कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

पछिल्लो ५ दिनमै साढे २९ किलो अवैध सुन बरामद

सुदीप कैनी

काठमाडौँ — पछिल्लो ५ दिनमा काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट साढे २९ किलो सुन बरामद भएको छ । विमानस्थल भन्सार कार्यालय र विमानस्थल प्रहरीले एक दिनको अन्तरमा साढे २१ किलो सुन बरामद गरेका छन् । साथै, प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले न्युरोड र नागढुंगा नाकाबाट ९ किलो सुन नियन्त्रणमा लिएको छ ।

पछिल्लो ५ दिनमै साढे २९ किलो अवैध सुन बरामद

गत मंगलबार न्युरोडबाट ७ किलो सुन बरामद गरिएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताए । न्युरोडमा पदप्रसाद पाण्डेले सञ्चालन गरेको ओम पल गोल्ड प्रालि र कैलाश ज्वेलर्स प्रालिबाट बिल–बिजक बिनाका सुनका गहना र टुक्राहरु नियन्त्रणमा लिईएको कार्यालयले जनाएको हो । पाण्डेको साथबाट ४१ सय अमेरिकी डलर र ३९ लाख नेपाली रुपैंया समेत बरामद गरिएको थियो ।

कैलाली घर भई स्वयम्भु बस्ने पाण्डेलाई समेत प्रक्राउ गरी गैरकानुनी रुपमा हुण्डी मार्फत वित्तीय कारोबार गरेको हुँदा अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको रेग्मीले बताए । सुन र अमेरिकी डलरमा राजश्व छली सम्बन्धी कसुरमा उनलाई कारबाही प्रक्रिया अघि बढेको प्रहरीले जनाएको छ ।

त्यस्तै, बिहीबार मध्यराति त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलबाट भन्सार विभागले १४ किलो सुन बरामद गरेको थियो । गोरखा बारपाकका चन्द्र घलेले ज्याकेट भित्रको भित्रि वस्त्रमा सुन लुकाएर ल्याएको अवस्थामा प्रक्राउ गरिएको विमानस्थल भन्सार कार्यालयका टोकराज पाण्डेले बताए ।

चन्द्रले २/२ केजी तौलको ७ थान सुन भित्रि वस्त्रको गोजीमा राखेर ल्याएका थिए । उक्त सुन ल्याउन संलग्नहरुमाथि अनुसन्धान गर्न कार्यालय उपसचिव मनिराम पौडेलको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेको छ । चन्द्रले बारपाककै मिनबहादुर घलेको आग्रहमा दुबईबाट सुन ल्याएको बताएका छन् । उनलाई पनि प्रहरीले नियन्त्रणमा लिएर भन्सार कार्यालयलाई बुझाएको छ । थप अनुसन्धान भइरहेको भन्सार अधिकारीहरुले बताएका छन् ।

बिहीबार नै अपराध अनुसन्धान कार्यालयले काठमाडौंको नागढुंगा नाकाबाट २ किलो सुनसहित ३ जनालाई प्रक्राउ गरेको थियो । रसुवाको केरुङ नाकाबाट भन्सार छलेर तस्करी गरेर ल्याएको सुन सुराकीको सुचनाको आधारमा नियन्त्रणमा लिइएको रेग्मीले बताए । सुनसँगै रसुवाका विरु तामाङ, सुनिल भुजेल र ग्याल छिरिङ तामाङलाई प्रक्राउ गरिएको छ । वाग्मती प्रदेशको ०१–०२८–२६९७ नम्बरको स्कार्पियो गाडीको गियर बक्समा बिस्कुट आकारको २ थान सुन लुकाएर ल्याइएको थियो ।

विमानस्थल प्रहरीले गएराति (शनिबार) साढे ६ किलो सुन भन्सार पास भईसकेको अवस्थामा विमानस्थलबाट नियन्त्रणमा लिएको छ । अवैध रुपमा ल्याउँदै गरिएको ६ किलो ५ सय ग्राम सुन सुनसहित इजिप्टका नागरिक सेरिफ मोहम्मद ल्यासिन र अन्य दुई सुडानी नागरिक पक्राउ गरिएको त्रिभुवन विमानस्थलका प्रहरी प्रमुख डीआइजी अर्जुन चन्द ठकुरीले बताए । उनकाअनुसार शनिबार राति पौने एक बजे भन्सार पास भइसकेपछि सुन बरामद भएको हो ।

‘हामीलाई पहिले सुराकी पनि थियो । बिहीबार जस्तै ज्याकेटभित्रको वस्त्रमा ६ थान अर्धतरल सुन ल्याएका रहेछन’, उनले भने । दुबईको एफ जेड ५७३ को फ्लाइटबाट सुन ल्याइएको थियो । घलेले पनि सोहि फ्लाइटबाट बिहिबार राति सुन ल्याएका थिए । मोहम्मदसँगै आएका भएकाले दुई सुडानीलाई आशंकामा पक्राउ गरिएको चन्दले बताए ।

विमानस्थलबाट ल्याएको सुन बरामद हुन थालेपछि पछिल्लो समय रसुवा, दोलखा, सिन्धुपाल्चोक, गोरखा लगायतका सिमा नाकाबाट ल्याउने क्रम पनि बढेको प्रहरीले जनाएको छ । गत असार २९ गते विमानस्थलबाट बाहिरिएको ६१ किलो सुन राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो । त्यतिबेला ब्रेक सुमा रहेको सुन भन्सार जाँचपास गरेर सिनामंगल सडकमा पुगेको अवस्थामा बरामद गरिएको हो । त्यसअघि विद्युतीय चुरोट भेपमा लुकाएर ९ केजी सुन ल्याईएको पाइएको थियो । उक्त सुन तस्करीको आरोपमा पूर्वसभामुख कृष्णबहादुर महराको छोरा राहुल पुपर्क्षका लागि थुनामा छन् ।

गत भदौ ३ र असोज १३ गते केरुङ रसुवा नाकाबाट ल्याएको ३ केजी, असोज १० र ११ गते दोलखा राङजिया नाकाबाट सडकमार्ग हुँदै ल्याईएको ७ केजी सुन बरामद गरिएको थियो ।

पछिल्लो १० वर्षमा तस्करी गरेर ल्याइएको ७ सय किलो सुन बरामद भएको प्रहरी प्रधान कार्यालयको तथ्यांक छ । सुन ओसारपोसारमा संलग्न ५ सय ९९ जना प्रक्राउ परेका छन् । उक्त सुन ७ अर्ब भन्दा मुल्यको हो । सोहि अवधीमा १ हजार १ सय २२ किलो अवैध चाँदी समेत बराबद भएको छ ।

प्रकाशित : मंसिर २४, २०८० १२:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×