कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२
कांग्रेसको लुम्बिनी सम्मेलन 

फेरि प्रधानमन्त्रीको दौडमा नलाग्न देउवालाई सुझाव

प्रकाश धौलाकोटी

काठमाडौँ — नेपाली कांग्रेसका नेताहरूले नै सभापति शेरबहादुर देउवालाई फेरि प्रधानमन्त्रीको दौडमा नलाग्न सुझाव दिएका छन् । शनिबार लुम्बिनी प्रदेशको पहिलो सम्मेलनमा भाग लिन सभापति देउवासँगै बुटवल पुगेका नेताहरूले सभापति देउवालाई सार्वजनिक मञ्चबाटै अब फेरि प्रधानमन्त्री बन्ने दौडमा नलाग्न आग्रह गरेका हुन् ।

फेरि प्रधानमन्त्रीको दौडमा नलाग्न देउवालाई सुझाव

बदलिँदो राजनीतिक परिस्थिति र मुलुकको अवस्थालाई लिएर पनि सभापति देउवाले मार्गप्रशस्त गर्नु उपयुक्त हुने उनीहरूको भनाइ छ ।

नेता शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य चन्द्र भण्डारी लगायत नेताहरूले लुम्बिनी सम्मेलनको मञ्चमा सभापति देउवाले पार्टीमा मार्गप्रशस्त गर्नु उपयुक्त हुने सुझाव राखे । तर देउवा आफैँले भने अहिले आफू भाषणभन्दा बढी काम गर्ने गरी अघि बढेको उद्घोष गरे । संसद्को सबैभन्दा ठूलो दलको नेतृत्वमा रहेका देउवा भने छैटौँ पटक प्रधानमन्त्री बन्ने मौका बनाउने ध्यानमा छन् । वर्तमान सत्ता गठबन्धनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालपछि देउवा प्रधानमन्त्री बन्ने सहमति पहिल्यै भइसकेको छ ।

यस्तोमा कांग्रेसकै शीर्ष नेता र पदाधिकारीहरू भने देउवालाई प्रधानमन्त्री हुनबाट रोक्न सार्वजनिक रुपमै खुलेका छन् । यसअघि पार्टीभित्र आन्तरिक जोडघटाऊ गरिरहेका नेताहरूले शनिबार सार्वजनिक मञ्चबाटै देउवाले अब पार्टी र मुलुकका लागि समेत मार्ग प्रशस्त गर्नु उपयुक्त हुने भन्दै नैतिक दबाब बढाएका छन् । देउवालाई लक्षित गर्दै सम्मेलनमा नेता शेखर कोइरालाले नेतृत्वमा त्यागको भावना विकास नभएसम्म पार्टी र देश परिवर्तन हुन नसक्ने बताए ।

‘त्यागको ठूलो महत्त्व छ, बुद्धले शान्ति र त्यागको कुरा सिकाउनु भएको छ,’ कोइरालाले अघि भने, ‘त्यागले हिंसा र निराशालाई अन्त्य गर्न सहयोग गर्छ, त्याग गर्न सक्यो भने कांग्रेस परिवर्तन हुन्छ र कांग्रेस परिवर्तन भयो भने देश पनि परिवर्तन हुन्छ ।’

१४ औँ महाधिवेशन कोइराला देउवासँगै सभापतिका प्रत्यासी थिए । महाधिवेशनमा देउवासँगै पराजित भएका कोइरालाले नेतृत्वकै कारण जनताले कांग्रेसप्रति भरोसा गर्ने अवस्था नरहेको बताए । ‘भ्रष्टाचार र दण्डहीनताको अन्त्य नभएसम्म नयाँ नेपाल सम्भव छैन्, राजनीतिज्ञकहरूकै मिलेमतोको भ्रष्टाचार अहिलेको मुख्य समस्या हो । त्यसलाई निर्मुल पार्नैपर्छ,’ कोइरालाले जोड दिए ।

सम्मेलनमा बोल्दै महामन्त्री विश्वप्रकाश शर्माले सभापति देउवालाई छैटौँ पटक प्रधानमन्त्री बन्ने दौडमा नलाग्न आग्रह गरे । ‘सभापतिज्यु शालिन र सहृदयी हुनुहुन्छ । कमैया, मधेश र एकताकाको विद्यार्थी आन्दोलन उहाँले सफल पार्नुभयो,’ शर्माले अघि भने, ‘उहाँ ५–५ पटक प्रधानमन्त्री हुनुभयो, अब प्रधानमन्त्रीको दौडमा दौडनु हुँदैन । अब शालिनता देखाएर समकालीन कोही छ भने जाऊ, नत्र युवाहरू अगाडि बढ भन्नुपर्छ ।’

उनले जनताले बदलिएको कांग्रेस र बदलिएको नेतृत्व हेर्न चाहेको भन्दै सभापति देउवाले त्यस्तो परिस्थितिलाई बुझेर पार्टीलाई अघि बढाउन अभिभावकत्व लिनुपर्ने बताए । उनले गौतम बुद्धको जन्मस्थलमा भएको लुम्बिनी सम्मेलनबाट कांग्रेस र लोकतन्त्रलाई बलियो बनाउने शक्ति सभापति शेरबहादुर देउवालाई प्राप्त हुनुपर्ने बताए ।

‘बुद्धको शान्तिको उपदेश, त्यागको सन्देश र रापताप सभापतिको शिरमा परोस्,’ शर्माले भने, ‘अबको प्रधानमन्त्री र पार्टीको सभापति अर्को समकक्षीमा जाओस् भन्ने बुद्धत्व सभापतिको शिरमा परोस् ।’

महामन्त्री शर्माले अहिले देउवाले दोस्रो पुस्तालाई विश्वास गरेर जिम्मेवारी प्रदान गरे निराश बनेका कांग्रेसका कार्यकर्ता र सबै जनता मुस्कुराएर कांग्रेस सँग–सँगै साथ लागेर अघि बढ्ने दाबी गरे ।

अर्का महामन्त्री गगन थापाले पनि कांग्रेसले जनताले चाहेजस्तो सुशासन र परिवर्तनको नेतृत्व गर्न सक्नुपर्ने बताए । उनले गणतन्त्रको मुकुट दुई चार जना नेताहरुले ढाकेर राखेको भन्दै गणतन्त्रको महत्व बुझाउनकालागि समेत पूराना नेताहरुले अब विश्राम लिनुपर्ने बताए ।

'हामी गणतन्त्र भनेको यो हो, त्यो हो । हामीले लडेर ल्याएको हो भनिरहेका छौँ । तर हामीले देखाएको गणतन्त्रको मुकुट २०६० सालपछि जन्मिएको अहिलेको युवाले देख्दै-देख्दैन । मुकुट त वरिपरिबाट ढाकिएको छ । त्यो मुकुट कसले ढाकेको छ भनेर खोज्ने हो भने तीन जना, चार जना नेताहरूले त्यसलाई ढाकेर छोपेर राखेको भेट्नुहुन्छ,' थापाले अघि भने, 'यदि मुकुटलाई ढाकेर राख्ने नेताहरूलाई त्यहाँबाट ओरालिदिने हो भने ती केटाकेटीहरूले आफैँ मुकुट देख्न पाउनेछन् । जब मुकुट देख्छन्, उनीहरूले पनि गणतन्त्रको राप, ताप र प्रकाश थाहा पाउनेछन्, महत्व थाहा पाउनेछन् । त्यसकारण त्यो मुकुटलाई सफा गर्ने काममा तपाईहरू सबैको साथ चाहिएको छ । यहाँसम्म उहाँहरूले डोर्‍याउनुभयो, उहाँहरूप्रति उच्च सम्मान राख्दै हामीले उहाँहरूलाई त्यहाँबाट हटाउनुपर्नेछ ।'

महामन्त्री थापाले अब सल्लाहले नै देशलाई यहाँसम्म डोर्‍याएका नेताहरुलाई राजनीतिक दलहरुले विदा गर्न सक्नुपर्ने बताए ।

