कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

चिसो बढेसँगै त्रिपालमा बस्दै भूकम्पपीडितमा ज्वरोको प्रकोप बढ्यो 

विप्लव महर्जन

सल्यान — जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर कार्तिक १७ गते शुक्रबार राति गएको भूकम्पले घर भत्किएपछि दार्मा गाउँपालिका-२, लिरापाजाका ३५ वर्षीया लीला खत्री पाँच जनाको परिवारसहित २५ दिनदेखि भत्किएको घर नजिकै त्रिपाल मुनि बस्दै आएकी छिन् । सुरुसुरुमा उनलाई रुघाखोकीको समस्या देखिएको थियो । औषधि खाएपछि बिसेक भयो । तर केही दिन यता बढेको चिसोले उनलाई पुनः ज्वरोले सताएको छ । चार वर्षकी छोरीलाई पनि ज्वरोले गलाएको छ । 

चिसो बढेसँगै त्रिपालमा बस्दै भूकम्पपीडितमा ज्वरोको प्रकोप बढ्यो 

चिसो बढेपछि दार्मा गाउँपालिका-२, लिरापाजाकै २८ वर्षीया निमा केसी पनि बिरामी भएकी छन् । उनलाई केही दिनदेखि ज्वरो आउने, शरीर दुख्ने समस्याले सताएको छ । नजिकैको स्वास्थ्य संस्थामा गएर स्वास्थ्य परीक्षण गरेपछि सिटामोल खाइरहेकी छन् । तर उनको ज्वरो पूर्ण हटेको छैन । उनले भनिन्, '२/४ दिन भयो चिसो बढेको त्रिपाल मुनि सुत्दा चिसोले समायो । शरीर पहिला भन्दा झनै कमजोर भएको छ ।'

घर चर्किएर बस्नै नमिल्ने भएपछि शनिबारदेखि पाखोबारीको डिलमा त्रिपाल लगाएर बस्दै आएकी लिरेडाँडाकी एक महिने सुत्केरी १९ वर्षीया बिन्दु खडकाको पहिलेदेखि चिसोले गर्दा शरीर सुन्निएको थियो । आगो बालेर सेकताप गर्दा ठिक भएकी उनलाई अहिले रुघाखोकी र ज्वरोको समस्याले सताएको छ । स्वास्थ्य संस्था टाढा भएकाले उनी उपचारका लागि समेत जान सकेकी छैनन् । आफनो बच्चालाई समेत उनले राम्रोसँग स्याहार गर्न पाएकी छैनन् ।

दार्मा गाउँपालिकामा भूकम्पले बस्नै नमिल्ने गरी घर भत्किएपछि त्रिपालमा बाँस बस्दै आएका बालबालिका, महिला ,सुत्केरी तथा वृद्धवृद्धामा पछिल्नो समयमा भाइरल ज्वरोको प्रकोप ह्वात्तै बढेको छ । केही दिन यतादेखि एकासी बढेको चिसोले त्रिपालमा बस्दै आएका परिवारमा भाइरल ज्वरोको प्रकोप ह्वात्तै बढेको हो ।

दार्मा गाउँपालिकामा भूकम्पका कारण पालिकाभर झन्डै ४ हजार घर क्षति भएका थिए । १ हजार १ सय ७९ घर बस्नै नमिल्ने गरी क्षति भएको छ । २ हजार भन्दा बढी त्रिपालमा बस्न बाध्य छन् । त्रिपालमा बस्दै आएका धेरैमा भाइरल ज्वरोको समस्या देखिएको छ ।

भालुखोलाकी २० वर्षकी दुई महिने सुत्केरी नविना खड्का भन्छिन्- ‘टाँगेको त्रिपालबाट राति शीत चुहिन्छ । चारैतिरबाट हावा छिर्छ । २४ सै घन्टा आगो बालेर बस्न सकिँदैन । ओढ्ने, ओछ्याउने कपडा गतिला छैनन् । जसका कारण चिसोले गर्दा रातभरी शरीर कट्कटी खान्छ । बिहान उठ्दा आँखामा कचेर लागेको हुन्छ । चिसोबाट ज्यान बचाउन धेरै सकस भएको छ ।’ चिसोको कारण दुई महिने बच्चालाई खोकी लागेको उनको भनाइ छ ।

पहिला खासै समस्या नदेखिएपनि भाइरल ज्वरो एक व्यक्तिबाट अर्कोमा सर्ने भएकाले अहिले आफू पनि प्रभावित भएको बछेलाका ४४ वर्षका ज्ञानबहादुर खड्काले बताए । ज्वरो मात्र नभइ शरीर दुख्ने गर्दा रातिको समयमा बढी चिसो हुने भएकाले झनै गाह्रो हुने गरेको उनले जानकारी गराए । दिउँसोमा घाम तापेर बस्दै आएपनि राति चिसोबाट बच्नका लागि पर्याप्त मात्रामा न्यानो कपडा नभएकाले समस्यामा परेको उनको भनाइ छ ।

भाइरल ज्वरो बढेपछि अहिले स्वास्थ्य संस्थामा दैनिक १०/१२ जना बिरामी स्वास्थ्य चौकीमा आउने गरेको दार्मा गाउँपालिकाका स्वास्थ्यशाखा प्रमुख यज्ञबहादुर बस्नेतले बताए । उनका अनुसार बिहान, बेलुकी र राति चिसो हुँदा बालबालिकामा निमोनिया, वृद्धवृद्धामा दमको जोखिम बढेको छ ।

स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुन बुढा मगरले चिसोको कारण झाडापखाला, निमोनिया, टाइफाइड जस्ता रोगको महामारी फैलिनसक्ने जोखिम बढेको बताए । केही दिन अहिले पालिकाको प्रभावित बस्तीका घरघरमा गएर बिरामीको उपचार गरेका उनले एकै परिवारका तीनजनामा झाडापखालाको समस्या देखिएको र अन्यमा रुघाखोकी, जवरोको समस्या देखिएको जानकारी गराए । महामारीबाट बच्नका लागि तातो तातो सुप तथा पौष्टिक आहारको सेवन गर्न र थप स्वास्थ्य सचेतना अपनाउन भूकम्पपीडित परिवारलाई उनले सल्लाह दिएका छन्।

प्रकाशित : मंसिर १२, २०८० १४:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×