कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

प्रेस स्वतन्त्रताको सुनिश्चितता गर्न माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौँ — कान्तिपुर मिडिया ग्रुपको कार्यालयमै बर्दीसहितका हतियारधारी प्रहरी प्रवेश गरी सञ्चारकर्मीहरुलाई तर्साउने काम भएको भन्दै पत्रकारहरुले माइतीघरमा विरोध प्रदर्शन गरेका छन् ।

प्रेस स्वतन्त्रताको सुनिश्चितता गर्न माग गर्दै माइतीघरमा प्रदर्शन

बुधबार अपरान्ह नेपाल प्रेस युनियन उपत्यका प्रदेशको आह्वानमा पत्रकारहरुले प्ले-कार्डसहित विरोध प्रदर्शन गरेका हुन् ।

मंगलबार ग्रुपको थापाथलीस्थित कार्यालयमा ठूलो संख्यामा बर्दीसहितका हतियारधारी प्रहरी प्रवेश गरी अध्यक्ष सिरोहियालाई पक्राउ गर्ने नाममा संचारकर्मीलाई त्रसित बनाउने, संचारगृहमा आतंक सृजना गर्ने र स्वतन्त्र प्रेसलाई नियन्त्रणमा राख्ने प्रतिशोधपूर्ण व्यवहार सरकारबाट प्रदर्शन गरिएकोमा आफूहरुको खेद रहेको प्रेस युनियनका उपत्यका प्रदेश अध्यक्ष लिलाराज खनालले बताए ।

प्रदर्शनका क्रममा नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले सरकारले प्रतिसोध साँधेर सञ्चारकर्मीहरुलाई तर्साउने कार्य गरेको भन्दै विरोध जनाए । उनले सरकारले संविधानप्रदत्त प्रेस स्वतन्त्रताको अधिकारको सुनिश्चित नगरे आफूहरुले चुप लागेर नबस्ने बताए ।

प्रदर्शनका क्रममा बोल्दै नेपाल प्रेस युनियनका उपाध्यक्ष नकुल अर्यालले सत्ताको शक्तिले सञ्चार क्षेत्रको मनोबल गिराउन नसक्ने बताए ।

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई प्रतिशोधपूर्ण ढंगले पक्राउ गरिएको भन्दै उपाध्यक्ष अर्यालले विगतमा कलम बोकेका गृहमन्त्रीले अहिले कलमविरुद्ध बन्दुक बोक्ने दुष्प्रयास गरेको आरोप लगाए । ‘कुरो कैलाश सिरोहियाको होइन, कुरो कान्तिपुरको मात्रै पनि होइन, कुरो नियतको हो । आफ्ना कमजोरी लुकाउन नेपाली मिडियामाथि नियतवश प्रहार गर्ने काम सत्ताले सुरु गरेको छ । सत्ताको बन्दुकसँग पत्रकारको कलम कदापि झुक्दैन’, उनले भने ।

उनले विगतमा रवि लामिछाने पत्रकारितामै रहँदा आत्महत्या दुरुत्साहनको गम्भीर मुद्दामा पक्राउ पर्दासमेत प्रेस युनियनले विरोध गरेको स्मरण गराउँदै कलमविरुद्ध बन्दुक नबोक्न गृहमन्त्री रविलाई चेतावनी दिए ।

सो क्रममा पत्रकारहरुले 'सञ्चारकर्मीलाई तर्साउने काम बन्द गर, संविधान प्रदत्त प्रेस स्वतन्त्रताको सम्मान गर' लगायतका नाराहरु लेखिएका प्ले-कार्डसहित प्रदर्शनमा उत्रिएका थिए ।

प्रकाशित : जेष्ठ ९, २०८१ १८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१० प्रतिशत अग्रिम आयकरको व्यवस्थाले खाद्यान्न आयात बन्द भइ कालोबजारी सुरु भएकोमा के भन्नुहुन्छ ?