानीय अधिकारकर्मीहरूका अनुसार, मलरको मृत्युको कारण भोक थियो । उनी विराटनगरमा मजदुरी गर्थे । लकडाउन सुरु भएपछि उनी कामबाट निकालिएर र घर फर्के । नगर वा वडा तहका नेताको कुरा त छाडिदिऔं, प्रदेश २ सरकारले सम्म मलर सदाको मृत्यु भोकका कारण भएको मान्दैन ।

सिरहाका गैरदलित मध्यम जातका एक युवा मजदुरी गर्न भारत गएका थिए । लकडाउनकै बेला घर फर्किंदै गर्दा धनुषाको जटही नाकामा उनको मृत्यु भएको थियो । उनको भोकका कारण मृत्यु भएको भन्दै पीडित परिवारलाई प्रदेश सरकारले राहतस्वरूप ५ लाख रुपैयाँ दिने निर्णय गर्‍यो । मलर सदालाई राहत नदिने प्रदेश सरकारको निर्णयलाई दलित अधिकारकर्मीहरूले भेदभाव भनेका छन् । मलरको परिवारलाई राहत दिलाउनका लागि विभिन्न तहबाट प्रयास जारी छ । मलर सदाको मृत्युको केही सातापछि धनुषाको सबैला प्रहरी थानामा स्थानीय शम्भु सदाको मृत्यु भयो । प्रहरीले नै हत्या गरेर आत्महत्याको नाटक गरेको शम्भुको परिवार पक्षको दाबी छ । शम्भुले चलाएको ट्र्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको थियो । शम्भुलाई प्रहरी हिरासतमा राखिएको थियो । प्रहरीले बारम्बार घूसबापत मोटो रकम मागिरहेको थियो । शम्भुका परिवारले दिन सकेनन् ।

एक दिन शम्भुले आत्महत्या गरेको खबर आयो । जनकपुर भेगका दलितहरू आन्दोलित भए । कैयौं दिनको संघर्षबाट छानबिन गर्ने र राहत दिने सहमति भयो । शम्भुको मृत्युलाई लिएर भइरहेको आन्दोलन सेलाएको पनि थिएन, धनुषाको एक ग्रामीण क्वारेन्टिनमा अर्का युवा राजु सदाको मृत्यु भयो । प्रकाशित समाचारहरूअनुसार, राजुको मृत्यु कोरोनाका कारण नभई झाडापखालाले गर्दा भएको थियो, जहाँ उनलाई कसैले जीवनजलसम्म उपलब्ध गराएको थिएन । दलितहरू फेरि आन्दोलित भए । असारको चर्को गर्मी र वर्षाका बीच हजारौं दलित जनकपुरका सडकमा कैयौं दिनसम्म आन्दोलित रहे । अन्ततः प्रदेश सरकारले राजु सदाको परिवारलाई पनि राहत दिने निर्णय गर्‍यो । मृत्युबारे छानबिन गर्ने पनि सहमति भएको छ ।

