कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९८

प्रधानमन्त्री दाहालसँग सीपीपीसीसीका उपाध्यक्ष बटरको शिष्टाचार भेट

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालसँग चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन (सीपीपीसीसी) का उपाध्यक्ष बाटरले आइतबार शिष्टाचार भेट गरेका छन् । 

प्रधानमन्त्री दाहालसँग सीपीपीसीसीका उपाध्यक्ष बटरको शिष्टाचार भेट

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा उनीहरूबीच द्विपक्षीय सम्बन्ध, आपसी सहयोग र दुई मुलुकबीच भएका विभिन्न सम्झौता र सहमति कार्यान्वयनका विषयमा छलफल भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।

भेटमा प्रधानमन्त्री दाहालले पछिल्लो समय आफ्नो चीन भ्रमणका क्रममा भएका सम्झौता क्रमशः कार्यान्वयनमा गइरहेकामा खुसी व्यक्त गरे । उनले नेपाल–चीन सीमा क्षेत्रमा रहेका परम्परागत १४ वटा नाका सञ्चालनमा ल्याउने तथा महत्त्वपूर्ण सम्झौता क्रमशः कार्यान्वयन हुँदै गएकामा चीन सरकारलाई धन्यवाद दिए ।

प्रधानमन्त्री दाहालले दुई देशबीच भएको अन्य सम्झौता पनि क्रमशः कार्यान्वयन हुँदै जाने विश्वास व्यक्त गरे । चीन र नेपाल बीचको संसदीय अभ्यासको आदानप्रदान आगामी दिनमा थप विस्तार तथा निरन्तरता दिने गर्ने बारेमा पनि उनीहरूबीच छलफल भएको थियो ।

उक्त अवसरमा सीपीपीसीसीका उपाध्यक्ष बाटरले नेपालसँगको सम्बन्धलाई चीनले उच्च महत्त्व दिँदै आएको र आगामी दिनमा थप अभिवृद्धि हुने विश्वास दिलाए ।

भेटमा नेपालका तर्फबाट प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार रुपक सापकोटा, प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्ल र परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाल सहभागी थिए भने चिनियाँ तर्फबाट त्यहाँको कृषि तथा ग्रामीण क्षेत्रसम्बन्धी समितिका उपाध्यक्ष छिटला र नेपालका लागि चिनियाँ राजदूत छन सोङलगायत सहभागी थिए ।


प्रकाशित : असार २, २०८१ १७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?