उनले भ्रष्टाचारका कारण जनताले पूराना दलका नेताहरूप्रति प्रश्न उठाइरहेको भन्दै ०४६ सालपछि सत्तामा बसेर अवैधानिक ढंगले सम्पत्ति आर्जन गर्ने सबैको सम्पत्ति छानविन गर्ने कानुन बनाउन प्रस्ताव गरे । उनले संसद्मा आफ्नै पार्टीले नेतृत्व गरेर उच्च ओहोदामा बसेर अख्तियारको दुरुपयोग गरेर अकुत कमाएकाहरूको सम्पत्ति छानविन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए ।

‘भ्रष्टाचार गर्ने मान्छे जो सुकै होस्, दोषी छ भने उसलाई कसैले जोगाउन सक्दैन । निदोष छ भने कसैलाई केही हुँदैन । नेपाली कांग्रेसले यो बेला सबैले निर्धक्क भएर यो कुरामा विश्वास गर्ने वातावरण बनाउनुपर्छ,’ उनले भने, ‘०४६ सालपछाडि उच्च ओहोदामा बसेर जसले अवैधानिक ढंगले सम्पत्ति कमाएको छ, उसको सम्पत्ति छानविन गरौं । जसले अनियमित ढंगले सम्पत्ति कमाएको छ, उसले सम्पत्ति खोसेर कानुनको दायरामा ल्याउनुपर्छ । यसको नेतृत्व कांग्रेसले गर्ने कि नगर्ने ?’

थापाले कांग्रेसमा समाज र देशका लागि भएको सम्पत्ति गुमाएर काम गर्ने नेता कार्यकर्ताको खाँचो नभएको समेत बताए । ‘गाउँगाउँमा कांग्रेसका साथीहरूले खानेपानीदेखि सडकसम्म सार्वजनिक काममा आफ्नो सम्पत्ति खर्च गरेर काम गर्नुभएको छ, कांग्रेसले भ्रष्टाचार गर्दैन, भ्रष्टाचारीलाई कारबाही गर्छ भन्ने विश्वास दिलाउन हामीले अगुवाई किन नलिने ?,’ महामन्त्री थापाले प्रश्न गरे ।

सम्मेलनमा नेता चन्द्र भण्डारीले कांग्रेसलाई नयाँ ढंगबाट अगाडि बढाउन सभापति देउवाले पार्टीको नेतृत्व छोडेर मार्ग प्रशस्त गर्नुपर्ने बताए । ‘शेरबहादुर दाइ अब अन्तिम हो, उहाँले अब यो मुलुक बनाइदिनुपर्छ,’ भण्डारीले भने, ‘अब उहाँ चाहेर पनि फेरि सभापति बन्न विधानले दिँदैन । उहाँले अहिलेदेखि नै पार्टीको नेतृत्वबाट अलग भएर मार्ग प्रशस्त गर्नु राम्रो हुन्छ ।’ उनले सभापति देउवाले नै पार्टीभित्र गुट चलाएका कारण समस्या भएको बताए ।

भण्डारीपछि लगत्तै बोलेका सभापति देउवाले भने आफू अहिले गफभन्दा बढी काम गर्नेमा केन्द्रित भएको बताएका थिए । ‘चन्द्र भण्डारीजीले भनिसक्नुभयो, पार्टी एकताबद्ध भएन, राम्रो काम भएन,’ देउवाले अघि भने, ‘पार्टी भाषणले चल्दैन, अब तपाईंको पालो आउँदैछ, राम्रो बनाउनु होला, भाषणअनुसार काम पनि गर्नुहोला ।’उनले आफू कम बोल्ने तर काम बढी गर्ने नेता भएको पनि दाबी गरे । ‘म त कम बोल्ने मान्छे हुँ, थाहै छ,’ उनले भने, ‘कम बोल्ने, धेरै काम गर्ने विचार छ, हेरौं के हुन्छ ।’

देउवाले नेता कोइराला र महामन्त्रीद्वय भन्दा अगाडि नै बोलेर काठमाडौं फर्किएका थिए । सम्मेलनमा बोल्ने अधिकांश नेताहरूले बद्लिँदो राजनीतिक परिस्थितिअनुकुल नेतृत्व र कामहरू हुन नसकेको भन्दै त्यसतर्फ ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित : मंसिर १६, २०८० २१:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×