कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

खाल्डोमा पारेर दुईवटा गैंडा मार्ने गिरोहका आठ जना पक्राउ

रासस

चितवन — चितवन राष्ट्रिय निकुञ्जको भित्री भागमा दुईवटा गैंडाको खागसहित आठ जना पक्राउ परेका छन् । पक्राउ परेका उनीहरूलाई बिहीबार सार्वजनिक गरिंदै छ ।

खाल्डोमा पारेर दुईवटा गैंडा मार्ने गिरोहका आठ जना पक्राउ

निकुञ्जको पूर्वी क्षेत्रमा पर्ने चपरचुली सुरक्षा चौकीबाट दुई किलोमिटर दक्षिण–पूर्वतर्फ कात्तिक ३० गते खाल्डोमा पारेर दुईवटा गैंडा मारिएका थिए । अन्दाजी १८ र छ वर्षका पोथी गैंडा मारिएपछि निकुञ्ज प्रशासन, नेपाली सेना र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले तस्कर पक्राउ गर्न खटिएको थियो ।

गैंडा मृत भेटिएको १० दिन नबित्दै प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । मङ्सिर ९ गते पूर्वी चितवनको राप्ती नगरपालिका–३ बाट छ जना र ११ गते सोही नगरपालिकाको भण्डाराबाट दुई जना पक्राउ परेका जनाइएको छ । पक्राउ परेकाहरू चितवन र मकवानपुरका हुन् ।

गैंडा मारेर खाग बिक्री गर्न तयारी गरिरहेको अवस्थामा उनीहरू पक्राउ परेका हुन् । पक्राउपछि उनीहरूबाट खागसमेत बरामद गरिएको छ । निकुञ्जको गस्ती भइरहने क्षेत्रमा गैंडा मारिएपछि वन तथा वातावरण मन्त्रालयले अध्ययनका लागि टोली गठन गरेको थियो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक बेदकुमार ढकालको संयोजकत्वमा गठित टोलीले स्थलगतरूपमा अध्ययन गरेर यही मङ्सिर १२ गते विभागका महानिर्देशक डा. सिन्धुप्रसाद ढुङ्गानालाई प्रतिवेदन बुझाएको छ ।

निकुञ्जको महत्त्वपूर्ण भू–भागमा पुरातन शैलीमा गैंडा मारिएपछि सर्वत्र चासो र चिन्ता व्यक्त गरिएको थियो । घटनालगत्तै निकुञ्ज प्रशासन, नेपाली सेना र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो खटिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए ।

उनका अनुसार आज राष्ट्रिय निकुञ्जको मुख्यालय कसरामा पत्रकार सम्मेलनमार्फत पक्राउ परेका उनीहरुलाई सार्वजनिक गरिँदै छ । निकुञ्जका सूचना अधिकारी तिवारीका अनुसार पत्रकार सम्मेलनमा निकुञ्ज विभागका महानिर्देशक ढुङ्गाना, ब्यूरोका प्रवक्ता नवराज अधिकारी, नेपाली सेनाको राष्ट्रय निकुञ्ज तथा वन्यजन्तु आरक्षण निर्देशनालयका अधिकारीसमेतको उपस्थिति रहनेछ ।

सशस्त्र द्वन्द्वको समयमा एकै वर्षमा ३८ वटासम्म गैंडा तस्करले मारेका थिए । पछिल्ला वर्षहरूमा वन्यजन्तु चोरी सिकारी घटेर गएको थियो । कतिपय वर्षमा निकुञ्जले शून्य चोरी सिकार वर्ष मनाएको थियो । गत वर्ष दुईवटा गैंडा सिकारीले मारेका निकुञ्जले जनाएको छ । चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो गणनाअनुसार छ सय ९४ गैंडा रहेका छन् । नेपालमा सात सय ५२ गैंडा छन् ।

प्रकाशित : मंसिर १४, २०८० १३:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×