कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

फेरि हामी रैती हुन सक्दैनौं : एमाले अध्यक्ष ओली

प्रतिक्रियावादीहरू दुलोबाट टाउको निकालेर सल्बलाउन खोज्दैछन् 
अर्जुन शाह

धनगढी — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिक्रियावादीहरू दुलाबाट टाउको निकालेर सल्बलाउन खोजिरहेको बताएका छन् । ‘श्री ५ महाराजधिराज लेखेर तमासा देखाउने काम भइरहेको छ । लोकतन्त्रको विरोध गर्ने दुस्साहस भइरहेको छ,’ अध्यक्ष ओलीले बिहीबार बैतडीको गोठालापानीमा आयोजित कार्यक्रममा भने, ‘हामी पछाडी फर्किन सक्दैनौं, फेरि हामी रैती हुन सक्दैनौं, फेरि हामी दास हुन सक्दैनौं ।’ 

फेरि हामी रैती हुन सक्दैनौं : एमाले अध्यक्ष ओली

एमालेले पूर्व निर्धारित ‘समृद्धिका लागि संकल्प यात्रा’ नाम दिएर नेपाल भारतको सीमा क्षेत्र बैतडीको झुलाघाटदेखि पूर्वमा पाँचथरको चिवाभञ्ज्याङसम्म मध्यपहाडी लोकमार्गको एक हजार ८७९ किलोमिटरको संकल्प यात्रा सुरु गरेको छ ।

बिहीबार बिहान झुलाघाटमा झण्डोत्तोलन गरेर अध्यक्ष ओलीले मध्यपहाडी लोकमार्गमा १९ दिने संकल्प यात्राको उद्घाटन गरेका छन् । उद्घाटनका क्रममा अध्यक्ष ओलीले यो यात्रा संवाद, अध्ययन र संकल्पको यात्रा भएको बताए । ‘समृद्धिको आकांक्षालाई कसरी सफल पार्न सकिन्छ, विकासका सम्भावना, युवाहरूलाई टिकाउने, गुणस्तरीय शिक्षा र स्वास्थ अनि रोजगारीका अवसरलगायतका सम्भावनाको अध्ययन गर्छौ,’ ओलीले भने, ‘यात्राका क्रममा विभिन्न पेशा व्यवसायमा रहेकाहरूसँग छलफल गर्ने, जनताले भोगिरहेका समस्याहरू हेर्ने, जनअपेक्षा सुन्ने र अहिलेको परिस्थितिबाट बदल्ने गरि राष्ट्रिय शक्ति निर्माणका लागि जागरण अभियान हो ।’

अध्यक्ष ओलीले गोठालापानीको सभामा देश बनाउने जिम्मा अब एमालेले लिने पनि बताए । उनले यस देशमा नेकपा एमाले रहेको भन्दै देशलाई पराधीन हुन नदिने र देशलाई गरिबीबाट मुक्त गराएर समृद्ध र धनी देश बनाइ छाड्ने दाबी पनि दोहोर्‍याए । ‘तपाईहरू ढुक्क हुनुस्, देश बनाउने जिम्मा एमालेले लिन्छ,’ अध्यक्ष ओलीले भने, ‘यो देशको सार्वभौम सत्ताको रक्षा एमालेले गर्छ, भूगोलको रक्षा एमालेले गर्छ, भूगोलको रक्षा एमालेले गर्छ, जनताका हितका पक्षमा एमालेले काम गर्छ ।’

‘म प्रधानमन्त्रीबाट हटाइएपछि देश अस्थिरतामा गयो र राजनीतिक अस्थिरता अराजकतामा गयो,’ अध्यक्ष ओलीले भने, ‘हाम्रो देश ओरालो लाग्यो । अर्थतन्त्र ओरालो लाग्यो । रोजगारीका अवसर समाप्त भए । उद्योगधन्दा समाप्त भए । सरकारसँग कर्मचारी पाल्ने पैसा पनि छैन ।’

उनले पहिचानका नाममा नेपाली जनतालाई विभाजन गर्न खोजिएको दाबी पनि गरे । ‘अरुलाई घृणा फैलाउने, राष्ट्रिय एकता भाड्ने कुरा हाम्रा बैरीहरूलाई खुसी पार्ने कुरा हो । राजनीतिका नाममा जनता भाँड्ने काम चल्दैन,’ उनले भने । देशको वेहाल अवस्था भएकाले जनतामा अन्योल र निराशा बढेकाले विदेश पलायन हुने क्रम बढेको पनि उनको भनाई थियो । ‘मेरो सरकारमा १८ प्रतिशत विदेश जानेक्रम घटेको थियो । ९ लाख मान्छेलाई गरिबीको रेखामाथि उठाएका थियौं,’ अध्यक्ष ओलीले भने ।

बैतडीमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष ओलीसहित एमालेका सम्पूर्ण पदाधिकारीहरू जिल्लादेखि केन्द्र तहमा पदाधिकारी तहका सम्पूर्ण नेता कार्यकर्ताको उपस्थिति रहेको थियो । सुदूरपश्चिम खण्डमा झुलाघाटदेखि अछामको बनखेतसम्मको ३५८ किलोमिटर यात्राका बिचमा बैतडीको गोठालापानी, डोटी र अछामको मंगलसेनमा कार्यक्रम हुने एमालेका सुदूरपश्चिम अध्यक्ष कृष्णप्रसाद जैशीले बताए । यात्रामा निरन्तर रहने नेता कार्यकर्ताहरूको टोलीलाई सम्बन्धित प्रदेश र जिल्लाले ब्यवस्थापन गर्ने योजना बनाइएको छ । सुदूरपश्चिमको टोलीले बनखेतमा कर्णालीको टोलीलाई हस्तान्तरण गर्ने अध्यक्ष जैशीले जानकारी दिए ।

१९ दिनसम्म सञ्चालन हुने संकल्प यात्राका क्रममा गोठालापानी, सिलगढी, मंगलसेन, दैलेख, सुर्खेत, रिम्ना, वामीटक्सार, कुस्मा, सुन्दरबजार, बट्टार, मण्डन, कुन्ताबेंसी, चरिकोट, हर्कपुर, भोजपुर, बसन्तपुर, फिदिम र च्याङ्थापुमा सभा गर्ने एमालेले जनाएको छ ।

प्रकाशित : मंसिर १४, २०८० १७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×