कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

राष्ट्रपतिले संसद् महासचिवको नियुक्ति रोक्नु अनुचित : सभामुख

जयसिंह महरा

काठमाडौँ — सभामुख देवराज घिमिरेले संघीय संसद्काे महासचिव नियुक्तिका लागि गरिएको सिफारिस राष्ट्रपति रामचन्द्र पाैडेलले रोकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । संघीय संसद्काे महासचिवबाट भरतराज गाैतमले राजीनामा गरेपछि सभामुख घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधिसभा सचिव पद्मप्रसाद पाण्डेयलाई सिफारिस गरेका थिए ।

राष्ट्रपतिले संसद् महासचिवको नियुक्ति रोक्नु अनुचित : सभामुख

गत आइतबार गाैतमले राजीनामा दिएका थिए । साेमबार सभामुख र राष्ट्रिय सभा अध्यक्षले पाण्डेयलाई सिफारिस गरेका थिए ।

राष्ट्रपतिले बुधबार गाैतमकाे राजीनामा स्वीकृत भएको सूचना संसद् सचिवालयलाई पठाएका थिए । पाण्डेयलाई सिफारिसअनुसार नियुक्त भने गरिएको छैन ।

सभामुख घिमिरेले सिफारिस गरिएका व्यक्तिलाई नियुक्ति नगर्नु राष्ट्रपतिको अनुचित कार्य भएको धारणा राखे । बिहीबार इकान्तिपुरसँग उनले भने, 'महासचिव नियुक्ति राष्ट्रपतिले राेक्ने कुरा अनुचित हुन्छ ।'

सभामुख र अध्यक्षले सिफारिस गरेपछि संसद्काे महासचिव नियुक्त गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको घिमिरेले स्पष्ट पारे ।

महासचिव सिफारिस भएपछि राष्ट्रपतिले नियुक्त अनिवार्य रुपमा गर्नुपर्ने व्यवस्था रहेको घिमिरेले बताए । राष्ट्रपतिले सिफारिसअनुसार महासचिव नियुक्त नगरेर संसद् सञ्चालनमा असहयोग पुगिसकेको पनि सभामुखको भनाइ छ ।

राष्ट्रपतिले महासचिव नियुक्त नगर्दा संसद्काे महत्त्वलाई कमजोर पार्नका लागि याे घटनालाई अगाडि बढाइएको हाे कि भन्ने आफूलाई लागिरहेको सभामुखले बताए । 'जानाजान संसद्लाई कमजाेर पार्ने काम हुँदा संस्था कसरी बच्छ ?' सभामुखको प्रश्न छ ।

नयाँ महासचिव नियुक्तिका लागि सभामुख र राष्ट्रिय सभा अध्यक्षले अरुसँग सल्लाह गर्न कि नगर्ने भन्ने कानुनी व्यवस्था नरहेको पनि सभामुखको तर्क छ । उनले महासचिव नियुक्त हुँदैछ भन्ने जानकारी कसैलाई दिइराख्न पनि आवश्यक नभएको बताए ।

राष्ट्रिय सभाकाे निर्वाचन घाेषणा गरिएको छ । राष्ट्रिय सभाको अध्यक्षकाे कार्यकाल आगामी फागुन २० मा सकिँदैछ । संसदीय गणित हेर्दा अहिलेकै सत्ता गठबन्धन कायम रहेमा त्यसपछि एमालेले राष्ट्रिय सभाको अध्यक्ष गुमाउने देखिन्छ ।

त्यसैले एमाले पृष्ठभूमिका सभामुख र राष्ट्रिय सभाका अध्यक्षले आफूनिकट महासचिव गा‌ैतमलाई राजीनामा गराएर वैशाखमा नायव महान्यायाधिवक्ताबाट प्रतिनिधिसभा सचिव बनेका पाण्डेयलाई महासचिव बनाउन सिफारिस गरेका हुन् ।

प्रकाशित : मंसिर २८, २०८० १६:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×