कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

छाउगोठमा किशोरी बलात्कृत, घटना लुकाउन अगुवा नै सक्रिय

छाउगोठमा बस्दा बलात्कृत भएर, निसासिएर, सर्पले टोकेर अछाममा मात्रै १७ वर्षमा १४ जना महिला तथा किशोरीको मृत्यु

अछाम — अछामको पञ्चदेवल विनायक नगरपालिका–२ मा एक किशोरी छाउगोठमा बलात्कृत भएकी छन् । मामाघरमा बसेर पढिरहेकी १६ वर्षीया किशोरी सोमबार मध्यराति मामा नाता पर्नेबाट बलात्कृत भएको अछामका प्रहरी प्रमुख डीएसपी सन्तोष पाठकले बताए । प्रहरीले आरोपित १७ वर्षीय किशोरलाई पक्राउ गरिसकेको छ । 

छाउगोठमा किशोरी बलात्कृत, घटना लुकाउन अगुवा नै सक्रिय

डीएसपी पाठकले जिल्ला अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) मा काउन्सिलिङका क्रममा किशोरीले राति २ बजे पिसाब फेर्न छाउगोठ बाहिर निस्केका बेला मामा नाता पर्नेले बलात्कार गरेको बताएको सुनाए । ‘सुरुमा बेहोस हुने समस्या हो भन्दै जिल्ला अस्पताल मंगलसेन पुर्‍याए पनि ती किशोरी होसमा आएपछि बलात्कार भएको कुरा बाहिर आएको हो,’ उनले भने ।

किशोरी होसमा आएर घटनाबारे सबै कुरा बताएपछि प्रहरीको टोली थप अनुसन्धानका लागि घटनास्थलमै पुगेको थियो । त्यहाँ पुगेका डीएसपी पाठकले घटनास्थलको प्रकृति बताउँदै भने, ‘छाउगोठ बाहिर मकैका बोट पनि भाँचिएका छन् । केही रङ पनि देखिन्छ ।’ अनुसन्धानमा खटिएका एक प्रहरीले स्थानीय अगुवाले घटना लुकाउन खोजेपछि पीडित किशोरीलाई नै बोकेर जिल्ला अस्पतालबाट घटनास्थलसम्म पुर्‍याउनुपरेको बताए ।

पीडित किशोरीलाई मंगलबार दिउँसो करिब साढे १२ बजेतिर बेहोस अवस्थामा जिल्ला अस्पताल पुर्‍याइएको थियो । जिल्ला अस्पताल अछामकी सूचना अधिकारी गंगा बुढा मगरले अस्पताल ल्याएको ३ घण्टापछि मात्रै पीडितलाई होस आएको बताइन् । भनिन्, ‘हाम्रो अनुमानमा किशोरी लगभग १२ घण्टा जति बेहोस भएको देखिन्छ । गाउँमा छारेरोग लागेको र नजिक गए रोग सर्छ भनेर कसैले पनि नछोएको देखियो ।’ उनका अनुसार इमर्जेन्सी वार्डमा होस खुलेको धेरैबेरसम्म किशोरी बोल्न सक्ने अवस्थामा थिइनन् ।

छाउगोठमा बलात्कृत भएकी किशोरीलाई बेहोस अवस्थामा जिल्ला अस्पताल मंगलसेन लगिँदै। तस्बिर सौजन्य : अम्बिका चलाउने

ओसीएमसीमा लगेर काउन्सिलिङ गरेपछि मात्रै उनले घटनाबारे विस्तृतमा बताएकी थिइन् । अस्पतालका एक कर्मचारीका अनुसार मामा नाता पर्नेले मुख च्यापेर आक्रमण गर्दै बलात्कार गरेको र त्यतिबेला नजिकै रहेका अरू दुई जनाको आवाज सुने पनि आफूले ठम्याउन नसकेको किशोरीले बताएकी थिइन् ।

घटनाबारे जानकार पञ्चदेवल विनायक नगरपालिकाकी नगर प्रमुख अम्बिका चलाउनेले किशोरी बिहान अबेरसम्म पनि नउठेपछि छाउगोठमा हेर्दा अचेत अवस्थामा भेटिएको तर गाउँका मान्छे कोही नजिक नगएको बताइन् । मंगलबार बिहान १० बजे कार्यपालिकाको बैठक बस्ने तयारी गरिरहेका बेला आफूलाई गाउँकै मान्छेले एक किशोरी छाउगोठमा बेहोस भएको जानकारी दिएपछि बैठक स्थगित गरेर सबै जनप्रतिनिधिसहित घटनास्थलमा पुगेको उनले बताइन् ।