जनकपुरको माटो आन्दोलनका लागि निकै मलिलो छ । राणा शासनको विरोधदेखि गणतन्त्रसम्म आइपुग्दा जनकपुरका सडकमा अनगिन्ती आन्दोलन भएका छन् तर मुसहरहरूको यस्तो आन्दोलन, जसले राज्यलाई झुकाउन सफल भएको छ, सायद पहिलो हो । यसले मुसहर जातिमा नयाँ चेतनाको विकास भएको प्रस्ट सन्देश दिएको छ । गाउँ र देशबाहिर रोजगारीले गर्दा समाजमा गरिबी घटेको देखिन्छ, तथापि दलित समुदायको अवस्थामा धेरै सुधार आएको छैन । माओवादी जनयुद्धयता जातीय सम्बन्ध बदलिइरहेको छ । यात्राका क्रममा हामी सप्तरीका एक जना पञ्चायतकालीन खुँखार जमिनदारको घर पुग्यौं । माओवादी विद्रोहले के परिवर्तन ल्यायो भनेर उनका निकै पढे–लेखेका छोरालाई सोध्दा, हामीसँगै बसेका एक जना दलित अभियन्तातर्फ इसारा गर्दै उनले भने, ‘परिणाम के भन्नु ! त्यसैले गर्दा त आज यहाँ सुटबुट पहिरिएर हामीसँगै बसिराख्नुभएको छ । हामीले ‘तपाईं’ भन्नुपर्छ । नत्र पहिले कहाँ यस्तो हुन्थ्यो ?’ त्यसै गरी मधेस आन्दोलनले पनि ऊर्जा थपेकै थियो । रेमिट्यान्सले पनि सघाएको छ । रेमिट्यान्सका लागि बिदेसिने क्रम मधेसका उच्च र मध्यम जातमा मात्र सीमित रहेन । तुलनात्मक रूपमा दलितहरूले कम लाभ लिएजस्तो देखिन्छ तर प्रभावशून्य चाहिँ छैन । हामी यात्राका क्रममा झापादेखि पर्सासम्मका अनेकौं गाउँमा बास बसेका थियौं । ती गाउँहरूमा धनी–गरिब, उच्च जात र दलित, महिला र पुरुषबीचको बदलिँदो सम्बन्धका अनेकौं आयाम हेर्ने–बुझ्ने प्रयास गर्‍यौं ।

चरम गरिबी

सप्तरी जिल्लाको पूर्वी गाउँ गोइठीमा दुई रात बस्दा दुवै बिहान हामी मुख्य गाउँबाट अलि छुट्टै रहेको मुसहरी टोल घुमेका थियौं । दिउँसो राजपूत जमिनदारहरूको गाउँ कोइलाडी र ब्राह्मणहरूको गाउँ तिलाठी गएका थियौं । हनुमाननगर र मधुवापुरजस्ता गाउँहरू घुम्दा बाटो छेउछाउका अनेक मुसहरी टोलबस्ती घुमेका थियौं । हाम्रो दृष्टिमा मधेसमा अहिले पनि सबैभन्दा गरिबीले पिल्सिएको कुनै जातीय समूह छ भने त्यो मुसहर नै हो । सप्तरीका पूर्वी गाउँहरूमा घुमिएका मुसहर बस्तीहरूको अवस्था हृदयविदारक थियो । गोइठीको मुसहरी टोलमा बनेको बाटो हालै ढलान गरिएको थियो तर ससाना घरहरू माटो र फुसकै थिए । गाउँका दर्जनौं युवा, जसमध्ये कतिपय काठमाडौंमा काम गर्थे, कसैले पनि एसएलसीसम्म पढेका थिएनन् । ती प्रायः ट्र्याक्टरमा काम गर्दा रहेछन् । एक–दुई जना ड्राइभर र बाँकी मजदुर । मधेसका गाउँहरूमा ट्र्याक्टर बहुउपयोगी साधन भएको छ । खेतीकिसानीदेखि ढुवानी र भाडा कमाउने सबै काम ट्र्याक्टरले गर्दो रहेछ ।

गोइठीको मुसहरी टोलका बालबालिकाको पढाइ अत्यन्त कमजोर अवस्थामा रहेको देखिन्थ्यो तर गाउँकै कुनामा दिनाभद्रीको मन्दिर भने इँटा र सिमेन्टीको बन्दै थियो । कुनै एनजीओबाट आउने गैरदलित एक शिक्षिकाले ‘ऐ, यिनीहरूले पढेर के गर्छन् ? हाम्रो भाग त खोस्ने हुन् नि’ भन्ने गरेको र त्यहीँको स्कुलका मध्यम जातका शिक्षकहरूले मुसहर छात्रछात्रासँग जात होच्याउने बोली बोल्ने र खेल्न छोड्दिन भन्ने गरेको गाउँका पुरुष–महिलाले बताए । गाउँको स्कुलमा कम से कम एक जना दलित शिक्षक भइदिए आफ्ना बच्चाहरूलाई हेप्ने थिएनन् भन्ने तिनको भनाइ थियो ।

