कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४३

सत्ता समीकरणका लागि सोमबारको समय-चक्र : बालुवाटार बार्दलीदेखि चपली हाइटसम्म

काठमाडौँ — कांग्रेस र एमाले संविधान संशोधनको एजेन्डासहित ‘राष्ट्रिय सहमतिको’ सरकार बनाउन सहमत भएका छन् । कांग्रेस-एमाले सहमतिसँगै निर्वाचनयता डेढ वर्षको बीचमा तीन पटक गठबन्धन फेरेका पुष्पकमल दाहाल नेतृत्वको सरकार विघटनको संघारमा पुगेको छ ।

सत्ता समीकरणका लागि सोमबारको समय-चक्र : बालुवाटार बार्दलीदेखि चपली हाइटसम्म

सहमतिअनुसार पहिलो चरणमा एमाले अध्यक्ष ओलीले सरकारको नेतृत्व गर्नेछन् भने दोस्रो चरणमा डेढ वर्षपछि कांग्रेस सभापति देउवा प्रधानमन्त्री बन्नेछन् । निर्वाचन प्रणालीलगायतका विषयमा संविधान संशोधन गर्न सुझाव आयोग बनाउने समझदारी पनि बनेको छ । आयोगले दिने सुझावका आधारमा संविधान संशोधनमा जाने र निर्वाचन प्रणाली सुधार गरी राजनीतिक स्थायित्व प्रत्याभूत गर्ने उनीहरूको दाबी छ ।

सत्ता समीकरण फेरबदलका लागि सोमबार भएको कसरत

बिहान ९ बजे : बालुवाटार बार्दली

प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच डेढ घण्टा वार्ता । ओलीका असन्तुष्टि सम्बोधन गर्न दाहालको प्रयास, ओलीले चाहे प्रधानमन्त्री तत्काल छाडिदिन दाहालको प्रस्ताव । तर ओलीले प्रधानमन्त्रीभन्दा पनि एजेन्डामा असन्तुष्टि जनाए । उनलाई मनाउन धितोपत्र बोर्ड (सेबोन) का अध्यक्षको नियुक्ति प्रक्रिया तुरुन्तै थाल्ने, बजेटका असन्तुष्टि सम्बोधन गर्ने, उन्मुक्ति पार्टीलाई सरकारमा सहभागी गराउने दाहालको प्रतिबद्धता । ‘स्वर्ग र नर्क जहाँ गए पनि सँगै जाने’ वचन लेनदेन गरेर वार्ता समाप्त ।

अपराह्न ३ बजे : कांग्रेस पदाधिकारी बैठक

ओलीसँग संवाद भएको र सम्बन्ध सुमधुर बनेको देउवाद्वारा जानकारी । यसबारे गरिएका अनुमान स्वाभाविक रहेको देउवाको टिप्पणी ।

अपराह्न ४ बजे : भिभान्तामा मस्यौदा

एमाले महासचिव शंकर पोखरेल र कांग्रेस प्रमुख सचेतक रमेश लेखकबीच ललितपुर झम्सिखेलस्थित होटल भिभान्तामा भेटघाट । संविधान संशोधनसहितको एजेन्डामा राष्ट्रिय सहमतिको सरकार बनाउने सहमतिपत्रको मस्यौदा तयार ।

अपराह्न ४ बजे : मन्त्रिपरिषद् बैठक

ओलीको चासो सम्बोधन गर्न भन्दै सेबोन अध्यक्ष नियुक्तिको प्रक्रिया फेरि अघि बढाउन पुरानै समिति जगाउने निर्णय । गठबन्धन र सरकार तलमाथि केही नहुने भन्दै ढुक्क हुन मन्त्रीहरूलाई प्रधानमन्त्री दाहालको ‘ब्रिफिङ’ ।

अपराह्न साढे ४ बजे : ओली–देउवा संक्षिप्त भेट

बबरमहलस्थित एक घरमा कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता । सहमतिको मस्यौदा बनाएर सोमबार नै हस्ताक्षर गर्ने सहमति ।

अपराह्न ५ बजे : संसद्मा ओली

संसद् पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सञ्चारकर्मीहरूको प्रश्न– प्रधानमन्त्रीको शपथ कहिले लिनुहुन्छ ? ओलीको जवाफ– यो वर्ष त त्यस्तो लाग्दैन मलाई ।

साँझ ६ बजे : माओवादी पदाधिकारी बैठक

प्रधानमन्त्री दाहाल र माओवादीका पदाधिकारीबीच छलफल । सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहने, निर्वाचनमा एमालेसँग तालमेल गर्ने र निर्वाचनपछि कम्युनिस्ट एकता गर्ने योजना रहेको ब्रिफिङ ।

राति ९ बजे : दुवै नेता सहकर्मीसँग

कांग्रेस सभापति देउवाको बुढानीलकण्ठस्थित निवासमा कांग्रेसका नेताहरूबीच छलफल । उता, एमालेका मन्त्री तथा सचिवालय सदस्यहरू ओली निवास बालकोटमा । कांग्रेससँगको सम्भावित सत्ता सहकार्यबारे आएका समाचारमाथि मन्त्री र नेताहरूको जिज्ञासा । छलफल चले पनि आफू यही सरकार अघि बढाउन सकारात्मक रहेको ओलीको जवाफ । उपाध्यक्ष विष्णु पौडेल र उपप्रधान तथा भौतिक योजनामन्त्री रघुवीर महासेठ घर फर्किए ।

राति ११ बजे : निवासबाट निस्किए ओली–देउवा

एमाले महासचिव शंकर पोखरेललाई लिएर अध्यक्ष ओली महाराजगन्ज, बाँसबारी हुँदै चपली हाइटतर्फ प्रस्थान । उद्यमी रामेश्वर थापाको निवासमा कांग्रेस सभापति देउवा सहकर्मी नेताहरू रमेश लेखक र ज्ञानेन्द्रबहादुर कार्कीसहित पर्खिरहेका थिए ।

राति १२: १५ बजे : चपली हाइट सहमति

एमाले महासचिव शंकर पोखरेल र कांग्रेस प्रमुख सचेतक रमेश लेखकले तयार पारेको सहमतिपत्रमा हस्ताक्षर । सहमतिअनुसार एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने, डेढ वर्षपछि देउवालाई पालो दिने । राष्ट्रिय सहमतिको सरकार भएकाले सकेसम्म सबै दललाई सहभागी हुन आमन्त्रण गर्ने । निर्वाचन प्रणाली सुधारलगायतका विषयमा संविधान संशोधन गर्ने ।

देशमा सुशासन कायम गरी समृद्धितर्फ अघि बढ्ने । यो सहमतिपत्रमा कांग्रेसका तर्फबाट सभापति देउवा र एमालेका तर्फबाट अध्यक्ष ओलीको हस्ताक्षर छ । सहमतिपत्रमा उल्लेख नभए पनि अर्थसहितका मन्त्रालय एमाले र गृहसहितका मन्त्रालय कांग्रेसले लिने मौखिक समझदारी । हस्ताक्षर गरेको १५ मिनेटपछि राति साढे १२ मा नेताहरू आ–आफ्नो निवासतर्फ लागे ।

प्रकाशित : असार १८, २०८१ ०५:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एमाले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहालले अब तत्काल के गर्नुपर्छ ?

×