कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

सेनेटरी प्याड बनाउँदै किशोरकिशोरी

तीन पिस प्याडको ५ सय रुपैयाँमा बेच्दै आएको ‘सानो पाइला’ टिमले एक प्याकेट सेनेटरी प्याड ३ वर्षसम्म पुनःप्रयोग गर्न सकिने दाबी गरेको छ
ज्योती श्रेष्ठ

काभ्रे — सुरक्षित महिनावारीका लागि काभ्रेको बनेपा नगरपालिका–६ स्थित बुडोलका किशोरकिशोरीले ‘सानो पाइला’ कार्यक्रम सुरु गरेका छन् । ग्लोबल कलेज अफ म्यानेजमेन्टमा अध्ययनरत उनीहरूले कार्यक्रमअन्तर्गत पुनःप्रयोग गर्न मिल्ने गरी सेनेटरी प्याड उत्पादन थालेका हुन् ।

सेनेटरी प्याड बनाउँदै किशोरकिशोरी

बजारमा पाइने सेनेटरी प्याडमा प्रयोग हुने रसायनले स्वास्थ्यमा असरसमेत गर्न सक्ने जोखिम भएको र प्रयोगपछि फालिने यस्ता प्याडले वातावरणसमेत प्रदूषण हुने भन्दै उनीहरूले पुनःप्रयोग गर्न मिल्ने ‘रियुजएबल सेनिटेरी प्याड’ को उत्पादन सुरु गरिएको कक्षा १२ मा अध्ययनरत कार्यक्रम संयोजक पारखी भण्डारीले बताइन् ।

उनले कलेजको ‘सोसिएल क्लब’ अन्तर्गत सानो पाइला कार्यक्रममार्फत स्वस्थकर पुनःप्रयोग गर्न मिल्ने प्याड उत्पादन गर्न थालेको उल्लेख गरिन् । ‘महिनावारीको समयमा राम्रो प्याड नपाउँदा हामी महिलाले धेरै समस्या भोग्दै आएका छौं,’ भण्डारीले भनिन्, ‘बजारमा किन्ने गरेको प्याडमा भएको हानिकारक केमिकलले गर्दा एलर्जी पनि हुने र लामो समयसम्म पनि नटिक्ने अनि महँगो पनि उस्तै । त्यसैले पनि हामी आफैंले प्याड बनाउनेबारे सोचेका हौं ।’

सामाजिक सञ्जालमार्फत रियुजएबल सेनेटरी प्याडका बारेमा जानकारी पाएका उनीहरूले ‘सानो पाइला’ कार्यक्रममार्फत रियुजएबल सेनेटरी प्याड बनाउन कस्सिएका हुन् । ‘सानो पाइला’ कार्यक्रमअन्तर्गत प्याड बनाउने काममा भण्डारीसँगै अरू दुई जना साथीले पनि सघाएका छन् । प्याड उत्पादनका लागि सुरुमा किशोरीलाई यसबारेमा तालिम प्रदान गरिएको कक्षा ११ मा अध्ययनरत प्रशान्त गौतमले बताए । ‘महिनावारीको समयमा महिलाहरूले भोग्ने समस्यामध्ये सेनेटरी प्याड प्रमुख समस्या हुने गरेको साथीहरूबाटै सुन्ने गर्थे । त्यसपछि आफूलाई पनि यसमा केही सहयोग गरौं भन्ने लाग्थ्यो,’ गौतमले भने, ‘त्यसपछि प्याड बनाउन मैले पनि सघाउने इच्छा देखाएँ ।’

रियुजएबल सेनेटरी प्याड उत्पादनअघि सानो पाइलाको टिमले लामै अध्ययन गरेको गौतमले बताए । अध्ययनकै क्रममा उनीहरूले बनेपाकै आरजे प्याड उद्योगमा रियुजएबल सेनेटरी प्याड उत्पादन हुनुका साथै तालिम पनि दिने थाहा पाएका रहेछन् । ‘प्याड उत्पादन गर्नुभन्दा पहिले तालिमको आवश्यकता देख्यौं,’ गौतमले भने, ‘प्याड उद्योगकी सञ्चालक जानुका सापकोटाले तालिमको सहजीकरण गरिदिनुभयो, त्यसपछि बनेपाका महिला उद्यमीहरूलाई रियुजएबल सेनेटरी प्याड उत्पादनको तालिम दियौं ।’

साथी, कलेज र विभिन्न संघसंस्थाहरूको सहकार्यमा रियुजएबल सेनेटरी प्याड उत्पादनका लागि बनेपाका महिलालाई तालिम प्रदान गरिएको बताउँदै संयोजक भण्डारीले यो सानो रकमबाट सुरु गरिएको सानो पाइला भएको उल्लेख गरिन् । ‘५० हजारको लागतमा अहिले तालिम प्रदानसँगै प्याड उत्पादन सुरु गरिएको छ । भोलिका दिनमा अझ ठूलो परिमाणमा उत्पादन गर्ने योजना छ,’ उनले सुनाइन् ।

बहुदृष्टिकोणबाट महिलाहरूका लागि रियुजएबल सेनेटरी प्याड फाइदाजनक भएकाले प्रवर्द्धन गर्न आवश्यक रहेको प्याड उद्योगकी सञ्चालकसमेत रहेकी तालिम संयोजक सापकोटाले बताइन् । ‘स्वास्थ्य, आर्थिक र वातावरणीय दृष्टिकोणले पनि यो निकै फाइदाजनक छ,’ उनले भनिन्, ‘यसमा कुनै पनि हानिकारक रसायनको प्रयोग नहुने भएकाले स्वस्थकर छ, त्यस्तै पुनःप्रयोग गर्न मिल्ने भएकाले खर्च पनि कम पर्ने र उत्पादन गरी यसैबाट आम्दानी पनि गर्न सकिने भएको छ ।’

सानो पाइला टिमले अहिले ३ पिस प्याडको एक प्याकेटलाई ५ सय रुपैयाँमा बेच्दै आएका छन् । साबुनपानीले धोएर सफा गरी बारम्बार प्रयोग गर्न मिल्ने यी प्याड कम्तीमा पनि ३ वर्षसम्म टिक्ने कार्यक्रम सञ्चालक भण्डारीले दाबी गरिन् । सबै दृष्टिकोणबाट हेर्दा रियुजएबल सेनेटरी प्याड निकै फाइदाजनक देखिएकाले सरोकारवाला निकायले यसको प्रवर्द्धन गर्न आवश्यक रहेको उनले बताइन् । यसको प्रवर्द्धन, उपयोगिता र प्रभावकारिताका बारेमा पहिले आफूहरूले सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने पारखीले बताइन् । उत्पादनपश्चात् सरकारी निकायसँग सहकार्य गरेर देशका विभिन्न विद्यालयमा पनि यो कार्यक्रम लिएर जाने उनले जानकारी दिइन् ।

प्रकाशित : मंसिर ३, २०८० ०६:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×