कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

एनसेल प्रकरणमा भएको भ्रष्टाचार रोक्न सरकार, सडक र संसद् सबै ठाउँबाट प्रतिवाद गरौँ : महामन्त्री थापा

काठमाडौँ — कांग्रेस महामन्त्री गगन थापाले एनसेल प्रकरणमा भएको अनियमितता रोक्न सरकार, सडक र संसद् सबै ठाउँबाट संघर्ष गर्न आह्नान गरेका छन् । उनले सरकारले छानबिन समिति बनायो भनेर ढुक्क हुने अवस्था नरहेको बताए ।

एनसेल प्रकरणमा भएको भ्रष्टाचार रोक्न सरकार, सडक र संसद् सबै ठाउँबाट प्रतिवाद गरौँ : महामन्त्री थापा

महामन्त्री थापाले राजनीतिक र प्रशासनिक नेतृत्वमध्ये कसैको साथ र आश्वासन नपाई कसैले पनि यति ठूलो अनियमितता गर्ने हिम्मत गर्नै नसक्ने दाबी गर्दै कानुनको छिद्र प्रयोग गरेर अनियमितता गरेको आरोप लगाएका छन् ।

उनले यो प्रकरणमा जोसुकै, जुनसुकै तह, ओहदा र पार्टीको जस्तोसुकै प्रभावशाली व्यक्ति संलग्न भएको भए पनि छानबिन गरेर कारबाहीको दायरामा ल्याउनुपर्ने समेत बताएका छन् ।

'जसको आडमा यो भएको छ र जो प्रत्यक्ष परोक्ष संलग्न छन् अहिले हुने छानबिन प्रभावित गर्न उनीहरू लाग्ने नै छन्,' बिहीबार सामाजिक सन्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै थापाले भनेका छन्, 'अतः उनीहरूलाई असफल बनाउने भनेको यो प्रकरणमा जो जहाँ बसेर प्रतिरोध गरिरहेका छौँ, हाम्रो प्रयासलाई एकीकृत बनाउने हो, जसरी विगतमा प्रतिरोध गरेका थियौँ, कोहीले सरकार भित्रैबाट कोहीले संसदमा, कोहीले सडकबाट ।'

महामन्त्री थापाले एनसेल प्रकरणमा बदनियत राखिएको छ भन्ने विषयमा कुनै द्विविधा नरहेकोमा समेत स्पष्ट हुन आग्रह गरेका छन् । एनसेल प्रकरणलाई समिति बनाएर फासफुस पार्ने र मिलेमतोमा टुंग्याउने प्रयास कतैबाट पनि हुन नदिन महामन्त्री थापाले चारै तिरबाट खबरदारी गर्न आवश्यक रहेको बताएका छन् ।

'समिति औपचारिकतामा मात्र सीमित नहोस् । छानबिन समिति बनाउने र सामसुम पार्न नदिन हरक्षण सचेत र चनाखो हुनु जरुरी छ । हरेक पटक अनेकन भ्रष्टाचार र आर्थिक अनियमितताका काण्ड सार्वजनिक हुन्छन्, दबाब हुन्छ, छानबिनको प्रयास हुन्छ अनि विभिन्न दृश्य अदृश्य साँठगाँठमा प्रकरणलाई सामसुम पार्ने प्रयास हुन्छ । यस्तो हुन नदिन निरन्तर खबरदारी गरौँ,' थापाले आह्वान गरेका छन् ।

'नेता होस् वा नाता, सरकारी-गैरसरकारी कसैले छुट पाउनु हुँदैन । कुनै व्यक्ति, संस्था वा समूहको स्वार्थ अनुकूल नीतिगत भ्रष्टाचारका लागि कहींकतैबाट ठाउँ बनाउन खोजिएको छ भने त्यसलाई रोक्नुपर्छ,' उनले भनेका छन्, 'अझै सशक्त ढंगबाट प्रतिवाद जरुरी छ, नागरिकस्तरबाट, सञ्चार माध्यमबाट, दलहरूभित्रबाट, सरकार भित्रैबाट र सांसदबाट । अतः सबै तिरबाट अझै संगठित र सामूहिक रूपमा प्रतिवाद गरौँ।'

उनले यो प्रकरणसँगै जोडेर नेपालमा हुने प्रत्यक्ष वैदेशिक लगानी तथा अन्य लगानीको वातावरणलाई प्रभावित पार्ने र आरोप लगाउने विषय उठेका भन्दै ती गम्भीर विषयमा समेत सरकारले प्रस्ट पार्नुपर्ने बताएका छन् । 'समिति मात्र बनाएर प्रकरण फासफुस पार्ने र मिलेमतोमा टुंग्याउने प्रयास कहीँकतैबाट नहोस् । सुनकाण्डदेखि भुटानी शरणार्थी काण्डसम्म पर्दाभित्र दलका शीर्षहरूबीच जे-जस्ता मिलेमतोका प्रयास भए यो प्रकरणमा त्यस्तो हुन नदिन सरकारभित्र, दलहरूभित्र र बाहिर अझै सशक्त ढंगले खबरदारी गरौँ,' थापाको आह्वान छ ।

प्रकाशित : मंसिर २१, २०८० १८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×