कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

सीसीटीभीमा विपिन देखिएको इजरायली सेनाको दाबी

आईडीएफले सार्वजनिक गरेको स्थानीय अस्पतालको सीसीटीभी फुटेजको स्वतन्त्र पुष्टि हुन बाँकी
होम कार्की

काठमाडौँ — प्यालेस्टिनी विद्रोही समूह हमासले बन्धक बनाएको ४५ औं दिन पुग्दा पनि कञ्चनपुरका विपिन जोशीको अवस्था अझै सार्वजनिक हुन सकेको छैन । हमासले गाजापट्टीको सीमा नजिकै रहेको इजरायलको किवुज अलुमिमबाट गत असोज २० (अक्टोबर ७) को बिहान विपिनसहित थाई नागरिकलाई बन्धक बनाएर लगेको थियो । अलुमिममा हमासले अन्धाधुन्ध गोली चलाउँदा १० जना नेपाली मारिएका थिए । 

सीसीटीभीमा विपिन देखिएको इजरायली सेनाको दाबी

इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले हमासद्वारा बन्धक बनाइएका कञ्चनपुरका विपिनलाई गाजा सहरस्थित अल सिफा अस्पतालमा पुर्‍याएको दाबी गरेको छ । आईडीएफले सिफा अस्पताललाई आफ्नो नियन्त्रणमा लिएपछि सीसीटीभी फुटेजलाई आइतबार सार्वजनिक गर्दै अस्पतालभित्र लगिएका दुई बन्धकमध्ये नेपाली र थाई नागरिक भएको दाबी गरेको छ ।

आईडीएफद्वारा सार्वजनिक गरिएको उक्त भिडियो फुटेजमा असोज २० मा स्थानीय समयअनुसार बिहान १०:५३ बजे तीन जना हतियारधारीले एक बन्धकलाई घिच्याउँदै अस्पतालभित्र लैजाँदै गरेको देखिन्छ । ती बन्धक खाली खुट्टा र कट्टुमा मात्रै देखिन्छन् । जसलाई कपडाले टाउको छोपेर अस्पतालभित्र लैजाँदै गरेको देखिन्छ । यद्यपि उक्त भिडियोको स्वतन्त्र पुष्टि हुन भने बाँकी छ । आईडीएफले भने ती बन्धक नेपाली भएको दाबी गरेको छ ।

‘हामी दोस्रो बंकरमा थियौं, विपिन ढोका छेउमै बसेका थिए । हतियारधारीले उनलाई तानेर बाहिर लिएर गएको हो,’ हमासको आक्रमणबाट जोगिएका सल्यानका प्रमोद केसीले कान्तिपुरलाई भने, ‘त्यहाँबाट हमासले लैजाने बेला भने विपिनले कट्टुसँगै नीलो भेस्ट पनि लगाएका थिए ।’ इजरायली सेनाले सार्वजनिक गरेको भिडियोमा देखिएका बन्धकको हुलिया हेर्दा उनी विपिन नै भएको किटान गर्न भने नसकिने पनि केसीले बताए । ‘हामी सबै साथीहरूले त्यो भिडियो हेर्‍यौं । अनुहार छोपिएको र पूरा शरीर नदेखिएकाले विपिन नै हुन् भनेर किटान गर्न सकेनौं,’ केसीले भने ।

आईडीएफले बन्धक विपिन भएको दाबी गरे पनि उनको पछिल्लो अवस्थाबारे भने केही बताएको छैन । तेल अभिभस्थित नेपाली दूतावासले पनि विपिनको खोजी कार्य जारी नै रहेको जनाएको छ । ‘विपिनको पछिल्लो अवस्थाबारे यकिन गर्न नसकिएको र हालसम्म सम्पर्कविहीनकै अवस्थामा रहेकोले खोजी कार्य जारी नै रहेको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ,’ सोमबार दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

हमासले अलसिफा अस्पताललाई आफ्नो मुख्यालय बनाएर युद्धको कमान्ड गरेको दाबी गर्दै इजरायली सेनाले दुई साताअघिदेखि उक्त अस्पतालमा आक्रमण गरेको थियो । त्यसपछि अस्पताललाई आफ्नो नियन्त्रणमा लिएको इजरायली सेनाले अधिकांश बिरामी, आश्रय लिएका स्थानीय र स्वास्थ्य कर्मचारीहरूलाई मुक्त गरिदिएको थियो । तर, अस्पताल पुर्‍याइएका बन्धकको अवस्था भने अज्ञात नै छ । बन्धकहरूलाई बिनासर्त रिहाइ गर्न हमासमाथि अन्तर्राष्ट्रिय समुदायको दबाब छ ।

