कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

विश्वविख्यात कूटनीतिज्ञ तथा नोबेल विजेता हेनरी किसिन्जरको १०० वर्षमा निधन

काठमाडौँ — पूर्वअमेरिकी विदेशमन्त्री हेनरी किसिन्जरको१०० वर्षमा निधन भएको छ । किंसिगर एसोसियट्सले एक वक्तव्य जारी गर्दै विश्वविख्यात कूटनीतिज्ञका रूपमा परिचित किसिन्जरको कनेक्टिकटस्थित निवासमा बुधबार निधन भएको जनाएको हो ।

विश्वविख्यात कूटनीतिज्ञ तथा नोबेल विजेता हेनरी किसिन्जरको १०० वर्षमा निधन

किसिन्जरले तत्कालीन अमेरिकी राष्ट्रपतिहरू रिचर्ड निक्सन र जेराल्ड फोर्डको कार्यकालमा विदेशमन्त्री र राष्ट्रिय सुरक्षा सल्लाहकारको भूमिका निर्वाह गरेका थिए ।

किसिन्जरले सन् १९७३ मा नोबेल शान्ति पुरस्कारसमेत पाएका थिए । भियतनाम युद्ध रोक्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै स्विडिस एकेडेमीले किसिन्जर र भियतनामी कूटनीतिज्ञ ली डक थोलाई त्यस वर्ष संयुक्त रूपमा नोबेल शान्ति पुरस्कार दिएको थियो ।

कूटनीतिसम्बन्धी थुप्रै पुस्तक लेखेका किसिन्जरको पछिल्लो पटक अप्रिल २०२२ मा 'लिडरसिप : सिक्स स्टडिज इन वर्ल्ड स्ट्राटेजी' पुस्तकसमेत प्रकाशित भएको थियो । जीवनको उत्तरार्धसम्म सक्रिय रहेकाले उनले यही जुलाईमा बेइजिङ भ्रमण गरी चिनियाँ राष्ट्रपति सी चिनफिङलाई भेटेका थिए ।

गत जुलाईमका चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेट्दै हेनरी किसिन्जर । तस्बिर : रोयटर्स

किसिन्जरले सन् १९७० को दशकमा कूटनीतिक रूपमा एक्लिएको चीनलाई विश्वमञ्चमा उपस्थित गराउन महत्त्वपूर्ण भूमिकासमेत खेलेका थिए । किसिन्जरको जन्म भने जर्मनीको एक युहदी परिवारमा भएको थियो । तानाशाही नाजीहरूबाट जोगिन उनको परिवार सन् १९३८ मा अमेरिका गएको थियो ।

सन् १९२३ मा जन्मिएका किसिन्जर १९४३ मा अमेरिकी नागरिक बनेका थिए । केही समय हार्भर्ड विश्वविद्यालयमा समेत प्राध्यापन गरेका उनलाई सन् १९६९ मा तत्कालीन अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनले राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरेका थिए । सन् १९७३ मा भने उनी अमेरिकी विदेशमन्त्री बनेका थिए । उनले नोबेल पुरस्कार पाउँदा विवादसमेत भएको थियो । कम्बोडियामा बम आक्रमण र केही क्रुर शासकलाई सहयोग गरेको आरोपसमेत उनीमाथि लागेको थियो ।

भियतनामी विदेशमन्त्री थोले भने नोबेल शान्ति पुरस्कार अस्वीकार गरेका थिए । नोबेल शान्ति पुरस्कारको इतिहासमै विरोधस्वरूप नोबेल समितिका दुई जना सदस्यले राजीनामासमेत दिएका थिए ।

न्युयोर्क टाइम्स पत्रिकाले त त्यसलाई 'नोबेल युद्ध पुरस्कार' भनेर प्रतिक्रिया जनाएको थियो । न्युयोर्क टाइम्सले किसिन्जरलाई शान्ति पुरस्कार दिनु हतार र अपरिपक्व निर्णय भएको लेखेको थियो । नोबेल शान्ति पुरस्कार प्राप्त गर्दैगर्दा किसिन्जर मध्यपूर्वको कूटनीतिमा व्यस्त भएको समेत उसको भनाइ थियो ।

प्रकाशित : मंसिर १४, २०८० ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×