कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

जसपा, नेपाल विभाजन भएको छैन : अध्यक्ष यादव

'राज्यले आफ्नो स्रोत, साधन र शक्ति प्रयोग गरेर हाम्रा केही पार्टीका नेताहरूलाई मोहरा मात्र बनाइएको हो । त्यसलाई विभाजन भन्न मिल्दैन । उहाँहरूको नीतिगत मतभेद, राजनीतिक विचारमा मतभेद, सैद्धान्तिक मतभेद केही छैन'

जनकपुर — जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आफू नेतृत्वको पार्टी विभाजन नभएको जिकिर गरेका छन् । शनिबार जनकपुरमा पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष यादवले जनता समाजवादी पार्टी, नेपाल विभाजन नभएको जिकिर गरेका हुन् । 

जसपा, नेपाल विभाजन भएको छैन : अध्यक्ष यादव

राज्यको स्रोत, साधन र शक्ति प्रयोग गरेर केही सांसदहरूलाई चोइट्याइए पनि पार्टी यथावत रहेको यादवले बताए । केही नेताहरूलाई राज्यले मोहरा बनाएर चोइट्याउनुलाई विभाजन भन्न नमिल्ने उनको तर्क थियो । उनले कुनै राजनीतिक तथा सैद्धान्तिक मतभेद नभएको भन्दै मन्त्री बन्न र धन कमाउन नेताहरू चोइटिएका आरोप लगाए ।

‘स्रोत, साधनको दुरुपयोग गरेर, निर्वाचन आयोगलाई समेत घोक्रेठ्याक लगाएर राति निवेदन दिने अनि बिहानै दर्ता गर्ने यस्तो नेपालको इतिहासमा कहिल्यै भएको थिएन । घोक्र्याएर पार्टी फुटाइयो भनेर जुन प्रचार गरियो त्यो अत्यन्त निन्दनीय र गलत कार्य हो । यहाँहरूलाई पनि थाहा भएकै कुरा हो, सिन्धुलीमा प्रधानमन्त्री स्वयंले जसले यो संविधान रक्षा गर्छु, लोकतन्त्र रक्षा गर्छु भनेर कसम खाएर शपथ लिएका व्यक्तिले मैले जसपालाई फुटाए, सत्ता टिकाउनलाई 'गरेँ' भनेर घोषणा नै गर्नुभयो,' यादवले भने, 'आफ्नो त्यसले के देखिन्छ भने राज्यको स्रोत, साधन र शक्ति लागेर केही सांसद, केही व्यक्तिलाई लगेको हो । पार्टी यथावत नै छ । यो धनुषामा पनि एकजना मान्छे छैन होला जो गएको होला । पार्टी होइन केही व्यक्ति चोइटाएर लगेका हुन् ।'

राज्यशक्ताको दुरुपयोग गरेर नेताहरूलाई मोहरा बनाइएको यादवको भनाइ थियो । 'राज्यले आफ्नो स्रोत, साधन र शक्ति प्रयोग गरेर हाम्रा केही पार्टीका नेताहरूलाई मोहरा मात्र बनाइएको हो । त्यसलाई विभाजन भन्न मिल्दैन । उहाँहरूको नीतिगत मतभेद, राजनीतिक विचारमा मतभेद, सैद्धान्तिक मतभेद केही छैन । अनि किन त भन्दाखेरी कोही मन्त्री बन्न, कोही मन्त्री बनेर राम्रो मन्त्रालय पाउन, कोही धन भित्र्याउन भन्दा बढी केही लक्ष्य छैन,’ उनले भने ।

अध्यक्ष यादवले आगमी दिनमा संघीयता तथा समावेशीता पक्षधरहरूसँग सहकार्य र गठबन्धन हुनसक्ने बताए ।

प्रकाशित : जेष्ठ २६, २०८१ १७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एसईई परीक्षाको नतिजामा ५२ प्रतिशत विद्यार्थी नन्‌ग्रेडिङ (एनजी) मा पर्नुको कारण के होला ?

x
×