कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४५

कोप-२८ लाई नेपालले अवसरका रूपमा प्रयोग गर्छ : प्रधानमन्त्री दाहाल

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी २८ औं सम्मेलन (कोप) लाई नेपालले अवसरको रुपमा प्रयागे गर्ने बताएका छन् । संयुक्त अरब इमिरेट्स (यूएई) को दुबइमा बिहीबारदेखि शुरु भएको कोप–२८ मा प्रधानमन्त्री दाहालले शनिबार सम्बोधन गर्नेछन् ।

कोप-२८ लाई नेपालले अवसरका रूपमा प्रयोग गर्छ : प्रधानमन्त्री दाहाल

उक्त सम्बोधन अघि नेपालको अध्यक्षतामा शुक्रबार भएको महत्वपूर्ण लिडर्स इभेन्टमा सम्बोधन गरेका छन् । ‘ग्लोबल स्टकटेक’ (हरेक ५ वर्षमा भइरहेको जलवायु परिवर्तनको अवस्थाको समिक्षा गर्ने) उच्चस्तरीय कार्यक्रममा अध्यक्षता गर्दै प्रधानमन्त्री दाहालले जलवायु परिवर्तन सम्बन्धी विषयमा नेपाल विश्व समुदायको प्राथमिकतामा परेको उल्लेख गरे ।

प्रधानमन्त्री दाहालले उद्घाटन समारोहमा बिहीबार यूएनका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तनको प्रभाव नेपाल र अन्टार्कटिकामा परेको भन्ने अभिव्यक्ति दिएबाट नेपाल विश्वकै नजरमा परेको प्रष्ट पारे । उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपालको समेत भ्रमण गरेर फर्केका महासचिवले जलवायु परिवर्तनको प्रभाव नेपाल र अन्टार्कटिकामा परेको उल्लेख गरेका थिए । दाहालले जलवायु परिवर्तनको विषयलाई आफ्नो नेतृत्वको सरकारले निकै महत्व दिएको बताए । उनले वर्तमान युवा पुस्ता र भावी सन्ततिको जीवनका लागि आफू गम्भीर बनेको उल्लेख गरे ।

जलवायु परिवर्तनबाट परेको असरको क्षतिपूर्तिबापत नेपालले विशेष प्राथमिकता पाउनुपर्ने अधिकार राख्छ भन्ने कुरा विस्तारै स्थापित हुने दाहालको भनाई थियो । जलवायु परिवर्तनको विषयलाई आफ्नो नेतृत्वको सरकारले निकै महत्व दिएको उनले बताए । प्रधानमन्त्री दाहालले वर्तमान युवापुस्ता र भावी सन्ततिको जीवनका लागि आफू गम्भीर बनेको बताए ।

दाहालले सन् २०२५ मा सम्मेलन गर्ने भन्दै यूएनका महासचिव गुटेरेसले राखेको प्रस्तावलाई नेपालले पूर्ण रुपमा सहयोग गर्ने बताए । दाहालले ‘ग्लोबल स्टकटेक’ ले पेरिस सम्झौताको लक्ष्यलाई प्राप्त गर्नको लागि आवश्यक क्रियाकलाप र रणनीतिक योजना प्रस्तुत गर्ने पूर्ण विश्वास रहेको प्रष्ट पारे । ‘ग्लोबल स्टकटेक’ रिर्पोटले हरेक ५ वर्षमा जलवायु परिवर्तनको अवस्थाको अध्ययन गर्छ । यसले अहिले के भइरहेको र अब के गर्नु पर्छ भन्ने पनि सल्लाह र सुझाव दिन्छ । पेरिस सम्झौता अनुसार यो शताब्दी सम्ममा पृथ्वीको तापक्रमलाई १.५ डिग्री सेल्सियसभन्दा माथि बढ्न नदिने हो ।

दाहालको सचिवालयका अनुसार प्रधानमन्त्रीले शनिबार गरिने सम्बोधनको पूर्ण तयारी भइसकेको छ । ‘सम्बोधनमा प्रधानमन्त्री ज्यूले देशको पहिचान, स्वाभिमान, वातावरणीय अवस्था र मानवताको विषयलाई बलियो रुपमा उठाउँदै हुनुहुन्छ,’ सचिवालयले भन्यो, ‘प्रधानमन्त्रीले सैद्धान्तिक कुराहरू जोडदार रुपमा उठाउनु हुनेछ । तर, त्यसको कार्यान्वयनका लागि नेपाली प्रतिनिधिहरूले विभिन्न छुट्टा छुट्टै द्विपक्षीय र बहुपक्षीय बैठकहरूमा कुरा गर्ने छन् ।’

त्यसैगरी, प्रधानमन्त्री दाहालले भारतीय समकक्षी नरेन्द्र मोदीसँग ५ महिनापछि भेटवार्ता गरेका छन् । दाहाल र मोदी बीच यूएईको दुबईमा भइरहेको संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी २८ औं सम्मेलन (कोप) को दौरान साइडलाइनमा भेटवार्ता भएको हो । दाहालले गत जेठमा भारतको औपचारिक भ्रमण गरेपछि मोदीसँग पहिलो भेटवार्ता भएको हो । दाहालको सचिवालयका अनुसार साइलाइन भेटवार्तामा भारतीय प्रधानमन्त्री मोदीले कात्तिक १७ मा जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भुकम्पबाट पुगेको क्षति तथा भारतले गर्नुपर्ने सहयोगका बारेमा कुरा भएको थियो । त्यस अवशरमा दुई नेता बीचमा दुई पक्षीय हितको बारेमा कुराकानी भएको उल्लेख छ ।

यसैबीच प्रधानमन्त्री र क्युवाका राष्ट्रपति मिगेल डिआज–कनेल बीच पनि साइडलाइनमा भेटवार्ता भएको छ । उक्त अवशरमा दुई देशको आपसी सम्बन्धका विषयमा छलफल भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।

प्रकाशित : मंसिर १५, २०८० १९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×