२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६
सञ्चालकको मनमौजी, बचतकर्ताको बिचल्ली

‘पसिनाको कमाइ लुटियो, औषधि किन्ने पैसा सकियो’

बचत रकम ट्रान्सफर गरेर लैजाने कम्पनी र व्यक्तिलाई कारबाही गर्न तथा खाता रोक्का गरिदिन प्रशासनदेखि सहकारी विभागसम्म धाउँदै पीडित, प्रहरी प्रशासन मौन

चितवन, बुटवल, लुम्बिनी र नेपालगन्ज — पूर्णभद्र कँडेल दिनमै पाँच पटक इन्सुलिन लिनुपर्ने मधुमेहका बिरामी हुन् । भरतपुर हाकिम चोकबाट केही पर व्यवसाय गर्ने उनी बिहीबार मध्याह्न कालिका नगरपालिकाको खोलेसिमल पुगे । चितवन निर्वाचन क्षेत्र २ का प्रतिनिधिसभा सदस्य रवि लामिछानेले राखेको सार्वजनिक सुनुवाइमा व्यथा बिसाउने उनको उद्देश्य थियो । 

‘पसिनाको कमाइ लुटियो, औषधि किन्ने पैसा सकियो’

‘साहारा सहकारीमा जम्मा भएको मध्ये ४०/५० करोड रुपैयाँ जीबी राई भन्नेले मासेको देखिन्छ । तर उनी पक्राउ पर्न सकेका छैनन् । पक्राउ पुर्जी जारी भए पनि कुन राजनीतिक दबाब सिर्जना भयो र बचतकर्ताको रकम पसिनाको कमाइ बिल्लीबाठ पारी उनले कुन दुलोबाट हामीलाई चिहाइरहेका छन् ?’ कँडेलले लामिछानेलाई प्रश्न गरे ।

कँडेलको संकेत थियो, सशक्त भूमिका खेल्न संसद् पुगेको दलका सभापति नै किन सहकारी घोटालामा प्रत्यक्ष हिस्सेदार र संरक्षक बने ? किनकि साहारा चितवन सहकारीमा सर्वसाधारणले जम्मा गरेको मध्ये ११ करोड ७१ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा बिनाधितो ‘ट्रान्सफर’ गरिएको थियो । तर आफूसमेतको संलग्नतामा भएको यो घोटालामा आफ्नै निर्वाचन क्षेत्रका नागरिकले सोधेको प्रश्नमा लामिछानेले गोलमटोल जवाफ दिए । ‘यस्तो बेला कसैले दबाब दिन्छ भने त्यो शक्तिमा हुनेले दिने हो, शक्ति सरकारसँग छ ।’

सहकारीका संस्थापक अध्यक्ष तथा ग्यालेक्सी टीभीका सञ्चालक जीबी राईका व्यापारिक साझेदार रवि लामिछाने चितवनबाटै चुनाव जितेका कारण धेरै आशा लिएर सार्वजनिक सुनुवाइमा गएको कँडेलले बताए । सहकारी घोटालामा लामिछाने पनि जोडिएको उनीबाट जिम्मेवार जवाफको अपेक्षा गरेको उनको भनाइ छ । तर न लामिछानेले सोझो जवाफ दिए र कँडेलले प्रतिप्रश्न गर्न पाए ।

०७६ कात्तिकबाट उक्त सहकारीमा बचत सुरु गरेका कँडेलले छोराछोरी मात्र होइन, भाइबुहारी, दिदी, भान्जाभान्जी र दिदीका ससुराको समेत पैसा अलपत्र परेको बताए । संस्थाले कारोबार बन्द गरेको र सञ्चालक सम्पर्कविहीन भएपछि उनीहरू बिलखबन्दमा परेका छन् । त्यसैले चार महिनाअघि गत भदौमा नारायणगढमा लामिछानेले आयोजना गरेको सुनुवाइमा पनि सुनाएका थिए । ‘त्यो बेला पनि नियमित औषधि खान्थें, अहिले महिनाको ४०/५० हजार औषधिमै जान्छ । सहकारीले रकम डुबाएपछि साह्रै पीडामा परें । तपाईंको पनि नाम जोडिएको यो समस्या चाँडै समाधान होस् भनेको थिएँ,’ कँडेलले भने, ‘तर न त्यति बेला चित्तबुझ्दो जवाफ पाएँ, न अहिले । अहिलेसम्म आइपुग्दा त समस्या समाधान त परको कुरा, अवस्था झनै डामाडोल भएजस्तो देखियो ।’

