२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७५

शरणार्थी, सुन र सहकारी ठगीमा मुछिएका दीपेशलाई सर्वत्र उन्मुक्ति

नक्कली भुटानी शरणार्थी प्रकरण, सुन तस्करी र सहकारीको बचत अपचलनजस्ता बेथितिका प्रकरणमा दीपेश पुन मुछिएका छन् । उनीसँग जोडिएका कोही कारागार छन्, कोही धरौटीमा छन् भने कोही फरार । तर, दीपेशमाथि गम्भीर अनुसन्धानसमेत भएन । 

काठमाडौं, बुटवल, पोखरा — भुटानी शरणार्थी, सुन तस्करी वा सहकारी ठगी । देशका कुनै पनि बदनाम प्रकरणमा सधै नाम जोडिएर आउने एउटा नाम हो– दीपेश पुन । तर उनीमाथि गम्भीर अनुसन्धान भएको छैन किनकि उनी सत्तारूढ माओवादीनिकट अखिल क्रान्तिकारीका महासचिव हुन् । त्यति मात्र होइन, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोराको हैसियतमा बेथिति मच्याएका उनलाई सबैजसो खतमा माफीजस्तै छ । 

शरणार्थी, सुन र सहकारी ठगीमा मुछिएका दीपेशलाई सर्वत्र उन्मुक्ति

भुटानी शरणार्थी र सुन तस्करी प्रकरणमा अरू नेताका छोराहरू पनि मुछिएका थिए । पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक, एमाले नेता टोपबहादुर रायमाझीका छोरा सन्दीप र पूर्वउपराष्ट्रपति पुनका छोरा दीपेश । प्रतीक फरार छन् भने सन्दीप जेलसमेत परे । तर, दीपेशमाथि सूक्ष्म अनुसन्धान नगरी उन्मुक्ति दिइएको छ । जबकि शरणार्थी प्रकरणमा पक्राउ परेका अभियुक्तद्वय इन्द्रजित राई र सन्दीपले अनुसन्धानका क्रममा दीपेशको पनि नाम लिएका थिए ।

शरणार्थी प्रकरणको अनुसन्धान गरेका एक प्रहरी अधिकृत भन्छन्, ‘त्यसबेला पक्राउ परेका केही प्रतिवादीले दीपेशको नाम किटेका थिए । त्यहीबेला अर्का अभियुक्त प्रतीक फरार भए,’ ती अधिकृत भन्छन्, ‘यो प्रकरणमा दीपेश एक सन्दिग्ध पात्र त हुन् नै, प्रतीक पक्राउपछि यसको भेद अझै खुल्छ । उनीमाथि अरू कसुरसँग जोडेर सूक्ष्म अनुसन्धान आवश्यक देखिन्छ ।’

शरणार्थी प्रकरणमा ४ वटा कसुरमा ३० जनाविरुद्ध दायर भएको मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ । पछिल्लो पटक सन्दीपसहित केही अभियुक्त उच्च अदालत पाटनको आदेशमा धरौटीमा छुटेका छन् । मुद्दाको किनारा अदालतबाट लाग्न बाँकी नै छ । दीपेशमाथि अनुसन्धान नभएको अर्को विषय हो– सुनतस्करी । माओवादी उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल चिनियाँ गिरोहसँग मिलेर सुन तस्करी गरेको अभियोगमा पुर्पक्षका क्रममा कारागारमा छन् । गिरोहका नाइके दावा छिरिङसँग पटक पटक फोन संवाद भएको समेत आधारमा अनुसन्धान गरी राहुललाई प्रहरीले पक्राउ गरेको हो । तर, लगातार फोन संवाद गरेको प्रमाण भेटिए पनि दीपेशमाथि भने गम्भीर अनुसन्धान भएन ।

सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले दीपेशसँग सोधपुछ गरेको थियो । पक्राउ परेका तस्करसँग आफ्नो सम्पर्क रहेको दीपेशले स्विकारेका थिए । अनुसन्धान क्रममा दीपेश र सुनतस्कर दावा छिरिङसँग उनको सम्बन्ध रहेको समेत स्थापित भइसकेको छ । हाल फरार रोल्पाकी अमला रोका र पुर्पक्षमा जेलमा रहेका चिनियाँ तस्कर दावा छिरिङसँग आफ्नो सम्पर्क र चिनजान रहेको विषय दीपेशको ‘बयान कागज’ मै उल्लेख छ ।

‘मैले पक्राउ परेका दावा छिरिङलाई चिन्दछु । कहिलेकाहीँ फोन सम्पर्क हुने गरेको थियो,’ भनेर स्वीकार गर्दा थप अनुसन्धानमा सीआईबी प्रवेश नै गरेन । अमला रोकामार्फत चिनियाँ तस्करले माओवादी नेतासँग सम्बन्ध बनाएका थिए । प्राविधिक प्रमाण र अन्य सुराक मिलेपछि सीआईबीका अनुसन्धान अधिकृतले दीपेशसँग मोबाइल मागेका थिए, तर दीपेशले नदिएपछि प्रहरीले कानुनी अधिकार प्रयोग गरेन । सामाजिक सञ्जाल भाइबर, वाट्सएप, फेसबुक/म्यासेन्जर, वीच्याटलगायतको प्रयोग गर्ने स्मार्ट फोन लुकाएर दीपेशले सामान्य फोनकल गर्ने मोबाइल मात्र दिए । अरू कोही सर्वसाधारणका लागि प्रयोग हुने प्रक्रिया पूरा नगरी दीपेशमाथिको अनुसन्धान सकिएको थियो ।

सीआईबीसमक्ष दिपेश पुनले दिएको बयान ।

दीपेशमाथि अनुसन्धान हुनुपर्ने पछिल्लो विषय हो– सहकारी ठगीे । सदस्य तथा बचतकर्ता नै नरहेका दीपेशले पोखराको सूर्यदर्शन सहकारीबाट गैरकानुनी रूपमा ऋण लिएको पुष्टि भएको छ । जीबीकै आडमा सूर्यदर्शन सहकारीबाट दीपेशले ‘पुलेसो कर्जा’ शीर्षकमा ५० लाख लिएको देखिन्छ । पुलेसो कर्जा शीर्षकमै लामिछानेले पनि सूर्यदर्शन सहकारीबाट १ करोड रुपैयाँ लिएको विषय अनुसन्धानकै क्रममा छ । रवि लामिछानेजस्तै दीपेश पनि सूर्यदर्शन सहकारीका बचतकर्ता होइनन् । गैरबचतकर्ताले सहकारीबाट ऋण लिनै पाउँदैनन् । सहकारीका गैरसदस्य पुनको कर्जा खाता नम्बर ‘११६–०००३०७१’ बाट दीपेशले ०७४ असोज २५ मा ५० लाख रुपैयाँ ऋण लिएको पोखरा महानगरपालिकाले गरेको छानबिन प्रतिवेदनमा उल्लेख छ ।

बिनाधितो तमसुकका आधारमा मात्रै ऋण प्रवाह भएको प्रतिवेदनमा उल्लेख छ । कर्जा फाइलमा पुनको तमसुक कागज मात्रै छ । ऋण लिएबापत् कुनै सुरक्षण राखिएको छैन । उक्त ऋणको ब्याजसहित सहकारीले नियमविपरीत पुँजीकृत गर्दै तिर्नुपर्ने रकम १ करोड ९५ हजार ३ सय ४८ रुपैयाँ बाँकी देखिएको छ ।

त्यस्तै रूपन्देहीको बुटवलमा प्रधान कार्यालय रहेको सुप्रिम बचत तथा ऋण सहकारीमा जीबी राई अध्यक्ष हुँदा सचिव रहेका दीपेशले सर्वसाधारणको बचत अपचलन गरेको कागजातबाट पुष्टि भएको छ । सुप्रिम सहकारी गत चैतदेखि बन्द छ, जीबी फरार छन् भने दीपेशमाथि अनुसन्धान भएको छैन ।

करिब १० हजार सर्वसाधारणबाट १ अर्ब २० करोड रुपैयाँभन्दा बढी संकलन गरेको सुप्रिम सहकारीका सञ्चालकहरूले बिनाधितो मनामौजी कर्जा प्रवाह गरेका थिए । सुप्रिम सहकारीका वर्तमान अध्यक्ष ओमप्रकाश गुरुङ पक्राउ परेका छन् । गुरुङले यसअघि नै पूर्वसचिव दीपेशविरुद्ध प्रशासनमा उजुरी दिएका छन् । पुनकै पालामा सहकारीको रकम हिनामिना भएको भन्दै गुरुङले उनीसहितका विभिन्न व्यक्तिविरुद्ध उजुरी दिए पनि उनीमाथि अनुसन्धान भने अघि बढेको छैन । देशभरका सहकारीको रकम हिनामिना सम्बन्धमा जिल्ला प्रहरीबाहेक काठमाडौंमा सीआईबीको टोली पनि अनुसन्धानमा खटिएको छ । तर, अहिलेसम्म दीपेश अनुसन्धानबाहिरै छन् ।

संस्थाका वर्तमान अध्यक्ष गुरुङले सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका संरक्षक रहेका ओखलढुंगाका गितेन्द्रबाबु (जीबी) राई, रोल्पाका दीपेशकुमार पुन, बाँकेका आशिष आनन्द, कास्कीका बुद्धि गुरुङ, गोरखाका दिनेश रोका, गुल्मीका सागर केसी, स्याङ्जाका भवीश्वर अर्याललाई खोजबिन गरिदिन आग्रह गर्दै गत पुस २० मा जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका थिए । तर, अहिलेसम्म उक्त उजुरीको विषयमा प्रहरी र प्रशासन दुवै संयन्त्रले बेवास्ता गरेका छन् ।

प्रहरीले सहकारीका अध्यक्ष गुरुङलाई गत बिहीबार र भैरहवा शाखा व्यवस्थापक दुर्गा पाण्डे चापागाईंलाई शुक्रबार पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । दीपेश २०७४ सालदेखि नै सुप्रिम सहकारीका निरन्तर ५ वर्ष सचिव बनेका थिए । संस्थाको ठूलो रकम हिनामिनापछि उनले २०७९ असारमा राजीनामा दिएका थिए । त्यसपछि संरक्षक राईकै निर्देशनमा साधारणसभा नै नगरी २ महिनापछि ललितपुरका कुमार रम्तेल संस्थाको सचिव बनाइएको थियो ।

प्रहरी र सहकारी रजिस्ट्रारको कार्यालयले गरेको प्रारम्भिक अनुसन्धानमा सुप्रिमका १० हजार ३ सय ९१ जना बचतकर्ताको १ अर्ब ७ करोड ७२ लाख ६७ हजार ७ सय २९ रुपैयाँ रकम हिनामिना भएको देखिएको छ । त्योमध्ये अधिकांश रकम सचिव पुन भएकै समयमा हिनामिना भएको थियो ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले अध्यक्ष गुरुङ र भैरहवा शाखा व्यवस्थापक पाण्डे पक्राउ परेपछि उनीहरूसँग सोधपुछ गर्ने, पोखरा प्रहरीसँग समन्वय गरेर सफ्टवेयर झिकाउने र कागजपत्र पनि अध्ययन गर्ने काम जारी रहेको बताए । ‘हामी पहिलो चरणका अनुसन्धानमै छौं, पहिलो चरण पूरा भएपछि दोस्रो चरणमा अनुसन्धान कता मोडिने र कसलाई पक्राउ गर्ने भन्ने खुल्ने हो,’ उनले भने, ‘संस्थामा संलग्न सबै व्यक्तिहरू अनुसन्धानको दायरामा आउने नै छन्, तर अहिले नै सबै भन्न सक्ने अवस्था छैन ।’

प्रहरीका प्रवक्ता डीआईजी भीमप्रसाद ढकाल सहकारी ठगीको विषयलाई प्रहरीले गम्भीरताका साथ लिएर थप अनुसन्धान अघि बढाइसकेको बताउँछन् । ‘तथ्य र प्रमाणले भेटेसम्म कसुरमा संलग्न व्यक्ति कारबाहीको दायरामा आउँछन्, पोखराको सूर्यदर्शनलगायतको सहकारी ठगीसम्बन्धी विषयमा पनि सूक्ष्म अनुसन्धान भइरहेको छ,’ उनी भन्छन् । पीडितले नाम किटेर उजुरी दिएपछि व्यक्तिमाथि अनुसन्धान गर्न किन ढिला भन्ने प्रश्नमा प्रहरी प्रवक्ता ढकाल खुल्न चाहेनन् । ‘व्यक्ति को कसलाई के हुन्छ भन्ने विषय अनुसन्धानबाट मात्रै थाहा हुन्छ,’ उनले यति मात्र भने ।

कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले सूर्यदर्शन सहकारी हिनामिना प्रकरणमा यसअघि नै एक चरणको अनुसन्धान सकेर त्यसकै आधारमा अदालतमा मुद्दा दायर भई हाल दोस्रो चरणको अनुसन्धान भइरहेको बताउँछन् । ‘यसअघिको अनुसन्धानका आधारमा रकम हिनामिनामा संलग्न सहकारीका सञ्चालक र कर्मचारीसहितलाई प्रतिवादी बनाएर मुद्दा दायर भइसकेको छ, केही प्रतिवादी पक्राउपछि पुर्पक्षका क्रममा जेलमै छन्,’ एसपी थापाले कान्तिपुरसँग भने, ‘यो प्रकरणमा दोस्रो चरणको अनुसन्धान भइरहेको छ । कसुरमा संलग्नलाई तथ्य र प्रमाणले पुष्टि गरेसम्म कारबाहीको दायरामा ल्याउँछौं ।’

शरणार्थी प्रकरण :

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका अभियुक्तद्वय इन्द्रजित राई र सन्दीप रायमाझीले अनुसन्धानका क्रममा समेत दीपेश पुनको नाम लिएका थिए । शरणार्थी प्रकरणकै अर्का अभियुक्त प्रतीक थापा फरार छन् भने दीपेशमाथि अनुसन्धान अघि बढेन ।

सुन तस्करी :

चिनियाँ तस्करसँग पुरानो चिनजान भएको दीपेशले नै स्विकारेका थिए । त्यतिमात्र होइन, दीपेश र सुन तस्कर दावा छिरिङबीच सम्पर्क सम्बन्ध रहेको अनुसन्धानबाट पनि स्थापित भइसकेको छ । चिनियाा गिरोहसँग मिलेर सुनतस्करी गरेको अभियोगमा माओवादी नेता महराका छोरा पक्राउ परे, तर दीपेशलाई भने प्रहरीको सीआईबीले सामान्य सोधपुछ गरेर छाडिदियो ।

सहकारी ठगी :

सदस्य तथा बचतकर्तासमेत नरहेका दीपेशले पोखराको सूर्यदर्शन सहकारीबाट गैरकानुनी रूपमा ऋण लिएको कागजातबाट पुष्टि भएको छ भने सर्वसाधारणले समेत स्वतन्त्र पार्टीका सभापति रवि लामिछोनसहित दीपेशविरुद्ध पनि उजुरी दिएका छन् । त्यस्तै बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीमा जीबी राई अध्यक्ष हुँदा सचिव रहेका दीपेशले समेत बचत अपचलन गरेर सर्वसाधारणको बिचल्ली बनाएका छन् । सुप्रिम सहकारी बन्द भएको छ, तर दीपेश अझै अनुसन्धानमा तानिएका छैनन् ।

प्रकाशित : फाल्गुन ११, २०८० ०७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?