कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

उमेर विवाद र सहायक रथीको पदावधि थपबारे बोले प्रधानसेनापति

प्रधानसेनापति शर्माले संस्थाले गरेको विधिसम्मत प्रक्रियाको जिम्मेवारी संस्थाले लिने तर व्यक्तिगत रुपमा गर्ने गल्तीको भागीदार स्वयं व्यक्ति नै हुने बताए
जगदीश्वर पाण्डे

काठमाडौँ — प्रधानसेनापति प्रभुराम शर्माले पहिलोपटक नेपाली सेनाको उमेर विवाद र केही समयअघि सहायक रथी यमबहादुर अधिकारीको पदावधि थप गरिएको सम्बन्धमा मुख खोलेका छन् । 

उमेर विवाद र सहायक रथीको पदावधि थपबारे बोले प्रधानसेनापति

प्रधानसेनापति भएपछि शर्माले पहिलो पटक सेना भित्रको उमेर विवाद, सरुवा–बढुवालगायत विषयमा बोलेका हुन् । सेनाभित्र उमेर विवाद भएपछि सार्वजनिक रुपमा सैनिक उच्च नेतृत्वमाथि प्रश्न उठेको थियो ।

सैनिक मुख्यालय जंगीअड्डामा मंगलबार आयोजित ‘कमान्डिङ अफिसर ओरिएन्टेशन कार्यक्रम’ लाई सम्बोधन गर्दै प्रधानसेनापति शर्माले नेपाली सेनालाई संस्थाभित्र वा बाहिर रहेर कमजोर बनाउने एवं आफ्नो निहित स्वार्थसिद्ध गर्ने दुराशयले प्रेरित गरेको पनि उल्लेख गरे ।

प्रधानसेनापति शर्माले रिक्त रथी दर्जामा पदोन्नति प्रक्रिया सुरु भएसँगै सम्भावित उम्मेद्‍वारहरुको उमेर, शैक्षिक योग्यता आदिलाई विषयवस्तु बनाई अतिरञ्जित तवरले प्रचारबाजी भएको बताएका हुन् । उनले शैक्षिक प्रमाणपत्र, नागरिकताजस्ता कागजातहरु आवश्यकताअनुसार सम्बद्ध निकायहरुबाट यकीन गरेरमात्र जंगीअड्डाले कारबाही अघि बढाउने गरेको पनि उल्लेख गरेको सेनाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नेपाली सेनामा भावी प्रधानसेनापतिको रुपमा हेरिएका अवकाश प्राप्त उपरथी ताराध्वज पाण्डेको रथीमा बढुवा गर्ने सिलसिलामा उमेर विवाद देखिएको थियो । त्यसपछि पाण्डेले राजीनामा दिएका थिए । पाण्डेको राजीनामापछि वरिष्ठ उपरथी अशोक सिग्देललाई रथीमा बढुवाको लागि रक्षा मन्त्रालयमा सिफारिस गरिसकेको छ । अब बस्ने मन्त्रिपरिषद् बैठकले सिग्देललाई रथीमा बढुवा गर्ने उल्लेख छ । त्योसँगै उनी आगामी भदौमा नयाँ प्रधानसेनापति बन्ने लाइनमा हुनेछन् ।

सेनाका उच्च पदाधिकारीहरुको उमेर विवादलाई लिएर प्रश्न उठेपछि प्रधानसेनापति शर्माले टिप्पणी गरेका हुन् । शर्माले विगतमा जाँचबुझ गर्ने क्रममा आफ्नो जिम्मेवारीमा परेका केही पदाधिकारीहरुको कागजात शंकास्पद देखिएकोले कारबाही गर्न सिफारिस गरेको उदाहरण पनि दिए । उनले संस्थाले गरेको विधिसम्मत प्रक्रियाको जिम्मेवारी संस्थाले लिने तर व्यक्तिगत रुपमा गर्ने गल्तीको भागीदार स्वयं व्यक्ति नै हुने बताए । उनले स्वस्थ प्रतिस्पर्धा व्यक्तित्व विकासका लागि उपयुक्त र स्वाभाविक भए तापनि अमर्यादित र अस्वस्थ ढंगले अर्कालाई दोषी देखाई आफू अगाडि बढ्न सकिन्छ भन्ने दुर्भावना नराख्न सुझाव दिएका थिए ।

शर्माले नेपाली सेनामा सरुवा, बढुवालगायत वृद्धिविकाससम्बन्धी कार्यहरुका क्रममा गुनासो वा उजुरी गर्ने वैधानिक निकायहरु रहेको र यसबारे सकलदर्जालाई जानकारी हुँदाहुँदै संस्था बाहिरबाट अमर्यादित क्रियाकलापको प्रयासमा संलग्न नहुन सम्बद्ध सबैलाई सचेत गराएका थिए ।

सम्बोधनमा उनले पछिल्लो समयमा विभिन्न सञ्चार माध्यमहरुको दुरुपयोग गर्दै नेपाली सेनाका कामकारबाहीहरु, यसको नियमित सञ्चालन प्रक्रियालगायत विषयमा अनर्गल प्रचारबाजी भैरहेको पनि उल्लेख गरे । उनले त्यसतर्फ सकलदर्जालाई सचेत रहन निर्देशन दिए । साथै, उनले संस्थागत हित नै आफ्नो एकमात्र स्वार्थ रहेको र विधि, पद्धति तथा प्रक्रियाविपरीत कसैसँग कुनै सम्झौता नगर्ने बताए ।

‘असंख्य सिपाहीहरुको रगत पसिनाको जगमा उभिएको नेपाली सेनालाई संस्थाभित्र वा बाहिर रहेर कमजोर बनाउने एवं आफ्नो निहित स्वार्थसिद्ध गर्ने दुराशयले प्रेरित भई त्यस किसिमको कार्य गर्नेहरुको दुष्प्रयासले नेपाली सेना कमजोर हुनेछैन,’ उनले भने ।

शर्माले सहायक रथी यमबहादुर अधिकारीको सहायक रथीमा थप तीन वर्ष पदावधि थपिएको बारेमा पनि प्रस्ट पारे । केही समय अघिमात्र सरकारले पूर्व लडाकुको रुपमा सेनामा समायोजन भएका अधिकारीको पदावधि थपेको थियो ।

‘मेरो र प्रधानमन्त्रीको बीचमा गोप्य सम्झौता भएको, विशेष परिस्थितिमा भर्ना भई विशेष ढंगले पदोन्नति भएको र निर्धारित योग्यता नपुगेको व्यक्तिलाई प्रधानसेनापति बनाउन भूमिका तयार गरेको, कुनै राजनीतिक दल विशेषलाई खुसी पार्ने गरी काम गरिदिएबापत राजदूतको नियुक्तिमा जान लागेको जस्ता व्यक्तिगत तथा संस्थागत प्रतिष्ठामा दाग लगाउने कुचेष्टाले भरिएका दुष्प्रचार पूर्णतः गलत हो,’ उनको भनाइ थियो ।

शर्माले नेपाली सेना मुलुकको संविधान, विधि, पद्धति र उत्कृष्ट परम्पराहरुबाट निर्देशित रहेर दायित्व निर्वाहमा प्रतिबद्ध रहेको बताए । उनले ‘व्यक्तिगत स्वार्थबाट प्रेरित भएर संस्थाको हित प्रतिकूलका क्रियाकलापमा संलग्न रहने प्रवृत्तिलाई अन्त गर्न आफू प्रतिबद्ध रहेको पनि उल्लेख गरेका थिए ।

प्रकाशित : मंसिर १९, २०८० १८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×