साहारा सहकारीमा चितवनका झन्डै आठ हजार बचतकर्ता रहेको पीडितहरूको संघर्ष समिति संयोजक रहेका शालिकराम दुवाडीले बताए । गत वर्षको पुसमा भएको साधारणसभामा सेयर र बचत गरेर संस्थामा ८५ करोड रुपैयाँ संकलनमा रहेको प्रतिवेदन पेस भएको थियो । जसमध्ये ७२ करोड ऋण लगानी भएको प्रतिवेदनमा उल्लेख छ । साधारणसभापछि समस्याग्रस्त देखिएको सहकारीबाट जीबी राईले ग्यालेक्सी टीभीसहित आफ्ना कम्पनीमा ऋण लगेको प्रहरी अनुसन्धानले देखाएको छ । सहकारीका सञ्चालक र कर्मचारी गरेर ११ जनाविरुद्ध चितवन प्रहरीले अदालतबाट पक्राउ पुर्जी जारी गराए पनि कोही समातिएका छैनन् ।

चितवनभन्दा करिब सवा सय किलोमिटर पश्चिम बुटवलमा पनि अवस्था फरक छैन । हातमा स्टेटमेन्ट र पासबुक बोकेर रूपन्देहीको तिलोत्तमा–५ का लक्ष्मण अधिकारी दिनहुँजसो बुटवलस्थित सुप्रिम सहकारी संस्थाको कार्यालय धाइरहन्छन् । डेरी पसल चलाएर सात वर्षदेखि सुप्रिममा दैनिक बचत गरेको साढे २५ लाख रुपैयाँ डुबेपछि उनले पसल बन्द गरेर सहकारीमा धाउनुपरेको हो ।

व्यवसाय छाडेर सहकारी धाउने उनी एक्ला होइनन् । उक्त सहकारीमा बचत डुबेका तिलोत्तमाकै राजेश कार्की, ईश्वर पन्थ, आदर्श पाण्डे, पूजा न्यौपानेलगायत पनि सँगै हुन्छन् । संकलन गर्न आउने कर्मचारीका हातमा दैनिक ५ सयदेखि १ हजार रुपैयाँ गर्दै सात वर्षमा २५ लाख ४२ हजार ८ सय ८४ रुपैयाँ जम्मा भइसकेको अधिकारीले बताए । सहकारी बन्द भएपछि बचत फिर्ता नपाउने चिन्ताले सताउन थालेको उनी सुनाउँछन् । ‘छिमेकका सबैले बचत गरेकाले हुन्छ भनेर खनखनी पैसा दिँदै गएँ,’ उनले भने, ‘श्रमको कमाइ लुटिँदा मलाई जति पीडा कसलाई पर्‍यो होला ।’ यति बेला उनलाई साँवा रकम मात्रै फिर्ता पाए हुन्थ्यो भन्ने लागेको छ । तर, सहकारीका सञ्चालक सम्पर्कविहीन भएपछि रकम फिर्ता पाउने आस मर्न थालेको उनले बताए ।

