१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३२

११ वर्षमा 'ध्रुवे' हात्तीको गलामा तेस्रो रेडियो कलर

चितवन — जंगली भाले हात्ती 'ध्रुवे' गाउँ छिरेर मान्छेका घर भत्काउन थालेपछि उसका गतिविधिलाई टाढैबाट सुरक्षित र भरपर्दो तरिकाले निगरानी गर्न सोमबार चितवन राष्ट्रिय निकुञ्जको टोलीले स्याटलाइट कलर जडान गरेको छ । 'ध्रुवे'को गलामा यस्तो कलर राखिएको यो तेस्रो पटक हो ।

११ वर्षमा 'ध्रुवे' हात्तीको गलामा तेस्रो रेडियो कलर

सोमबार दिउँसो तीन बजे तिर निकुञ्जको पश्चिम क्षेत्र सेखीभार पोष्ट नजिक डार्ट गरेर लठ्याएपछि 'ध्रुवे'को घाँटीमा स्याटलाइट कलर राखिएको चितवन निकुञ्जका सूचना अधिकारी रहेका संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले जानकारी दिए । स्याटलाइट कलर राखेपछि ध्रुवे कता छ, कहाँ जाँदैछ भन्ने संकेत निकुञ्जले कम्युटरमा नै पाउने छ । यसरी संकेत आउँदा हात्ती बस्ती तिर जान लाागे बेलैमा भगाउन टोली परिचालित गर्न सजिलो हुने तिवारीले बताए ।

ध्रुवे जस्ता जंगली भाले हात्ती घरपालुवा पोथी हात्ती खोज्दै बस्ती नजिक आउँछन् । धान लगायतका खाने कुरा खोज्दै घरै भत्काउने र मान्छेमाथि आक्रमण पनि गर्छन् । ध्रुवे हात्तीले यो पटक तिहार लगत्तै बस्ती पसेर घर भत्काउन सुरु गरेको थियो । सुरूमा माडी र त्यसपछि निकुञ्ज मुख्यालय कसरा नजिकको जगतपुरका घरहरू ध्रुवे हात्तीले भत्काएर दुःख दिँदै आएको छ । हात्तीले १५ वटा जति घर भत्काएको तिवारीले बताए । साँझ परे लगत्तै हात्ती गाउँ छिर्ने गरेका कारण यसलाई नियन्त्रणमा लिन स्थानीयले माग गर्दै आएका थिए । स्याटलाइट कलर राख्नुका साथै हात्तीको लामो भएको दाह्रा पनि काटिएको तिवारीले बताए । जसका कारण उसको आक्रमक स्वभाव कम हुने तिवारीको भनाइ छ ।

महिना दिन नहुँदै माडीमा चारजनाको ज्यान लिएपछि ६९ सालको हिउँदमा ध्रुवे हात्ती राष्ट्रिय रूपमा नै चर्चामा आएको थियो । त्यो वर्ष मंसिर ६ गते ध्रुवेको गलामा पहिलो पटक रेडियो कलर राखिएको थियो । त्यो बेला ध्रुवे हात्तीलाई मार्ने निर्णय भए पनि अचानक हराएर जोगिएको थियो । ७४ सालको हिउँदमा फेरि देखा परेको ध्रुवे पहिला शान्त थियो । तर आक्रमक गतिविधि गरेपछि निकुञ्जले ०७७ सालको वैशाखमा दोस्रो पटक कलर राखिएको थियो ।

प्रकाशित : मंसिर २५, २०८० १८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?