मालिक फेरिँदै छ

हामी सप्तरीको पश्चिमी भेग बिसनपुर चोकभन्दा अलिक उत्तरतर्फको मुसहरी बस्ती पनि पुगेका थियौं । त्यहाँ एक मुसहर अगुवाको श्रद्धाञ्जली सभा आयोजना गरिएको रहेछ, जुन हामी पुग्दा सम्पन्न भइसकेको थियो । मञ्च खाली अवश्य थियो तर त्यसको बनावट र रंगरोगनले कार्यक्रमको भव्यता जनाउँथ्यो । त्यहाँ भइरहेको भोजमा त्यस भेगका यादव थरका एक जमिनदार मुसहर अगुवाहरूसँगै बसेर खाना खाँदै थिए । चारैतिर अन्य मुसहर स्वागतमा खट्दै थिए । खानका लागि रेडिमेड टपरी (पात) को मात्र व्यवस्था थिएन, पिउनका लागि आँगनको एक कुनामा झन्डै एक ट्र्याक्टर मिनरल पानीका बोतल थुपारिएका थिए, जसले ठूलै भोजको आयोजना भइरहेको प्रमाण दिन्थे ।

मुसहर बस्तीमा त्यत्रो भव्य भोज सामान्य कुरो त होइन नै, मुसहरको घरमा जमिनदार आफैं पुगेर सँगै भोज खानु पनि असामान्य परिस्थिति हो । चरम गरिबी र अभावबाट गुज्रिरहेका आम मुसहर समुदायको जमिनदारसँगको सम्बन्ध भनेको मजदुर र मालिकको हुने गरेको छ । मालिकको घरमा हुने भोजभतेर, खेतीपातीमा मुसहरहरू जोतिनु मधेसी समाजको समान्य प्रचलन थियो तर त्यहाँ हामीले फरक दृश्य देखिरहेका थियौं ।

यस्तो कहिलेदेखि हुन थालेको हो ? यो आम चलन भएको छ कि अपवाद हो ? हामीले यसबारे धेरै कोणबाट चिन्तन गर्‍यौं । ती जमिनदार (जो पञ्चायतकालदेखि नै स्थानीय र जिल्ला तहको राजनीतिमा पनि सक्रिय छन्) व्यक्तिगत रूपमा उदार प्रवृत्तिका रहे पनि आधारभूत रूपमा लोकतन्त्रमा भोटको राजनीतिबाट अभिप्रेरित भएर मुसहरको घरमा भोज खान पुगेका रहेछन् भन्ने निष्कर्षमा हामी पुग्यौं । सप्तरी जिल्लामा मात्र लगभग २५–२६ प्रतिशत दलित समुदायको जनसंख्या छ । दलित अगुवा भोला पासवानका अनुसार प्रदेश २ मा दलितको जनसंख्या १७ प्रतिशत छ । त्यस प्रदेशको जुनसुकै निर्वाचन क्षेत्रमा दलितको उल्लेख्य जनसंख्या छ । सप्तरी र सिरहाका दलितहरूले विगतमा अनेकौं आन्दोलन गरेर समाजमा जातीय, वर्गीय र राजनीतिक सम्बन्ध फेर्ने प्रयास गरेका छन् । विगतमा परम्परागत रूपमा छालाको काम गर्ने मोचीहरूले सञ्चालन गरेको सिनो बहिष्कार आन्दोलनको प्रभाव पूर्वदेखि पश्चिमसम्म परेको कुरा हामीले भ्रमणका क्रममै थाहा पायौं । त्यस्तै, माओवादी जनयुद्धको समयमा ठाउँठाउँमा भएका ज्याला वृद्धि आन्दोलनले दलितहरूलाई जागृत गरेका थिए । जनयुद्धपछि सुरु भएको समानुपातिक निर्वाचन प्रणालीले दलित समुदायमा राजनीतिक चेतनाको मात्रै विस्तार गरेन, बरु मतदाताबाट नेता बन्ने महत्त्वाकांक्षाको पनि विकास भयो । त्यसकारण अहिलेका दलितहरू अन्धसमर्थक भएर मालिकहरूले जता भन्यो उतै भोट दिइहाल्ने अवस्थाभन्दा माथि उठेर भागीदारी र अधिकार खोज्ने अवस्थामा पुगेका छन् । दलितहरूमा पलाएको त्यो चेतका कारण जमिनदारहरू दलितका घरघर पुग्न थालेको हाम्रो बुझाइ रह्यो ।

