कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

शितगंगाको नीति तथा कार्यक्रम : युवालाई रोजगारी सृजना गर्ने प्राथमिकतामा 

अर्घाखाँची — क्षेत्रफलका हिसाबले देशकै ठूलो अर्घाखाँचीको शितगंगा नगरपालिकाले कृषि, पर्यटन, रोजगार, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्दै शुक्रबार नीति तथा कार्यक्रम ल्याएको छ । 

शितगंगाको नीति तथा कार्यक्रम : युवालाई रोजगारी सृजना गर्ने प्राथमिकतामा 

१५ औं नगरसभा तथा प्रथम अधिवेशनमा नगर प्रमुख छविलाल पौडेलले नगरभित्र बाँझो रहेका खेतीयोग्य जमिनमा कृषि फार्म सञ्चालन गरेर कृषकलाई आधुनिक कृषि उत्पादन पद्धतिसम्बन्धी ज्ञान, सीप सिकाएर उत्पादन बढाउने र सञ्चालित फार्मबाट स्थानीयस्तरमा युवाका लागि रोजगारीका अवसर सृजना गर्ने बताए । त्यसका लागि नगरको १४ वडामध्ये केही ठाउँका बाँझिएको जग्गामा कृषि फार्म खोल्ने, त्यहाँ कृषि प्राविधिक राखेर कृषकलाई तालिम दिने र फार्मबाट थुप्रैलाई कृषि उद्यमबाटै गाउँमा रोजगारीका अवसर सृजना गर्ने, मोसमी तथा बेमौसमी तरकारी उत्पादन बढाउने तथा विदेश जाने युवालाई उत्पादनमा जोड्ने लक्ष्य रहेको छ ।

कृषकले उत्पादन गरेका वस्तुलाई नगरले बजारीकरणको सुनिश्चितता गर्ने नीति अघि सारेको छ । घरेलु कम्पोष्ट मल तयार गरिनेछ । त्यस्तै मौरीपालन क्षेत्रको थप विकास गर्दै स्थानीय महलाई ब्रान्डिङ गरी आयआर्जन तथा रोजगारी वृद्ध गर्ने उनले बताए । मह शितगंगाको जलुके, जुकेना, ठाडामा बढी उत्पादन हुन्छ । ठाडाको सानादहमा निर्माण भएको शितभण्डारलाई सञ्चालन गर्ने, कृषि, पशुपालन, फलफूल खेतीलाई प्रोत्साहन गरिने उनले बताए । यस क्षेत्रमा राम्रो उत्पादन हुने अदुवा, बेसार, अलैंची, टिमुर, दालचिनीसहित मसालजन्य बालीको उत्पादन गर्ने र प्रशोधन उद्योग स्थापना गरी बजारीकरण सुनिश्चितता गर्न संघ र प्रदेश सरकारसँग सहकार्य गर्ने नीति तथा कार्यक्रम अघि सारिएको छ ।

त्यस्तै दूध, माछा, मासु उत्पादनमा नगरलाई आत्मनिर्भर बनाउने, सूर्यओडारलाई लुम्बिनी र तिलौराकोट जोड्ने गरी सर्किट निर्माण पर्यटनको विकास गर्ने र वडा १२ मा रहेको अमिता वनवाटिकालाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने पोडेलले बताए ।

त्यस्तै वडा १, २ देखि ३, ५ र ६ सम्म जोड्ने पर्वतमालाको विकास र साउनेथुम वाइट वाललाई पर्यटकीय गन्तव्य बनाउने उनले बताए । स्थानीय उत्पादन हुने मौवाको मदिरालाई ब्रान्डिङ गरेर रोजगारी सृजना गर्ने लक्ष्य छ । ७० वर्ष माथिका सबै ज्येष्ठ नागरिक, अपांग भएको घरमै पुगेर स्वास्थ्य परीक्षण गर्ने, शैक्षिक गुणस्तर सुधार अभियान सञ्चालन गर्ने र माध्यमिक तहका विद्यार्थीलाई पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । सबैका घरमा खानेपानी, पूर्वाधार विकास, सुशासन कायम राख्नेजस्ता कार्यक्रम अघि सारिएको छ ।

प्रकाशित : असार ७, २०८१ २१:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नवगठित केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ममा चयन भएका मन्त्रीहरु कस्तो लाग्यो ?

×