कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

सिन्धुपाल्चोक पुगेर पिस्कर हत्याकाण्ड सम्झँदै ओलीले भने - सिन्धुपाल्चोकवासी अब पाखुराको अगाडि तर्सिनु पर्दैन

अनिश तिवारी

खाडीचौर (सिन्धुपाल्चोक) — पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सिन्धुपाल्चोकवासी पाखुराको अगाडि तर्सिएको बताएका छन् । नेकपा एमालेको झुलाघाट चिवाभन्ज्याङ समृद्धको लागि संकल्प यात्रा ०८० अभियानको क्रममा सोमबार जिल्लाको बलेफी गाउँपालिका-७ स्थित खाडीचौर आइपुगेका ओलीले अब पाखुरावालाबाट नतर्सिन सिन्धुपाल्चोकवासीलाई आग्रह गरे । 

सिन्धुपाल्चोक पुगेर पिस्कर हत्याकाण्ड सम्झँदै ओलीले भने - सिन्धुपाल्चोकवासी अब पाखुराको अगाडि तर्सिनु पर्दैन

२०४० सालमा त्रिपुरासुन्दरी गाउँ पञ्चायतको पिस्कर गाउँमा पञ्चायती शासनविरुद्धको कम्युनिष्ट विद्रोह सम्झँदै ओलीले सिन्धुपाल्चोक संघर्ष र सहिदको भूमी भएको बताए । ‘राजधानीबाट छोटो दुरीमा रहेपनि सिन्धुपाल्चोक अझै पछाडि छ, पाखुराहरुबाट तर्सिएको छ । यस्तो हुनु हुँदैन । अब तर्सिनुपर्दैन,’ स्थानीयमाझ ओलीले भने ।

एकाएक सबैअगाडि ओलीले पिस्कर विद्रोहका प्रत्यक्षदर्शी र अभियन्तालाई मञ्चबाट बोलाउँदै सबैसमक्ष चिनाउँदै भने, ‘उहाँहरु हो जनताको लागि लड्नुभएको ,दशकौदेखि संघर्ष गरिरहनुभएको ,साथीहरूले बिर्सनुभयो की भनेर चिनाएँ ।’

चर्चित पिस्कर विद्रोहमा स्थानीय इले थामी र बिरबहादुर थामीले सहादत प्राप्त गरेका थिए । यही गाउँ एमालेका पुराना नेता तथा सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोरालगायतका गृहवडा भएको ओलीले स्मरण गरेका थिए । ‘त्यतिखेर पिस्करमा गोली हानेर निर्दोष जनतालाई नाचिरहेको बेला क्रुरतापूर्वक हत्या गरियो, मारियो, घाइते बनाइए, त्यस घटनालाई मिचेर अघि बढ्नुपर्छ, त्यो संघर्षको लागि पिस्करबासी र जिल्लाबासीलाई धन्यवाद छ,’ओलीले भने ।

बलेफी गापाको खाडीचौर बजारको बीचमा वर्षौदेखि अलपत्र परेको मोटरबेल पुलको संरचना देखाउँदै ओलीले सिन्धुपाल्चोकका मन्त्री, सांसदलाई व्यंग्य गर्दै चुनौती दिएका थिए । ‘यहाँका मन्त्री-सांसदहरू सक्नुहुन्छ भने यो अगाडिको अलपत्र पुल बनाएर देखाउनुस्, एमाले सरकार नआएसम्म यो पुल बन्दैन्,’ उनले भने ।

०७८ मेलम्ची बाढीपीडितको सहज जीवनको लागि सिन्धुपाल्चोकलाई विपदग्रस्त जिल्ला घोषणा गरेर बाढी रोकथाम गर्न पहलकदमी गरिएको ओलीले जनाए । मेलम्चीबाट काठमाडौंमा पानी लैजान एमाले सरकारले मात्रै सकेको उनले दाबी गरेका थिए । ‘तीन वर्षमा झन् समस्या थपिएका छन्, काठमाडौंमा पानी लैजान सकेको छैन, मुहान दिन सकेको छैन, सरकार मुकदर्शक बनेर बसिरहेको छ,’ उनले भने ।

हजारौ स्थानीय उपस्थित सभामा ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली ,महासचिव शंकर पोखरेल अन्य नेता तथा कार्यकर्ता उपस्थित थिए । केन्द्रीय सदस्य तथा जिल्लाको सह-इन्चार्जसमेत रहेका पूर्व प्रदेशमन्त्री सरेश नेपालले तातोपानी नाका, मध्य पहाडी लोकमार्ग, गुठी जग्गालगायतको समस्याबारे सबैसमक्ष ध्यानार्कषण गराएका थिए ।

प्रकाशित : मंसिर २५, २०८० १५:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×