कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

द्रुत बसलाई बाटो रंग्याउन र बोर्ड राख्नमै सवा दुई करोड

विमल खतिवडा

काठमाडौँ — सूर्यविनायक–रत्नपार्क द्रुत बस हिँड्ने बाटो रंग्याउन र बोर्ड राख्नमै दुई करोड २० लाख रुपैयाँ खर्च भएको छ । तामझामसाथ उद्घाटन गरिएको बस सञ्चालनका लागि दुई खण्ड गरेर सडक रंग्याइएको थियो । पहिलो खण्ड रत्नपार्कदेखि जडीबुटीको मनोहरा पुलसम्म हो । यस खण्डमा रङ लगाउने र साइनबोर्ड राख्ने कामको नेतृत्व सडक डिभिजन कार्यालय, काठमाडौंले गरेको हो ।

द्रुत बसलाई बाटो रंग्याउन र बोर्ड राख्नमै सवा दुई करोड

कार्यालयले दुई कम्पनीलाई रङ लगाउने जिम्मा दिएको थियो । साइन बोर्ड बनाएर राख्ने जिम्मा अर्कै कम्पनीलाई दिइएको थियो ।

केएम कन्स्ट्रक्सन र अनिता बिल्डर्सलाई रङ लगाउने जिम्मा दिइएको कार्यालयले जनाएको छ । साइनबोर्ड बनाएर राख्ने कामको ठेक्का सौरभ आर्टले पाएको हो । नयाँ बानेश्वरदेखि माइतीघरसम्मको सडकमा अनिता बिल्डर्स अनि केएम कन्स्ट्रक्सनले मनोहरादेखि नयाँ बानेश्वर र माइतीघरदेखि रत्नपार्कसम्म रङ लगाउने जिम्मा पाएका हुन् । कम्पनी रजिस्ट्रार कार्यालयका अनुसार अनिता बिल्डर्स अनिता शर्माको नाममा दर्ता छ ।

रङ लगाउन, ओभरहेड बोर्ड राख्न र ट्राफिक संकेत बनाउन एक करोड रुपैयाँ खर्च भएको सडक डिभिजन काठमाडौंका इन्जिनियर हरि ठकुरीले बताए । ‘भदौ २५ मा मन्त्रीस्तरीय निर्णयले संविधान दिवसको अवसर पारेर द्रुत बस चलाउने भएपछि त्यहीअनुसार आवश्यक पूर्वाधार तयार गरिएको हो,’ उनले भने, ‘चाँडो पूर्वाधार निर्माण सक्नुपर्ने भएकाले रातदिन गरेर काम भएको हो ।’ रत्नपार्कदेखि मनोहरा खोलासम्मको दूरी ७ किमि छ । मनोहरादेखि भक्तपुरको सूर्यविनायकसम्म रङ लगाउने र बोर्ड राख्ने काम सूर्यविनायक–धुलिखेल सडक आयोजनाले गरेको हो । सडक विभागका डिजाइनरले दिएको डिजाइनले अन्तर्राष्ट्रिय अभ्यासअनुसार द्रुत बसका लागि पूर्वाधार तयार पारिएको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर नारायण लामिछानेले बताए ।

‘ट्राफिक संकेत, बस चल्ने समय, रोकिने ठाउँ, द्रुत बस र अन्य बस चल्ने ठाउँ छुट्याएको बोर्ड राखिएको छ,’ लामिछानेले भने, ‘सूर्यविनायकदेखि मनोहरासम्म ११.५ किमि दूरीमा काम गरिएको हो ।’ यति काम गर्न खर्च १ करोड २० लाख रुपैयाँ खर्च भएको आयोजनाले जनाएको छ । संविधान दिवसका दिन असोज ३ मा द्रुत बस सञ्चालन गर्ने भनिएकाले त्यो बेलासम्म पूर्वाधार तयार गर्नुपर्ने भन्दै सम्बन्धित सडक डिभिजन र आयोजना कार्यालयलाई पूर्वाधार तयार गर्न सडक विभागले निर्देशन दिएको थियो ।

‘टिपर र मालवाहक ट्रक चल्ने भएकाले राति काम गर्दा समस्या भएको थियो,’ उनले भने, ‘यो खण्ड भएर मालवाहक सवारी बढी गुड्ने र चल्ने भएकाले बिग्रिएको सडकलाई मर्मत गरेर रङ लगाउँदा लागत बढेको हो ।’ पाँच वटा कम्पनीसँग कोटेसन मागिएकामा केएम कन्स्ट्रक्सन छानिएको थियो । आयोजनाका अनुसार केएम कन्स्ट्रक्सनका सञ्चालक टीका सुवेदी हुन् । उनी निकट निर्माण व्यवसायीका अनुसार सुवेदी सडक विभागका कर्मचारीसँग बढी नजिक भएकैले दररेट पेस गरेर ठेक्का लिन समस्या भएन ।