‘सोमबार साँझ छिमेकीको घरमा जन्मदिन मनाउन गएकी रहेछिन् । सबैले नाचगान रमाइलो गरे । सायद उनी त्यताबाट फर्केपछि महिनावारी भइन् र गोठमा गइन् । त्यही मौकामा उनीमाथि यस्तो घटना भएको हुन सक्छ । म घटनास्थल पुग्दासम्म उनी छाउगोठमा बेहोस नै थिइन् ।’ उनले आफूहरू घटनास्थल पुग्दा पनि स्थानीय भने केही थाहा नपाएजसरी चुपचाप बसेको बताइन् । भनिन्, ‘के भएको हो भनेर सोधपुछ गर्दा गाउँका महिला, पुरुष, बुढापाका सबैले पहिले नै बेहोस हुने गर्थिन् । छारे रोग हो भन्ने एकैनासको जवाफ दिए ।’ किशोरीलाई जिल्ला अस्पताल पठाएपछि जनप्रतिनिधि, प्रहरी र स्थानीयको उपस्थितिमा छाउगोठ मंगलबार नै भत्काइएको नगर प्रमुख चलाउनेले बताइन् ।

कतिसम्म भने मामाघरमा बसेर पढ्ने ती किशोरीकी हजुरआमा र उनकी छोरीलाई समेत प्रहरीले बोलाएर घटनाबारे सोधपुछ गरेको थियो । तर त्यतिबेला पनि उनीहरूले छारे रोग नै भएको बताएका थिए । छाउगोठमा बस्दा ज्यान गुमाउने, बलात्कारलगायतका यौन हिंसामा पर्ने, निसासिएर वा सर्पले टोकेर मृत्यु हुनेको संख्या यहाँ धेरै छ । यसअघि पनि बलात्कृत भएर, निसासिएर, सर्पले टोकेर १४ जना महिला तथा किशोरीले छाउगोठमा ज्यान गुमाइसकेका छन् ।

चार वर्षअघि अछाम साँफेबगर नगरपालिका–३ सिद्धेश्वरकी २० वर्षीया पावर्ती बुढा रावतको छाउगोठमा निसासिएर मृत्यु भएपछि गृह मन्त्रालयकै निर्देशनमा अछाममा १० हजारभन्दा बढी छाउगोठ भत्काइएका थिए । तत्कालीन समयमा गृह मन्त्रालयले छाउपडी कुप्रथा अन्त्य गर्न भन्दै सुदूरपश्चिम र कर्णाली प्रदेशका १९ जिल्लालाई परिपत्र गरेको थियो । गृहको परिपत्रमा निर्देशन थियो, ‘छाउगोठ भत्काउनु, जनचेतना जगाउनु र अटेर गर्नेलाई कानुनी कारबाही गराउनु ।’ सोही निर्देशनपछि पार्वतीका जेठाजु छत्र रावत पक्राउ परेका थिए भने अन्य कानुनी प्रक्रिया अगाडि बढेको थियो ।

उक्त घटनामा पार्वतीलाई छाउगोठमा बस्न बाध्य पारेको भन्दै प्रहरीले मुद्दा चलाउन खोज्दा परिवारबाटै असहयोग भएको थियो । परिवारका सदस्यबाट जाहेरी नआएपछि प्रहरी प्रतिवेदनका आधारमा मुद्दा दर्ता गरिएको थियो । अनि, जेठाजुलाई अछाम जिल्ला अदालतले छाउगोठमा बस्न बाध्य पारेको भन्दै ४५ दिन कैद सजाय सुनाएको थियो । यो घटनामा छाउगोठ बस्ने, बसाउन बाध्य पार्नेलाई ३ महिना कैद र ३ हजार जरिवाना रहेको कानुन पहिलो पटक आकर्षित भएको थियो ।

मन्त्रालयको परिपत्रअनुसार जिल्ला प्रहरी कार्यालय अछामले जिल्लाका ९१ वडाका प्रत्येक टोलमा छाउगोठ भत्काउने अभियान चलाएको थियो । स्थानीय जनप्रतिनिधि, प्रहरी र स्थानीयको संलग्नतामा अछाममा १० हजार बढी गोठ भत्काइएको थियो । तर यस्तो अभियान फेरि रोकिएको छ । २०६३ सालयता अछाममा मात्रै १४ जना महिला तथा किशोरीको छाउगोठमा मृत्यु भएको छ । गृह मन्त्रालयको आदेशमा आव ०७५/७६ देखि ०७७/७८ सम्म प्रहरीले ७ हजार ४ सय ५४ छाउगोठ भत्काएको तथ्यांक सुदूरपश्चिम प्रदेश प्रहरीसँग छ ।

प्रकाशित : असार ५, २०८१ ०७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लामो समयदेखि किसानलाई भुक्तानी नदिएका दूग्ध उद्योगीहरूले उल्टै 'मिल्क होलिडे' को चेतावनी दिएकोबारे तपाईंको भनाई के छ ?

x
×