विकासे मोडलको समस्या

पूर्व–पश्चिम मधेस भ्रमणका क्रममा हामी महोत्तरीको बर्दिबास र रौतहटको सन्तपुर मुसहर बस्तीमा पनि गएका थियौं । ती दुवै ठाउँमा धुर्मुस–सुन्तली फाउन्डेसनले मुसहर बस्तीलाई पुनर्निर्माण गरेको छ । पुराना फुसका घर गुजुमुज्ज परेको बस्तीलाई फाउन्डेसनले पूरै पुनर्निर्माण गरिदिएको छ । इँटाले बनेका, रातो रङले रंगिएका भित्ताहरू र नीलो रङको जस्ताको छाना भएका साना तर चिटिक्क परेका दुईतले घरहरू अत्यन्त व्यवस्थित पाराले बनाइएका छन् । बच्चाहरूलाई पढ्न र खेल्न छुट्टाछुट्टै ठाउँहरू, भ्युटावर पनि निर्माण गरिएको त्यो अत्याधुनिक बस्तीमा पुग्दा नेपालभित्र हो कि बाहिर, ठम्याउन गाह्रो हुन्छ । मधेसकै अन्य मुसहर बस्तीका तुलनामा त्यहाँ पुग्दा स्वर्ग नै पुगेको अनुभूति हुन्छ । तर, त्यस बस्तीका मुसहरहरूसँगको संवादबाट अनेकौं समस्या पनि उब्जेको थाहा भयो हामीलाई ।

हामीसँगको संवादमा कतिपयले भनेका थिए— यो घर त रंगीचंगी बनेको छ तर घरभित्र ग्यास चुलोमा मात्र खाना पकाउन मिल्ने व्यवस्था छ । हामी ग्यासको सिलिन्डर किन्न सक्ने अवस्थामा छैनौं । घरबाहिर चुलो बालेर खाना पकाउनुपर्ने हुन्छ । पहिला फुसको घर हुँदा हाँस, कुखुरा, खसी–बाख्रा पाल्थ्यौं । सानोतिनो आम्दानीको स्रोत थियो । यो नयाँ झिल्के बस्ती बनेपछि खसी–बाख्रा पाल्न पाइन्न । अनुमति छैन । हामीले संवाद गरेमध्ये प्लस टु सिद्ध्याएकी एक मात्र महिलाले के काम गर्नुहुन्छ तपाईं भनेर सोद्धा भनिन्, ‘केही पनि गर्दिनँ । कामको लागि बाहिर कत्ति निवेदन दिइसकें, तर हामीलाई कसले नोकरी दिन्छ ?’

बर्दिबास र सन्तपुरका बस्तीलगायत अन्य बस्तीका युवाहरूसँग संवाद गर्दा थाहा भयो— मुसहर युवाहरूमा धर्म, राजनीति र रोजगारीबारे धेरै छटपटी छ । बस्तीमा चरम गरिबी देखिन्थ्यो तर पाँचवर्षे बालक एन्ड्रोइड मोबाइल सेटमा कुनै कार्टुन भिडियो हेरिरहेको पनि देखिन्थ्यो । घरका छाना फुसका थिए तर छानामाथि डिसहोमको एन्टेना देख्न पाइन्थ्यो । स्कुल जाने विद्यार्थीहरू कमै भेटिन्थे तर टेलिभिजन सेटसामु झुन्डहरू प्रशस्त थिए । सोध्दा अम्बेडकरको नाम त्यहाँ कसैलाई थाहा थिएन तर माओवादी, ईसु र नयाँ ईश्वरको नाम धेरैलाई थाहा हुन थालिसकेको रहेछ । यस्ता दृश्य देख्दा मुसहर समुदायमा परिवर्तनको बेजोड उकुसमुकुस रहेको भान भयो ।