‘आकस्मिक रूपमा काम गर्नुपर्ने भएकाले सम्बन्धित कम्पनीसँग दररेट माग गरिएको थियो,’ उनले भने, ‘सबैसँग वार्ता गर्दै एउटा कम्पनीसँग सम्झौता गरिएको हो ।’ दिउँसो सवारी चाप बढी हुने भएकाले ९० प्रतिशत काम राति गरिएको हो । ठेक्का लिने कम्पनीले नै मार्क गरिने रङ किनेर ल्याएको हो ।

यता विज्ञहरू भने पर्याप्त पूर्वाधारबिनै द्रुत बस चलाउन समस्या हुने बताउँछन् । दसैंअघि बन्द भएको द्रुत बससेवा आइतबारबाट पुनः सञ्चालन गरिएको छ । यातायात व्यवस्था विभाग भने पहिला देखिएका समस्या समाधान गरेर बस सेवा सञ्चालनमा ल्याइएको दाबी गर्छ ।

बस सञ्चालनमा आउँदा अन्य सवारीले ट्राफिक जाममा पर्नुपर्छ । बसलाई लेन छाड्दा अन्य सार्वजनिक र निजी सवारीलाई समयमै गन्तव्यमा पुग्न हम्मेहम्मे पर्ने गरेको छ, जसले गर्दा आम सर्वसाधारणले द्रुत बसका नाममा सास्ती खेप्नुपर्ने बाध्यता रहेको भन्दै सामाजिक सञ्जालमा टीकाटिप्पणी हुने गरेको छ ।

रत्नपार्कबाट सूर्यविनायकसम्मको दूरी १८.५ किमि छ । अहिले गाडी चल्ने पहिलाको समय परिवर्तन गरेर बिहान साढे ८ देखि साढे १० र दिउँसो साढे ३ देखि साँझ साढे ५ बजेसम्म तोकिएको छ । अहिले ३६ वटा बस सञ्चालनमा ल्याइएको हो । यसअघि २५ वटा गाडी सञ्चालनमा थिए । रातो रङ लगाएका १९ ठाउँमा बस रोकेर यात्रु चढाउने/ओराल्ने व्यवस्था गरिएको छ ।

करोडौं खर्च गरेर लगाइएको रङसमेत केही दिनमै मेटिन थालेको छ । पहिलाभन्दा धेरै कुरामा सुधार गरेर द्रुत बस सेवा सञ्चालनमा आएको यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजालले जनाए । ‘पहिलाको समय तालिका फेरेर झन् छिटो बनाइएको छ, अहिले तीन/तीन मिनेटमा सम्बन्धित गन्तव्यबाट बस छुट्छन्,’ उनले भने, ‘४५ मिनेटमा गाडी गन्तव्यमा पुगे/पुगेनन् भनेर विभागले हरेक बसको जानकारी लिन्छ । अहिले जडीबुटी पुलले गर्दा समस्या भएकाले त्यहाँ सुधारको काम भइरहेको छ ।’

छुट्टै डेडिकेटेड लेन नदिई द्रुत बस चलाउन नसकिने पूर्वसचिव बताउँछन् । यस्तो सेवा थाल्नु राम्रो भए पनि पर्याप्त पूर्वाधार अझै नरहेको पूर्वसचिव अर्जुनजंग थापाको भनाइ छ । सडक पूर्वाधारसम्बन्धी लामो अनुभव सँगालेका थापाले काठमाडौंमा पूर्वाधार निर्माण गर्दा भविष्यमा द्रुत बस पनि चलाउने गरी सोच्नुपर्नेमा जोड दिए ।

‘यो बस सेवा आवश्यक हो । तर त्यसका लागि पर्याप्त र दिगो पूर्वाधार चाहिने समयमा बसको संख्या मात्र बढाइएको छ,’ उनले भने, ‘त्यसैले अहिले बिनायोजना हचुवाका भरमा द्रुत बस सेवा सुरु गरिएको छ । त्यसैले यसमा ढिलो चाँडो फेरि पनि समस्या आउँछ ।’

प्रकाशित : मंसिर १७, २०८० ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×