अधिकारीकै छिमेकी गैरे मासु पसलका सञ्चालक गिरिराज गैरेले छिमेकमा बसोबास भएकी सुप्रिम सहकारीकी कर्मचारी दुर्गा पाण्डेले बचत गर्न आग्रह गरेपछि छोरी र श्रीमतीका नाममा समेत खाता खोले । ‘१२ लाख रुपैयाँ राखेको थिएँ, दिनदिनै कार्यालय धाउँछु, कर्मचारीहरू त हामी पनि तलब खान नपाएर कुरेको भन्छन्,’ उनले भने । तिलोत्तमा–५ नयाँ मिलचोकमा रहेका २५ भन्दा बढी व्यावसायिक प्रतिष्ठान र मणिग्रामका धेरै व्यवसायीको सुप्रिममा बचत थियो । हरेक दिन पसलमा आएर पैसा लैजाने र कर्मचारी पनि स्थानीय भएकाले जम्मा गर्नेहरू धेरै थिए । दुर्गाकै आग्रहमा सामान्य किराना पसल चलाएर बसेका जगतबहादुर घर्तीले छोरीलाई पढाउन र घर बनाउन सकिने सोचेर ६ लाख रुपैयाँ जम्मा गरेका थिए । ‘राम्रो र नियमित ब्याज दिने भनेपछि छोरी र मेरो नाममा ३/३ लाख राखें,’ उनले भने, ‘श्रमको पैसा खाएर अहिले यसरी सिध्यायो ।’ सहकारीमा खाता खोल्न आग्रह गर्ने दुर्गालाई तपाईंले निकालिदिनुपर्छ भन्दा आफू त्यसमा संलग्न नभएको जवाफ दिने गरेको घर्तीले बताए ।

२०७७/७८ बाट त्यहाँ बचत गर्न थालेका तिलोत्तमा–१ नयाँमिलका हार्डवेयर व्यवसायी राजेश कार्कीले बचत रकम डुबेपछि मानसिक रूपमा धेरै पीडा सहनुपरेको बताए । ‘पीडा कति छ भन्ने देखाउँदै हिँड्न नमिलेको मात्रै हो । यसले परिवारभरि तनाव भएको छ,’ उनले थपे, ‘भात खान बस्यो, पैसाको कुरा आउँछ, निद्रा लाग्दैन, कसरी फर्केला अब पैसा भन्ने भइरहन्छ ।’ आफूहरूले संघर्ष समिति बनाएर कार्यालय घेराउसम्म गर्दा पनि केही उपाय नलागेको उनले बताए ।

बचतकर्ता आदर्श पाण्डेले आफ्नो खाजा घरबाट ३ लाख र परिवारका सदस्यले गर्ने फेन्सी व्यवसायको ६ लाख गरी ९ लाख जम्मा भएको बताए । खाता खोलेको १ वर्षभित्रै बचत फिक्स डिपोजिटमा राखेकाले बिचल्ली परेको उनी सुनाउँछन् । ‘बैंकमा जानुभन्दा घरमै आएका छन् भन्ने लाग्यो,’ उनले भने, ‘यसरी डुबियो कि अब कुनै सहकारीको पनि विश्वास नलाग्ने भयो ।’ ६ वर्षअघि खाता खोलेकी पूजा न्यौपानेको ६ लाख रुपैयाँ बढी जम्मा भइसकेको थियो । बचत उठाएर लैजाने, जति बेला पनि निकाल्न पाइने, १४ प्रतिशतसम्म ब्याज दिने आश्वासन पाएकाले छरछिमेकका धेरैले बचत गरेको उनले बताइन् । ‘श्रीमान्ले अन्त काम गर्ने, मैले पसल चलाएकी थिएँ, त्यसबाटै जोगाएर जम्मा गर्थें,’ उनले भनिन्, ‘न पैसा रह्यो, न पसल । अहिले पनि दिनको १ पटक सहकारीमा धाइरहन्छु । कर्मचारीले छैन भन्छन्, पैसा कहाँ गयो भन्ने कुरा नै बुझिएन ।’

बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीबाट ठगिएकाहरू धेरैजसो सामान्य व्यवसाय गरेर बचत गर्नेहरू छन् । प्रधान कार्यालय रहेको बुटवलमा मात्रै झन्डै ५ हजार ३ सय बचतकर्ताबाट सहकारीले ८० करोड बढी रकम उठाएको छ । त्यस्तै भैरहवा शाखामा पनि झन्डै ३५ करोड रकम संकलन भएको थियो । उक्त रकममध्ये बुटवल र भैरहवामा गरेर २५ करोड ऋण लगानी भएको र अन्य सबै रकम काठमाडौंको गोर्खा मिडिया नेटवर्क, नेचर नेस्ट प्रालि र गितेन्द्रबाबु राई (जीबी राई) का नाममा बैंक ट्रान्सफर भएर गएको सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङले बताए ।

सहकारीमा नियमित बचत र कारोबारबाट संकलन भएको सबै रकम सहकारीका कर्मचारीको मिलेमतोमा ट्रान्सफर गरेर अन्य कम्पनीमा लगानी गरेपछि अध्यक्ष गुरुङ अहिले रकम लैजाने कम्पनी र व्यक्तिका खाता रोक्का गरिदिन आग्रह गर्दै जिल्ला प्रशासनदेखि सहकारी विभागसम्म धाइरहेका छन् । ‘जिल्ला प्रशासन, प्रहरी, प्रदेशको सहकारी विभाग सबैतिर पत्र पठाएर कारबाहीका लागि आग्रह गरेका छौं,’ उनले भने, ‘कतैबाट पनि सुनुवाइ भएन, वास्तै गर्दैनन् ।’

अध्यक्ष गुरुङका अनुसार सहकारीमा १ अर्ब बचत देखिएपछि २०७८ भदौ महिनातिर काठमाडौंस्थित सहकारी विभागबाट तीन कर्मचारीको टोली अनुगमनमा आएको थियो । उक्त टोली पनि काठमाडौंमा जीबी राईकै सल्लाहमा आएको उनले आशंका गरेका छन् । ‘अनुगमन भन्दै आए, केही हेरेनन्,’ उनले भने, ‘त्यति बेला हेरेर सुझाव दिएको भए, ठूलो रकम सहकारीभन्दा बाहिरका संस्थामा जानबाट रोकिने थियो ।’ अनुगमन भनेर आएका टोली भारतको सुनौली र नौतनवा पुगेर किनमेल गरी फर्किएको उनले सुनाए । उनीहरू बसेको क्लब डेनोभोको खर्चसमेत सहकारीले नै तिरेको थियो । लुम्बिनी प्रदेशको सहकारी विभागले अहिलेसम्मको आर्थिक कारोबारको पुस मसान्तभित्र लेखापरीक्षण गराउन निर्देशन दिएको र कार्यालयले पनि थप अनुसन्धान गर्ने बताएको उनले बताए ।

सहकारीमा दैनिक २ सय रुपैयाँदेखि एक हजारसम्म बचत गर्ने सामान्य व्यक्तिको संख्या धेरै छ । बढी ब्याज दिने प्रलोभनमा परेर २ करोड ७० लाख रुपैयाँसम्म नगदै जम्मा गर्नेहरू पनि छन् । बुटवल चौराहाकी शान्ता कुमालले राजमार्गमा पानी र चटपटे बेचेर दैनिक २ सयदेखि ५ सय रुपैयाँ सम्म बचत गर्थिन् । डेढ वर्षमा जम्मा गरेको २ लाख २ हजार ५ सय ६५ रुपैयाँ फसेपछि उनको बिल्लीबाठ भएको छ । राम्रो ब्याज पाइने लोभ देखाएपछि एक वर्षअघि बुटवलमा व्यापार गर्दै आएका कृष्णप्रसाद खरेलले साँवा मात्रै २ करोड ७० लाख रुपैयाँ बचत गरेका थिए ।

खेतीपातीबाट सामान्य आम्दानी गर्ने भैरहवाका देवेन्द्रकुमार यादवले दैनिक ५ सयदेखि १ हजार रुपैयाँका हिसाबले दुई वर्षमा ५ लाख ६३ हजार बचत गरेका थिए । किराना पसल चलाएर गुजारा गरिरहेका तिलोत्तमा–१ शंकरनगरका नारायण ढुंगानाले तीन वर्षमा ५ सय रुपैयाँ बचाएर १० लाख हाराहारी बचत गरिसकेका थिए । सुप्रिम सहकारीका अध्यक्ष ओम गुरुङ सञ्चालक समितिका अन्य सबै भागे पनि आफू बचतकर्ताको साथमा रहेको र न्याय दिलाएर छाड्ने बताउँदै आएका छन् । उनलाई हरेक दिनजसो पीडितले घेरिरहेका छन् ।

अझ पश्चिम नेपालगन्ज घरबारीटोलकी बेबी श्रेष्ठले १० लाख रुपैयाँ जीबी राई समूहले सञ्चालन गरेको समानता बचत तथा ऋण सहकारीमा राखिन् । वाणिज्य बैंकमा जागिरे श्रीमान्को दुर्घटनामा मृत्यु भएपछि एकल बनेकी उनले ६ वर्षमा दोब्बर हुने आश्वासन पाएपछि खाता खोलेकी थिइन् । ‘रकम जम्मा गरेको तीन वर्ष पुग्दै थियो, सहकारी नै गायब भयो । मेरो त जीवनभरिको कमाइ नै रित्तियो,’ उनले भनिन्, ‘सहकारीको ढोका धाउँदै थाकिसकें ।’

अर्घाखाँचीबाट झरेर ९ वर्षदेखि घरबारी टोलमा किराना पसल गरिरहेका माधवप्रसाद बेल्बासेले श्रीमती पुष्पाका नाममा सहित दुई खाता खोलेर दैनिक एक हजार पाँच सय जम्मा गर्दै पाँच लाख पुर्‍याएको बचत गुमाएका छन् । ‘सुरुमा पैसा फिर्ता हुने आसले पनि प्रहरीमा जान डरायौं,’ उनले भने, ‘अहिले प्रहरी र प्रशासन धाउँदा पनि कहीँकतै सुनुवाइ हुँदैन ।’ गएको दसैंमा घर जान पैसा निकाल्न खोज्दा सहकारीको कार्यालय नै नभेट्टिएको बेल्बासेकी श्रीमती पुष्पा पाण्डेले बताइन् । यहाँका बचतकर्ताले प्रहरी प्रशासनले समयमै सहयोग नगरेको गुनासो गरेका छन् ।

नेपालगन्जका विक्रम थापाले समयमा पैसा फिर्ता नपाएपछि प्रहरीमा उजुरी गर्दा पनि सुनुवाइ नभएको बताए । ‘गत वर्ष मंसिरमा सहकारीका सचिव कुमार रम्तेललाई पक्रेर प्रहरीलाई राखेर छलफल गर्दा पनि पैसा फिर्ता हुने आश्वासन पाएर ढुक्क बस्यौं,’ थापाले भने, ‘मै चुप तैं चुप गर्दा न्याय पाउन सकेनौं ।’ नेपालगन्जका कपडा पसल गरिरहेका आयुव श्रेष्ठले ०७८ असोज ११ समानतामा खाता खोलेका थिए । साधारण बचत खोलेका उनले ७ लाख ३२ हजार १ सय ७८ रुपैयाँ बचत नपाएको बताए ।

सहकारीले गत वर्ष पुस २८ मा १३ औं साधारणसभा गर्ने भन्दै सूचना जारी गरे पनि साधारणसभा भएन । सुर्खेत रोडस्थित वेस्टर्न मलमा कार्यालय राखेको सहकारीले अहिले आफ्नो बोर्ड पनि हटाइसकेको छ । जिल्ला प्रहरी बाँकेका अनुसार सहकारीमा जम्मा भएको करिब डेढ करोड फिर्ता नपाएको भन्दै ३२ बचतकर्ताले उजुरी दिएका छन् । सोही उजुरीका आधारमा प्रहरीले तीन महिनाअघि सञ्चालक जीबी राईसहित ९ जनाविरुद्ध अदालतबाट पक्राउ पुर्जी लिएको छ ।

बाँके प्रहरीका डीएसपी नारायण डाँगीले सञ्चालक र प्रबन्धकलाई पक्राउ गर्ने प्रयास भइरहेको बताए । उनले बुधबार सूचना जारी गरेर अरू बचतकर्ताबाट पनि उजुरी मागेका बताए । अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीका अनुसार आरोपी कोही नभेटिँदा सहकारीको ‘हिस्ट्री’ समेत थाहा पाउन नसकिएको बताए । ‘सहकारी कहिलेबाट कसरी सुरु भयो । कति जना बचतकर्ता छन् भन्ने यकिन गर्न पनि सकिएको छैन,’ उनले भने, ‘अब कर्मचारीहरूबाट भए पनि थप जानकारी लिने प्रयासमा छौं ।’

प्रकाशित : पुस १३, २०८० ०७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?