नैनपुरको कथा र व्यथा

हामी सिरहाको धनगढीस्थित नैनपुर टोलका अभियन्ता गंगाराम यादवको घरमा एक रात बास बसेका थियौं । बिहानीको समयमा वरिपरिका दुइटा मुसहरी टोल घुम्यौं । नजिकैको गोविन्दपुरको मुसहर बस्तीमा निकै सकारात्मक परिदृश्य देखियो । करिब २०–२५ घर भएको त्यस बस्तीका लगभग सबै बालबालिका स्कुल जाँदा रहेछन् । घरको बनोट पनि राम्रो, अन्य बस्तीभन्दा सफा । इँटाको पर्खाल र जस्ताको छाना भएका चिटिक्क परेका घरहरू देखिन्थे । त्यस टोलको अवस्था केकस्तो कारणले सुधारिएको हो भनेर सोधखोज गर्दा सबै जनाले एक युवाको नाम लिए । अशोक सदा नामका ती युवा गैरसरकारी संस्था (गैसस) दलित जनकल्याण युवा क्लबमा काम गर्दा रहेछन् । उनकै प्रयासमा त्यस टोलका बालबालिका स्कुल जान थालेका रहेछन् । अशोक आफू स्नातक तहमा पढ्ने, दिउँसो गैससमा नोकरी गर्ने, बिहान–बेलुका टोलका बालबालिकालाई पढाउने र अभिभावकहरूलाई जागरुक बनाउने काम गर्दा रहेछन् ।

त्यस बस्तीभन्दा अलि पर नैनपुरकै अर्को टोलमा संबतिया देवी सदायसँग भेट भयो । संबतिया देवीको उमेर लगभग ८६ वर्षको हुँदो हो । उनी कुष्ठरोगी रहिछन् । हातखुट्टाका कुनै पनि औंला दुरुस्त थिएनन् । लगभग सबै गलिसकेका देखिन्थे । उनका ५ सन्तान र १३ नातिनातिना रहेछन् । उनका श्रीमान् परीक्षण सदाय, छोराछोरी, नातिनातिना सबैसँग नागरिकता रहेछ, तर उनीसँग रहेछ । संबतिया देवीले नागरिकता पाउन नसक्नुको कारण सामान्य तर जटिल रहेको थाहा भयो । उनको जन्म सिरहाकै सखुवा गाउँमा भएको हो तर हाल माइतमा कोही छैन । नागरिकताका लागि वडा कार्यालयको सिफारिस चाहिन्छ । वडा कार्यालयले जन्मेको ठाउँको सिफारिस हेरेपछि मात्र सिफारिस दिने चलन छ ।

संबतियाको भनाइ थियो, ‘दस–बाह्र वर्षको उमेरमा बाख्राबाख्री चराइरहेको बेला ठूलो भूकम्प आएको थियो । जताततै जमिन फाटेको सम्झिन्छु । आफू सानै हुँदा बुबाआमा सबैको मृत्यु भयो । सानै उमेरमा विवाह भएर यहाँ बस्न थालेकी हुँ । त्यति बेला नागरिकता बनाउने चलन थिएन । हामीलाई थाहा पनि भएन । अहिले आएर वृद्धभत्ता लिनलाई नागरिकता चाहिने रहेछ । बनाउन खोज्दा माइतीबाट सिफारिस ल्याउन भन्छन् । माइतीमा मेरो कोही छैन । आफू बुढेसकालमा कहाँकहाँ जानु ? छोराहरू धेरैपटक गए तर कसैले सिफारिस गरिदिएन । म कुष्ठरोगी, वृद्धभत्ता पाएकी भए अलिक राहत हुन्थ्यो । केही गर्दा पनि नागरिकता बनेन ।’ नैनपुरका दुई उदाहरण देखेर हामीलाई लाग्यो— सानो गैसससँगको आबद्धताले अशोक सदा कति राम्रो परिवर्तनको वाहक बनेका छन् ! अर्कातर्फ सामान्य नीतिगत समस्याका कारण संबतिया देवीले नागरिकता पाउन सकेकी छैनन् ! मधेसका मुसहर समुदायले समाजबाट मात्र होइन, राज्यबाट पनि विभिन्न प्रकारका पीडा बेहोरिरहेको तथ्य नैनपुरका यी दुई प्रसंगले प्रमाणित गरे ।

