२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४३

देशैभर आगलागी र डढेलो

आगलागीले बस्ती नै सखाप हुदा पीडितलाई गासबासको चिन्ता, ७४ जिल्लामा १ हजार ४ सय ११ वटा आगलागीका घटना

महोत्तरी, सप्तरी र काठमाडौं — आगलागीले सखाप बनाएको उजाड बस्तीमा बेला बेला हुरी चल्दा खरानी उडेर मुखसम्मै आइपुग्छ । तैपनि महोत्तरीको मटिहानी–६ जरलहवागाछीका ८० वर्षीय इलिहास अन्सारीलाई बस्तीभन्दा पर जान मन लाग्दैन ।

देशैभर आगलागी र डढेलो

बस्तीसँग उनको दुई दशकदेखिको आत्मियता गाँसिएको छ । गत वैशाख १२ मा आगलागीले अन्सारीको सहित बस्तीका १ सय ३ घर जलेर ध्वस्त भए । विपद व्यवस्थापन समिति र पालिकाले आगलागीपछि सुरक्षित स्थानमा सार्ने प्रयत्न गर्दा पनि यहाँका बासिन्दा बस्ती छाड्न मानीरहेका छैनन् । हरेक बिहान बेलुका के खाने र कसरी रात कटाउने भन्ने चिन्ताबीच पनि इलिहासलाई जलेको बस्तीको मायाले सताइरहेको छ ।

‘७ धुरमा घर थियो, सबै खरानी भयो,’ अन्सारीले भने, ‘अब कहाँ जाने?’ गुठी संस्थानको जग्गामा घर बनाएर बसेका अन्सारीजस्तै पीडितहरु अन्य ठाउँमा स्थानान्तरण भएमा त्यही जग्गा पनि गुम्ने त्रासमा छन् । ६ धुरमा बनेको फुसको घरमा गुजारा चलाइरहेकी ६० वर्षीया मफिदा खातुन अब केही नबचेको सुनाउँछिन् । ‘सरकारले दुखीलाई हेर्छ भन्ने सुनेको छु,’ उनले भनिन्, ‘हामीलाई अब आफैं बसेको ठाउँमा घर बनाइदिनपर्‍यो सरकार ।’

बस्ती छोड्न नमानेका धेरैजसो अहिले त्रिपालमुनी कष्टकर रात गुजारिरहेका छन् । मटिहानीका नगर प्रमुख हरिप्रसाद मण्डल स्थायी बासको व्यवस्था कसरी गर्ने भन्नेमा निष्कर्षमा पुगिनसकेको बताउँछन् । गुठी संस्थान भने अब त्यही ठाउँमा बस्ती नबसाउने योजनामा छ । स्थानीयलाई पटक-पटक हटाउने कोसिस गर्दा पनि नसकेको संस्थानले अब उक्त जग्गामा घरटहरा बनाउन नदिने गुठी संस्थान महोत्तरीका प्रमुख किशोरकुमार झाले बताए ।

मटिहानीको जस्तै दुःखको कथा छ, सप्तरीको महादेवा गाउँपालिका–१ मा पनि । मंगलबार दिउँसो सल्केको आगोले यहाँको यादव, मुसहर र सरदार टोलका ६२ परिवारका १ सय २० घर जले । पीडितहरु त्रिपालमुनी रात बिताउन बाध्य छन् । श्रीमान्‌ले पञ्जाबमा काम गरेर पठाएको पैसा र जीवनभर दुःख गरेर जोडेको सरसामान आगोले खरानी बनाएको चिमटी गाउँकी सोनिला सदाले बताइन् । ‘एक टुक्रा पनि केही निकाल्न सकिनँ’ उनले भनिन् ।

चिमटी गाउँका अधिकांश पीडितको अवस्था सोनिलाकै जस्तो छ । कतिपयको आङमा एकजोर कपडा समेत देख्न मुश्किल छ । पालिका र जिल्ला प्रशासनले पीडितहरुको ब्यवस्थापन भईरहेको बताएपनि कैयौं पीडितले पाल समेत नपाएपछि मंगलबारको रात खुला आशाकमुनी नै काटे । ‘घरमा आगो लागेर दिनभरी तवाह भए, राति भोकै बिताइयो,’ पीडित रामकुमारी सदाले भनिन्, ‘बुधबार बिहानैदेखिको चर्को घाम छल्न कठिन भयो ।’

आगलागी पीडित मुसहर बस्तीका अधिकांश पुरुष कमाउनका लागि पंजाब गएका छन् । रामकुमारीका पति उपेन्द्र सदा पनि १५ दिनअघि मात्र कामको खोजीमा पञ्जाब गएका छन् । ३ छोरा र एक छोरी घरमै रहेकी रामकुमारीको आगलागीमा घरसहित सरसामान जल्दा छाक टार्न र शरीर ढाक्ने लुगा समेत अभाव भएको बताइन् । ‘घर त खरानी भयो नै, अन्न र बस्त्र पनि बचाउन सकिएन,’ पीडित भुपेन्द्र यादवले भने, ‘जिविका चलाउनका लागि ट्रयाक्टर र थ्रेसर थियो त्यो पनि जल्यो ।’

सप्तरीका प्रमुख जिल्ला अधिकारी किरण थापाले स्थानीय तह, रेडक्रस र अन्य संघसंस्थाको सहयोगमा पीडितको व्यवथापन भइरहेको दाबी गरे । बुधबार भएको जिल्ला विपद् व्यवस्थापन समिति बैठकले खाद्यसामग्रीको व्यवस्थापन पालिकाले, बास र गैरखाद्य सामग्रीको व्यवस्था रेडक्रस, उद्योग वाणिज्य संघ र इच्छुक संघसंस्थाको समन्वयमा गर्ने निर्णय गरेको छ । राहत वितरण एकद्वार प्रणाली अन्तर्गत जिल्ला प्रशासनको समन्वयमा गर्नुपर्ने निर्णय समेत भएको छ ।

७४ जिल्लामा आगलागी

गृह मन्त्रालयको विपद् पोर्टलको अभिलेख अनुसार गत चैत १८ देखि बुधबारसम्म एक महिनामा ७४ जिल्लामा १ हजार ४ सय ११ वटा आगलागी (वनडढेलो सहित) का घटना भएका छन् । सबैभन्दा बढि लुम्बिनीमा ३९९, कोशीमा ३२६ र मधेश प्रदेशमा २८१ स्थानमा आगलागी भएको छ । बागमतीमा १३८, कर्णालीमा १०४, गण्डकीमा ९३ र सुदुरपश्चिम प्रदेशमा ७० स्थानमा आगलागी भएको छ । यस अवधिमा आगलागीमा परेर २५ जनाको मृत्यु भएको छ भने ९० घाइते भएका छन् । ६ सय ८३ वटा घरगोठ र ९ सय ६४ पशुचौपाया जलेर नष्ट भएका छन भने आगलागीबाट देशभर ५२ करोड ८३ लाख ८० हजार रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गका अनुसार लामो समयदेखि खडेरी, तापक्रम वृद्धिका कारण देशैभर आगलागी फैलिएको हो । ‘दुई सातादेखि तराई क्षेत्रमा तातो हावाको लहर चलेको छ, लुम्बीनीको तराईका जिल्लामा तापक्रम ४० डिग्री सेल्सियससम्म पुगेको छ,’ प्रधानांगले भने । आगलागी कम हुन बर्षा नै कुर्नुपर्ने तर तत्कालै वर्षाको सम्भावना नभएकाले जोखिम कायमै रहेको उनको भनाइ छ । ‘हामी आगामी तीन दिनको मौसम पुर्वानुमान गर्छौ, त्यतिन्जेलसम्म बर्षा हुने सम्भावना देखिदैन,’ उनले भने, ‘बर्षा नभइकन प्राकृतिक आगलागी नियन्त्रण हुदैन ।’

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव एवम् प्रवक्ता डिजन भट्टराई अघिल्ला बर्षभन्दा यसबर्ष आगलागी बढेको बताउँछन् । ‘ग्रामिण भेगबाट मानिसहरु शहरमा सरेको कारण वनजंगलजन्य घाँसपात, दाउरा, सोत्तर, पत्तिङगर, ठुटामुढाहरु प्रयोगमा नआएकाले आगोलागी फैलियो,’ उनले भने ।

नेपालमा आगलागी बर्षेनी दोहोरिने विपद् बनेको छ । गृह मन्त्रालयको राष्ट्रिय आपतकालिन कार्यसञ्चालन केन्द्रका अनुसार पछिल्लो एक दशकमा आगलागीका घटनाको बार्षिकदर झण्डै चार गुणाले बढेको छ । आव ०७०/०७१ मा देशभर आगलागीका घटना संख्या ९६८ थियो । गएको एक बर्षभरमा ३ हजार ८ सय १४ आगलागीका घटना भएका थिए । पछिल्लो एक दशकमा देशैभरी २० हजार ५ सय १८ वटा आगलागीका घटना भएका थिए । यो अवधिमा आगलागीमा परेर ७ सय ९५ जनाको मृत्यु भएको छ । २ हजार ७ सय ४२ जना घाइते भएका छन् । कुल अनुमानित २२ अर्ब १६ करोड ८७ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

डढेलो र गहुँका छ्वालीजस्ता कृषि अवशेषहरू जलाउने क्रम बढेकाले काठमाडौं सहित देशका विभिन्न भागमा अघिपछिभन्दा वायु प्रदूषण समेत उच्च भएको वायु गुणस्तर विज्ञ डा. भूपेन्द्र दासले बताए । स्वास्थ्य समस्या हुन नदिन वा जोगिन सकेसम्म घरबाहिर ननिस्कन चिकित्सकहरुको सुझाव छ । निस्कनै परे एन–९५ मास्क लगाएर निस्कने, घरभित्र बस्दा झ्यालढोका बन्द गरेर बस्ने, बिहानको समयमा काठमाडौं उपत्यकामा वायु प्रदूषण बढी हुने हुँदा मर्निङ वाक सकेसम्म जान नहुने उनी सुझाउँछन् ।

प्रकाशित : वैशाख १९, २०८१ २२:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?