कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४३

रोल्पामा जिप खस्दा ७ जनाको मृत्यु, ८ घाइते

रोल्पा — यात्रुसहितको जिप सोमबार दिउँसो दुर्घटना हुँदा यसमा सवार ७ जनाको मृत्यु भएको छ । आठ जना घाइते भएका छन् । रोल्पाको घर्तीगाउँबाट तालाबाङ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको फोर्स जिप घर्तीगाउँ–तालाबाङ सडक खण्डअन्तर्गत पर्ने परेवा छहरानजिक सडकभन्दा ४ सय मिटर तल खसेको हो । मृत्यु हुनेमा ४ महिला, २ पुरुष र १ बालक छन् । उनीहरूको सनाखत हुन भने बाँकी छ ।

रोल्पामा जिप खस्दा ७ जनाको मृत्यु, ८ घाइते

रोल्पा प्रहरीका डीएसपी भरत लामाका अनुसार पहिल्यै झरेको पहिरोलाई छलेर अगाडि बढ्न खोज्दा जिप दुर्घटनामा परेको हो । चालकले पहिरो छलेर केही अग्लो भागबाट अघि बढाउन खोज्दा जिप पछाडि सर्दै सडकबाट तल खसेको बताइएको छ । माडी गाउँपालिका–२, घर्तीगाउँबाट अपराह्न ४ बजे हिँडेको उक्त जिप करिब एक घण्टापछि दुर्घटनामा परेको प्रहरीले जनाएको छ । घाइते र मृतक एकै गाउँका हुन् ।

स्थानीयका अनुसार दुर्घटनामा मृत्यु हुनेमा एकाघरका आमाछोरा र दाजुभाइसमेत छन् । यात्रुहरू किनमेल र गाउँपालिकाको काम सकेर घरतर्फ फर्किरहेका थिए । जिपमा चालकसहित १५ जना सवार थिए । चालक दीपक थापामगर पनि घाइते भएका छन् । घाइतेहरूलाई जिल्ला अस्पताल ल्याइएको छ । जिपमा सवार दिलकुमारी घर्तीले जिप खस्नुअघि हामफालेर गाउँले गुहारेपछि घाइतेको तत्काल उद्धार सम्भव भएको थियो ।

तीव्र गति र क्षमताभन्दा बढी भार बोक्ने गरेका कारण सवारी दुर्घटना नियन्त्रण हुन सकेको छैन । विगत १० वर्षमा सवारी दुर्घटनामा मात्रै २४ हजार ४ सय २९ जनाको ज्यान गइसकेको छ ।

हरेक दिन सवारी दुर्घटनामा ७ जनाभन्दा बढीको ज्यान गइरहेको तथ्यांकले देखाउँछ । सवारी दुर्घटनामा ४ सय ५४ जनाभन्दा धेरै गम्भीर घाइते हुन्छन् । नेपाल रोड सेफ्टी एक्सन प्लानमा पाँच वर्षको दुर्घटनाको तथ्यांक विश्लेषण गर्दा ग्रामीण सडकहरूको तुलनामा सहरी र रणनीतिक सडकमा दुर्घटनाको दर बढिरहेको देखिन्छ ।

प्रकाशित : असार १८, २०८१ ०५:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एमाले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहालले अब तत्काल के गर्नुपर्छ ?

×