कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

हमासको कब्जामा रहेका जोशीलाई छुटाउन कतारका प्रधानमन्त्रीलाई आग्रह

काठमाडौँ — परराष्ट्रमन्त्री एनपी साउदले हमासद्वारा बन्दी बनाइएका नेपाली युवा विपिन जोशीलाई छुटाउनको लागि कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल–थानीलाई आग्रह गरेका छन् ।

हमासको कब्जामा रहेका जोशीलाई छुटाउन कतारका प्रधानमन्त्रीलाई आग्रह

२१ औं दोहा फोरममा सहभागी हुन पुगेका मन्त्री साउदले कतारका प्रधानमन्त्रीसँग सोमतबार शिष्टाचार भेटवार्ता गर्दै उक्त आग्रह गरेका हुन् । अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गर्दा १० नेपालीको पनि मृत्यु भएको थियो । साथै, सोही दिन जोशीलाई पनि बन्दी बनाएर हमासले लगेको थियो ।

भेटवार्ताका क्रममा परराष्ट्रमन्त्री साउदले हमासद्वारा बन्दी बनाइएका नेपाली विद्यार्थी जोशीको शीघ्र रिहाइका लागि थप सशक्त पहल गरिदिन विशेष अनुरोध गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्रमन्त्री साउदले हमाससँग कतारको सम्पर्क, मध्यपूर्वको समस्यामा कतारले निर्वाह गरिरहेको सक्रिय मध्यस्थकर्ताको भूमिका एवं कतार र नेपालबीचको जनस्तरलगायतको सम्बन्ध गहिरो रहेको उल्लेख गरेका थिए । साथै उक्त भेटवार्तामा दुई मुलुकबीचको मित्रवत् सम्बन्धका आधारमा अहिलेको मानवीय मामिलामा कतारसँग नेपाल सरकारको उच्च आशा रहेको पनि बताएका थिए ।

जवाफमा कतारका प्रधानमन्त्री अल थानीले विपिन जोशीलगायत विदेशी बन्दीहरूको रिहाइका लागि कतार सरकारले उच्च प्रयास गरिरहेको उल्लेख गरे । उनले चाँडै सकारात्मक परिणाम आउनसक्ने संकेत समेत पनि गरे । उनले नेपालसँगको सम्बन्धलाई कतार सरकारले प्राथमिकतामा रहेको पनि बताए ।

परराष्ट्रमन्त्री साउदले कतारका प्रधानमन्त्री अल थानीसँग व्यापार र लगानीका विषय, कतार फ्रन्ट फर डेभलपमेन्टबाट हुने विकास सहयोग, आगामी उच्चस्तरीय भ्रमण आदि विषयमासमेत कुराकानी गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रकाशित : मंसिर २५, २०८० १७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×