राजनीतिमा निर्णायक बन्ने प्रयास

मधेसका मुसहर मूलभूत रूपमा माटाको काम गर्ने समुदाय हुन् । मुसहरको जीवन माटामा आश्रित हुन्छ । सामन्ती सोच र व्यवहार व्याप्त रहेको मधेसी समाजमा मुसहर सबैभन्दा पीँधमा परेको अति विपन्न समुदाय हो । मुसहरलगायत मधेसका दलित समुदाय समाज र राज्य दुवैबाट प्रताडित छन् । मुसहरमाथि जारी आर्थिक, सामाजिक र राजनीतिक तीनै प्रकारका विभेदको कारक स्थानीय मधेसी समाज हो भने, राजनीतिक अधिकार, भूमिहीनता र नागरिकता लगायतका समस्याको कारक राज्यका नीतिनियम र नियत हुन् ।

हामीले भेटेका अनेकौं अगुवाको धारणा बुझ्दा उनीहरू संगठित हुने प्रयास गरिरहेको आभास भयो । खास गरी जनकपुर वरिपरिका मुसहर समुदायका युवाहरूले यसतर्फ गम्भीर प्रयास गरिरहेको बुझिन्छ । अहिले जनकपुरमा जारी मुसहरहरूको आन्दोलन एक दिनको प्रयास होइन । २०७३ जेठमा जनकपुरको बाह्रबिघा मैदानमा मुसहरहरूको विशाल भेला भएको थियो, जसका प्रमुख अतिथि थिए बिहारका पूर्वमुख्यमन्त्री जितनराम माझी । त्यस भेलामा मधेसका अनेकौं जिल्लाबाट हजारौंको संख्यामा मुसहरहरू आएका थिए ।

केही वर्षयता मुसहर अगुवाहरूले बर्सेनि दिनाभद्री दिवस, माटो दिवस भव्यताका साथ मनाउन थालेका छन् । ती कार्यक्रममा विभिन्न जिल्लाका हजारौंहजारको संख्यामा मुसहरहरूको उपस्थिति हुँदो रहेछ । अहिलेको जनकपुरको आन्दोलन पनि त्यही प्रयासको एक कडी हो, जसको चालढाल हेर्दा प्रदेश २ का मुसहर लगायतका दलितहरू राजनीतिक रूपमा संगठित हुने प्रयासमा रहेको बुझिन्छ ।

समग्र भारतमा त छँदै छ, सीमावर्ती बिहार र युपीमा वर्षौंको प्रयासपछि संगठित भएका दलितहरू राजनीतिमा हस्तक्षेपकारी अवस्थामा पुगेको विदितै छ । त्यसको सन्देश मधेसमा बडो सकारात्मक ढंगले पुगेको देखिन्छ । आफ्नो समुदायको जनसंख्यालाई सचेत मतदातामा परिणत गर्न सकियो भने आफ्नै समुदायबाट नेता पैदा हुन सक्ने बुझाइ मधेसका दलित अगुवाहरूको छ । मधेस विद्रोहयता यादव र वैश्य जातिहरूले जसरी मधेसको राजनीतिमा वर्चस्व स्थापित गरिरहेका छन्, त्यसले दलितहरूलाई थप ऊर्जा प्रदान गरेको छ । अहिले जसरी केही सीमित संख्यामा युवा अध्येता र राजनीतिक कार्यकर्ताहरूले पहल गरिरहेका छन्, यो क्रम केही वर्ष मात्र जारी रह्यो भने मधेसको राजनीतिमा दलित समुदाय निर्णायक भएर उदाउने निश्चित छ ।

प्रकाशित : श्रावण १८, २०७७ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?