'छुवाछुत भेदभाव अहिलेसम्म, मान्छे मारिने कहिलेसम्म ?' 

जेष्ठ १०, २०८१

कान्तिपुर संवाददाता

'Untouchable discrimination so far, how long will people be killed?'

काठमाडौँ — अन्तरजातिय प्रेम सम्बन्धका कारण रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८ सोतीमा नवराज विकसहित ६ जना युवाहरुको हत्या भएको दिनलाई स्मरण गर्दै बिहीबार जात व्यवस्थाविरुद्ध विद्रोह दिवस मनाइएको छ । दिवसका सन्दर्भमा काठमाडौंसहित देशका विभिन्न जिल्लाहरुमा विरोध प्रदर्शन, र्‍याली र सचेतनामूलक कार्यक्रमहरु भएका छन् । 

काठमाडौंमा जात व्यवस्था उन्मूलन मोर्चाको अगुवाइमा विरोध प्रदर्शन र फोटो प्रदर्शनी भएको छ । विभेदकारी जात व्यवस्थाको अन्त्यको माग गर्दै दलित समुदायका युवा, अधिकारकर्मी र मानवअधिकारवादीहरुले माइतीघरमा प्रदर्शन गरेका छन्  । उनीहरुले 'मान्छे मार्न पाइदैन, जात व्यवस्था चाहिदैन', 'छुवाछुत भेदभाव अहिलेसम्म, मान्छे मारिने कहिलेसम्म ?' लगायत विभिन्न प्ले-कार्डहरु प्रदर्शन गरेका थिए ।

एकीकृत दलित मुक्ति मोर्चा नेपालका संयोजक दर्शनकुमार नेपालीले जेठ १० को त्यो घटनालाई सामाजिक न्यायका पक्षधरहरुले कहिल्यै भुल्न नसक्ने बताए । 'जात व्यवस्थाकै कारण भएको रुकुम हत्या काण्ड मानव समुदायका लागि इतिहासमै सबैभन्दा ठूलो कलंक हो । यो कहिल्यै भुल्न सकिने घटना होइन,' उनले भने, 'हामीले यो दिनलाई जात व्यवस्थाविरुद्धको विद्रोह दिवसकारुपमा मनाउन प्रारम्भ गरेका छौँ ।'

सो क्रममा जात व्यवस्थाका कारण भएका घटनाहरु झल्किने फोटो प्रदर्शनीसमेत गरिएको थियो । जातीय भेदभावका कारण रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोती ठाउँमा ६ जना युवाको ज्यान जाने गरी भएको घटनाको चार वर्ष पूरा भएको छ। १० जेठ २०७७ मा सोती गाउँमा आफ्नी प्रेमिकालाई भगाएर विहे गर्न गएका २१ वर्षीय नवराज विक र उनका साथीहरूलाई गाउँले मिलेर कुटपिट र हत्या गरी भेरीमा बगाइदिएका थिए। कथित उच्च जातकी युवतीसँग विवाह गर्न लागेको भन्दै उनकी प्रेमिकाका आफन्त र गाउँले मिलेर नवराजसहित उनका साथीहरूलाई कुटपिट र हत्या गरेका थिए।

घटनामा नवराजसहित चार दलित र दुई गैरदलित गरी छ जना युवाको ज्यान गएको थियो भने ११ जना नवराजका साथीहरू घाइते भएका थिए। सो हत्याकाण्डमा ३४ जनाविरु४ सामुहिक हत्या, जातीय छुवाछुत तथा भेदभाव लगाएको अभियोगमो मुद्दा दायर गरिएको थियो। जिल्ला अदालत रुकुम पश्चिमले २०८० पुस ५मा उनीहरूमध्ये २४ जनालाई जन्मकैदको फैसला सुनाएको थियो भने आठ जनालाई सफाई दिएको थियो।

'Untouchable discrimination so far, how long will people be killed?'

अदालतले विककी प्रेमिका र उनकी आमालाई जातीय छुवाछुतको कसुरमा दुई वर्षको कैद र ५०,००० रुपैयाँ जरिवाना तोकेको थियो। घटनामा परेर जाजरकोटको भेरी नगरपालिका–४ का नवराज विकसहित उनका साथीहरू गणेश बुढा, लोकेन्द्र सुनार, सञ्जीव विक, गोविन्द शाही र रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका टीकाराम नेपालीले ज्यान गुमाएका थिए। जेठ १० को साँझ ५ बजेतिर भएको घटनाको अर्को दिनबाट भेरी नदीमा शव भेटिन सुरु भएको थियो।

घटनाबारे गृह मन्त्रालयले गठन गरेको सहसचिव नेतृत्वको छानबिन समिति, राष्ट्रिय मानवअधिकार आयोगले केन्द्रबाट पठाएको अनुसन्धान टोली र स्थानीय प्रहरी प्रशासनले अनुसन्धान गरेका थिए। राष्ट्रिय मानवअधिकार आयोगले आफ्नो अनुसन्धानमा उक्त घटनाको प्रमुख कारण जातीय भेदभाव र छुवाछुत भएको निष्कर्ष निकालेको थियो।

विभिन्न सामाजिक संघसंस्था, मानवअधिकारकर्मी र पत्रकारहरूले पनि घटनाको स्थलगत अवलोकनपछि जातीय भेदभावकै कारण घटना भएको निष्कर्ष निकालेका थिए। 

कान्तिपुर

Link copied successfully