‘हाउस अफ पिक्चर’

अस्ट्रेलिया भासिने सपना बुन्दै गरेकी झापाकी एलिसा बराइली पढाइलाई निरन्तरता दिन नसकेपछि करिब तीन महिना त मानसिक पीडाबाट गुज्रिइन् । तर केही समयपछि सम्हालिएर फोटोग्राफीमा जमेकी उनले हालै ३० लाखको लगानीमास्टुडियो सञ्चालनमा ल्याएकी छन् ।

जेष्ठ ७, २०८१

पर्वत पोर्तेल

”House of Pictures”

विराटनगर — करिब आठ वर्षअघि नै झापा बिर्तामोडकी एलिसा बराइली आइफोन चलाउँथिन् । बा–आमा मोहन र बिन्दु यूएईमा थिए । विदेशबाट पठाइदिएको फोनबाटै उनले सुरुआती दिनमा फोटोग्राफी गर्न थालिन् । उनको मोबाइल फोटोग्राफीलाई साथीसंगीले थप हौस्याए । क्यामराप्रतिको झुकावचाहिँ उनको बालापनदेखिकै हो । 

कक्षा १२ को परीक्षा दिएपछि के गर्ने भन्ने अन्योलमा थिइन् एलिसा । धेरै सहपाठीहरूको गन्तव्य अस्ट्रेलिया थियो । उनी पनि अस्ट्रेलिया नै उड्ने योजना बुन्न थालिन् । कक्षा १२ को परीक्षा दिएर विदेश अध्ययनका लागि तयारी थालिन् । त्यसैबीच कक्षा १२ को नतिजा आयो । तर बिलकुलै नसोचेको । अन्य विषयमा डिस्टिङ्सन छ, तर अकाउन्टमा १८ नम्बर । त्यति मात्रै कसरी आयो ? धेरै दिन उनको दिमाग रिङ्यो ।

पुनर्योगका लागि विराटनगरसम्म धाइन् । तर, पार लागेन । टुवेल्थ फेल पक्का भयो । करिब तीन महिना त मानसिक पीडाबाट गुज्रिइन् । ‘झन्डै डिप्रेसनमै गएछु त्यो बेला,’ उनले उतिबेलाको घटनाक्रम सम्झिइन्, ‘कसोकसो त्यो अँध्यारोबाट बाहिर निस्किन सफल भएँ ।’ यसपछि अस्ट्रेलिया–सपना चकनाचुर भयो । यो निराशाबीच के गर्ने त ? उनले नयाँ कामबारे पनि केही सोच्नै सकिनन् लामो समयसम्म । उनले जानेको कला भनेको फोटो खिच्ने मात्रै थियो, त्यो पनि सामान्य । तर अन्य विषयबारे झन् केही नजानेकी एलिसाको फोटोग्राफी यात्रा तय भएको हो । 

”House of Pictures”हिम्मत जुटाएर विदेशमा रहेका बा–आमालाई फोटोग्राफी सिक्न मुम्बई जाने प्रस्ताव गरिन् । तर, बाआमाले उनको प्रस्ताव स्विकारेनन् । बरु यूएईतिरै आउन बोलावट भयो । उनलाई अब विदेश जानु थिएन । किनकि अस्ट्रेलिया उड्ने सपनाबाट उनी विमुख भइसकेकी थिइन् । खासमा उनलाई विदेशको नामै सुन्न मन थिएन । 

चिनजानकै एक जनासँगको सम्पर्कपछि उनी मुखिया प्रोडक्सन हाउस बिर्तामोड पुगिन् । संयोग नै भयो, सन् २०१७ को विश्व फोटोग्राफी दिवसकै दिन उनले मुखिया प्रोडक्सनसँग सहकार्य सुरु गरिन् । ‘सुरुमा ब्युटी पेजेन्टको फोटोसुट गरेकी थिएँ,’ उनले भनिन्, ‘मेरो फोटोग्राफीको प्रशंसा भयो, जसले मलाई थप हौसला मिल्यो ।’ 

सुरुसुरुमा त उनलाई क्यामरा बोकेर हिँड्न पनि लाज लाग्थ्यो । क्यामरा बोकेर हिँड्दा छोरा मान्छेको काम किन गरेको पनि भने कतिपयले, तर उनले कुनै वास्ता गरिनन् । मुखियामा काम गर्दा मोडलिङदेखि वेडिङसम्मको फोटोग्राफी सिक्ने अवसर पाइन् । बीचमा एक महिना जति मुम्बई गएर मोडलिङ फोटोग्राफर रोहन श्रेष्ठसँग पनि प्रशिक्षण लिइन् । ‘त्यो बेलाचाहिँ परिवारकै सल्लाहअनुसार गएँ,’ उनले सुनाइन्, ‘एकमहिने कोर्सले मेरो फोटोग्राफीमा थप निखारता ल्याउन सघायो ।’ 

