कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

सुवासले जोगाए प्रिमियर गल्फ उपाधि

काठमाडौँ — डिफेन्डिङ च्याम्पियन सुवास तामाङले सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि रक्षा गरेका छन् ।

सुवासले जोगाए प्रिमियर गल्फ उपाधि

सुवासले शुक्रबार भुवन नगरकोटी र नीरज तामाङलाई दुई स्ट्रोकले हराएर उपाधि जिते । ४ अन्डर ६८ को कार्ड बनाएका सुवासले समग्रमा १६ अन्डर २ सय ७२ स्कोरसहित ट्रफी उचाले । प्रोफेसनल खेलाडी बनेपछि सुवासको यो पहिलो उपाधि हो । उनले २ लाख ७५ हजार रुपैयाँ प्राप्त गरे । सूर्य नेपाल गल्फ टुरमा सुवासको यो समग्रमा छैटौं उपाधि हो ।

समग्रमा १४ अन्डर २ सय ७४ को स्कोरमा नीरज र भुवनले संयुक्त दोस्रो स्थान ओटगेका थिए । नीरजले ५ अन्डर ६७ र भुवनले ३ अन्डर ६९ को स्कोर बनाए । उनीहरूले जनही १ लाख ४८ हजार ५ सय रुपैयाँ पुरस्कार पाए । दिनेश प्रजापति १ अन्डर ७१ सहित समग्रमा १२ अन्डर २ सय ७६ को स्कोरमा चौथो भए । उनले १ लाख २ हजार जिते ।

समग्रमा ६ अन्डर २ सय ८२ को नतिजामा तोरणविक्रम शाही पाँचौं भएर ८८ हजार जिते । उनले इभन पार ७२ मा खेल सके । २ अन्डर २ सय ८६ को स्कोरमा छैटौं भएका सञ्जय लामाले शुक्रबारको खेल २ अन्डर ७० मा टुंग्याए । उनले ८० हजार पुरस्कार हात पारे ।

समग्रमा इभन पार २ सय ८८ सहित टंकबहादुर कार्की र जयराम श्रेष्ठ सातौं भए । टंकले ३ अन्डर ६९ र जयरामले ४ ओभर ७६ मा खेल सके । उनीहरूले जनही ७१ हजार ५ सय पाए । समग्रमा १ ओभर २ सय ८९ को स्कोरमा रवि खड्का नवौं र ६ ओभर २ सय ९४ सहित रामे मगर दसौं भए । रविले शुक्रबार ३ अन्डर ६९ र रामेले २ ओभर ७४ मा खेल सकेका थिए । रविले ६४ हजार र रामेले ५९ हजार पाए ।


एमेच्योरतर्फ ८ अन्डर २ सय ८० को स्कोरमा विजय श्रेष्ठलाई दुई स्ट्रोकले हराएर सद्भाव आचार्यले उपाधि जिते । उनले १ ओभर ७३ को स्कोर बनाए । १ अन्डर ७१ खेल्दै विजय समग्रमा ६ अन्डर २ सय ८२ सहित दोस्रो भए । समग्रमा २ अन्डर २ सय ८६ को स्कोरमा तेन्जिङ पाल्देन तेस्रो भए । उनले‌ २ अन्डर ७० खेले ।

अन्तिम दिनको सुरुआत गर्दा सुवास र भुवनबीच कडा प्रतिस्पर्धा चल्यो । दोस्रो होलको बोगीविरुद्ध पहिलो र तेस्रो होलको बर्डीले सुवासले फ्रन्टनाइन १ अन्डर ३५ मा सके । भुवनले दोस्रो र आठौं होलमा एक–एक शट खेर फाले भने तेस्रो, छैटौं, सातौं र नवौं होलमा बर्डी प्रहार गरे । फ्रन्टनाइन २ अन्डर ३४ मा सके । त्यो खेल सकिँदा सुवास र भुवन कुल १३ अन्डरको स्कोरमा बराबरीमा थिए ।

यसपछि दसौं होलमा भुवनले उत्कृष्ट चिप पटमा बर्डी प्रहार गरेर एक स्ट्रोकको अग्रता बनाए । ११ औं होलमा सुवासको टी सट पानीमा खस्यो । यो होलमा उनले बोगी खेपे । भुवनले भने बर्डी प्रहार गर्दै २ स्ट्रोकको अग्रता बनाए । तर यो अग्रता सुवासले १२ औं होलमा एक स्ट्रोकमा झारे । सुवासले उत्कृष्ट चिप गर्दै इगलको सफलता प्राप्त गरे । भुवनले भने बर्डी प्रहार गरे । यसपछिका ४ होलमा दुवैले बराबरी खेले ।

एक स्ट्रोकले अगाडि रहेका भुवनको लागि १७ औं होल हारको कारण बन्यो । उनको अप्रोच शट रूखमुनि पुग्यो र डबल बोगी खेपे । सुवासले पार बचाउँदै एक स्ट्रोकको अग्रता बनाए । अन्तिम होलमा बर्डी प्रहार गर्दै सुवासले २ स्ट्रोकले उपाधि जिते । उनले ब्याकनाइन ३ अन्डर ३३ मा र भुवनले १ अन्डर ३५ मा पूरा गरे ।

नीरजले सातौं होलको बर्डीले फ्रन्टनाइन १ अन्डर ३५ मा सकाए । यसपछि १०, १२, १४ र १८ औं होलको बर्डीले ब्याकनाइन ४ अन्डर ३२ मा पूरा गर्दै बोगी फ्री स्कोर कार्ड बनाए ।

पुरस्कार राशिको आधारमा सिजनकै ठूलो प्रतियोगितामा १५ लाख ५० हजार पुरस्कार राशि प्रदान गरिएको थियो ।

यो सिजनको कुल आठ प्रतियोगितामध्ये एमेच्योर सद्भाव आचार्यले दुई तथा प्रो दिनेश प्रजापति, शुक्रबहादुर राई, भुवन नगरकोटी, रवि खड्का, नीरज तामाङ र सुवास तामाङले एक–एक उपाधि जितेका छन् ।

विजयी खेलाडीलाई प्रायोजक सूर्य नेपाल प्रालिका म्यानेजिङ डिरेक्टर रवि रायवरम र एनपीजीएका अध्यक्ष रवीन्द्रमान श्रेष्ठले पुरस्कार वितरण गरे । सूर्य नेपाल प्रिमियर गल्फको प्रो एम शनिबार हुनेछ ।

प्रकाशित : असार ७, २०८१ २१:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नवगठित केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ममा चयन भएका मन्त्रीहरु कस्तो लाग्यो ?

×