नेपाल सरकारले पनि कतार, इरान, इजरायल र रेडक्रसमार्फत विपिनको रिहाइका लागि पहलकदमी गरिरहेको छ । हमाससँग निकट सम्बन्ध रहेका कतारका प्रधानमन्त्री शेख मोहम्मद विन अब्दुलारहमान अलथानीले दुई सय जना बन्धकलाई रिहाइ गर्न इजरायल र हमास समझदारी नजिकै पुगेको बताएका छन् । उनले युरोपेली संघका विदेश नीति प्रमुख जोसेप बोरेलसँगको दोहामा आयोजित संयुक्त पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन् ।

इजरायल र हमासबीच मध्यस्थता गरिरहेको कतारले बन्धक रिहाइ गर्न दुई पक्षले राखेका सर्तहरू भने सार्वजनिक गरेको छैन । वासिङ्टन पोस्टका अनुसार इजरायलले ५ दिन युद्धविराम गरेमा बन्धक बनाएका महिला र बालबालिकालाई रिहा गर्ने पक्षमा हमास देखिएको छ । त्यसको बदलामा इजरायलको जेलमा रहेका दर्जनौं महिला र नाबालिग बन्दीलाई रिहा गर्नुपर्ने हमासको सर्त छ ।

वासिङ्टन पोस्टका अनुसार युद्धविराम भएको ५ दिनभित्र चरणबद्ध रूपमा हरेक २४ घण्टाभित्र ५० जनाको दरले बन्धकहरू रिहाइ गर्दै जाने योजना बनाइएको छ । ‘हामीले केही प्रगति गरेका छौं । यसलाई अगाडि बढाउन कडा मिहिनेत गरिरहेका छौं तर यो अवस्था अस्थिर नै छ,’ अमेरिकी राष्ट्रपति जो वाइडेन प्रशासनका एक अधिकारीले नाम नछाप्ने सर्तमा वासिङ्टन पोस्टलाई भनेका छन् ।

च्यानल १२ टीभीले इजरायलले भने हमासले बन्धक बनाएका बालबालिका र उनीहरूका आमाहरूको रिहाइको पहिलो सर्त राखेको छ । ‘इजरायलले हमासद्वारा बन्धक बनाइएका १३ जना आमा, ४० जना बालबालिका र ३४ जना विदेशी नागरिकसहित ८७ जनालाई तुरुन्तै रिहाइ गर्नुपर्ने सर्त अगाडि सारेको छ,’ अरब मुलुकका सरकारी स्रोतलाई उद्धृत गर्दै च्यानल १२ टीभीले भनेको छ ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासद्वारा बन्दी बनाएका २ सय ४० बन्धकहरूलाई रिहा गर्ने कुनै सम्झौता नभएको बताएका छन् । ‘हालैका दिनमा कम्तीमा केही बन्धकहरूलाई मुक्त गर्ने सम्झौताका बारेमा धेरै गलत रिपोर्टहरू आइरहेको छ । यसलाई म खारेज गर्छु,’ प्रधानमन्त्री नेतान्याहुले बन्धकका परिवारहरूलाई भेट गरी भने, ‘हामी सबै बन्धकहरूलाई फिर्ता गर्न चाहन्छौं । हामी चरणबद्ध रूपमा भन्दा सम्भव हुनेहरूलाई फिर्ता ल्याउन सक्दो गरिरहेका छौं । हामी यसमा एकताबद्ध छौं ।’

असोज २० को आक्रमणमा मारिएका १० जना नेपाली विद्यार्थीको शव नेपाल ल्याइसकिएको छ । आक्रमणमा चार जना नेपाली घाइते भएका थिए । घाइतेमध्ये एक जना नेपाल फर्किसकेका छन् भने तीन जनाको इजरायलमै उपचार भइरहेको छ ।

प्रकाशित : मंसिर ५, २०८० ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×