कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

किशोर–किशोरीको गुनासो : पीडा बिसाउने ठाउँ नै भएन

घरमा साथी र शान्ति नपाएका किशोरकिशोरी भौंतारिँदै, दुर्घटना निम्त्याउँदै
मधु शाही

काठमाडौँ — कोरोना महामारीले घरबाट निस्किने स्थिति थिएन । स्कुल बन्द हुँदा पढाइमा ध्यान थिएन । साथीभाइ र खेलकुदमै छोरी रमाएको देखेर अभिभावक पनि दंग थिए । जब स्कुल सुरु भयो, हप्ता दिन नबित्दै रिमा (नाम परिवर्तन)ले घरभित्रै आत्महत्या गरिन् । ९ कक्षामा पढ्दै गरेकी छोरीले एकाएक के कारणले आत्महत्या गर्ने निर्णयमा पुगिन् ? अभिभावकलाई पछि सुनाइयो, ‘रजस्वला रोकिएपछि डरले आत्तिएर उनले आत्महत्या गरेकी हुन् ।’

किशोर–किशोरीको गुनासो : पीडा बिसाउने ठाउँ नै भएन

यौन र प्रजनन स्वास्थ्यका विषयमा पर्याप्त जानकारी नहुँदा किशोर–किशोरी मनोसामाजिक समस्याबाट गुज्रिने र केही त रिमाले जस्तै आत्महत्या गर्ने तहसम्म पुग्ने गरेका छन् । काठमाडौं महानगरपालिका–५ हाँडीगाउँकी स्वयंसेविका ज्योतिका महर्जनका अनुसार किशोर-किशोरीमाझ परिवारले खुलेर उनीहरूका समस्या नबुझिदिँदा मानसिक तनावदेखि ज्यान नै फाल्नेसम्मका घटना भएका छन् । ‘हाँडीगाउँमै दुई जना किशोरीले आत्महत्या गरेको देखेकी छु,’ उनले भनिन्, ‘परिवारले कुरा नसुनिदिँदा कतिपय केटाकेटी तनावमा बाँचिरहेका छन् ।’

ज्योतिकाले एक वर्ष नबित्दैको अर्को डरलाग्दो घटना पनि भएको सुनाइन् । आमाबुबाको बेमेलपछि बुबासँगै बसेकी १५ वर्षीया किशोरी अचानक घरमै झुन्डिएको अवस्थामा भेटिइन् । बढ्दो उमेरसँगै मनभरि पीडा सँगालेकी ती किशोरीले आफ्नो समस्या साट्ने साथी नपाउँदा आत्तिएर आत्महत्याको बाटो रोजेको ज्योतिकाले बुझ्दै जाँदा चाल पाइन् । पोस्टमार्टममा कुनै अवस्था खुलेन । छरछिमेकी र उनका साथीसँग सोधपुछ गर्दा ती किशोरी एक्लोपनदेखि डराएर संसार छाडेको आफ्नो अध्ययनबाट थाहा पाएको ज्योतिकाले बताइन् ।

किशोरावस्थामा आइपर्ने द्विविधा मेटाउन हाँडीगाउँका स्वयंसेविकाले प्रत्येक हप्ता शनिबार वडामै यौन शिक्षा र हिंसाविरुद्धका गतिविधिबारे रचनात्मक जनचेतना फैलाउने कार्य गर्दै आएका छन् । ‘शनिबार दिउँसो आमाबुबा र बालबालिकालाई सँगै राखेर कार्यक्रम गर्दै आएका छौं,’ उनले भनिन्, ‘अहिलेका केटाकेटीलाई साथी चाहिएको छ, परिवारभित्रै खुलेर बोल्ने ।’

सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रका सिनियर अनमि ऐरिना मास्केले यसै साता टंगाल स्कुलका ९ कक्षाका बालबालिकालाई यौन र स्वास्थ्यसम्बन्धी जनचेतनामूलक जानकारी दिइन् । उनको बुझाइमा सामान्य यौन, प्रजनन र स्वास्थ्यका बारेमा केटाकेटीलाई सिकाउनु भनेको उनीहरूलाई गलत घटनाबाट सुरक्षा दिनु हो । ‘भन्दै जाँदा किशोर-किशोरी स्वास्थ्य केन्द्रसम्म आएर सोधपुछ गर्न थालेका छन्,’ उनले भनिन्, ‘निःशुल्क स्वास्थ्य सेवाका बारेमा जानकारी लिन थालेका छन् ।’

रोल्पाको त्रिवेणी गाउँपालिका–५ की एक किशोरीले केही वर्षअघि आत्महत्या गरिन् । स्कुल पढ्दा पढ्दै बिहे गरेको एक वर्षमै उनले यस्तो बाटो रोजेकी थिइन् । आत्महत्याको बाटो रोज्नुको कारण परिवारका सदस्यले माया नगरेको, आफ्नो कुरा कसैले नसुनिदिएको, माइतीमा रहँदा पनि दाजुभाइले नाचगान गर्न जान नदिएको र घरमै बन्द कोठामा बस्नु पर्ने बाध्यता रहेको लगायतका गुनासो भरिएको चिट्ठी लेखेर छोडेकी थिइन् । ती किशोरीकी मिल्ने साथी चाँदनी (नाम परिवर्तन)ले परिवारमा बन्धन महसुस गरेकै कारण साथीलाई बाँच्नै मन नलागेको बताउँछिन् । ‘उसलाई सुनिदिने कोही भएन,’ उनले भनिन्, ‘मैले धेरै पटक सम्झाउँथें, घरकाले कहिल्यै बुझेनन् ।’

