‘हाउस अफ पिक्चर’

अस्ट्रेलिया भासिने सपना बुन्दै गरेकी झापाकी एलिसा बराइली पढाइलाई निरन्तरता दिन नसकेपछि करिब तीन महिना त मानसिक पीडाबाट गुज्रिइन् । तर केही समयपछि सम्हालिएर फोटोग्राफीमा जमेकी उनले हालै ३० लाखको लगानीमास्टुडियो सञ्चालनमा ल्याएकी छन् ।

जेष्ठ ७, २०८१

पर्वत पोर्तेल

”House of Pictures”

विराटनगर — करिब आठ वर्षअघि नै झापा बिर्तामोडकी एलिसा बराइली आइफोन चलाउँथिन् । बा–आमा मोहन र बिन्दु यूएईमा थिए । विदेशबाट पठाइदिएको फोनबाटै उनले सुरुआती दिनमा फोटोग्राफी गर्न थालिन् । उनको मोबाइल फोटोग्राफीलाई साथीसंगीले थप हौस्याए । क्यामराप्रतिको झुकावचाहिँ उनको बालापनदेखिकै हो । 

कक्षा १२ को परीक्षा दिएपछि के गर्ने भन्ने अन्योलमा थिइन् एलिसा । धेरै सहपाठीहरूको गन्तव्य अस्ट्रेलिया थियो । उनी पनि अस्ट्रेलिया नै उड्ने योजना बुन्न थालिन् । कक्षा १२ को परीक्षा दिएर विदेश अध्ययनका लागि तयारी थालिन् । त्यसैबीच कक्षा १२ को नतिजा आयो । तर बिलकुलै नसोचेको । अन्य विषयमा डिस्टिङ्सन छ, तर अकाउन्टमा १८ नम्बर । त्यति मात्रै कसरी आयो ? धेरै दिन उनको दिमाग रिङ्यो ।

पुनर्योगका लागि विराटनगरसम्म धाइन् । तर, पार लागेन । टुवेल्थ फेल पक्का भयो । करिब तीन महिना त मानसिक पीडाबाट गुज्रिइन् । ‘झन्डै डिप्रेसनमै गएछु त्यो बेला,’ उनले उतिबेलाको घटनाक्रम सम्झिइन्, ‘कसोकसो त्यो अँध्यारोबाट बाहिर निस्किन सफल भएँ ।’ यसपछि अस्ट्रेलिया–सपना चकनाचुर भयो । यो निराशाबीच के गर्ने त ? उनले नयाँ कामबारे पनि केही सोच्नै सकिनन् लामो समयसम्म । उनले जानेको कला भनेको फोटो खिच्ने मात्रै थियो, त्यो पनि सामान्य । तर अन्य विषयबारे झन् केही नजानेकी एलिसाको फोटोग्राफी यात्रा तय भएको हो । 

”House of Pictures”हिम्मत जुटाएर विदेशमा रहेका बा–आमालाई फोटोग्राफी सिक्न मुम्बई जाने प्रस्ताव गरिन् । तर, बाआमाले उनको प्रस्ताव स्विकारेनन् । बरु यूएईतिरै आउन बोलावट भयो । उनलाई अब विदेश जानु थिएन । किनकि अस्ट्रेलिया उड्ने सपनाबाट उनी विमुख भइसकेकी थिइन् । खासमा उनलाई विदेशको नामै सुन्न मन थिएन । 

चिनजानकै एक जनासँगको सम्पर्कपछि उनी मुखिया प्रोडक्सन हाउस बिर्तामोड पुगिन् । संयोग नै भयो, सन् २०१७ को विश्व फोटोग्राफी दिवसकै दिन उनले मुखिया प्रोडक्सनसँग सहकार्य सुरु गरिन् । ‘सुरुमा ब्युटी पेजेन्टको फोटोसुट गरेकी थिएँ,’ उनले भनिन्, ‘मेरो फोटोग्राफीको प्रशंसा भयो, जसले मलाई थप हौसला मिल्यो ।’ 

सुरुसुरुमा त उनलाई क्यामरा बोकेर हिँड्न पनि लाज लाग्थ्यो । क्यामरा बोकेर हिँड्दा छोरा मान्छेको काम किन गरेको पनि भने कतिपयले, तर उनले कुनै वास्ता गरिनन् । मुखियामा काम गर्दा मोडलिङदेखि वेडिङसम्मको फोटोग्राफी सिक्ने अवसर पाइन् । बीचमा एक महिना जति मुम्बई गएर मोडलिङ फोटोग्राफर रोहन श्रेष्ठसँग पनि प्रशिक्षण लिइन् । ‘त्यो बेलाचाहिँ परिवारकै सल्लाहअनुसार गएँ,’ उनले सुनाइन्, ‘एकमहिने कोर्सले मेरो फोटोग्राफीमा थप निखारता ल्याउन सघायो ।’ 

क्यामरासँगको प्रेममा परिसकेकी थिइन् । त्यहाँबाट छुट्न मुस्किल थियो । तर मुखिया प्रोडक्सनसँगको करिब पाँच वर्ष लामो सहकार्य तोडेर उनी आफ्नै स्टुडियो निर्माणमा जुटिन् । गत वर्ष वैशाख १५ मा करिब ३० लाख खर्चिएर निजी स्टुडियो सञ्चालनमा ल्याएकी छन् एलिसाले । साथी गीता बस्नेतसँगको सहकार्यमा ‘हाउस अफ पिक्चर’ सुरु गरेकी हुन् उनले । स्टुडियोका लागि गीता र उनले आधा–आधा रकम जुटाएका हुन् । 

‘सुरुमा बाआमाले मेरो रुचि र इच्छा नबुझ्दा निकै रिस उठेको थियो तर अहिले मेरो काम देखेर धेरै सहयोग गर्न थाल्नुभएको छ,’ उनले भनिन्, ‘केही रकम मैले कमाएकी थिएँ । केही बाआमाले पठाइदिनुभयो ।’ मुखिया प्रोडक्सनको सिकाइले आफ्नै लगानीमा स्टुडियो खोल्न हौसला मिलेको उनी बताउँछिन् । खासगरी वेडिङ फोटोग्राफीमा उनी जिल्लामै चर्चित फोटोग्राफर हुन् । वेबी सावर, प्रि वेडिङ, पोस्ट वेडिङ फोटोग्राफीका लागि एलिसालाई सबैले खोज्न थालेका छन् । उनीसँग ‘ए ७४’ नामका दुइटा सोनी क्यामरा छन् । भिडियोमा ‘ए ७ एच ३’ र ‘एफएक्स ३०’ प्रयोग गर्छिन् । 

”House of Pictures”‘रुचि अन्य फोटोग्राफीमा पनि उत्तिकै छ,’ एलिसाले सुनाइन्, ‘सुरुआत वेडिङबाट भएपछि त्यतै मन जोडियो ।’ फेसन फोटोग्राफी गर्ने कि भन्ने सोच पनि आयो उनलाई । तर, बिर्तामोडमा मोडलिङको बजार देखिनन् । काठमाडौं गएर काम गर्न सक्ने साहस उनमा आएन । ‘वेडिङ फोटोसुटमा पैसा कम छैन,’ हाँस्दै थप्छिन्, ‘यसमा रमाइलो लाग्छ । खान पनि पाइन्छ, पैसा पनि ।’ 

शनिश्चरे रोडमा रहेको स्टुडियोमा चार जना युवालाई रोजगारी पनि दिएकी छन् एलिसाले । बिहेको सिजनमा उनीहरूलाई भ्याइनभ्याइ हुन्छ । बिहेबाहेकका समयमा उनीहरू यात्रामा निस्किन्छन् । फोटोग्राफीपछि एलिसाको मुख्य रुचि ट्राभल हो । त्यही भएर वर्षमा दुई पटकसम्म उनी साथीहरूसँग नेपालकै नयाँ–नयाँ गन्तव्यमा निस्किन्छन् । 

एलिसाको काम देखेर अहिले बाआमा पनि खुसी छन् । ‘छोरी मान्छेले फोटो खिच्दै हिँड्नु पर्दैन’ भन्ने उनीहरूमा अहिले आएको सकारात्मक परिवर्तनले एलिसालाई थप नयाँ सिर्जना गर्न उत्प्रेरणा पनि मिलेको छ । ‘पहिला फोटो खिचेर के हुन्छ भन्नुहुन्थ्यो, अहिले मेरै कामबाट खुसी हुनुहुन्छ,’ उनले थपिन् । 

अस्ट्रेलिया भासिने सपना बुन्दै गरेकी एलिसाको जीवनमा आइपरेको एउटा असफलताले खासमा सफलताको नयाँ बाटो तय गरिदियो । ‘त्यही घटनाले नै मेरा लागि फोटोग्राफीको ढोका खोलिदियो,’ उनले भनिन्, ‘त्यो बेला दुःख लागे पनि अहिलेचाहिँ त्यो असफलताप्रति कुनै पछुतो छैन ।’

युवा ग्यालरी

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully