कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

संसद् सेवा दिवस मनाउन्जेल महासचिवलाई काम गर्न दिएको भए हुन्थ्यो : उपाध्यक्ष अर्याल

काठमाडौँ — राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले संघीय संसद्को महासचिवबाट भरतराज गौतमलाई राजीनामा गराइएको भन्दै असन्तुष्टि जनाएकी छन् । १७ औं संसद् सेवा दिवसका अवसरमा संघीय संसद् सचिवालयमा आयोजित समारोहमा बिहीबार उपाध्यक्ष अर्यालले महासचिवको राजीनामा गराइएको भन्दै असन्तुष्टि जनाएकी हुन् । 

संसद् सेवा दिवस मनाउन्जेल महासचिवलाई काम गर्न दिएको भए हुन्थ्यो : उपाध्यक्ष अर्याल

संसद् सेवा दिवस मनाइरहँदा महासचिवबाट गौतमलाई नै राजीनामा गराउनु सही नभएको उपाध्यक्ष अर्यालको भनाइ थियो । 'महासचिवको राजीनामा गराइयो । संघीय संसद् दिवस भइन्जेल राजीनामा नगराइएको भए हुन्थ्यो । संसद् सेवा दिवस मनाउन दिएको भए हुन्थ्यो,' उनले भनिन् । विधिको स्थापना गरेर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो ।

संसद्का कामहरू पारदर्शी हुनुपर्ने पनि उपाध्यक्ष अर्यालले बताइन् । संसद्को विश्वसनीयता बढाउनका लागि संसद्ले गर्न कामहरू पारदर्शी नेतृत्वबाट हुनुपर्ने उनको भनाइ थियो । संसद् सेवाका कर्मचारीलाई यो ठाउँको नेतृत्वमा अवसर दिनुपर्ने उनले बताइन् । 'निर्णायक ठाउँमा यहाँका कर्मचारीलाई नेतृत्व दिनुपर्छ, आगामी दिनमा हामीले त्यसरी नै अगाडि जानुपर्छ,' उनले भनिन् ।

१७ औं संसद् सेवा दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम चलिरहेको बेला संसद्का महासचिव भरतराज गौतमले राजीनामा गरेका थिए । आइतबार उनले राजीनामा दिएका थिए भने सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सोमबार महासचिवमा प्रतिनिधिसभा सचिव पद्मप्रसाद पाण्डेयलाई सिफारिस गरेका थिए ।

राष्ट्रपति रामचन्द्र पौडेलले गौतमको राजीनामा स्वीकृत गरेका छन् भने नयाँ महासचिवमा पाण्डेयको नियुक्ति भइसकेको छैन । रित नपुगेको भन्दै राष्ट्रपति कार्यालयले नियुक्ति प्रक्रिया अध्ययनका क्रममा राखेको छ ।

प्रकाशित : मंसिर २८, २०८० १३:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×