युनिसेफले पछिल्लो समय गरेको अध्ययनअनुसार विश्वव्यापी रूपमा १० देखि १९ वर्ष उमेर समूहका ७ मध्ये १ एक जना मानसिक समस्याका साथ बाँचिरहेका छन् । विभिन्न पाँच कारणमध्ये एक रहेको आत्महत्याबाट प्रत्येक वर्ष लगभग ४६ हजार किशोर-किशोरीको मृत्यु भएको तथ्यांक छ । प्रतिवेदनअनुसार वंशाणुगत, जीवनका प्रारम्भिक दिनहरूमा पाएका अनुभव र पर्यावरणीय तत्वहरूको मिश्रण, अभिभावकत्व, विद्यालयको शिक्षा, स्वास्थ्यको गुणस्तर, हिंसा वा दुर्व्यवहारको जोखिम, भेद्‌भाव, गरिबी, मानसिक संकट र कोभिड–१९ जस्ता स्वास्थ्यसम्बन्धी आपतकालीन समस्याहरूले बालबालिकाको मानसिक स्वास्थ्यमा जीवनभर प्रभाव देखिएको उल्लेख छ । नेपालमा आत्महत्याको विचारले पीडित भएर मनोवैज्ञानिक हेल्पलाइनहरूमा कल गर्नेमध्ये २० प्रतिशत लैंगिकतामा आधारित हिंसासँग सम्बन्धित छन् भने २५ प्रतिशत आर्थिक अभावसँग ।

मनोविद् पद्मप्रसाद घिमिरेका अनुसार पछिल्लो समय प्रविधिले किशोर-किशोरीलाई एक्लो बनाएको छ । अभिभावकले नै छोराछोरीलाई समय दिन नसक्दा उनीहरूले एक्लोपन महसुस गरेका हुन् । कतिपय किशोर-किशोरी साथीको खोजी गर्दै कुलतमा फस्ने गर्छन् भने खासगरी किशोरीको हकमा शारीरिक सम्बन्ध बढाइ जोखिमपूर्ण नतिजा खेप्नु पर्ने घटना छन् । ‘घरमा साथी र शान्ति नपाएका किशोर-किशोरी भौंतारिएर बाहिरिनु परेको छ,’ मनोविद् घिमिरेले भने, ‘जसले गर्दा अनेक दुर्घटना निम्त्याएको छ ।’ अभिभावकले किशोर अवस्थाको परिवर्तनलाई सकारात्मक तरिकाले नबुझ्दा छोराछोरी नकारात्मक धारणा पाली परिवारबाटै चिढिने गर्छन् । ‘किशोर अवस्थामा जतिसक्दो कुरा खोल्ने वातावरण सिर्जना गर्न जरुरी छ,’ उनले भने ।

किशोर-किशोरी र अभिभावकबीचको अन्तरसंवाद आजको आवश्यकता भएको गस्टल साइकोथेरापिस्ट प्रज्ञा श्रेष्ठले बताइन् । खासगरी यौन स्वास्थ्यसम्बन्धी खुलेर कुरा सुन्ने र सुनाउने बानीलाई परिवारले सकारात्मक रूपमा नमान्दा समस्या भएको र किशोर अवस्थामा आउने मुख्य परिवर्तन शारीरिक र मानसिक भएको उनको दाबी छ । ‘यतिबेला आमाबुबा नै नजिक भएर छोराछोरीका भावना बुझ्नु पर्छ,’ उनी भन्छिन्, ‘किशोर-किशोरीले सुनाउने कुरामा अपराधबोध गराउनु हुँदैन, नभए अर्को पटक उनीहरू कुरै गर्न छोड्छन् ।’

मनोवैज्ञानिक परामर्शका क्रममा आत्महत्या प्रयास गरेका धेरै किशोरीको उद्धार गरेको प्रज्ञाले सुनाइन् । ‘समस्या हेर्दा सामान्य लाग्छ । किशोरकिशोरी नयाँ विषयमा र नयाँ कार्य गर्न उत्सुक हुन्छन्,’ उनले भनिन्, ‘समाज र परिवारले उनीहरूको कार्यमा विश्वास नगर्दा भित्रभित्रै निराश हुन थाल्छन् ।’ किशोरकिशोरी परिवारभित्रै विश्वास गर्न सुरु गर्‍यो भने उनीहरू उत्साहित हुँदै नकारात्मक बाटो रोज्न फुर्सद नहुने उनको बुझाइ छ ।

बालमनोपरामर्श विषयमै स्नातकोत्तर गरेका रामहरि शाही ‘समुन्द्री’ले विद्यालका शिक्षक र परिवारका सदस्यले बालबालिकाका साथी बन्न जरुरी रहेको बताउँछन् । अध्ययनका क्रममा बढ्दो उमेरसँगै शारीरिक र मानसिक रूपमा आउने परिवर्तनका कारण बालबालिका भित्रभित्रै तनावग्रस्त हुन्छन् । यस्तो अवस्थामा नकारात्मक भाव बढ्दै जाने गर्छ । परिवारका सदस्यले साथी बनेर उनीहरूको समस्या खोली तुरुन्तै समाधान निकाल्न सके दुर्घटना हुनबाट जोगिन सकिने उनले सुनाए ।

एकता फाउन्डेसनका अध्यक्षसमेत रहेका शाहीले किशोरकिशोरी, अभिभावक, शिक्षकबीच पारिवारिक सम्बन्ध जोड्न विद्यालयस्तरमा परामर्श दिने कार्यक्रम चलाउँदै आएका छन् । ‘हामीले मोबाइल होइन, आमाबुबा र शिक्षक साथी बनाउन जोड दिएका छौं,’ उनले भने, ‘कार्यक्रमकै क्रममा धेरै बालबालिकाको गुनासो अभिभावकको व्यस्तताले मनको कुरा राख्न नसकेको बताएका छन् ।’

प्रकाशित : पुस १५, २०८० २०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×