क्यामरासँगको प्रेममा परिसकेकी थिइन् । त्यहाँबाट छुट्न मुस्किल थियो । तर मुखिया प्रोडक्सनसँगको करिब पाँच वर्ष लामो सहकार्य तोडेर उनी आफ्नै स्टुडियो निर्माणमा जुटिन् । गत वर्ष वैशाख १५ मा करिब ३० लाख खर्चिएर निजी स्टुडियो सञ्चालनमा ल्याएकी छन् एलिसाले । साथी गीता बस्नेतसँगको सहकार्यमा ‘हाउस अफ पिक्चर’ सुरु गरेकी हुन् उनले । स्टुडियोका लागि गीता र उनले आधा–आधा रकम जुटाएका हुन् । 

‘सुरुमा बाआमाले मेरो रुचि र इच्छा नबुझ्दा निकै रिस उठेको थियो तर अहिले मेरो काम देखेर धेरै सहयोग गर्न थाल्नुभएको छ,’ उनले भनिन्, ‘केही रकम मैले कमाएकी थिएँ । केही बाआमाले पठाइदिनुभयो ।’ मुखिया प्रोडक्सनको सिकाइले आफ्नै लगानीमा स्टुडियो खोल्न हौसला मिलेको उनी बताउँछिन् । खासगरी वेडिङ फोटोग्राफीमा उनी जिल्लामै चर्चित फोटोग्राफर हुन् । वेबी सावर, प्रि वेडिङ, पोस्ट वेडिङ फोटोग्राफीका लागि एलिसालाई सबैले खोज्न थालेका छन् । उनीसँग ‘ए ७४’ नामका दुइटा सोनी क्यामरा छन् । भिडियोमा ‘ए ७ एच ३’ र ‘एफएक्स ३०’ प्रयोग गर्छिन् । 

”House of Pictures”‘रुचि अन्य फोटोग्राफीमा पनि उत्तिकै छ,’ एलिसाले सुनाइन्, ‘सुरुआत वेडिङबाट भएपछि त्यतै मन जोडियो ।’ फेसन फोटोग्राफी गर्ने कि भन्ने सोच पनि आयो उनलाई । तर, बिर्तामोडमा मोडलिङको बजार देखिनन् । काठमाडौं गएर काम गर्न सक्ने साहस उनमा आएन । ‘वेडिङ फोटोसुटमा पैसा कम छैन,’ हाँस्दै थप्छिन्, ‘यसमा रमाइलो लाग्छ । खान पनि पाइन्छ, पैसा पनि ।’ 

शनिश्चरे रोडमा रहेको स्टुडियोमा चार जना युवालाई रोजगारी पनि दिएकी छन् एलिसाले । बिहेको सिजनमा उनीहरूलाई भ्याइनभ्याइ हुन्छ । बिहेबाहेकका समयमा उनीहरू यात्रामा निस्किन्छन् । फोटोग्राफीपछि एलिसाको मुख्य रुचि ट्राभल हो । त्यही भएर वर्षमा दुई पटकसम्म उनी साथीहरूसँग नेपालकै नयाँ–नयाँ गन्तव्यमा निस्किन्छन् । 

एलिसाको काम देखेर अहिले बाआमा पनि खुसी छन् । ‘छोरी मान्छेले फोटो खिच्दै हिँड्नु पर्दैन’ भन्ने उनीहरूमा अहिले आएको सकारात्मक परिवर्तनले एलिसालाई थप नयाँ सिर्जना गर्न उत्प्रेरणा पनि मिलेको छ । ‘पहिला फोटो खिचेर के हुन्छ भन्नुहुन्थ्यो, अहिले मेरै कामबाट खुसी हुनुहुन्छ,’ उनले थपिन् । 

अस्ट्रेलिया भासिने सपना बुन्दै गरेकी एलिसाको जीवनमा आइपरेको एउटा असफलताले खासमा सफलताको नयाँ बाटो तय गरिदियो । ‘त्यही घटनाले नै मेरा लागि फोटोग्राफीको ढोका खोलिदियो,’ उनले भनिन्, ‘त्यो बेला दुःख लागे पनि अहिलेचाहिँ त्यो असफलताप्रति कुनै पछुतो छैन ।’

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully