कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

उच्च प्रजनन क्षमताका मुर्रा राँगा नेपालमा

काठमाडौँ — भारतले उपहार दिएका उन्नत जातका १५ वटा मुर्रा राँगा बुधबार नेपाल ल्याइएको छ । मुर्रा राँगाहरू बाँकेको जमुनाहा नाका हुँदै नेपाल भित्र्याइएको पशु सेवा विभागले जनाएको छ । 

उच्च प्रजनन क्षमताका मुर्रा राँगा नेपालमा

गत जेठमा प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमा छँदा भारतले वस्तुगत सहायता स्वरूप उच्च प्रजनन क्षमताका मुर्रा राँगा उपहारस्वरूप उपलब्ध गराउने जनाएको थियो ।

‘भारत सरकारले वस्तुगत सहायतास्वरूप उपलब्ध गराउने भनिएको उच्च प्रजननका मुर्रा राँगाहरू बुधबार बाँकेको जमुनाहा नाका हुँदै नेपाल आइपुगेको छ,’ विभागका सूचना अधिकारी चन्द्र ढकालले भने, ‘क्वारेन्टाइन प्रक्रिया पूरा गरेर नेपाल ल्याइएका राँगा लहान, पोखरा र नेपालगन्ज, गौघाटस्थित राष्ट्रिय पशु प्रजनन कार्यालयमा राख्छौं ।’

राष्ट्रिय पशु प्रजनन कार्यालयबाट हाल उत्पादन भइराखेको जमेको वीर्यको परिमाण व्यवस्थापकीय क्षमता र कार्यक्षेत्रको आधारमा राखिनेछ । सूचना अधिकारी ढकालका अनुसार राष्ट्रिय पशु प्रजनन कार्यालय पोखरामा ७, लहानमा ५ र नेपालगन्जमा ३ वटा राखिनेछ । ‘मुर्रा राँगाको जमेको वीर्यको माग पाँच वर्षमा दुई गुणा र १० वर्षमा करिब पाँच गुणा बढ्ने अनुमान छ,’ उनले भने, ‘मुर्रा राँगाको वीर्य उत्पादनमा वृद्धि, कृत्रिम गर्भाधानको क्षेत्र विस्तार गर्दै भैंसीको नश्ल सुधारमार्फत दूध र मासुको उत्पादन र उत्पादकत्वमा समेत वृद्धि हुने अपेक्षा छ ।’

राष्ट्रिय तथ्यांक कार्यालयको पछिल्लो तथ्यांकअनुसार मुलुकमा करिब २९ लाख भंैंसीमध्ये उन्नत तथा वर्णशंकर भैंसी २६ प्रतिशत छन् । हाल मुलुकमा १४ लाख ६४ हजार टन दूध भैंसीबाट र १ लाख ९४ हजार टन मासु राँगा, पाडा तथा भैंसीबाट उतपादन हुन्छ । स्थानीय भैंसीको औसत उत्पादकत्व प्रतिबेत करिब ९ सय लिटर दूध रहेको छ । मुर्रा क्रस ब्रिड भैंसीको औसत दूध उत्पादकत्व करिब १५ सय लिटर र शुद्ध नश्लका मुर्रा भैंसीको औसत उत्पादकत्व करिब २३ सय लिटरभन्दा बढी रहेको जनाएको छ ।

‘भारतमा विकास गरिएका बढी दूध उत्पादन गुण भएका राँगा ल्याएर प्रजननमा ल्याउँदा नेपाली भैंसीको औसत उत्पादनसमेत वृद्धि हुन्छ,’ ढकालले भने । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार मुर्रा राँगा आयात गर्न सन् २०१८ देखि नै पहल भएको थियो । नेपाल–भारत संयुक्त कृषि प्राविधिक कार्य समूहको निर्णयअनुसार विभिन्न समयमा औपचारिक तथा अनौपचारिक रूपमा भारत सरकारसँग ३० वटा उच्च प्रजनन मानका मुर्रा राँगा नेपाल सरकारलाई उपलब्ध गराउन अनुरोध भएको थियो ।

प्रकाशित : मंसिर ६, २०८० २१:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×